नेपाली कांग्रेसलाई रूपान्तरण गर्न केही समयदेखि रूपान्तरण अभियान नै सञ्चालन भइरहेको छ। यो अभियानबाट सातै प्रदेश भेला पनि भइसकेका छन्।
रूपान्तरण अभियानलाई कांग्रेसको संस्थापन पक्षले रूचाएको छैन।
केही नेताहरूले १५ औं महाधिवेशन तयारीका लागि कांग्रेस रूपान्तरण अभियानका नाममा कार्यक्रम गरेको आरोप संस्थापन पक्षको छ।
तर यो कुरा रूपान्तरण पक्षधर स्वीकार गर्दैनन्। कांग्रेस नेतृत्वको कार्यशैली बदल्न आफूहरू 'शुद्ध मन'ले अभियानमा होमिएको दाबी रूपान्तरण पक्षधरका नेताहरूको छ।
रूपान्तरण अभियानमा लागेका नेता भूपेन्द्रजंग शाहीसँग हालै सकिएको कांग्रेस केन्द्रीय समिति बैठक, रूपान्तरण अभियानका आगामी कार्यक्रमलगायत विषयमा सेतोपाटीका प्रशन्न पोखरेलले गरेको कुराकानीको सम्पादित अंश:
नेपाली कांग्रेस रूपान्तरण अभियानले जेठ महिनामा सातै प्रदेश भेला गरेर प्राप्त सुझाव पार्टीमा बुझायो। ती सुझाव पार्टीले स्वीकार गरेको देखिएन। अधिकांश केन्द्रीय सदस्यले रूपान्तरण अभियानकै आलोचना गरे, किन?
नेपाली कांग्रेस पार्टीको चिन्ता र चासोले रूपान्तरण अभियान चलाएका हौं, यो कुनै गुटको अभियान होइन। पार्टीमा नयाँ आशा, भरोसा र विश्वास जगाउन हामीले रूपान्तरण अभियान चलाएका हौं।
हामीले जेठ महिनाभरि अभियान चलायौं, मेचीदेखि महाकाली पुग्यौं। त्यो बेला निकै गर्मी थियो। प्रतिकूल परिस्थितिमा पनि पार्टीकै मायाले हामीहरू प्रदेश-प्रदेश पुगेर नेता/कार्यकर्ता र जनतासँग संवाद गरियो।
हाम्रो चाहना भनेको पार्टी सुधारियोस्, रूपान्तरण होस् र नयाँ ढंगले अघि बढोस् भन्ने हो। देशैभरिबाट आएका सुझाव लिपिबद्ध गरेर पार्टी केन्द्रीय कार्यालयमा बुझाएका थियौं। पार्टीले ती सुझाव ग्रहण गरेर रूपान्तरणमा जाओस् भन्ने हो। तर पार्टी रूपान्तरण अभियानमा जान चाहेन।
पार्टी अलमलमा छ। पुरानै टालटुले पारामा चल्न खोजेको छ। टालटुल र छलछाम गरेर अस्थायी खालका समाधान निकालेर पार्टी जान खोजेको छ यसले कांग्रेसलाई नै क्षति पुग्छ।
अहिलेको केन्द्रीय समितिको बैठक हेर्दा पार्टी आमुल परिवर्तन हुँदैन, नयाँ बाटोमा जान सकेन र जनताका मुद्दामा पार्टी जोड्न सकेन भन्ने नै सन्देश गएको देखिन्छ।
अब रूपान्तरण अभियान कसरी अघि बढ्छ?
हामीले छुट्टै अभियान चलाउने भन्दा पनि पार्टीले नै हामीले उठाएका मुद्दा अघि बढायोस् भन्ने हो। हामीले बुझाएको सुझावमा देशभरका नेता/कार्यकर्ता र जनताका कुरा समेटिएका छन्। पार्टीले यी सुझाव ग्रहण गरेर गइदिएको भए हुन्थ्यो।
तर रूपान्तरण अभियानतिर जानेभन्दा पनि पार्टीका केही नेताहरू आफ्नै जिद्दीमा अघि बढिरहनुभएको छ, यो पाराले पार्टी चल्दैन। अब हामी सबै जिल्लामा पुग्छौं, छलफल गर्छौं। साथीहरूका कुरा सुनेर विशेष महाधिवेशन माग्ने कि के गर्ने विकल्पबारे निर्णयमा पुग्छौं।
पार्टीले नीति महाधिवेशन पनि गर्न सकेन, महासमिति बैठक गर्ने कुरा छ। नीति महाधिवेशन नभएकोले विशेष महाधिवेशन टाढाकै कुरा छ।
१४ औं महाधिवेशनपछि नीति महाधिवेशन गर्ने पार्टीले निर्णय नै गरेको थियो। आफ्नै निर्णयबाट पार्टी पछि हट्यो, पछि फर्किने काम गर्यो। महासमिति बैठकले मात्रै समाधान दिँदैन भन्ने लाग्छ। जिल्लाभरका साथीहरूका कुरा सुनेर विशेष महाधिवेशनमा जान परे पनि जाने गरी तयारी गर्नुपर्छ।
रूपान्तरण अभियानलाई केही केन्द्रीय सदस्यले 'घोचपेच' गरेको देखियो, बैठक लाइभ हेर्नुभयो होला, कस्तो लाग्यो?
केन्द्रीय समितिमा रहनुभएका नेताहरूले पार्टीलाई रूपान्तरण गर्ने, बदल्ने, कसरी राम्रो र बलियो बनाउने छलफल र विचार-विमर्श गर्नुहोला भनेका थियौं तर त्यस्तो पाइएन।
पार्टीका कुनै पनि गतिविधि नहुँदा हामीले पार्टीमा चहलपहल ल्याएको हो। पार्टीलाई गतिशील बनाएकोमा धन्यवाद दिनुहोला भनेको त्यसो नगरेर उहाँहरू उल्टै काम गर्ने, दु:ख गर्नेहरूलाई हतोत्साहित गर्न लाग्नुभयो।
पार्टीलाई सुधार गर्नतिर भन्दा पनि केही नेताहरू नेतृत्वको चाकडी गरेर, भजन गाएर, स्तुतीगान गाएर र नेतृत्वलाई भ्रममा राख्न उद्दत देखिए। धेरै साथीहरू नेतृत्वको चाकडी गरेर पद प्राप्ति गर्नतिर लागेको देखियो। तत्काल नेतृत्वलाई जे भन्दा मनपर्छ त्यो कुरा गरेर आफ्नो पदोन्नति गर्ने खालको व्यवहार देखिएको छ। यसले हामीलाई दु:खी बनाएको छ। केन्द्रीय समितिमा केही केन्द्रीय सदस्यले रूपान्तरण अभियानमा लागेकालाई गाली गर्दै समय सक्नुभयो।
पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि रूपान्तरण अभियानका नेताहरूले गृहमन्त्रीलाई धन्यवाद दिए भनेर पनि आलोचना भयो नि!
नेपाल भ्रष्टाचारले आक्रान्त छ, सुशासन भएन, देशका निकायमा भ्रष्टाचार छ र सबै नेताहरू भ्रष्ट छ भन्ने आमनागरिकलाई लागेको छ। तर नक्कली भुटानी शरणार्थी, सुन प्रकरण र ललिता निवास जग्गा प्रकरणमा सरकारले जसरी काम गरेको छ, यसले सरकारले भ्रष्टाचारीलाई कारबाही गर्छ कि भन्ने आशा जनतामा पलाएको छ।
भ्रष्टाचार मुद्दालाई नेपाली कांग्रेसले कसरी लिन्छ भनेर आमनागरिकले कांग्रेस केन्द्रीय समिति बैठकलाई हेरिराखेका थिए। तर केन्द्रीय समितिमा जुन बहस भयो त्यसले जनतामा सही सन्देश दिएन। कांग्रेसले भ्रष्टाचारमा जोडिएकालाई कारबाही गर्छ भन्ने सन्देश दिन सकेन।
सरकारले चलाएको कारबाही कांग्रेसको बलमा चलिराखेको जनतामा सन्देश जानुपर्ने हो। तर केन्द्रीय समितिमा बोल्नेहरूको प्रस्तुतीले कांग्रेसले भ्रष्टाचारमा मुछिएकाको संरक्षण गरिराखेको हो कि भन्नेजस्तो द्विविधाका सन्देश दिएको छ। भ्रम सिर्जना हुने काम भएका छन्।
रूपान्तरण अभियानमा भएका नेताहरू गुरू घिमिरे, मधु आचार्य, रञ्जित कर्ण, देवराज चालिसे, जगदीश्वरनरसिंह केसीलगायत हामीले गृहमन्त्रीलाई भेट गरेका हौं। जब सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारबाही अघि बढायो, त्यसपछि हामीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका हौं।
भेटमा हामीले देशलाई नै लज्जित बनाउने नक्कली भुटानी शरणार्थी काण्डका दोषीमाथि कारबाही होस् र निर्दोष भने फस्न हुन्न है भनिएको हो। र तपाईं खुट्टा कमाउने काम पनि नगर्नुस् भनेर गृहमन्त्रीलाई भनेका हौं।
भ्रष्टाचार काण्डमा जोडिएका जो-सुकै मानिस भए पनि कारबाही गर्नुस् र यो अभियानमा हाम्रो साथ छ भनेका थियौं। भ्रष्टचारीलाई कारबाही गर्नुपर्छ र भ्रष्टाचारलाई निर्मुल गर्नुपर्छ भनेर आवाज उठाउने मानिसहरू नै गलत हुन् भन्ने खालका कुराहरू केन्द्रीय समितिमा उठे, मलाई अचम्म लाग्यो।
के कांग्रेस पार्टीभित्र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भन्नु गलत हो? नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जेल हाल्नुपर्छ भन्नु गलत हो त? कि कांग्रेस पार्टीले भन्न सक्नुपर्यो- नक्कली भुटानी शरणार्थी प्रकरणमा अरू पार्टीका नेतालाई कारबाही गर्न पाइन्छ हाम्रोलाई पाइँदैन भन्नुपर्यो!
त्यसो भन्न मिल्दैन होला नि! बालकृष्ण खाणसँग हाम्रो व्यक्तिगत कुनै पनि दुश्मनी छैन। उहाँप्रति हाम्रो लक्षित पनि होइन। यो प्रकरणमा दोषीमाथिलाई कारबाही हुनैपर्छ, कांग्रेसका हुन् कि अरू पार्टीका जो-कोही किन नहोस्।
भ्रष्टाचार प्रमाणित भयो भने जो-सुकै होस् कारबाही हुनुपर्छ। साथीहरूले हामीमाथि अनावश्यक लाञ्छना लगाउनुभएको छ त्यो गलत छ।
हामी गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बालकृष्ण खाण समातिनेबित्तिकै धन्यवाद दिन पनि गएको होइन। भेटका लागि अघिल्लो दिन नै समय माग गरेका थियौं। दिउँसो १ बजे समय दिनुभएको थियो। बिहान खाण समातिनु भयो त यसमा हाम्रो के दोष? खाण पक्राउ हुनेबित्तिकै हामी खुसी भएर गृहमन्त्रीलाई भेट्न गएको भन्ने कुराचाहिँ सही होइन।
हाम्रो भनाइ शणार्थी प्रकरणका दोषीमाथि कारबाही हुनुपर्छ भन्ने हो। हाम्रो अभियानलाई नै जोडेर खाणबारे मात्र बोल्यो भन्ने कुरा नै गलत छ। खाणसँग हाम्रो व्यक्तिगत दुश्मनी छैन, तर भ्रष्टाचारमा संलग्न जो-कोहीलाई कारबाही गर्नुपर्छ।
पार्टीभित्र केही साथीहरूले खाणको समर्थक र विरोधीजस्तो देखाउन खोज्नु भएको छ, यो सरासर गलत छ। यस्तो कुराले पार्टीको छवि नै खराब भएर गएको छ। कांग्रेसले भ्रष्टाचारमा जोडिएकालाई छानबिनमा सहयोग गर्नुपर्नेमा पार्टीले अर्कै ढंगले बहस गर्यो भन्ने छ, अर्को कुरा केही साथीले गोहीको आँसु बगाउने काम गरिराख्नुभएको छ।
बालकृष्ण खाणलाई पनि भ्रममा राख्ने काम भएको छ। केही मानिसले तपाईंको समर्थनमा हामीले आवाज उठायौं तर रूपान्तरण अभियानले कारबाही गर्न र जेल पठाउन भूमिका खेल्यो भन्ने जसरी प्रस्तुत भइरहेका छन्। यस्तो भ्रम सिर्जना नगरौं।
केही साथीहरू त खाणलाई समात्नु नै गलत छ, सरकारले नै षड्यन्त्र गर्यो भनिरहेका छन्। हाम्रो भनाइ के हो भने- यो सरकार कसको हो? कांग्रेस पनि सामेल छ। कांग्रेसमा सभापति शेरबहादुर देउवा, सहमहामन्त्री महेन्द्र यादव हो। पार्टीमा उहाँहरूकै हालीमुहाली छ र उहाँहरूले नै बनाएको सरकारले खाणलाई जेल हालेको हो कि रूपान्तरण अभियानले हो?
खाण दोषी छैनन् भने कांग्रेस नै सामेल सरकारले किन समात्यो, दोषी हो भने सरकारले षड्यन्त्र गर्यो भन्न मिल्छ?
केन्द्रीय समिति बैठकमा बहुमत मानिसले खाणलाई निलम्बन गर्न हुँदैन र अन्याय भएको छ भनेर बोले। तर खाणबारे किन निर्णय नगरेको? बहुमत छ त! राज्यले षड्यन्त्र गरेर फसाएको हो भन्नेहरूले बालकृष्ण खाण निर्दोष भनेर किन निर्णय गरेनन्? गोहीको आँशु चुहाउने र भ्रम सिर्जना गर्ने कुरा नगरौं।
यस विषयमा महामन्त्री गगन थापाले लिखित फरक मत राखेको कुरा पनि आएको छ। भुटानी शरणार्थीका सम्बन्धमा थापाले राखेको फरक मतमा हाम्रो समर्थन छ। तर केन्द्रीय समितिमा उहाँले किन 'नोट अफ डिसेन्ट' लेख्न सक्नु भएन?
बाइडबडी काण्डदेखिका सबै भ्रष्टाचार काण्डका फाइल खोल्नुपर्यो, दोषीमाथि कारबाही हुनुपर्यो। यसो भन्नु कुनै नेताको विरोधमा बोलेको भन्ने अर्थ लगाउनु भएन।
केन्द्रीय समितिका निर्णयलाई रूपान्तरण पक्षधरले कसरी लिएका छन्?
कांग्रेसमा धेरै विषय चाङ लागेर बसेको थियो, लामो समयदेखि केन्द्रीय समिति बैठक बसेको थिएन। त्यसकारण साउन २ देखि १० सम्म चलेको केन्द्रीय समितिलाई धेरै चासोपूर्वक हेरिएको थियो।
बैठकको सकारात्मक पक्ष लाइभ भयो, पारदर्शी बनायो। बैठक आरोप र प्रत्यारोपमा सीमित भए जस्तो लाग्यो। एउटाले अर्कोलाई खुइल्याउने र कमजोर सावित गर्न धेरै समय खर्च गरिएको देखियो।
जनताले कांग्रेस बैठकमा हाम्रा विषयमाथि कुरा भए कि भएनन् भनेर हेरेका थिए। जनजीविकाका सवाल र किसान तथा मजदूरका कुरा उठे कि उठेन भनेर हेरिएको थियो। तर त्यो त देखिएन। एकअर्कालाई गाली गर्ने र बहस गर्ने काम भयो। जनताका मुद्दालाई गम्भीरतापूर्वक छलफल गरिएन।
बैठकले केही राजनीतिक विषयमा पनि समीक्षा गरेन। चुनावमा गठबन्धन गर्नु नै गलत थियो कि ठिक भन्ने समीक्षा नै भएन। संसदीय समिति गठन नै नगरी विधानविपरीत टिकट वितरण गरिएकोबारे पनि केही कुरा उठेन।
संस्थापन पक्षले एकलौटी टिकट वितरण गरेका थिए। धेरै साथीहरूमाथि र सहिद परिवारमाथि अन्याय भएको थियो। निर्वाचनपछि समीक्षा गर्ने कुरा केही नेताले गरेका थिए तर समीक्षा नै भएन।
निर्वाचन परिणामबारे पनि समीक्षा गरिएन। ५ दलसँग मिलेर एमालेसँग चुनाव लड्दा हाराहारीजस्तै भयो। अघिल्लो चुनावभन्दा ५ लाख मत घट्यो। किन ५ लाख मानिस रूष्ट भए कांग्रेससँग? यसबारे कुनै पनि चिन्ता छैन।
संगठन परिचालन गर्ने कुरा पनि प्रष्ट आएन। कांग्रेस जागरण अभियान भन्दै पहिले चलेकाजस्तै अभियान चलाउने कुरा छ। यो कुनै नयाँ कुरा होइन। जनतालाई प्रत्यक्ष फाइदा हुने कार्यक्रम केही छैन। कांग्रेस नेता गाउँ जाने तर के लिएर जाने, कस्ता कार्यक्रमसहित जाने? केही छैन। भेटेर मात्र फर्किने हो कि दु:ख, पीडा कम गर्ने हो? जनताका दैनिक रूपमा भोगेका समस्या समाधान गर्न ध्यान केन्द्रित हुनुपर्छ।
जनताको भावनासँग पार्टी जोड्नुपर्यो। जनताका समस्या खोजी गरेर समाधान गर्ने कार्यक्रम हुनुपर्यो। क्रियाशील ८ लाख बढी छन्, शुभेच्छुक २० लाख होलान् नि, उनीहरूलाई यो केन्द्रीय समितिले जोड्न सक्यो त? सकेन भन्ने लाग्छ।
अर्कोतर्फ संंस्थापनइतर समूहले पनि अन्यायमा परेका कार्यकर्ताका विषयमा सशक्त र संगठित भएर बैठकमा आवाज उठाउन पर्थ्यो, त्यसमा संस्थापनइतर समूह चुक्यो भन्ने लाग्छ।