महोत्तरीको पिपरा गाउँपालिका–२ की ३२ वर्षीया काजल कुमारी देवी दासलाई बोक्सी भएको भन्ने आरोपमा उनका श्रीमान् र सौता लगायतले गत असार ३१ गते निर्घात कुटपिट गरे। उनी जिउभरि नीलडाम लिएर भोलिपल्ट जिल्ला प्रहरी कार्यालय, महोत्तरी पुगिन्।
काजलले आफूलाई बोक्सी भनेर पटक पटक यातना दिने श्रीमान् र परिवारका अन्य केही सदस्यलाई कारबाही गरी आफूलाई न्याय दिलाउन प्रहरीसामु याचना गरिन्।
'सौतापट्टिको बच्चा बिरामी पर्यो भने, परिवारमा कसैलाई केही भयो भने बोक्सी भनेर सबैले मलाई कुट्छन्। कति पटक त बेहोस पनि भइहाल्छु,’ उनले आफ्नो शरिर देखाउँदै प्रहरीलाई भनिन्। गत वैशाखमा उनको ‘बोक्सी उतार्न’ र ‘शक्ति भगाउन’ भन्दै उनका श्रीमानले उनलाई मुखियापट्टि मुसहरनिया गाउँपालिकाको फेचहा टोलमा रहेको हनुमान मन्दिरमा पुर्याएर झाँक्रीको जिम्मा लगाएका थिए।
असारको अन्तिम साता झाँक्रीले उनलाई राति मसान घाटमा लगे। दुई पटक परेवा र एकपटक कुभिन्डोको बलि पनि दिन लगाए। झाँक्रीले काजल 'बोक्सी होइनन्' भन्ने टुंगो गरेर घर पठाए।
असार ३१ गते सौताकी छोरी बिरामी परिन्। धामीसँग मिलेको भनेर श्रीमान् र सौताले फेरि निर्घात कुटपिट गरेर घाइते बनाए।
काजलले आफ्नो उजुरी सुनाइसकेपछि प्रहरी कार्यालयमा पुगेपछि त्यहाँको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले घरेलु हिंसा सम्बन्धी निवेदन दिनू र घाउ जाँच गराएर छलफलमा आउनू भन्यो।
प्रहरीले साउन ४ गते पीडक श्रीमान् विनोदकुमार दासलाई बोलायो र दुबै पक्षलाई छलफलमा राख्यो। प्रहरीका तर्फबाट काजललाई पैसा लिएर श्रीमानसँग सम्बन्ध तोड्न र अलग बस्न भनियो ।
‘बोक्सीको कुरा लेखेर जाहेरी दियौ भने तिम्रो परिवारका सबैलाई जेल भइहाल्छ। अदालतको चक्कर काट्नुपर्छ। तिमी यस्तो जाहेरी नदेऊ घरेलु हिंसाको निवेदन देऊ भनेर सई (प्रहरी नायब निरीक्षक) साहेबले भन्नुभयो,’ काजलले भनिन्, ‘म कुटाइ खाँदा खाँदै टुटिसकेकी थिएँ, मलाई सई साहेबले जस्तो भन्नुभयो त्यस्तै निवेदन दिएँ।’
छलफलमा काजलले श्रीमानलाई कुनै कारबाही नगरे पनि आफूलाई नागरिकता प्रमाणपत्र बनाइदिनुपर्ने र सम्पत्तिको हक दिनुपर्ने माग राखिन्। यसपछि विनोदकुमार भड्किए। कुरा मिलेन। प्रहरी कार्यालयले आपसी छलफल गरेर आउनू भनेर बाहिर पठायो। प्रहरी कार्यालय परिसरबाहिर गएर छलफल गर्न र कागज बनाएर आउन प्रहरीले भनेको उनले बताइन्।
काजलका अनुसार उनका श्रीमान् विनोदकुमारले जीवनयापनका लागि ब्युटी पार्लर खोल्न पैसा दिने र काजल अलगै बस्ने सहमति भयो।विनोद कुमारले पैसा बुझाएको प्रमाण चाहिन्छ भनेपछि लिखत बनाउने कुरा भयो। एक जना लेखनदासले लिखत तयार गरे।
काजलले लिखतमा भएअनुसारको पैसा लिइन्। कागज बनाउन पनि राजी भइन्।
लिखतमा एकापट्टि ‘बुझिलिनेको नामः काजल कुमारी देवी’ लेखेर औंठाछाप लगाइएको छ। अर्कोपट्टि ‘बुझाउनेको नामः विनोद कुमार दास’ लेखेर सही गरी औंठाछाप लगाइएको छ। काजल लेखपढ गर्न जान्दिनन्। लिखतमा उनले औंठाछापमात्र लगाएकी छन्।
लिखतमा ‘रोहवर’ बसेकी वडा सदस्य रिता देवीको पनि औंठाछाप छ। उनी पनि लेखपढ जान्दिनन्।
काजलले देखाएको लिखतमा ‘...३२ वर्षकी काजल कुमारी देवीले विनोदकुमार दाससँग परेको विवादमा विनोदकुमार दाससँग भारतीय रू पैयाँ १,०५,००० - (अक्षरूपी एक लाख पाँच हजार) भारतीय रूपैयाँ लिई बुझी निज विनोदकुमार दास उपरको अंश लगायत सम्पूर्ण दाबी छोडाई निजसँगको नाता सम्बन्ध विच्छेद गरी लिएको छु।विनोदकुमार दाससँग आफ्नो नातासम्बन्ध नरहने गरी मैले उनी उपर कुनै किसिमको दाबी गर्ने छैन भनि आफ्नो मनोमान खुशीराजी सँग यो सम्झौताको कागज लेखी लेखाई सहिछाप गरि एकएक प्रति लिएका छौं। साक्षी किनाराको सदर म काजल कुमारी दास नगद रु.१,०५,००० - रुपैयाँ बुझी पिपरा गाउँ छोडी दिने छु। मैले फेरि विनोद कुमार दासउपर कुनै प्रकारको दाबी गर्ने छैन । नाता सम्बन्ध राख्ने छैन’ लेखिएको छ।
घर पुगेर वडा सदस्य रिताले छोरालाई लिखत पढ्न लगाइन्। सुनेर रिता छाँगाबाट खसिन्। काजलमाथि अन्याय भएको थाहा पाइन्। लिखत नसुनी सहीछाप गरेकोमा उनलाई पश्चात्ताप भयो।
‘म पढलेख गरेको छैन। आफ्नो नाम लेख्नमात्र सिकेको छु। लेखेको पढ्न जान्दिनँ। मैले औँठाछाप लगाएर कागजमा सही गर्ने ठाउँमा नाम लेखिदिएँ। लेखनदासले कागज पढेर पनि सुनाएन,’ वडा सदस्य रिता देवीले भनिन्, ‘सम्बन्ध विच्छेद गर्ने र यो गाउँमा नबस्ने कुरा लेखेको त मैले घरमा आएर छोरालाई कागज पढ्न लगाएपछि थाहा पाएँ। त्यस्तो कुरा भएको थिएन।’
उनका अनुसार श्रीमानले दिएको पैसाले काजलले आफैं गरीखाने कुरा भएको हो, सम्बन्ध विच्छेद गर्ने र गाउँ छोड्ने कुरा भएको होइन। हाल काजल रिता देवीकै आश्रयमा छिन् ।
जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दिलीपकुमार गिरीका अनुसार लिखत तयार गरेर प्रहरी कार्यालयभित्र गएपछि दुबै पक्षले अबउप्रान्त झैझगडा र कुटपिट नगर्ने भनेर सहमति गरेका थिए। अरू कुरा आफूलाई थाहा नभएको बताए।
‘गाउँ छोडी दिने छु। विनोद कुमार दासउपर कुनै प्रकारको दाबी गर्ने छैन । नाता सम्बन्ध राख्ने छैन’ भन्ने कुरा लेखेको थाहा पएपछि काजल र रिताले सञ्चारमाध्यमलाई घटना जानकारी गराए।
घटना सार्वजनिक भएपछि केही अधिकारवादी संस्थाका प्रतिनिधिहरू काजललाई लिएर जिल्ला प्रहरी कार्यालय, महोत्तरी पुगे। काजलले श्रीमान् विनोद, सौता शिलादेवी दास र धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का धामी दिनेश यादवविरुद्ध बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ अन्तर्गत यही साउन २० गते लिखित दिइन्।
डिएसपी गिरीले जाहेरी दर्ता गर्न अस्वीकार गरे। अधिकारकर्मी प्रतिनिधिहरू र डिएसपी गिरीबीच केहीबेर चर्काचर्की पर्यो।
‘डिएसपीले बोक्सीको आरोपमा यातना दिएको जाहेरी नै आएको छैन, मुद्दा (जाहेरी) दर्ता गर्न मिल्दैन भन्नुभयो,’ गैरसरकारी संस्था इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले भने, ‘काजलको शरीरभरि कुटपिटको नीलडाम थियो । घाउजाँचको रिपोर्ट र अन्य प्रमाण हुँदाहुँदै पनि मुद्दा दर्ता गर्न नमानेपछि एकछिन चर्कैचर्की भयो। एक छिनमा डिएसपी उठेर हिँडिदिए।’
व्यापक दबाब परेपछि बाध्य भएर भोलिपल्ट मुद्दा दर्ता भएको पासवानले बताए।
काजल भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा जन्मेकी हुन्। सानैमा आमाबुबा बितेपछि उनी अनाथाश्रममा हुर्किन्। पछि माइती नेपालले उनलाई काठमाडौँ ल्यायो।माइती नेपालमा तीन वर्ष बसिन्। त्यहीँ उनले सिलाई र ब्युटी पार्लरको काम सिकेकी थिइन्।
विवाहपञ्चमी मेलामा जनकपुर जाँदा विनोदसँग चिनजान भएको थियोे। त्यही आधारमा काजल र विनोदबीच १२ वर्षअघि प्रेम विवाह भएको थियो। काजलका अनुसार विनोदले आफू विवाहित भए पनि श्रीमतीसँग सम्बन्ध विच्छेद भएको बताएका थिए। बिहे गरेर गएपछि उनले घरमा सौता देखिन्। विनोदले ढाँटेका रहेछन्।
काजलेले आफ्ना तीन वटा गर्भ नष्ट गरिदिएको र दुई बच्चा पनि जन्मेपछि मरेको बताइन्।
उनले भनिन्, ‘मेरो दुई बच्चा पनि रहेन। मेरो पनि हत्या गरिदिन्छ भन्ने डर लागेपछि प्रहरी कार्यालय पुगेँ।’
स्थानीय बासिन्दाहरूका अनुसार महोत्तरीमा बोक्सी भएको आरोपमा यातना भोग्ने महिलाहरू धेरै छन् तर घटना मुद्दा बन्ने गरी सार्वजनिक हुँदैनन्।
कतिपय घटनामा प्रहरीले कारबाही प्रक्रिया नै चलाइदिँदैन। यस्तैमध्ये अर्की एक हुन् महोत्तरीको रामगोपालपुर नगरापलिकाकी कलावती देवी मुखिया। ज्याला मजदुरी गरेर गुजारा चलाउने उनलाई छिमेकीहरूले कुटपिट गर्ने गरेको प्रत्यक्षदर्शीहरूको समेत भनाइ छ।
स्थानीय राम ईश्वर मुखियाले भने, ‘कलावतीलाई बोक्सी भनेर छिमेकीले निर्घात कुटेको धेरै पटक देखेका छौँ। उनलाई साह्रै अन्याय भएको छ। न्याय दिलाउने कोही छैन।’
गत वैशाखमा उनलाई छिमेकीले नै लछारपछार गर्दै कुटेका थिए। छिमेककी एक बुहारी बिरामी परेकी थिइन्। बोक्सी लागेर बिरामी बनाएको आरोपमा बिरामीका परिवारजनले कलावतीलाई निर्घात कुछपिट गरे। उनको घुँडा फुटेर रगत बग्यो। अरू केही छिमेकीले उनलाई थप कुटपिट हुनबाट जोगाए। कालावतीका अनुसार केही मान्छेले उनलाई महिनैपिच्छे कुट्छन्। उनका श्रीमान् अस्वस्थ छन्। बाल्यवस्थाका तीन जना छोरा छन्। श्रीमान् र छोराहरूको पालनपोषणका कलावती ज्यालादारी गर्छिन्।
गत असोजमा एउटा परिवारका व्यक्तिहरूले कलावतीलाई बोक्सी भनेर कुटपिट गरे। उनका छोरालाई पनि कुटे। उनले इलाका प्रहरी कार्यालय, रामगोपालपुरमा निवेदन दिइन्। प्रहरीले दुबै पक्षलाई बोलाएर समान्य छलफल गरायो।
‘मलाई कुट्नेहरूले अबदेखि बोक्सी भनेर गाली नगर्ने र कुटपिट पनि नगर्ने भने। प्रहरीले उनीहरूलाई छोडिदियोे,’ कलावतीले भनिन्, ‘उनीहरूको (कुटपिट गर्नेको) त नेतासँग चिनजान छ, प्रहरीसँग पनि उठबस गर्छ। मेरो कोही छैन। प्रहरीमा गएर पनि न्याय मिल्दैन।’
इलाका प्रहरी कार्यालय रामगोपालपुरका इन्चार्ज सई (प्रहरी नायब निरीक्षक) सुमनकुमार सिंहले त्यो समय आफू यहाँ नरहेकाले उक्त घटनाबारे थाहा नभएको बताए।
कलावतीले एउटा घटना सुनाइन्। एक वर्षअघि गाउँका एक व्यक्ति बिते। मानिसहरू ती व्यक्ति क्यान्सर लागेर मरेका हुन् भन्छन् । मृतकका परिवारका मान्छे चाहिँ कलावतीले टुनामुना गरेर मारेको भन्छन्।
‘यहाँ गाउँमा कसैलाई जोरो आयो, झाडा लाग्यो भने मैले नै गराएको भन्छन्। मलाई हेर्नासाथ गाली गर्न थाल्छन्,’ उनी भन्छिन्, ‘दिसा खुवाउने अनि भारतबाट सुटर बोलाएर हत्यै गरिदिने धम्की पनि दिने गरेका छन्। म त सधैँ डराएर बाँचेकी छु। मेरो त खाने नै उपाय छैन, सबैसँग कसरी लड्नु!’
प्रहरीले यी दुवैे घटनामा उजुरी लिएर आएपछि बोलाएर छलफल गराएको देखिन्छ। अझ मिलापत्र गर्न कागज गरेर आउ भनेको देखिन्छ। यस्तो छलफल गराउने र मिलापत्र गराउने कानुनी व्यवस्था छैन। बोक्सी आरोप कसुर सजाय २०७२ ले बोक्सीको आरोपमा गरिएका व्यवहारलाई कसुरजन्य कार्य मानेको छ। बोक्सीको आरोप लगाउने कसुर भएको भइरहेको भन्ने थाहा पाउने कसैले पनि प्रहरीलाई उजुरी गर्न सक्छ। यस्तो कसुर भएको मौखिक वा लिखित जाहेरी आएमा तुरून्तै दर्ता गर्नुपर्ने भनेर उक्त कानुनको दफा ४ मा उल्लेख गरिएको छ। तर दुवै घटनामा पिडित स्वयं पुग्दा पनि प्रहरीले मिलाएर पठाएको देखिन्छ।
कानुनमा बोक्सीको आरोपमा हुने व्यवहरालाई कसुरको मात्रा अनुसारको दण्ड सजाय व्यवस्था गरिएको छ। बोक्सीको आरोपमा अपमान गर्नेलाई सबभन्दा कम सजाय पनि ६ महिना हुन्छ। जरिवाना भने सबभन्दा कम ५ हजार हुन्छ। बोक्सी आरोपमा गरिएको कसुर गम्भीर रहेछ भने सबभन्दा बढि सजाय ८ वर्ष हुन्छ। सबभन्दा बढि जरिवाना १ लाख छ।
इन्सेकका मधेश प्रदेश संयोजक पासवानका अनुसार प्रहरीको बेवास्ताका कारण बोक्सीको आरोपमा गालीगलौज, दुव्र्यवहार र कुटपिटका घटना धेरै हुने गरेका छन्। प्रहरीको लापरबाहीले गर्दा पीडकले उन्मुक्ति पाउँछ।
‘बोक्सीसम्बन्धी घटनामा प्रहरीले लापरबाही गर्छ। जहिले पनि पीडित नै अन्यायमा पर्छ। प्रहरीले सधैँ मेलमिलाप गराएर न्यायको बाटो बन्द गरिदिन्छ’ पासवान भन्छन्, ‘मधेश प्रदेशका आठवटै जिल्लाको अवस्था यस्तै छ। प्रहरीले पीडितको उजुरी नै लिँदैन। सामान्य कुटपिट जस्तो गरी मेलमिलाप भनेर पीडकलाई उन्मुक्तिको बाटो बनाइदिन्छ।’
उनका अनुसार बोक्सी भएको आरोप लाग्नेमा एकल महिला, दलित र गरिबहरू धेरै छन्। उनी भन्छन्, ‘यस्ता महिलाको न राजनीति, न प्रशासन, न कानुन; कतै पनि पहुँच हुँदैन। धामीझाँक्रीले कमाई खाने भाँडो बनाएका छन्।’
महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी गिरी प्रहरी कार्यालयमा बोक्सीसम्बन्धी आरोपमा घटना फाटफुटमात्रै आउने गरेको बताउँछन्। यस्ता घटनाबारे प्रहरी कार्यालयमा भएको तथ्यांक माग्दा जिल्लामा तीन वर्षमा कुनै घटना नभएको उनले दाबी गरे।
ग्रामीण क्षेत्रका महिलाहरूले आफूमाथि भएको अन्यायबारे प्रहरीमा बोल्नै नमानेको उनको भनाइ छ।
‘एक त मधेशका महिलाहरू कानुनबारे जानकार छैनन्। कानुनी सहायता पाउँदैनन्। परिवार र समाजको डरले प्रहरीमा आउँदैनन्,’ डिएसपी गिरी भन्छन्, ‘पीडितलाई राज्यको कुनै निकायप्रति विश्वस नै छैन जस्तो लाग्छ। हामीले प्रहरी साझेदारी कार्यक्रममा सचेतना कार्यक्रम चलाइरहेका छौं।’
उनले अन्यायमा परेँ भनेर आउनेलाई न्याय दिलाउन प्रहरी कार्यालयले कुनै कसर बाँकी नराख्ने बताए।
तर उनले दाबी गरे अनुसार प्रहरीले काम नगरेका थुप्रै उदाहरण छन्।
एक साताअघि रामगोपालपुर नगरापालिका–९ की जयकल देवी मण्डल बोक्सी भनेर आफूलाई धेरै पटक कुटेको भन्ने मौखिक उजुरी लिएर प्रहरी कार्यालय पुगिन्। प्रहरीले कुटपिट भएको भन्ने निवेदन लेखाएर दुई पक्षलाई छलफल गरायो। कारबाहीको प्रक्रिया अघि बढाएन।
‘दस वर्षअघि मेरा श्रीमान् मरे। त्यही बेलादेखि मलाई केही मान्छेले कुट्न थाले। मेरो अगाडिको दाँत पनि कुटेर भाँचिदिएका हुन्,’ जिल्ला प्रहरी कार्यालयमा भेटिएकी जयकल देवीले भनिन् ‘कसैको परिवारमा कोही बिरामी पर्यो भने मलाई बोक्सी भन्दै गाली गर्दै कुट्न थाल्छन्।’
जिल्ला प्रहरी कार्यालय, महोत्तरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख असई (प्रहरी सहायक निरीक्षक) भरत ठाकुरले जयकल देवीको उजुरीमा बोक्सी भन्ने कुरा नपरेको बताए।
२०७९ जेठ २६ गते जलेश्वर नगरपालिका–६ धवौलीनिवासी ५३ वर्षीया कालो देवी र ५४ वर्षीया दुलरिया देवीलाई बोक्सीको आरोपमा स्थानीय एक परिवारका व्यक्तिले कुटपिट गरे। मलमूत्र खुवाउने प्रयास गरे। यस घटनामा भने प्रहरीले पीडकविरुद्ध ‘ज्यान मार्ने उद्योग’ मा मुद्दा चलाएको थियो।
त्यसअघि २०७८ असोज २७ गते बोक्सी भएको आरोपमा महोत्तरी गाउँपालिका–३ मडईकी बासिन्दा शिलादेवी झाको हत्या भयो। टुनामुना गरेर आफ्नी श्रीमतीको गर्भ तुहाएको आरोपमा देवरले हत्या गरेका थिए। सोही दिन जलेश्वर नगरपालिका–४, सुगाकी ४२ वर्षीया एक महिलालाई बोक्सी भएको आरोपमा केही व्यक्तिले मलमुत्र खुवाएर केश समेत मुण्डन गरिदिएका थिए।त्यसअघि २०७८ साल कात्तिकमा महोत्तरीको औरही नगरपालिका–९, अगलेसराकी ५५ वर्षीया एक महिलालाई स्थानीय केही व्यक्तिले बोक्सी भएको आरोप लगाउँदै कुटपिट गरेर मलमूत्र कोच्याएका थिए।
अधिवक्ता रिन्कु यादवका अनुसार महोत्तरीमा बोक्सी भएको भन्ने आरोपमा महिलालाई यातना दिने र अमावीय व्यवहार गर्ने प्रवृत्ति डरलाग्दो छ।
काजलको मुद्दामा कानुनी सहयोग गरिरहेकी उनले यस्ता घटनामा प्रहरीले प्रमाण नपुगेको भन्दै सामान्य कुटपिटको घटना भनेर मेलमिलाप गराइदिँदा पीडकले उन्मुक्ति पाउने गरेको बताइन्।
‘बोक्सी भनेर परिवारबाट यातना दिइयो, कुटपिट गरियो भयो भने घरेलु हिंसा र बाहिरका व्यक्तिबाट भयो भने कुटपिट भनेर प्रहरीले मुद्दा चलाइदिन्छ। बोक्सी भनेको प्रमाण पुग्दैन,’ रिन्कु भन्छिन्, ‘बोक्सी त मौखिक रूपमा भनेको हुन्छ। पीडितले समाजको साथ पाउँदैन।’
यस्तो अवस्थामा प्रमाण नपुगेको ठहर हुन्छ र कुटपिटको मुद्दा बन्छ।
रिन्कुका अनुसार जाहेरी दर्ता भएको अवस्थामै राजनीतिक दबाबका कराणले प्रहरी पछि हट्छ।
‘चेतनाको कमी र पितृसत्तात्मक सोचका कारणले अझै पनि बोक्सी भनेर महिलालाई यातना दिने, अमानवीय व्यवहार गर्ने क्रम बढ्दो छ,’ उनी भन्छिन्, ‘यसको नियन्त्रणका लागि मानिसको सोच परिवर्तन गर्नु जरुरी छ। पीडकलाई कानुनी कारबाही हुनुपर्छ।’