नेपाली कांग्रेसका सांसदहरूले सुन काण्डलगायत भ्रष्टाचार प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेर जानुपर्ने पक्षमा उभिन पार्टी नेतृत्वलाई दबाब दिएका छन्।
मुख्यगरी संस्थापनइतर समूहका सांसदले सुन प्रकरणसहित चर्चित भ्रष्टाचार काण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय संसदीय दलबाट गर्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।
आइतबारको संसदीय दल बैठकमा बोल्दै सांसद शेखर कोइरालाले सुन प्रकरणलगायत छानबिन गर्न उच्चस्तरीय समिति गठनको आवश्यकता रहेको औंल्याए। उनले राजश्व अनुसन्धान र सिआइबीले यो प्रकरण टुंगो लगाउन गाह्रो देखिएको तर्क गरे।
‘राजश्व अनुसन्धानका महानिर्देशक एक साताअघि प्रधानमन्त्रीजीको सचिवालयमा हुनुहुन्थ्यो। महानिर्देशक भएपछि सुन बरामद त भयो तर त्यसपछिका घटनाहरू पनि हेरौं,’ कोइरालाले भने, ‘सिआइबीलाई छानबिन गर्न किन दिनुपर्यो, राजश्व अनुसन्धानले नै छानबिन गर्न सक्षम छ भनेर महानिर्देशक भन्नुहुन्थ्यो। त्यसैले पनि सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छ।’
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले पनि सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै लगातार संसद बैठक अवरूद्ध गर्दै आएको छ। यसबारे कोइरालाले थपे, ‘एमालेले किन उच्चस्तरीय छानबिन समिति माग गरेको हो? त्यतातर्फ पनि हामीले सोच्नुपर्छ।’
अर्का सांसद प्रदीप पौडेलले सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्न नचाहेको देखिएको बताए। उच्चस्तरीय समिति गठन नगर्ने हो भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थनमा कांग्रेसले पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ।
‘सबै चर्चित काण्डहरू छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने निर्णय कांग्रेस संसदीय दलले गर्नुपर्छ,’ पौडेलले भने, ‘सरकार उच्चस्तरीय छानबिन समिति बनाउन तयार नहुने हो भने प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिनुपर्छ।’
गणतन्त्र आएदेखि अहिलेसम्मका चर्चित भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न सरकार तयार हुनुपर्ने र त्यसका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने पौडेलको भनाइ छ।
अर्का सांसद सुनिल शर्माले पनि उच्चस्तरीय छानबिन समिति बनाएर सुन प्रकरणलगायत छानबिन गरिनुपर्ने बताएका छन्। नैतिक विषय उठान गरेर आफूले प्रतिनिधि सभा बैठकमै सुन प्रकरण छानबिन गर्न अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको उनको भनाइ छ।
‘सुनसहित विगतका चर्चित काण्ड छानबिन गर्न एउटा बलियो छानबिन समिति गठन गर्नुपर्छ,’ शर्माले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीले भ्रष्टाचार गरे भने पनि छानबिन गर्न सक्ने शक्तिशाली आयोग बनाउनुपर्छ, यसका लागि लोकपाल विधेयक ल्याउन पार्टीले नेतृत्व लिनुपर्छ भनेर मैले भनेको छु।’
सांसद शर्मा नक्कली शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा पक्राउ परेका थिए। शुक्रबार काठमाडौं जिल्ला अदालतले उनलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।
बिहीबार पक्राउ परेका शर्माले त्यसअघि सुन प्रकरणको अनुसन्धान गर्न अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनु पर्ने बताएका थिए।
अर्का सांसद उदयशम्शेर राणाले सुन प्रकरणमा नाम आइरहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि किन छानबिन नभएको हो भन्दै प्रश्न उठाएका छन्।
‘कांग्रेसका सांसद र नेताहरूमाथि सरकारले पूर्वाग्रही भएर टार्गेट गरेको छ भन्ने कुरा पनि आएका छन्,’ उनले भने, ‘महराका बाबु-छोरामाथि किन अनुसन्धान भइरहेको छैन?’
सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचार काण्ड छानबिनका लागि न्यायिक समिति बनाउनु पर्ने बताए।
‘सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाउन पनि सकिन्छ,’ उनले भने।
सांसद प्रतिमा गौतमले नेपाल सुन तस्करीको हब बन्दै जानु चिन्ताको विषय भएको बताइन्।
‘सुन प्रकरणमा सत्तारूढ दलकै केही नेताका नामसमेत आएका छन् तर उनीहरूमाथि किन छानबिन भइरहेको छैन?,’ उनले प्रश्न गरिन्, ‘यसबारे हामी किन चुप?’
बैठकमा बोल्दै अर्थमन्त्रीसमेत रहेका कांग्रेस सांसद प्रकाशशरण महतले भने सुन प्रकरणमा सिआइबीले छानबिन गरिरहेको बताए।
‘यसबारे हामीले हङकङलाई पनि पत्राचार गरेका छौं, अनुसन्धानहरूले थप तथ्यहरू पनि ल्याइरहेका छन्,’ उनले भने।
प्रमुख सचेतक रमेश लेखकले शुक्रबार र आइतबार गरी ५० जना सांसदहरूले धारणा राखेको बताए। सोमबार बिहान ११ बजे पुन: संसदीय दल बैठक बस्ने बताए।
‘भोलि संसदीय दल बैठकबाट केही महत्वपूर्ण प्रस्तावमा निर्णय गर्छौं, सुनलगायत धेरै विषयमा कुरा उठेको छ,’ उनले भने।
उनले सरकार ढाल्ने विषयमा संसदीय दलमा कुरा नभएको बताए।
‘सरकार ढाल्ने, अर्को बनाउनेजस्ता विषयमा यहाँ कुरा भएको छैन,’ उनले भने।