नेपाली कांग्रेस संसदीय दलको बैठकमा सरकारको चर्को आलोचना भएको छ।
नयाँ बानेश्वरमा शुक्रबार सुरू संसदीय दल बैठकमा सांसदहरूलाई विभिन्न ७ एजेन्डामा केन्द्रित रहेर बोल्न समय दिइएको छ।
सभापतिसमेत रहेका संसदीय दल नेता शेरबहादुर देउवाले प्रतिनिधि सभा र राष्ट्रिय सभा सांसदहरूलाई पालैपालो बोल्न समय दिएका छन्।
संसदको गतिरोध, सरकारले ल्याउने विधेयक, संसद प्रभावकारी बनाउने, केही विषयमा ध्यानाकर्षण गराउनेजस्ता एजेन्डा तोकिएका छन्।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै लगातार संसद अवरोध गरिरहेको छ।
संसदको गतिरोध अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिले पहल पनि गरिरहेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सत्ता पक्षका शीर्ष नेता र प्रमुख प्रतिपक्षी दलका नेताबीच पटक-पटक बैठक भए पनि सदनको अवरोध खुलेको छैन।
कांग्रेसका सांसदहरूले संसदको गतिरोध अन्त्य गर्न पार्टीले नै पहल लिनुपर्ने आवाज पनि संसदीय दल बैठकमा राखेका छन्।
साथै सरकार पूर्वाग्रही भएको आशंकासमेत कांग्रेस सांसदहरूको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय सदस्य बालकृष्ण खाण, ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय सदस्य विजयकुमार गच्छदार र शैक्षिक प्रमाण पत्र कीर्ते आरोपमा सांसद सुनिल शर्मालाई अभियोग लगाइएकोले यो पूर्वाग्रह हुन सक्ने सांसदहरूको भनाइ छ।
बैठकमा कांग्रेस प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतको आलोचना भएको छ। बजेट ल्याएपछि संसदीय दल बैठक बसेको थिएन। साउन २ देखि १० सम्म चलेको केन्द्रीय समिति बैठकमा पनि अर्थमन्त्रीको आलोचना भएको थियो।
अर्थमन्त्री महतले बजेट सबै क्षेत्रमा विनियोजन नगरेको र सांसदहरूलाई भेट्ने समय पनि नदिएको सांसदहरूले आरोप लगाए। अर्थमन्त्रीले बजेट बनाउँदा विभेदपूर्ण तरिकाले बनाएको भन्दै सांसदहरूले आलोचना गरेका हुन्।
सांसद सुनिल शर्मा पक्राउ परेको विषयबारे पनि बैठकमा सांसदहरूले कुरा उठाएका छन्।
मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बिहीबार निवास मण्डिखाटारबाट पक्राउ गरेको थियो। शर्मामाथि शैक्षिक प्रमाण पत्र कीर्ते गरेको अभियोग छ।
सांसद अर्जुननरसिंह केसीले सांसद शर्माको पक्राउ शंकास्पद रहेको बताए।
‘सुन प्रकरणमा अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको हुनाले सांसद शर्मालाई पक्राउ गरिएको त होइन?,’ केसीले आशंका व्यक्त गरे। सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने विषय राखेका थिए।
अर्का सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सांसद शर्मामाथि लगाइएको अभियोग यसअघि नै टुंगिइसकेको विषय भएको दाबी गरे।
‘सांसद शर्मामाथि पहिले पनि शैक्षिक प्रमाण पत्रका विषयमा छानबिन भएको थियो, त्यसैबेला यो सुल्झिइसकेको विषय हो, अहिले फेरि किन पक्राउ गरिएको हो?,’ कार्कीले प्रश्न गरे।
सांसद उदयशम्शेर राणाले एकपछि अर्को गर्दै पार्टीका नेतामाथि सरकारले अभियोग लगाएको बताए।
‘हाम्रो पार्टी नै सरकारमा छ, तर हाम्रा नेताहरू बालकृष्ण खाण, विजयकुमार गच्छदार र सुनिल शर्मामाथि सरकारले किन टार्गेट गरिरहेको छ?,’ उनले प्रश्न गरे, ‘ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाललाई किन विदेश जान दिइयो?, बयान किन लिइएन?’
सांसद सरिता प्रसाईंले सरकार पूर्वाग्रहीजस्तो देखिएको बताइन्।
‘हाम्रा नेताहरूमाथि सरकारले विभिन्न अभियोग लगाइरहेको छ, के माओवादीका नेताहरू चोखा छन्? उनीहरूका पनि विभिन्न प्रकरणमा नाम आएका छन्, सरकारले उनीहरूमाथि किन छानबिन गरेन?,’ उनले भनिन्, ‘यसबारे प्रधानमन्त्रीसँगै नेतृत्वले जवाफ माग्नुपर्छ।’
सांसद प्रदीप पौडेलले भ्रष्टाचारका फाइल इमान्दारितापूर्वक खोलिएको हो भने त्यसमा जो-सुकै परे पनि आपत्ति नहुने बताए।
‘भ्रष्टाचारीलाई कुनै पनि ढंगले संरक्षित गरिनु हुँदैन,’ उनले भने, ‘तर कुनै एउटा अमुक पार्टीका मानिस पर्दा त्यसलाई कारबाही गर्ने, त्यही तहमा तथ्य र प्रमाण भेटिए पनि आफ्ना पार्टीका नेता भए केही नगर्ने पूर्वाग्रही ढंगले अघि बढ्ने स्थिति देखियो भने त्यो गम्भीर हुन्छ।’
विभिन्न प्रकरणमा नाम आएकाहरूमाथि सरकारले छानबिन नगर्दा आशंका उब्जिएको उनले बताए।
‘२०६४ पछि भएका सबै प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ,’ उनले भने, ‘निष्पक्षतासहित छानबिन गरियो भने आपत्तिको विषय हुन्न। सुनिल शर्मामाथि लगाएको आरोप पनि हामी बुझ्दैछौं। उहाँले पछिल्लो समय सुन प्रकरणबारे बोल्नुभएको थियो, त्यसैलाई केन्द्रमा राखेर पक्राउ गरेको त होइन भन्ने आशंका पनि छ।’
अर्का सांसद श्यामकुमार घिमिरेले सांसद शर्मामाथि सरकारले प्रतिशोधको भावना राखेको देखिएको बताए।
‘संसद चलिरहेका बेला सांसद शर्मालाई किन गिरफ्तार गर्नुपर्यो? यसका लागि अन्य बाटा थिए होलान्, बयान लिन सकिन्थ्यो। उहाँलाई थुनामै राख्नुपर्ने अवस्था होइन,’ उनले भने, ‘प्रतिशोधको भावले काम गरियो भन्ने बुझाइ सांसदहरूको रह्यो।’
उनले सांसद शर्मालाई पक्राउ गरेकोबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुपर्ने पनि बताए। ‘सांसद शर्मालाई पक्राउ गरेकोबारे गृहमन्त्रीले संसद र सार्वजनिक रूपमा पनि जवाफ दिनुपर्छ,’ घिमिरेले भने।
प्रमुख सचेतक रमेश लेखकले बाढीपहिरो र डुबानपीडितलाई सरकारले तत्काल उद्धार र राहत दिनुपर्ने निर्णय गरिएको बताए। भत्किएका सडक तत्काल मर्मत गर्न पनि कांग्रेस संसदीय दलले सरकारको ध्यानाकर्षण गराएको छ।
लम्की स्किन फैलिएकोले नियन्त्रण र किसान राहत दिन पनि कांग्रेसले माग गरेको छ। डेंगी र आँखा पाक्ने रोग नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको लेखकले बताए।
मधेसमा पानी कम परेको र भूमिगत पानीको सतह तल झरेकोले सरकारलाई उचित ध्यान दिन आग्रह गरिएको उनले बताए।
‘मोरङबाट निर्वाचित सांसद सुनिल शर्मा पक्राउ अनुचित छ भनेर सांसदहरूले धारणा राख्नुभएको छ, यसलाई गम्भीर रूपमा लिइएको छ,’ उनले भने, ‘विषयबस्तुमाथि थप गहिराईमा पुगेर आइतबार यसबारे पार्टीले धारणा सार्वजनिक गर्छौं।’
सांसद शर्मालाई सिआइबीले पक्राउ गरी थुनामा राखेकोबारे सभापति देउवाले शुक्रबारको बैठकमा भने केही बोलेनन्।
शुक्रबार १९ जना सांसदले धारणा राखेका छन्।
आइतबार दिउँसो १२:३० बजे बस्ने बैठकमा बाँकी सांसदले र सभापतिसहित सांसद रहेका पदाधिकारीहरूले धारणा राख्नेछन्। सांसद शर्माबारे पार्टीले आइतबार नै आधिकारिक निर्णय लिने प्रमुख सचेतक लेखक बताउँछन्।