अध्यक्षको भूमिकालाई लिएर नेपाली कांग्रेसको भगिनी संस्था, नेपाल महिला संघभित्र बिबाद चर्केको छ।
महिला संघमा लामो समयदेखि महाधिवेशन नहुँदा कांग्रेसले तदर्थ समिति बनाएको छ।
उषा राउत मिश्रलाई कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७९ साउन २६ मा महिला संघ तदर्थ समिति अध्यक्ष मनोनीत गरेका थिए।
उषा नेतृत्वको महिला संघमा केही दिनदेखि बिबाद बढ्दै गएको हो।
सभापति देउवा र नेता शेखर कोइराला पक्ष निकट महिला संघबीच टकराबको स्थिति सिर्जना भएको हो।
अध्यक्ष उषाले महिला संघको विधानविपरीत काम गरेको आरोप कोइराला पक्षका २० जना केन्द्रीय सदस्यले लगाएका छन्।
‘अध्यक्षले १२ जिल्ला अध्यक्ष हटाउनुभएको छ। संघको विधानको धारा ३८ मा भएको स्पष्टीकरणको मौकासमेत नदिई निगाहका भरमा जिल्लाहरूमा नयाँ अध्यक्ष तोकिएको छ,’ केन्द्रीय सदस्य रिता शाहीले भनिन्।
कोइराला पक्षले अध्यक्ष उषाले कार्यशैली सुधार नगरे केन्द्रदेखि जिल्लासम्म समानान्तर समिति गठनको चेतावनी दिएका छन्।
सोमबार काठमाडौंको बत्तिसपुतलीमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अध्यक्षलाई सच्चिएर आउन भनेका छन्।
कोइराला पक्षनिकट महिला संघका केन्द्रीय सदस्यहरूले गत साउन १८ गते सभापति देउवालाई भेटेर संघमा विधानविपरीत काम भइरहेकोमा रोक्न ध्यानाकर्षणसमेत गरेका थिए। सभापति देउवाले बिबाद मिलाउन पहल गर्छु भन्ने जवाफ दिएका थिए।
महिला संघभित्रको बिबाद मिलाउन सभापति, दुवै उपसभापति, दुवै महामन्त्री, सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना' केन्द्रीय कार्यालय सानेपामा पनि ध्यानाकर्षण पत्र दिइसकिएको शाहीले बताइन्।
विधान महाधिवेशन गर्ने जिम्मेवारी पाएको नेतृत्वले धमाधम जिल्ला अध्यक्षको जिम्मेवारी तोक्नु 'हाँस्यास्पद' भएको कोइराला पक्ष निकट संघका नेताहरू बताउँछन्।
सोलुखुम्बु अध्यक्ष छिल्हामु शेर्पा, बारा अध्यक्ष सीता मैनाली, पर्सा अध्यक्ष विद्या श्रेष्ठ, सिरहा अध्यक्ष विमला निरौला, ताप्लेजुङ अध्यक्ष मीना गुरूङ, इलाम अध्यक्ष निर्मला संजेल, महोत्तरी अध्यक्ष बिना तिवारी, रौतहट अध्यक्ष भुवनी गिरी श्रेष्ठ, कास्की अध्यक्ष कोपिला रानाभाट, झापा अध्यक्ष सुशीला ढकाल, हुम्ला अध्यक्ष विजया बुढालाई संघकी केन्द्रीय अध्यक्ष उषाले हटाएकी थिइन्।
‘महिला संघमा लामो समयदेखि काम गरेका नेता, कार्यकर्तालाई पाखा लगाउने उद्देश्यले कसैको निहीत स्वार्थ पूरा गर्न यो विग्रह ल्याइएको हो,’ २० केन्द्रीय सदस्यले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अध्यक्ष उषा राउत मिश्रले गरेका हर्कत तत्काल बन्द गर्न माग गर्छौं।’
अध्यक्ष राउतले केही दिनअघि कास्कीको महिला संघ अध्यक्षमा मीना पाण्डे, नवलपरासी बर्दघाट पश्चिम अध्यक्षमा तारादेवी भण्डारी, झापा अध्यक्षमा टीका मैनाली सिटौला, हुम्ला अध्यक्षमा सुशीला शाहलाई मनोनीत गरेकी थिइन्।
साथै ताप्लेजुङ अध्यक्षमा गीता चौहान, इलाम अध्यक्षमा भगवती कोइराला, रौतहट अध्यक्षमा अञ्जु झा, महोत्तरी अध्यक्षमा अनिता शर्मा, सोलुखुम्बु अध्यक्ष सरला नाछिरिङ राई, सिरहा अध्यक्ष संगीताकुमारी चौधरी, बारा अध्यक्ष कलावतीदेवी पासवान, पर्सा अध्यक्ष किरणकुमारी शर्मालाई मनोनीत गरिएको थियो।
के भन्छिन् अध्यक्ष राउत?
साथीहरूले आज पत्रकार सम्मेलन गर्नुभएछ।
हेर्नुस्, महिला संघ बुझेको साथीहरू आउनुभएको भए बिबाद हुने थिएन। साथीहरूले महिला संघ नै बुझ्नुभएको छैन।
महिला संघ कांग्रेसको भ्रातृ संस्था हो, यो छुट्टै पार्टी होइन।
उहाँहरूले किन विरोध गर्दै हिँड्नुभएको बुझेको छैन। २०५८ सालमा बनेको र संशोधित भएर आएको विधान महिला संघसँग छ।
तर त्यो विधान नयाँ अधिवेशन भएर आएपछिको समितिलाई लागु हुने हो।
२०७३ मा चुनाव जितेर आएको उमा रेग्मी नेतृत्वको कमिटीले अधिवेशन गराउन नसकेपछि पार्टी सभापतिले हामीलाई तदर्थ समितिमा मनोनीत गर्नुभएको हो। त्यसैले तदर्थ समितिलाई नयाँ विधान लागु हुन्न।
महिला संघमा हामी छिट्टै करिब ३ सय साथीहरू थप गर्दैछौं। ठूलो टिम पनि बनाउँदैछौं। विधान विपरीत काम गर्न अध्यक्षलाई छुट छ? भन्ने प्रश्न आइरहेका छन्, यो स्वभाविक छ। विधानले उपसमिति बनाउने भनेको छैन, किन बनाएको भन्ने प्रश्न पनि उठेकै छ।
के कुरा बुझिदिनुस् भने- म विधान लेख्ने मानिस हुँ। म उमा रेग्मी अध्यक्ष हुँदाको सचिव म थिएँ।
त्यतिबेला पनि कृष्णप्रसाद सिटौलानिकट केही साथीहरूले कार्यसमितिबाट बाहिर जान्छौं भन्नुहुन्थ्यो, विधान पास गर्ने कुरा गर्दा। त्यसबेला ढोका थुनेर नयाँ विधान पास गर्न सक्ने व्यक्ति म हो।
विधानको धारा र उपधारामा के लेखेको छ मलाई थाहा छ। अस्ती भर्खर महिला संघको समितिमा आउनुभएका केही साथीहरू, जो कहिल्यै महिला संघको बारेमा बोल्न पनि नजानेको र सदस्यता पनि नलिएकाहरू हुनुहुन्छ।
जुनसुकै टिमबाट आएको भए पनि ती साथीहरूलाई मैले सम्मान गरेको छु, काम गर्नुपर्छ भनेको छु।
म २०७९ साउन २७ गते महिला संघमा आएको थिएँ। म आएको बल्ल एक वर्ष पुग्दैछ। यसबीचमा सातै प्रदेशमा संघले प्रशिक्षण गर्यो।
मलाई महामन्त्रीज्यूले पुरानो समिति रहेको जिल्लाहरू भङ्ग गरेर जानुस् भनेर प्रष्ट भन्नुभएको थियो।
मैले केन्द्रीय समिति आएकै छैन, केही समय पर्खछु भनेर बसेको थिएँ। अहिले केन्द्रीय समिति आयो। अरू भ्रातृ संस्थामा भन्दा पहिले महिला संघ केन्द्रीय समिति ल्याउन मेरो भूमिका छ। यो सजिलो लडाइँबाट आएको पनि होइन।
मैले केही समयअघि केन्द्रीय समिति बैठक गरेँ। ७७ जिल्लामै चुनाव गराउने अधिकार पार्टीले दिएको छ। सातै प्रदेशमा प्रदेश संयोजक तोक्नुपर्ने, तोकिएको छैन। यी सबै अधिकार अध्यक्षलाई दिने प्रस्ताव केन्द्रीय समितिले नै पारित गरेको छ। म त्यही म्यान्डेटअनुसार अघि बढेको हुँ।
मैले केन्द्रीय समितिले दिएको अधिकार प्रयोग गरेर १२ जिल्ला अध्यक्ष तोकेको हुँ।
करिब ३७ जिल्ला अध्यक्ष खाली थिए।
झापा महिला संघ अध्यक्ष सुशीला ढकाल महिला संघ अध्यक्ष भएकै बेला कांग्रेस केन्द्रीय सदस्य हुनुभयो। कांग्रेसको विधानले पार्टीको कुनै पदमा निर्वाचित वा मनोनीत भए भ्रातृ संस्थालगायतको पद स्वत: जान्छ भनेको छ। त्यसकारण झापा जिल्ला हाम्रो अर्थमा खाली थियो।
हिजोका दिनमा विभिन्न जिल्लामा महिला संघको जिल्ला अध्यक्ष हुनु भएकाहरू कोही प्रदेश सभा सदस्य, कोही सहमहामन्त्री जस्ता भूमिकामा पुग्नुभएको छ। भ्रातृ संस्थामा काम गरेकाहरू पार्टीका पदमा पुगेपछि ३७ जिल्ला अध्यक्ष खाली हुन पुगेको छ।
खाली भएका जिल्लामा कांग्रेसका सम्बन्धित जिल्ला सभापतिसँग समन्वय गरेर महिला संघ अध्यक्ष तोकिएको छ।
सहमतिमै जसलाई भन्नुहुन्छ, त्यसलाई तोकिएको हो। झापा जिल्लाको हकमा महामन्त्री विश्वप्रकाश शर्मा, कृष्णप्रसाद सिटौला, सरिता प्रसाई, देउमान थेबे लगायतसँग कुराकानी गरेर महिला संघ अध्यक्ष तोकेको हुँ, यसमा मैले के गल्ती गरेँ?
सातै प्रदेशमा प्रशिक्षण गर्ने, जुन प्रदेशबाट महिला संघमा केन्द्रीय सदस्य हुनुहुन्छ, उनीहरूले नै कार्यक्रम गर्ने जिम्मा लिने भनेर तोकिसक्यौं, ६ उपसमिति बनाएर काम गरियो, अब यसमा मैले के गल्ती गरेँ?
नेताहरूलाई गाली गरेका भिडिओ आएपछि साइबर ब्युरो गएर निवेदन दिइयो। कारबाही नगरे कार्यालय घेर्छौं भनेपछि प्रहरीले गम्भीरतापूर्वक यस्ता विषयलाई हेर्न थालेको छ।
साथै मधेस प्रदेशमा साउन २४ र २५ गते कार्यक्रम हुँदैछ। त्यहाँ सभापति शेरबहादुर देउवा जानुहुन्छ। महिला संघका विधान र विभिन्न विषयमा प्रशिक्षण हुँदैछ।
विद्या श्रेष्ठ नेपाल महिला संघ पर्सा जिल्ला अध्यक्ष होइन। उहाँलाई बर्खास्त गरिएका कुरा पनि आएका छन्।
डिला संग्रौलाको पालामा पर्सामा अधिवेशन नभएर केन्द्रीय महाधिवेशन प्रतिनिधि मात्रै ल्याएको हो। त्यसपछि २०७३ मा उमा रेग्मी आएपछि सरस्वती अर्याल तिवारीलाई पर्सामा अधिवेशन गर्न पठाइएको थियो। उहाँले अधिवेशन गर्न सक्नुभएन। त्यहाँ तीन/चार जना अध्यक्ष दाबेदार हुनुहुन्थ्यो। अधिवेशन नभएपछि विद्यालाई काम गर्दै गर भनिएको थियो, उहाँ विधिसम्मत तरिकाले अध्यक्ष बनेको होइन। अनि मैले कसरी उहाँलाई अध्यक्षबाट बर्खास्त गरे? उहाँ महाधिवेशन प्रतिनिधि मात्रै हो।
जिल्ला अध्यक्ष तोक्दा सबैसँग समन्वय गरिएको छ। जिल्लाले नाम सिफारिस गरेको पत्र पनि हामीसँग छ। अनि कसरी एकलौटी रूपमा अध्यक्ष तोकियो? जिल्ला नजाने दुई-चार जनाले उचालेर हुन्छ?
रौतहट महिला संघ अध्यक्ष भुवनदेवी श्रेष्ठले आँखामा समस्या देखियो, काम गर्न सक्दिनँ भनेर राजीनामा दिएपछि अर्को अध्यक्ष तोकिएको हो, यसमा मैले के गल्ती गरेँ?
केही साथीहरू, काठमाडौंबाट बाहिर जान नसक्ने, सभापति र नेतासँग फोटो खिच्ने अनि सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्नुहुन्छ, त्यसरी नेता हुन खोज्ने?
पत्रकार सम्मेलन गरे पनि जे गरे पनि मैले गल्ती गरेको रहेछु भने मलाई बर्खास्त गर्दा खुसी नै हुन्छु, मलाई कुनै दु:ख हुन्न। यसबाट काम गर्ने मानिसलाई जतासुकै असजिलो पर्ने रहेछ भन्ने सबैले बुझ्छन्।