तीन वर्षअघि कालीकोटको सदरमुकाम मान्ममा सुरू भएको सरूवा रोग अस्पताललाई प्रदेश सरकारले अचानक बजेट दिन बन्द गरेको छ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. संकेत विश्वकर्माका अनुसार बजेट दिन बन्द गरेपछि १८ कर्मचारीलाई हाजिर गराइएको समेत छैन।
‘स्वीकृत दरबन्दी २१ जनाको हो, अस्पताल सञ्चालनमा हुँदा एक जना मेडिकल अधिकृतसहित १८ जना कर्मचारी कार्यरत थिए,’ उनले भने, ‘उहाँहरूलाई तत्कालका लागि हाजिर नगराउनू भनेर सम्बन्धित मन्त्रालयबाट आदेश आयो, बजेट नआउँदा उहाँहरूको सेवासुविधाको सुनिश्चितता नभएकाले बजेट आएपछि फेरि भर्ना लिनेगरी होल्ड गरिएको छ।’
सरूवा रोग अस्पताल २०८० असारसम्म नियमित सञ्चालनमा थियो।
२०७८ असोज ६ गतेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएपछि कालीकोटमा सरूवा रोग अस्पताल निश्चित कर्मचारी दरबन्दीसहित अस्पताल सञ्चालनमा आएको हो।
स्वास्थ्य सेवा कार्यालय कालीकोटअन्तर्गत सञ्चालन हुनेगरी सैद्धान्तिक सहमति दिइएको उक्त अस्पतालमा प्रदेश मन्त्रिपरिषदकै ०७८ कात्तिक ७ गतेको अर्को बैठकले कुल २१ जना अस्थायी कर्मचारी हुनेगरी दरबन्दी थप गरेको थियो।
अस्पताल सञ्चालनका लागि जाने बजेट पूरै कटौती भएपछि कालीकोटबासीले सरूवा रोग अस्पताल अन्तै सार्ने षड्यन्त्र भएको आरोप लगाएका छन्। जिल्लाका स्थानीय र राजनीतिक दलले यस विषयमा माथिल्ला निकायमा खबरदारी गरिरहेका छन्।
स्थानीय युवा हिक्मतबहादुर मल्लले यसै विषयमा उच्च अदालतमा रिट पनि हालेका छन्। सरूवा रोग अस्पतालबाट कालीकोटसहित आसपासका नागरिकले उपभोग गर्दै आएको सेवा कटौती गरेको भन्दै उनले प्रदेश सरकारविरूद्ध साउन ७ गते रिट हालेका हुन्।
सरूवा रोग अस्पताल नियमित सञ्चालनका लागि बजेट नगएपछि जिल्लास्थित राजनीतिक दलहरूले प्रदेश सरकारलाई संयुक्त रूपमा ध्यानाकर्षण गराएका छन्।
‘अघिल्लो वर्षसम्म आएको बजेट यो वर्षबाट कटौती भयो, हामीलाई बजेट छुट्याइएकै होला भन्ने लागेर सुरूमा सरोकार राखेनौं। पछि रातो किताबमा नआएको थाहा पाएपछि सर्वदलीय बैठक बसेर छलफल गर्यौं,’ नेकपा (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष चित्रसिंह गाउँलेले भने, ‘हामीले माथिल्लो निकायलाई सुरूदेखि नै कुरा गरेका छौं, दुई हप्ताअघि प्रदेश सरकारलाई डेलिगेसन गरिसकेपछि बजेट आउँछ भन्ने आश्वासन दिइएको छ।’
उनले साविक कर्णाली र सुदूरपश्चिमका केही जिल्लालाई समेत पायक पर्ने स्थानमा स्थापना गरिएको सरूवा रोग अस्पताल अन्यत्र सार्न खोजिएकोले खबरदारी गरिरहेको बताए।
‘पहिले नै नबनाउनु एउटा कुरा हो, बनेर सञ्चालनमा आइसकेपछि बन्द गर्न खोज्नु राम्रो होइन,’ उनले भने, ‘सञ्चालनमा आइसकेको अस्पताल फेरि अन्यत्र सार्दा यसले क्षति पुर्याउँछ।’
स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख विश्वकर्माका अनुसार सरूवा रोग अस्पताल सञ्चालनका लागि वार्षिक करिब एक करोड रूपैयाँ बजेट आइरहेको थियो।
यसपालि पनि बजेट भाषणमा नआए पनि रातो किताबमा आउँछ कि भन्ने विश्वास आफूहरूले गरेको विश्वकर्माले बताए। तर रातो किताबमा पनि आएपछि सामाजिक मन्त्रालयमा कुरा राखेको उनले बताए।
‘उहाँहरूले अर्थ मन्त्रालयमा फाइल पुगिसकेको छ, व्यवस्था हुन्छ भनेर मौखिक रूपमा जानकारी गराउनुभयो। तर अहिलेसम्म थप कुरा आएको छैन,’ डा. विश्वकर्माले भने।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले कालीकोटको सरूवा रोग अस्पताललाई यो वर्षको लागि बजेट नजानुको कारणबारे आफूलाई स्पष्ट थाहा नभएको बताए।
‘केही गल्ती भएर बजेट नगएको हुन सक्छ, बजेट नपुगेर काटिएको पनि हुन सक्छ,’ उनले भने।
महाशाखा प्रमुख शाहीले सरूवा रोग अस्पतालाई कालीकोटमै निरन्तर सञ्चालन नगर्ने वा अन्यत्र सार्ने विषयमा पनि महाशाखामा कुनै छलफल नभएको बताए।
स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा. रविन खड्काले अहिलेको सरूवा रोग अस्पताललाई अर्को कुनै तरिकाबाट चलाउने भन्ने विषयमा छलफल भएको थियो। कोभिडको समयमा राम्रोसँग चलेको अस्पतालमा अहिले त्यति धेरै बिरामी नहुनुले पनि यसको स्वरूप परिवर्तन गरी चलाउने विषयमा छलफल भएको उनले बताए।
‘यो आर्थिक वर्षमा त्यो अस्पतालका लागि बजेट विनियोजन नहुनुको कारणबारे मलाई पनि थाहा छैन। यो अस्पताललाई अब कसरी कुन मोडालिटीमा चलाउने भन्ने विषयमा भने छलफल भएको थियो,’ खड्काले भने, ‘छलफलको निष्कर्ष निस्किएको छैन, भवन सरकारी छ, सामग्री पूर्ण रूपमा राखिएको हुनाले चलाउनुपर्ने आवश्यकता चाहिँ छ।’
अहिलेको नीति तथा कार्यक्रममा साविकका जिल्ला अस्पतालहरूलाई ५० शय्यामा रूपान्तरण गर्ने उल्लेख भएकाले त्यसअनुसार जिल्ला अस्पतालसँग गाभेर चलाउन सकिने धारणा निर्देशनालयले राखेको उनले बताए।
जिल्ला अस्पतालको भवनले ५० बेड नधान्ने देखिएकाले सरूवा रोग अस्पताललाई समायोजन गरेर चलाउन सकिने उनले बताए।
अहिलेको सरूवा रोग अस्पताल चलाइएको भवनमा उपकरणहरू जडान गरिएकाले व्यवस्थापन गरेर फरक मोडालिटी भए पनि अस्पतालालई चलाउनुपर्ने डा. खड्काले बताए।
अहिलेको सरूवा रोग अस्पतालमा आइसियु बेड, हाई केयर बेड, भेन्टिलेसन लगायतका सबै उपकरण जडान गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. संकेत विश्वकर्माले बताए।
तत्काल उक्त भवनबाट जिल्ला अस्पतालमा आउने क्षयरोगका बिरामीहरूको जाँच गर्ने गरिएको उनले बताए।
‘कुनै महामारी नै फैलियो भने सरूवा रोग अस्पतालमा छुट्टै उपचार गर्ने, नत्र एउटै मातहत भएकाले जिल्ला अस्पतालसँग समन्वय गरेर काम गर्ने योजना बनाएका थियौं, त्यसैअनुसार सरूवा रोग अस्पतालका कर्मचारीलाई पनि काममा लगाएका थियौं,’ विश्वकर्माले भने।
उनका अनुसार कोभिडपछि बिरामी जति जिल्ला अस्पतालमा जान थालेपछि १८ जना कर्मचारीमध्ये कतिपयलाई जिल्ला अस्पतालमै खटाइएको थियो।
सरकारी कार्यालयलाई एकीकृत रूपमा व्यवस्थापन गर्ने उद्देश्यका साथ बनाइएको दुई वटा भवनमा सरूवा रोग अस्पताल सञ्चालन गरिएको थियो। कोभिडपछि भने एउटा भवनमा मात्र उपकरणहरू सारिएको छ। अर्को भवनमा सरकारी कार्यालयहरू नै आएर बसेको विश्वकर्माले बताए।