नाबालिग बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको जीवनी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले स्थानीय पाठ्यक्रममा समावेश गरेको छ।
गाउँपालिकाले कक्षा–४ का विद्यार्थीलाई अध्यापन गराउन बनाएको स्थानीय पाठ्यक्रमको पहिलो पेजमै लामिछानेको जीवनी समेटिएको छ। उक्त पाठ्यक्रम यसै शैक्षिक वर्षदेखि लागु हुने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।
‘हामीले पहिलो पटक गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागु गर्दैछौं,’ उनले भने, ‘अहिले कक्षा १ देखि ५ सम्मका लागि स्थानीय पाठ्यक्रम बनाएका छौं।’
स्थानीय पाठ्यक्रममा लामिछानेको जीवनी लेखेका अध्यक्ष तिवारीले पाठ्यपुस्तक भने अहिलेसम्म विद्यार्थीलाई वितरण गरिनसकेको बताए। लामिछानेको जीवनी समेटिएको पाठ्यपुस्तक अध्यापन गराउने कि नगराउने विषय सरकार वा अदालतले गर्ने निर्णयअनुसार अघि बढ्ने उनको भनाइ छ।
अर्जुनचौपारी गाउँपालिकामा जन्मिएर लामिछाने विश्व प्रसिद्ध क्रिकेटर बनेको जीवनीमा उल्लेख छ। उक्त जीवनी पढेपछि विद्यार्थीले लामिछानेको परिचय दिन सक्ने सिकाइ उपलब्धी हासिल हुने अपेक्षा पाठ्यक्रममा राखिएको छ।
गाउँपालिकाभित्र जन्मिएर उदाहरणीय व्यक्तित्वका बारेमा विद्यार्थीलाई जानकारी गराउँदा प्रेरणा मिल्ने अधयक्ष तिवारीले दाबी गरे। पाठ्पुस्तक तयार गर्दा विज्ञसँग सल्लाह लिँदा लामिछानेको जीवनी राख्न उचित हुने सुझाव पाएको पनि उनले बताए।
‘अर्जुनचौपारी जस्तो गाउँमा जन्मिएर पनि विश्व चर्चित हुन सकिन्छ भनेर विद्यार्थीले प्रेरणा पाओस् भनेर हामीले उनको जीवनी राखेका हौं,’ उनले भने।
पाठ्यक्रममा राखिएको लामिछानेको जीवनीमा नाबालिग बलात्कार अभियोगबारे भने चर्चा गरिएको छैन। लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै २०७९ भदौ ५ गते एक नाबालिगले प्रहरीमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो।
जिल्ला अदालतले थुनामा पठाए पनि उच्च अदालत पाटनले २०७९ पुस २८ गते लामिछानेलाई विदेश जान नपाउने गरी २० लाख रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। तर फागुन १५ गते सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल नेतृत्वको इजलासले लामिछानेलाई क्रिकेट खेल्न विदेश जान अनुमति दिएको थियो।
लामिछानेविरूद्ध नाबालिग बलात्कार मुद्दा अदालतमा अझै विचाराधीन छ। बलात्कार अभियुक्तको जीवनी नाबालिगलाई पढाउन गाउँपालिका नै लागेको भन्दै अधिकारकर्मीले विरोध जनाएका छन्।
अधिवक्ता भगवती पहारीले नाबालिग बलात्कारजस्तो जघन्य अपराधका अभियुक्तका जीवनी बालबालिकालाई पढाउनु गलत भएको बताइन्। बालबालिकाले यस्ता व्यक्तिको जीवनी पढ्दा उसका राम्रा पक्षमात्र नभई नराम्रा पक्ष पनि ग्रहण गर्न सक्ने र बलात्कारजस्तो अपराधले प्रश्रय पाउन सक्ने उनले बताइन्।
‘बलात्कार अभियोग लागेका व्यक्तिको जीवनी बालबालिकालाई पढाउँदा उनीहरूको मस्तिष्कमा गढेर बस्छ,’ उनले भनिन्, ‘उनीहरू जस्तै बन्ने भनेर राम्रा पक्ष मात्र होइन, नराम्रा पक्ष पनि अनुशरण गर्न सक्छन्।’
राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य एंव अधिकारकर्मी मोहना अन्सारीले बलात्कारका अभियुक्त सन्दीप लामिछानेको जीवनी बच्चाहरूलाई पढाउनु भनेको बलात्कार भनेको सामान्य कुरा हो भन्न खोजेको बताइन्।
‘संविधान र कानुनविपरीत उहाँहरूले पाठ्यक्रम निर्माण गर्नुभएको देखियो, यो सरासर गलत छ,’ उनले भनिन्,‘यसले बालबालिकाहरूलाई गलत बाटो देखाउने मात्र होइन, बलात्कारको संस्कृतिलाई मलजल गर्छ। सानालाई ऐन ठूलालाई चैन भन्ने कुरालाई पनि यसले बढावा दिन्छ।’
यस्ता पाठ्यक्रम लागु गर्न नहुने उनले बताइन्।
गाउँपालिका अध्यक्ष तिवारीले बलात्कार अभियोगमा मुद्दा चलिरहेका व्यक्तिलाई संघीय सरकारले राष्ट्रिय टिममा राखेको र पुरष्कृत गरिरहेको भन्दै यस विषयमा सरकार वा अदालतबाट आदेश आएपछि पुस्तक सच्याउने उनले बताए।
‘नेपाल सरकारले त लामिछानेलाई राष्ट्रिय टिममा राखिराखेको छ, पुरस्कार दिइराखेको छ,’ उनले सेतोपाटीलाई भने, ‘अदालतबाट दोषी ठहर भयो भने हामी पुस्तक सच्याउँछौं।’
अधिवक्ता पहारीले अदालतमा विचाराधीन मुद्धा भएकाले फैसला जे आए पनि नाबालिग बलात्कारको अभियोग लागेका व्यक्तिको जीवनी बालबालिकालाई पढाउन नहुने उनले बताइन्।
गाउँपालिका अध्यक्ष तिवारीले भनेजस्तो पाठ्यक्रममा जे विषय राखे पनि लामिछानेको जीवनी बालबालिकाले पढ्ने पाठ्यक्रममा राख्न नहुने उनको सुझाव छ।
‘क्रिकेटमा ठूलो उपलब्धी हाासिल गरेर पनि कानुनको पालना नगर्दा कारबाही भोग्नुपर्ने हुन्छ भन्ने उदाहरण नै पनि बालबालिकाले पढ्ने पाठ्यक्रममा राख्न हुँदैन,’ उनले भनिन्, ‘उमेर पुगेका व्यक्तिले धारणा बनाइसकेका हुन्छन्, उनीहरूले अध्यन र विमर्श मात्र गर्छन्, बालबालिकाले अनुशरण गर्न खोज्छन्।’
नाबालिग बलात्कार ठीक भन्ने पक्षमा आफू नरहेको अध्यक्ष तिवारीले बताए।
तर उनी लामिछानेको जीवनी पाठ्यक्रममा राख्न कति सम्म अडिग छन् भने उनी दोषी ठहरिए भने पनि उनको बारेमा पाठ्यक्रम बनाउने बताउँछन्। विश्व चर्चित भएर पनि कानुनको पालना नगर्दा जेल जानुपर्ने अवस्था आउँछ भनेर ठूलो कक्षामा पाठ्यक्रममा राख्ने उनले बताए। गाउँकार्यपालिका बैठक बसेर यसबारे निर्णय लिने तिवारीले बताए ।
लामिछानेको जीवनी पाठ्यपुस्तकमा राख्न नहुने तर्कको प्रतिवाद गर्न उनले प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड, रत्नाकार डाँकुबाट वाल्मिकी बनेका कथाको उदाहरण दिए।
‘समाजको बुझाइ फरक-फरक छ, प्रचण्डलाई एकथरीले हत्यारा भनेको अवस्था छ,’ उनले भने, ‘रत्नाकार डाँकु वाल्मिकी बनेको भनेर जीवनी पढेका छौं, गलत कुरा छ भने जानकारी गराएर लेख्न सकिन्छ।’
संविधानले माध्यमिक तहसम्मको शिक्षाको एकल अधिकार स्थानीय सरकारलाई दिएको छ। शिक्षा मन्त्रालयको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले कक्षा १ देखि ८ सम्म एक विषय स्थानीय पाठ्यक्रमका रूपमा पठनपाठन गराउनुपर्ने व्यवस्था गरेको छ। उक्त व्यवस्थाअनुसार शैक्षिक वर्ष २०७७ देखि लागु लागु गर्ने भनिए पनि अर्जुनचौपारीमा पहिलो पटक पाठ्यपुस्तक तयार गरिएको हो।
स्थानीय पाठ्यक्रममा स्थानीय भूगोल, संस्कृति, भाषा, ज्ञान, सीपलगायत विषय समेट्न सकिने व्यवस्था गरेको छ। व्यवस्था अनुसार अर्जुनचौपारी गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको जनाएको छ।