नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघका दुई पक्ष आमनेसामने भएका छन्।
दुजाङ शेर्पा नेतृत्वको ७११ सदस्यीय नेविसंघ र समानान्तर समिति घोषणाका लागि पुगेको नेविसंघ असन्तुष्ट पक्ष बुधबार दिउँसो कांग्रेस केन्द्रीय कार्यालयअगाडि सडकमा आमनेसामने भएका हुन्।
कांग्रेसले नेविसंघको नियमित महाधिवेशन गर्न सकेको छैन। केही समयदेखि तदर्थ समितिकै भरमा नेविसंघ चल्दै आएको छ।
सभापति शेरबहादुर देउवाले २०७८ चैत ९ मा नेविसंघ तदर्थ समिति अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेका थिए।
शेर्पा अध्यक्ष रहेकै समितिलाई १६ महिनापछि गत सोमबार बेलुकी १० बजे सभापति देउवाले ७१० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए।
अध्यक्ष शेर्पासहित नेविसंघ केन्द्रीय समिति ७११ सदस्यीय बनाएपछि विधानविपरीत भन्दै नेतृत्वको आलोचना भइरहेको छ।
नेविसंघ विधानमा १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था भए पनि नेताहरूबीच भागबन्डा गरी जम्बो समिति ल्याइएको हो।
कांग्रेसले विधानविपरीत नेविसंघ केन्द्रीय समिति ल्याएको भन्दै असन्तुष्ट विद्यार्थीहरूले बुधबार दिउँसो २ बजे सानेपामा बस्ने गरी भेला बोलाएका थिए।
यो भेलाबाट विधानबमोजिम पदाधिकारीसहित नेविसंघको समानान्तर केन्द्रीय समिति घोषणाको तयारी भइरहेको थियो।
नेविसंघ समानान्तर समिति घोषणा गर्नेहरूलाई कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय प्रवेश गर्न दिएन।
कार्यालय प्रवेश गर्ने गेटमा 'पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य, जिल्ला सभापति, सांसदलाई मात्र' प्रवेश गर्न दिने सूचना टाँसिएको थियो।
यो सूचना कार्यान्वयन गर्न कांग्रेसले प्रहरीलाईसमेत अनुरोध गरेको थियो।
प्रहरीले नेविसंघ दुजाङ शेर्पा समूह र असन्तुष्ट समूहलाई केन्द्रीय कार्यालय प्रवेश गर्न दिएन। दुवै समूह सडकमै एकअर्काविरूद्ध नाराबाजी गरेका थिए, प्रहरी बीचमा बसेको थियो।
असन्तुष्ट पक्षले पार्टी सभापति शेरबहादुर देउवाको निवास घेराउ गर्ने बताएको छ।
कोण सभामा बोलेका नेविसंघ असन्तुष्ट पक्षका नेता योगेन्द्र रावलले सभापति देउवाले प्रहरी लगाएर पार्टी कार्यालय प्रवेशमा रोक लगाएको बताए।
‘हामी बिहीबार सभापतिको धुम्बाराही निवास घेर्छौं। उहाँले कार्यालयअघि हामीलाई निषेध गर्नुभयो,’ उनले भने, ‘कायरहरूले प्रहरी र गुण्डा परिचालन गर्छन्।’
नेविसंघ अध्यक्ष शेर्पाले भने लामो समयपछि नेविसंघ केन्द्रीय समिति विस्तार गरिएको र केही छुट्न पुगेको बताए।
छुटेका साथीहरूलाई समेट्छौं: अध्यक्ष शेर्पा
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले केन्द्रीय समितिमा छुटेकाहरूलाई समेट्ने बताएका छन्।
सेतोपाटीसँग बुधबार अपराह्न कुराकानी गर्दै अध्यक्ष शेर्पाले संगठनमा दु:ख गरेका केही केन्द्रीय समितिमा छुटेकोले समेट्नेबारे छलफल भइरहेको बताए।
‘संगठनका लागि दु:ख गरेका केही साथीहरू छुट्नुभएको छ, हामी समेट्छौं,’ शेर्पाले भने, ‘तर विधि विधानभन्दा बाहिर जानेलाई कारबाही पनि गर्छौं।’
अब बस्ने पार्टी पदाधिकारी बैठकमा छुटेका नेविसंघलाई समेट्ने विषयमा समझदारी बनाइने पनि उनले बताए।
तस्बिरहरू: