बागमती प्रदेशमा एक मन्त्रालय थप गर्ने सहमति भएको छ।
सत्ता गठबन्धनका दलहरूले उद्योग तथा सामान्य प्रशासन मन्त्रालय सिर्जना गर्ने सहमति गरेका हुन्।
यो मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसबाट विना विभागीय मन्त्री भएका रामकृष्ण चित्रकारलाई दिने सहमतिसमेत जुटिसकेको नेताहरूले बताएका छन्।
चित्रकार बागमतीको मन्त्री बनेको साढे २ महिना भइसकेको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अहिलेसम्म चित्रकारलाई बिनाविभागीय मन्त्रीकै रूपमा राखेका थिए।
आइतबार काठमाडौंमा बसेको प्रदेशस्तरीय सत्ता गठबन्धन बैठकले बिनाविभागीय मन्त्री चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको कांग्रेस बाग्मती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले सेतोपाटीलाई जानकारी दिए।
‘नयाँ सिर्जना गरिएको मन्त्रालयको जिम्मेवारी चित्रकारलाई दिने सहमति भएको छ,’ उनले भने, ‘केही दिनभित्रै उहाँले मन्त्रालयको जिम्मेवारी पाउनुहुन्छ।’
बागमतीमा कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय सम्हाल्दै आएका छन्। अब उद्योगसँग सम्बन्धित अधिकार भने नयाँ सिर्जना गरिएको मन्त्रालयअन्तर्गत राखिन्छ।
माओवादीले सम्हालेको भौतिक मन्त्रालय फुटाएर शहरी विकास मन्त्रालय सिर्जना गर्न कांग्रेसले दबाब दिँदै आएको थियो। तर आफ्नो पार्टीका मन्त्रीले सम्हालेको मन्त्रालयको अधिकार कटौती गर्न मुख्यमन्त्री जम्कट्टेल तयार भएनन्।
‘हामीले शहरी विकास मन्त्रालय बनाउनुपर्छ भनेको हो तर मुख्यमन्त्री मान्नुभएन। उद्योग तथा सामान्य प्रशासन मन्त्रालय सिर्जना गरिएको छ,’ लामाले भने, ‘काठमाडौं लगायतका शहरी विकाससँग सम्बन्धित विषय केन्द्र सरकारले हेर्ने भएकोले पनि प्रदेशमा शहरी विकास मन्त्रालयको औचित्य छैन भन्ने कुरा भयो।’
भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले मन्त्रालय थप गर्ने बाध्यता आइपरेको बताए।
‘मुख्यमन्त्रीज्यू आफैंले १४ मन्त्रालयलाई घटाएर ११ मा झार्नुभएको हो। अहिले फेरि मन्त्रालय थप गर्नुपर्ने बाध्यता सिर्जना भएको छ,’ उनले भने।
कांग्रेसले भौतिक मन्त्रालय नै विभाजन गर्नुपर्ने अडान राख्दा चित्रकारलाई मन्त्रालय तोक्न ढिलाइ भएको उनले बताए।
बागमतीमा सरकार गठनपछि मन्त्रालय भागबन्डा गर्दा पनि प्रदेशमा सहमति नजुटेपछि सत्ता गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल गरेर समझदारी खोज्नुपरेको थियो।
चित्रकारले मन्त्रालय जिम्मेवारी पाएपछि बागमतीमा कांग्रेसका ६, माओवादीका मुख्यमन्त्रीसहित ४ र एकीकृत समाजवादीका २ मन्त्री हुनेछन्।