नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै भनेः पार्टीको कमिटीलाई सानो आकार, चुस्त र दुरूस्त बनाइनेछ।
अनावश्यक कमिटी विस्तारले पार्टीको काम सजिलै अघि बढ्न नसकिरहेको आशय अध्यक्ष प्रचण्डको प्रतिवदेनमा छ।
लगत्तै अध्यक्ष प्रचण्डले ३८५ सदस्यीय केन्द्रीय कमिटीमा २४ जना महिला सदस्य थपेर ४०९ पुर्याउने गरी विधान संशोधनको प्रस्ताव ल्याए, उक्त प्रस्ताव तुरून्तै पारित पनि भयो।
०७८ पुसमा भएको महाविधेशनमा माओवादीले केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला पुर्याउने निर्णय गरेको थियो। तर अहिले भएका केन्द्रीय महिला सदस्यहरूको संख्याले त्यो पर्याप्त थिएन।
निर्वाचन आयोगमा पार्टीको विधानअनुसार नै केन्द्रीय सदस्यहरूको सूची बुझाउनपर्ने भएकाले २४ र अहिले भएका ३८५ जनाको संख्या कुनै पनि हालतमा घटाउन नसक्ने भएपछि बाध्यात्मक परिस्थितिमा माओवादीले विधान संशोधन गरेको हो।
तर एउटै बैठकमा एउटै प्रतिवेदनमा एकातिर संगठनका सदस्यहरूको आकार घटाउने प्रस्ताव ल्याउनु र अर्कातिर तुरून्तै सदस्य थप्नु परस्पर विरोधी कुरा हुन्। यही विरोधाभाषका बीचमा माओवादी केन्द्रको चौंथो केन्द्रीय कमिटी बैठक बुधबार प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरू भएको छ।
बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी र प्रदेश पदाधिकारी गरी ७५८ जना सहभागी छन्।
केन्द्रीय सदस्य सुमन देवकोटा यो बैठकलाई केन्द्रीय कमिटी बैठकभन्दा पनि केन्द्रीय सदस्य तथा केन्द्रीय निकायहरूको सामूहिक बैठक भन्न रूचाउँछन्।
‘यो केन्द्रीय कमिटीको बैठकमात्रै हैन, यहाँ प्रदेश पदाधिकारी र विभिन्न आयोगका पदाधिकारी पनि हुनुहुन्छ,’ देवकोटाले भने,‘त्यसैले संख्या केही ठूलोजस्तो लाग्छ तर व्यवस्थित छलफल र नेताहरूलाई आफ्ना भनाइ राख्न समय निर्धारण गरिएकाले संख्या ठूलो हुँदा पनि खास समस्या भने देखिएको छैन।’
२०६४ सालको संविधानसभा चुनावमा माओवादी सबभन्दा ठूलो राजनीतिक दल थियो। त्यतिखेर माओवादीका पक्षमा मात्रै ३२ लाख मत आएको थियो।
०७० सालको निर्वाचनयता भने माओवादीको आकार घट्दै जाने र केन्द्रीय सदस्यहरूको संख्या बढ्दै जाने भइरह्यो। ०७८ पुसमा भएको महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव पारित गर्यो। त्यतिखेर पनि केन्द्रीय सदस्यको नामावली घोषणा व्यवस्थित थिएन। अध्यक्ष प्रचण्डले आफ्ना कोटाका दुइटा गोजीबाट तीन वटा लिष्ट निकालेर चयन भएका केन्द्रीय सदस्यहरूको नाम पढेका थिए। त्यसयता यो केन्द्रीय कमिटीको बैठकको तयारी हुँदासम्म झण्डै ६ सय जना केन्द्रीय सदस्य भइसकेका थिए तर को केन्द्रीय सदस्य हुन् र को होइनन् भन्नेमा स्वयम् माओवादी नेतृत्व पनि अन्यौलमा थियो।
अन्ततः माओवादीले ३ सय ८५ जना केन्द्रीय सदस्यको नाम फाइनल गर्यो। तर गत निर्वाचनमा १२ लाखमात्रै लोकप्रिय मत पाएको र उसकै दाबी अनुसार करिब ७ लाख कार्यकर्ता रहेको माओवादीको केन्द्रीय कमिटी ४०९ सदस्यीय हुनु आफैंमा भद्दा हो।
पोलिटब्यूरो सदस्य माधव सापकोटा महाविधेशनपछि पनि पटक पटक केन्द्रीय सदस्यहरूको संख्या बढिरहनु र विधानमा नटिक्नु पार्टीको गल्ती भएको टिप्पणी गर्छन्।
‘यो एउटा कमजोरी नै भयो। महाधिवेशनमा अडिनु नै पथ्र्याे। विभिन्न चरणमा पार्टीमा आएकाहरूलाई केन्द्रीय सदस्य बनाउने बचन नेतृत्वबाट दिइयो। त्यसो हुँदा क्लस्टरको प्रतिशत कम भयो। महिलाकोहरूको ३५ प्रतिशत संख्या पुगेन। त्यसैले आकार बढाउनुपर्ने भयो,’ सापकोटाले भने, ‘तथापि विधान सम्मेलनपछि विधानसम्मत तरिकाले जाने भन्ने प्रस्ताव आएको छ। नेतृत्वले पक्कै कमीकमजोरी सुधार्छ भन्नेमा हामी विश्वस्त छौं।’
माओवादीको पदाधिकारी बैठकमा अहिले नै केन्द्रीय सदस्यहरूको संख्या घटाएर जानुपर्ने विषयमा छलफल पनि भएको थियो। तर कसलाई हटाउने र कसलाई राख्ने भन्ने विषयमा नेताहरूबीचमा नै एकमत हुन सकेन। त्यसैले अहिले यही आकारलाई अनुमोदन गर्ने र विधान सम्मेलनपछि निश्चित आकारको केन्द्रीय कमिटी बनाउने र त्यसका लागि निर्वाचन गर्नुपरे पनि पार्टी तयार हुनुपर्ने विषयमा छलफल भएको थियो।
उपमहासचिव वर्षमान पुन अनन्तले मंसिरमा हुने विधान सम्मेलनबाट निश्चित २ अंकको मात्रै केन्द्रीय कमिटी बनाउने विषयमा निर्णय हुने बताए।
उनले अहिले एकता प्रक्रियाबाट आएकाहरूको व्यवस्थापन र संगठनको अस्तव्यस्तताका कारण कमिटी ठूलो र भद्दाजस्तो देखिएको बताए।
प्रचण्डको टिप्पणीः आत्मकेन्द्रित सोच बढ्यो
बैठकमा राजनीतिक, सांगठनिक तथा समसामयिक प्रतिवेदन अध्यक्ष प्रचण्डले पढेर सुनाएका थिए। यद्यपि प्रतिवेदन पूर्ण रूपमा तयार भइनसकेको भन्दै केन्द्रीय सदस्यहरूलाई वितरण भने गरिएको थिएन।
मौखिक रूपमा प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले पार्टीका नेताहरू पैसामुखी भएको आरोप लगाएका थिए।
‘पार्टीमा गुटबन्दी बढ्यो, आत्मकेन्द्रित सोच हाबी भयो, सामूहिकतामा अविश्वास बढ्न थाल्यो,’ अध्यक्ष प्रचण्डले भने, ‘अपारदर्शी जीवनशैली यसलाई परिवर्तन गर्नुपर्छ।’
उनले मुलुकमा वैचारिक र राजनीतिक नेतृत्व आफ्नो भएता पनि संगठनात्मक रूपमा समस्या बढी नै भएको स्वीकार गरे।
उनले जनताको माझमा पार्टी पंक्ति स्थापित हुँदै गएको बताउँदै अब आफ्नै खुट्टामा उभिएर प्रतिष्पर्धा गर्न योग्य पार्टी निर्माण गर्नुपर्ने बताए।
उनले सरकारले अहिले निकै राम्रो काम गरेको भन्दै राम्रो काम गर्दा सरकारै छोड्नुपरे पनि आफूहरूलाई अफसोस नहुने बताए।
केन्द्रीय सदस्यको प्रश्न- डिलिङमा सजिलो हुने भएकाले आफन्तलाई स्वकीय सचिव बनाइएको हो?
बुधबार सुरू भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा बुधबारदेखि नै अध्यक्षको प्रतिवेदनमाथि छलफल सुरू भएको छ।
पहिलो दिन १८ जना केन्द्रीय सदस्यले आ-आफ्ना धारणा राखेका छन्। प्रत्येक केन्द्रीय सदस्यलाई पाँच मिनेटको समय दिइएको छ र उनीहरू बोलेर सकिनेबित्तिकै माइक अफ हुने व्यवस्था माओवादीले गरेको छ।
बुधबार अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले नेतृत्वको आलोचना गरेका छन्।
केन्द्रीय सदस्य लक्ष्मण पन्तले सरकारमा गएका नेताहरूलाई गोप्य डिलिङमा सजिलो हुने भएकाले आफन्तहरूलाई निजी सहायकमा नियुक्त गरेको आरोप लगाए।
‘दाहालको निजी सहायक दाहाल हुनु र नारायणकाजी श्रेष्ठको निजी सहायक सुरेशकाजी श्रेष्ठ हुनु संयोगमात्रै होइन,’ उनले भने।
प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव छोरी गंगा दाहाल छन् भने सुरेशकाजी श्रेष्ठ गृहमन्त्री नारायणकाजी श्रेष्ठका नातेदार भतिज हुन्।
पन्तले नेताहरूको पारिवारिक सदस्यलाई निजी वा स्वकीय सचिवबाट हटाउन बैठकले निर्णय गर्नुपर्ने माग गरे।
उनले गणतन्त्र आए पनि नारायणहिटी दरबारको ठाउँमा बालुवाटार नयाँ सामन्तवादको किल्लाका रूपमा विकसित भएको बताए।
अर्का नेता कृष्ण केसीले थुन्नुपर्ने मान्छे माओवादीभित्रै रहेको भन्दै नेताहरूको ०४६ सालयताको सम्पत्ति छानबिन गर्न माग गरे। त्यस्तै, लक्ष्यराम आचार्यले पनि पार्टी नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर्न माग गरे।