नेपाली कांग्रेसले गाउँ-सहरमा सेवा दल गठनको गृहकार्य गरेको छ।
पार्टीका नेता तथा कार्यकर्तालाई सामाजिक काममा परिचालन गर्न कांग्रेसले सेवा दल गठन गर्न लागेको हो।
सेवा दलले जनताका सुख, दु:खमा साथ दिनेछ।
साउन २ देखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठकले सेवा दल गठनको निर्णय गरेको थियो। सोहीअनुसार सेवा दल गठनका लागि गृहकार्य थालेको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
‘नेपाली कांग्रेसजस्तो मासबेस्ड पार्टीले जनताको सेवामा दत्तचित्त हुनुपर्ने हो। तर हामीले राजनीतिक कुरा र गतिविधि ज्यादा गर्यौं,’ उनले भने, ‘जनताका सुख, दु:खमा पार्टी जोडिनुपर्छ भनेर सेवा दल बनाउन लागेको हो।’
कांग्रेसले वडा, गाउँ र टोल तहमा मानवीय सेवाका कार्यहरू गर्न सेवा दल गठन गर्ने तयारी गरेको छ।
‘गाउँ-नगरमा सेवा दल गठनका लागि यसको प्रकृति र कार्यादेशलगायत समेटेर हामी कार्यविधि बनाउँदैछौं,’ उनले भने।
महामन्त्री विश्वप्रकाश शर्मा र प्रचार विभाग प्रमुख विश्वकर्मा लगायतले कार्यविधि बनाइरहेका छन्। ‘कार्यविधि बनिसकेपछि हामी ७ सय ५३ वटै स्थानीय तहमा रहेका कार्यसमितिलाई सेवा दल गठन गर्न पत्राचार गर्छौं,’ उनले भने।
स्थानीय तहमा रहेका कांग्रेसका कार्यसमितिले आफू मातहत रहने गरी गाउँ-नगर सेवा दल गठन गर्नेछन्।
‘आवश्यकताअनुसार स्थानीय तहका पार्टी समितिले वडा र टोल समितिअन्तर्गत सेवा दल बनाउने अभियान अघि बढाउने छन्,’ उनले भने।
साथै महामन्त्री गगन थापाले पार्टी संगठनलाई जनतासँग जोडिने काम गर्न आग्रह गर्दै आएका थिए।
पार्टीले सम्मेलन र भेला मात्र गर्ने नभई लोककल्याणकारी काम गर्नुपर्ने थापाको भनाइ छ।
‘पार्टी समितिले ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत जनतासँग जोडिने काम गर्नुपर्छ। कांग्रेसले खाली सभा, सम्मेलन मात्र गर्ने होइन,’ थापाले भने।
कांग्रेसले यो वर्ष ५ देखि ७ लाखसम्म सदस्य थप गर्ने नीति लिएको छ। सामाजिक काममा जोडिए यो लक्ष्य हासिल गर्न सकिने उसको बुझाइ छ।
२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य ८ लाख ४६ हजार ७ सय २९ पुगेको थियो।
कांग्रेसमा यसअघि टोल, वडा, पालिका, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी ८ तहको संरचना छ।