पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा नेपाली कांग्रेसबाट सहभागी भएका मन्त्रीहरू मंगलबार छलफलमा जुटे।
उपप्रधान, रक्षामन्त्रीसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पार्टीबाट सरकारमा सहभागी भएका सबै मन्त्रीलाई छलफलमा निम्त्याएका थिए।
अर्थमन्त्री प्रकाशशरण महतबाहेक अरू मन्त्रीहरू छलफलमा सहभागी रहे। अर्थमन्त्री महत क्यानडामा छन्। दाहाल नेतृत्वको सरकारमा कांग्रेसका ९ मन्त्री छन्।
उपसभापति खड्का नेतृत्वमा २०७९ चैतमा कांग्रेस दाहाल नेतृत्वको सरकारमा सहभागी भएको थियो।
खड्काले पार्टीका मन्त्रीहरूलाई छलफलमा बोलाउनुका केही कारण छन्।
पहिलो हो- मन्त्रीहरूका कामकारबाही प्रभावकारी भएन भन्ने गुनासो पार्टीभित्रैबाट उठ्नु।
दोस्रो, सरकारले ल्याएका संघीय शिक्षा, संघीय निजामतीलगायत विधेयकमा कांग्रेसकै मन्त्रीहरूबाटै फरक धारणा आइरहनु।
यस्ता विषयलाई कसरी व्यवस्थित बनाएर लैजान सकिन्छ भन्नेबारे खड्काले मन्त्रीहरूलाई बोलाएर छलफल गरेका हुन्।
उपसभापतिसमेत रहेका कानूनमन्त्री धनराज गुरूङ, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, सहरी विकास मन्त्री सीता गुरूङ, उद्योग मन्त्री रमेश रिजाल, परराष्ट्रमन्त्री एनपी साउद, खेलकुद मन्त्री डिगबहादुर लिम्बू, महिला तथा बालबालिका मन्त्री सुरेन्द्र आचार्य रक्षा मन्त्रालयमा भएको छलफलमा सहभागी रहेका थिए।
सरकारका कामकारबाहीलाई अझै प्रभावकारी बनाउन मन्त्रीहरूसँग छलफल गरिएको मन्त्री खड्काका प्रेस सल्लाहकार डिपी उपाध्यायले बताए।
‘सरकार र पार्टीबीच कसरी समन्वय बढाउन सकिन्छ भन्नेबारे मन्त्रीज्यूहरूले छलफल गर्नुभएको हो,’ उनले भने, ‘यो नियमित र अनौपचारिक छलफल हो।’
छलफलमा सहभागी एक मन्त्रीले दिएको जानकारीअनुसार सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीका कामकारबाही चित्तबुझ्दो नभएको गुनासा आएपछि सामूहिक छलफल गरिएको हो।
साउन २ देखि १० गतेसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकमा मन्त्रीहरूले पार्टीसँग समन्वय नगर्ने, नेताहरू र सांसदहरूका फोनसमेत 'रिसिभ' नगरेका जस्ता गुनासा आएका थिए।
‘कांग्रेसबाट मन्त्री भएकाहरूले पार्टीसँग कुनै समन्वय गरेनन् भन्ने केन्द्रीय समितिमा पनि गुनासा सुनिएका थिए,’ ती मन्त्रीले भने, ‘पार्टीसँग समन्वय गर्दै सरकारका कामकारबाहीलाई थप प्रभावकारी बनाउने विषयमै आज हामीले छलफल गरेका हौं।’
सरकारले गरेका निर्णय, लिने नीति र विधेयकमा पनि कांग्रेसका मन्त्रीहरूको एकै धारणा हुनुपर्छ भन्ने विषयमा कुराकानी भएको छ।
‘सरकारले गरेका निर्णय, ल्याएका विधेयकमा पनि कांग्रेसका मन्त्रीहरूको अलग-अलग धारणा सुनिने गर्छ,’ ती मन्त्रीले भने, ‘एक विषयमा अनेक धारणा नआओस्, मन्त्रीहरूका स्वर एकै सुनियोस् भन्ने कुराकानी भयो।’
सरकारका कामकारबाही अझै राम्रो र पारदर्शी बनाउने तथा जनतालाई दिनुपर्ने सेवा प्रवाहका कामलाई प्रभावकारी बनाउन भूमिका खेल्ने प्रतिबद्धतासहित कांग्रेसका मन्त्रीहरूको छलफल सकिएको छ।