नेपाली कांग्रेसमा एउटा धारको नेतृत्व गर्दै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पुन: सक्रिय हुन थालेका छन्।
२०७८ मंसिरको १४ औं महाधिवेशनमा सिटौलाले महाधिवेशनअघि नै सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेका थिए।
त्यसअघि २०७२ मा भएको १३ औं महाधिवेशनमा सिटौला पहिलो चरणमा सभापति उठे भने दोस्रो चरणको निर्वाचनमा देउवालाई सभापतिमा सहयोग गरेका थिए।
१३ औंदेखि १४ औं महाधिवेशनसम्म करिब ६ वर्ष सिटौलाले कांग्रेसमा छुट्टै गुटको नेतृत्व गरे। त्यसबेला गगन थापा र प्रदीप पौडेल लगायतले सिटौलालाई सहयोग गरेका थिए।
सिटौलाले १४ औं महाधिवेशनमा प्रदीपलाई देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनाए पनि उनले जित्न सकेनन्।
गगन र प्रदीप अहिले सिटौलासँग छैनन्।
गत वर्ष पुस ६ को संसदीय दल चुनावमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल संसदीय दल नेताका उम्मेदवार, अर्का महामन्त्री गगनसँग उभिएका थिए।
महाधिवेशनअघि नै देउवा समूहसँग सहकार्य गरेका सिटौला पक्षका केहीले केन्द्रीय सदस्य भने जिते। तर महाधिवेशनपछि डेढ वर्षे अन्तरालमा सिटौला समूहको गतिविधि हराउँदै गएको थियो।
कांग्रेसभित्र छुट्टै गुटको नेतृत्व गर्दा पार्टीभित्र र सरकारमा पनि 'भाग पाइरहेको' सिटौला समूह केही समयदेखि ओझेलमा छ।
त्यसैले केही समयदेखि 'टक सेन्टर' मार्फत सिटौलाले गतिविधि बढाएका छन्।
केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, कोशी कांग्रेस महामन्त्री भूपेन्द्र राई र बागलुङ कांग्रेस सभापति जीतबहादुर शेरचनको अगुवाइमा 'टक सेन्टर' खोलेर सिटौलालाई केन्द्रीय पात्र मानेर कार्यक्रमहरू भइरहेका छन्।
टक सेन्टरले महाराजगञ्जमा कार्यालयसमेत खोलेको छ। समसामयिक राजनीतिक घटनाक्रम र विभिन्न विषयमा केन्द्रित रहेर यो कार्यालयमा संवादहरू भइरहेका छन्।
सिटौलाकै उपस्थितिमा टक सेन्टरमा इन्जिनियरहरू, युवाहरू र कांग्रेस नेता, कार्यकर्ताहरूसँग छलफल भइसकेका छन्। टक सेन्टरले कांग्रेसको आन्तरिक राजनीतिबारे छलफल नगर्ने भने पनि मूल विषय योभन्दा बाहिर जान सकेको छैन।
सिटौलाले नेपालको संविधान २०७२ निर्माण गर्दा महत्वपूर्ण भूमिका खेलेका थिए।
‘संविधान निर्माणमा उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो, त्यो संविधान कार्यान्वयनको चरणमा छ। अहिलेसम्म के-कति कार्यान्वयन भयो र कति विषय कानून अभावमा कार्यान्वयन हुन पाएनन् भन्नेबारे हामीले टक सेन्टरमा संवाद गर्ने गरेका छौं,’ नेविसंघ पूर्वमहामन्त्री बलदेव तिमिल्सिनाले सेतोपाटीसँग भने, ‘उहाँ (सिटौला) कै संरक्षकत्वमा टक सेन्टरले संवाद गरिराखेको छ।’
सिटौलालाई नै केन्द्र बनाएर विषयगत छलफल भइरहेका छन्।
‘विभिन्न विषयमा छलफल गरौं र कांग्रेसभित्र अध्ययन र अध्यापनका विषयले ठाउँ पाओस्, एउटा विचार निर्माण पनि गर्न सकियोस् भनेर प्रयास गरिएको हो,’ तिमिल्सिनाले भने।
उनकाअनुसार सातै प्रदेशमा टक सेन्टरले कार्यक्रम गर्ने तयारी गरेको छ। ‘अहिलेसम्म हामीले काठमाडौंमा कार्यक्रम गरियो। अब प्रदेश, जिल्ला र स्थानीय तह हुँदै वडासम्म पुग्छौं,’ उनले भने।
टक सेन्टरले गर्ने कार्यक्रममा धारणा राख्दै आएका सिटौला आइतबार राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा भने बोलेनन्, अरूका कुरा सुने। सिटौलासँगै कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी पनि कार्यक्रमको श्रोता बने।
‘संविधान कार्यान्वयन र जनप्रतिनिधिका भूमिका’ विषयमा सभागृहमा कार्यक्रम भएको थियो। यो कार्यक्रममा नेता भीमसेनदास प्रधान, बागलुङ कांग्रेस सभापतिसमेत रहेका गण्डकी प्रदेशका सांसद जीतबहादुर शेरचन, केन्द्रीय सदस्यसमेत रहेका बागमतीका सांसद कुन्दनराज काफ्ले, कोशी कांग्रेस महामन्त्रीसमेत रहेका सांसद भूपेन्द्र राईलगायत बोलेका थिए।
उनीहरूले कानून अभावले संविधान कार्यान्वयन हुन नसकिरहेको विषय राखेका छन्। ‘सवारी चालक अनुमति पत्र स्थानीय सरकारले दिन सक्ने संविधानको व्यवस्था रहेछ तर कानून बनेको छैन, जनताले दु:ख पाइरहेका छन्,’ प्रधानले भने, ‘सरकारले संघीय कानून ल्यायोस्। प्रदेश तथा स्थानीय सरकारलाई काम गर्न सहज बनाओस्।’
बागलुङ सभापति शेरचनले संविधान कार्यान्वयन गर्ने भूमिका जनप्रतिनिधिको भएको बताए। ‘संविधान कार्यान्वयनमा लैजाने भूमिका जनप्रतिनिधिको हो। हामीले कति काम गर्न सक्यौं, सकेनौं?,’ उनले प्रश्न गरे, ‘काम गर्न नसके संविधानको व्यवस्था निरर्थक हुन्छ।’
उनले शिक्षालाई कृषिसँग जोडेर लैजानुपर्ने र देशमा उद्योग, कलकारखाना खोल्नुपर्नेमा जोड दिए।
कोशी कांग्रेसका महामन्त्री राईले नागरिकलाई अधिकार दिएको संविधान बने पनि कार्यान्वयन हुन नसकेको बताए।
‘गरिब देशका नागरिकलाई अधिकार दिने धनी संविधान छ। गाउँ-गाउँमा सिंहदरबार र थर थरले अधिकार त पाएका छन्,’ उनले भने, ‘संविधानका कतिपय व्यवस्था कार्यान्वयनमा नआउँदा नागरिकले ब्यालेटबाट विद्रोहको संकेत गरिरहेका छन्।’
केन्द्रीय सदस्य काफ्लेले शिक्षा, रोजगारीलगायत क्षेत्रलाई बलियो बनाउनुपर्ने बताए। ‘संविधानको मर्मअनुसार हामीले काम गरिरहेका छौं कि छैनौं?,’ उनले प्रश्न गरे, ‘जनताका दैनिक समस्या हल गरिएन भने आन्दोलन छेड्नुपर्ने हुन्छ।’
उनले कक्षा १२ पास गरेकालाई पढ्दै काम गर्दै गर्ने व्यवस्था सरकारले मिलाउनुपर्ने बताए। ‘नत्र भने विदेश जानेलाई रोक्न सकिन्न,’ उनले भने।
'जनप्रतिनिधिले आफ्नो लागि होइन, जनताका लागि काम गर्नुपर्छ' भन्ने निष्कर्ष सुनाउँदै टक सेन्टरले आइतबारको कार्यक्रम सकेको छ।