क्वार्ज क्रिष्टल गोरखामै राख्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक देखिएका छन्।
गोरखा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बजगाई, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरलगायत प्रतिनिधिमण्डलसँग मंगलबार बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री दाहालले क्वार्ज क्रिष्टल गोरखामै राख्न आफू सकारात्मक रहेको बताएका हुन्।
‘क्वार्ज क्रिष्टल गोरखामै राख्न प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ,’ सांसद बजगाईले सेतोपाटीसँग भने, ‘यसबारे सम्बन्धित निकायसँग थप छलफल गर्ने भन्नुभएको छ।’
‘आज दिउँसो सिंहदरबारमा सरोकारवाला पक्षसँग थप छलफल गर्ने भन्नुभएको छ, छलफलमा हामीलाई पनि बोलाउनुभएको छ,’ उनले भने, ‘क्वार्ज क्रिष्टल गोरखामै राख्न मौखिक रूपमा भनेर हुन्न, लिखित निर्णय गरेर पत्र नै दिनुपर्छ भनेर हामीले भनेका छौं।’
सांसद बजगाई, मेयर राना मगर, आरूघाट गाउँपालिका अध्यक्ष राजु गुरूङ, गोरखा नगरपालिकाकी उपमेयर मसलीमाया थोकर, जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरू, उद्योग बाणिज्य संघका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिले क्वार्ज क्रिष्टल गोरखामै राख्न माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्रसमेत बुझाएका छन्।
गोरखा नगरपालिकाले सर्वपक्षिय भेला गरेर क्वार्ज क्रिष्टल गोरखा दरबारसँगै रहेको कालिका मन्दिरमा राख्ने निर्णय गरिसकेको छ।
सतिपिपलस्थित चन्द्रमान शाहीको घरबाट गत असार १४ गते प्रहरीले बरामद गरेको टल्कने ढुंगा क्वार्ज क्रिष्टल भएको खानी तथा भूगर्भ विभागका भूगर्भविदहरूले परीक्षणबाट पुष्टि गरेका थिए।
शाही परिवारले पुस्तौंदेखि कुलदेउताका रूपमा पुज्दै आएकोले क्वार्ज क्रिष्टललाई गोरखा दरबारसँगै रहेको कालिका मन्दिरमा प्रतिस्थापन गर्ने निर्णय गोरखा नगरपालिकाले गरेको थियो। सो जानकारी प्रधानमन्त्रीलाई दिन प्रतिनिधिमण्डल काठमाडौं आएका हुन्।
शाही परिवारले पूजा गर्दै आएको क्वार्ज क्रिष्टललाई भगवती शिलाका रूपमा कालिका मन्दिरमा प्रतिस्थापन गर्ने गोरखा नगरपालिकाको तयारी छ।
खानी तथा भूगर्भ विभागले क्वार्ज क्रिष्टललाई विभागको संग्रहालयमा राख्नुपर्ने बताएको छ। क्वार्ज क्रिष्टल काठमाडौं पठाइदिन विभागले गोरखाका प्रमुख जिल्ला अधिकारीलाई आग्रहसमेत गर्दै आएको छ।
जिल्ला प्रहरी कार्यालयभित्र करिब डेढ महिनादेखि राखिएको क्वार्ज क्रिष्टल 'दर्शन' गर्न मानिसहरू जाने गरेका छन्।
गृहमन्त्री श्रेष्ठ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि क्वार्ज क्रिष्टल अवलोकन गरिसकेका छन्।
चन्द्रमानकी श्रीमती राममायाले विभिन्न तिथी र साउने संक्रान्तिमा प्रहरी कार्यालयमै पुगेर क्वार्ज क्रिष्टललाई पूजा गर्दै आएकी छन्। 'आफ्नो देउतालाई प्रहरीले थुनेको' भन्दै उनले पूजा गर्न पाउनुपर्ने माग राख्दै आएकी छन्।
क्वार्ज क्रिष्टललाई देउताका रूपमा पुज्दै आइरहेको शाही परिवारसहित सर्वपक्षिय बैठक राखेर गोरखा नगरपालिकाले कालिका मन्दिरमा राख्ने र पूजा गर्न सर्वसाधारणलाई दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो।
नगरपालिका र खानी तथा भूगर्भ विभागबीच क्वार्ज क्रिष्टल कहाँ राख्ने भन्नेमा कुरा मिलिसकेको छैन।
विभागले खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा २५ को उपदफा १ अनुसार अनुमति नलिई संकलन गरिएकोले क्वार्ज क्रिष्टल विभागलाई नै उपलब्ध गराइदिन आग्रहसहितको प्रतिवेदन दिएको थियो।
तर शाही परिवारले क्वार्ज क्रिष्टल पुस्तौंदेखि पुज्दै आएको र हालसालै उत्खनन् नगरिएको दाबी गर्दै आएका छन्।
५२ किलो ३ सय ३० ग्राम तौल भएको क्वार्ज क्रिष्टल कडापनका आधारमा वर्गीकरण गर्दा सातौं नम्बरमा पर्ने विभागले गरेको परीक्षणबाट देखिएको थियो।
घरमा कपडाभित्र बेरेर राखेको 'देउता' लाई एक दिन चन्द्रमान र राममायाका छोरा सुरेशले मोबाइलबाट फोटो खिचेका थिए। उनले पारदर्शी र प्रकाश दिँदा टल्कने पत्थर के हुन सक्छ भनेर सामाजिक सञ्जाल र साथीभाइहरूसँग जिज्ञासा राखेपछि पत्थर हेर्न उनको घरमा भिड लाग्न थालेको थियो।
बहुमूल्य पत्थर लाखौंमा किनबेचका लागि मोलमोलाइ हुन लागेको सूचनाका आधारमा गत असार १४ गते शाहीको घरबाट प्रहरीले क्वार्ज क्रिष्टल बरामद गरी प्रहरी कार्यालयमा राखेको थियो।
भूगर्भविदहरू सुस्मिता भण्डारी र दुर्गा बेलाखेले दुई दिन परीक्षण गरी उक्त टल्कने ढुङ्गा क्वार्ज क्रिष्टल भएको पुष्टि गर्दै विभागमा पठाइदिन आग्रह गरेका थिए।
गोरखाबाट क्वार्ज क्रिष्टललाई काठमाडौं ल्याउन खोजेपछि स्थानीय सरकार (गोरखा नगरपालिका) राजनीतिक दलहरू, नागरिक समाज र १८ भन्दा बढी संघसंस्थाले विरोध गर्दै आएका थिए।
देउता मानेर शाही परिवारले पूजा गरेको र धार्मिक आस्थासँग पनि यो विषय जोडिएकोले प्रशासनले सरोकारवालाहरू बीचकै सहमतिमा क्वार्ज क्रिष्टलको व्यवस्थापन गर्ने तयारी गरेको छ।
गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पनि क्वार्ज क्रिष्टल कहाँ राख्ने भन्नेबारे आफूहरूले प्रधानमन्त्री कार्यालयकै निर्णय कुरिराखेको बताए।