नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सुधार र रूपान्तरण गर्दै जनताप्रति उत्तरदायी बनाउन ४१ पृष्ठ लामो अवधारणा पेश गरेका छन्।
जनताप्रति उत्तरदायी पार्टी बनाउन सैद्धान्तिक-वैचारिक, सांगठानिक र नेतृत्वको दृष्टिले नयाँ आयामबाट बहस र विमर्श गरी ठोस निष्कर्षमा पुग्नैपर्ने बेला आएको भन्दै थापाले लिखित धारणा केन्द्रीय समितिमै पेश गरेका हुन्।
उनले यो अवधारणा सभापति शेरबहादुर देउवालाई पनि बुझाइसकेका छन्।
‘मेरो कोसिस हमेशा पार्टीलाई कसरी चलायमान बनाउने, जनताको आवाज मुखरित गर्ने संस्था बनाउनेतर्फ केन्द्रित छ,’ थापाले भने, ‘आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर हामीले समयको पदचापलाई अनुशरण गर्दै १४ औं महाधिवेशनको नारा- उत्साह, एकता र रूपान्तरणको मर्मअनुसार कांग्रेस पङ्तिको कार्यपद्धती परिचालित र निर्देशित हुनु पर्दछ।’
महामन्त्री थापाले पार्टीका सबै विषयबारे केन्द्रदेखि तल्ला समितिसम्म गहन, पारदर्शी, पूर्वाग्रहमुक्त छलफल र विमर्श गरे मात्रै आत्मघाती प्रवृत्तिबाट मुक्त हुन सकिने पनि बताएका छन्।
‘मेरो एकमात्र ध्येय कांग्रेसलाई २१ औं शताब्दी सुहाउँदो नेपाली जनताको परिवर्तनको आकांक्षा र समुन्नतीको चाहनालाई सम्बोधन गर्ने पार्टी बनाउने भन्ने हो। पार्टीका सामुने व्यक्ति गौण कुरा हो। मेरो सबै कोसिस पार्टीलाई लोकप्रिय र जनउत्तरदायी पार्टी बनाउने कुरामा केन्द्रित छ,’ सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै थापाले भनेका छन्।
उनले कांग्रेसको अहिलेको अवस्था बदल्ने बेला आएको बताए। ‘बदलिएको कांग्रेस मात्र बलियो कांग्रेस हुन्छ। बदलिएको र बलियो कांग्रेसले मात्र अहिलेका यावत चुनौतीको सामना गर्दै देशलाई सही मार्गमा डोहोर्याउन सक्छ, समुन्नत नेपाल निर्माणको नेतृत्व गर्न सक्छ,’ थापाले भने।
कांग्रेस सुधारका लागि थापाले ल्याएको अवधारणाको मुख्य ५ बुँदा हामीले यहाँ प्रस्तुत गरेका छौं-
१. समुन्नत नेपालका लागि सामाजिक लोकतन्त्र
महामन्त्री थापाका अनुसार अहिले कांग्रेसको ध्येय र एजेन्डा प्रष्ट छैन। यसले गर्दा पार्टी अलमलमा छ।
‘हाम्रो अबको ध्येय समुन्नत नेपाल हो। पार्टी पङ्तिलाई एजेन्डामा गोलबद्ध गरेर अभिमुखीकरण गर्नुपर्ने छ। संविधानमा उल्लेखित सबै उपलब्धिहरूलाई जोगाएर संस्थागत गर्दै त्यसको जगमा खुसी, सुखी र सम्मानित नेपाली भएको समुन्नत देश बनाउने ध्येय र मूल एजेन्डा पार्टीको हुनुपर्दछ,’ थापाले भने।
सम्मुन्नत नेपालको राजनीतिक लक्ष्य प्राप्त गर्ने सैद्धान्तिक आधार भने सामाजिक लोकतन्त्र हुने थापा बताउँछन्।
‘निर्वाचनबाटै धमाधम चुनिएर आएका विश्वका केही जनउत्तेजक, अनुदार सरकारहरूको आचरण र व्यवहारले के पुष्टि गर्छ भने आवधिक निर्वाचन मात्रले लोकतन्त्रलाई उदार र सबल बनाउँदैन,’ थापाले भने, ‘सामाजिक लोकतन्त्रले संवैधानिक उदारवादको मान्यता अंगिकार र विधिको शासन, शक्ति पृथकीकरण र सन्तुलनलाई सम्मान गर्छ। यसको केन्द्रमा नागरिकको स्वतन्त्रता हुन्छ।’
उनले पार्टी फगत राजनीतिक संगठनमात्र नभई आफैँमा सामाजिक आन्दोलन पनि भएको उल्लेख गरेका छन्।
‘इतिहास हेर्ने हो भने नेपाली समाजमा गरिएका थुप्रै सामाजिक आन्दोलनको प्रारम्भकर्ता नेपाली कांग्रेस हो। सामाजिक विभेद विरूद्धका सबैखाले आन्दोलन र अभियानामा कांग्रेस अग्रपंतिमा थियो। तर केही वर्षदेखि कांग्रेस त्यसबाट विमुख हुँदै गएको छ,’ उनले भने, ‘कांग्रेसका सबै सदस्य दिनरात पार्टीलाई सरकारमा पुर्याउन मेहनत गर्छन्। पार्टी सरकारमा गए मात्र जनताका काम गर्न सकिन्छ भन्ने बुझाइ बढ्दै गएको छ, पार्टी जनमुखी होइन र सत्तामुखी भयो।’
अवसर, पद र भूमिका पाउन पार्टी राजनीति गर्ने गैरराजनीतिक तथा अवसरवादी प्रवृत्ति हाबी हुने गरेको थापा बताउँछन्।
‘यसले सिद्धान्तनिष्ठ नेता/कार्यकर्ता उपेक्षित हुँदै जाँदा अवसरका लागि पार्टी प्रवेश गर्नेहरू दाबी हुँदै गएको देखिन्छ,’ उनले भने, ‘पार्टीमा अब केबल सत्ता, अवसर, पद र भूमिकालाई होइन, समाज र पार्टीलाई योगदान गर्ने उद्देश्यले नयाँ अवधारणा साथ अभिमुखीकरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ।’
कांग्रेस संगठनलाई राजनीतिक मात्र नभई सामाजिक आन्दोलनका रूपमा पनि उपयोग गर्न सामाजिक रूपान्तरणको बाहक बनाउन सकिने उनको धारणा छ।
२. दलीयकरणको दुष्चक्र कांग्रेसकै पहलमा हटाऔं
थापाका अनुसार हरेक ठाउँ, क्षेत्र र व्यवसायमा पार्टीको संगठन विस्तार हुनुपर्छ नत्र विपक्षी पार्टीबाट पछि परिन्छ भन्ने भावनाले सबैलाई तर्साएको छ।
‘हाम्रा पार्टीका मानिसहरूको उपस्थिति सबै क्षेत्रमा हुनुपर्छ भन्ने गलत धारणा छ। दलीयकरणले संस्थाहरूको स्रोत-साधनमा कब्जा जमाउने प्रवृत्ति मलजल गरेको छ,’ थापाले भने, ‘पार्टीको आवरणमा व्यावसायिक कम्पनीजस्ता संगठनहरूको उपस्थिति बढ्दै गएको छ।’
कार्यकर्ताको जीविकाको प्रमुख स्रोतका रूपमा कार्टेल-सिन्डिकेटलाई संरक्षण गर्दै पार्टीले काम गर्ने प्रवृत्ति रहेको उनले उल्लेख गरेका छन्। ‘यसले मुलुकको विकास रग्ण भयो,’ महामन्त्री थापाले भने, ‘स्रोत कब्जा गरेर बलियो बन्नुपर्छ भन्ने भ्रामक विचारले केही साथीहरू प्रभावित बनेको देखिन्छन्।’
उनले कांग्रेस अझ उदार र खुला बाटो हिँड्नुपर्ने बताए।
‘राज्यका निकायको गैरदलीयकरणको यो पहल कांग्रेसले गर्नुपर्छ। हामीबाट विगतमा भएका गल्ती, कमीकमजोरीलाई अन्त्य गर्न अब हामी तयार रहनुपर्छ,’ उनले भने।
उनले सैद्धान्तिक दृष्टिले स्पष्ट, वैचारिक दृष्टिले प्रशिक्षित र आचरणका दृष्टिले नैतिक नभईकन अहिलेका चुनौतीको सामना गर्न नसकिने बताएका छन्।
‘उग्रवामपन्थी, दक्षिणपन्थी, पपुलिष्ट, उग्रराष्ट्रवादी, अनुदारवादी लगायतका तप्काले हामी र हाम्रो पार्टीविरूद्ध अतिरञ्जित प्रोप्रोगण्डा गरिरहेका छन्,’ उनको आरोप छ, ‘सैद्धान्तिक ज्ञान र वैचारिक प्रशिक्षण अभावले हामीले प्रभावशाली ढंगले त्यसको ठोस प्रतिवाद गर्न सकिरहेका छैनौं।’
उनले पार्टीका सम्मेलनमा अनिवार्य रूपमा राजनीतिक, वैचारिक बहस गरिनुपर्ने पनि बताएका छन्। ‘पार्टीमा अध्ययन-अनुसन्धान, चिन्तन-मनन, बहस-विमर्श, छलफल-अन्तर्क्रियाको अभ्यास र संस्कार हराउँदै गएको छ,’ थापाले भने।
३. चुनावअघिको गठबन्धनले पार्टी कमजोर र अलोकप्रिय
थापाले निर्वाचनअघि गठबन्धन गर्नु अलोकतान्त्रिक हुने पुष्टि भएको बताएका छन्।
‘नेपालमा केही वर्षदेखि अभ्यास गर्दै आएको निर्वाचन पूर्व गठबन्धन नागरिकको लोकतान्त्रिक अधिकार र लोकतान्त्रिक प्रणालीको आधारभूत मूल्य र मान्यताविपरीत छ,’ उनले भने, ‘अलोकतान्त्रिक अभ्यासले मतदातालाई विवेकसम्मत नीति, एजेन्डा, कार्यक्रमको आधारमा आफ्ना जनप्रतिनिधि छनोट गर्ने लोकतान्त्रिक अधिकारसमेत बन्चित गरेको छ।’
उनले चुनावपछि नीति, योजना र कार्यक्रमका आधारमा संविधानको मर्मअनुसार सत्ता साझेदारी हुन सक्ने बताए।
‘तर निर्वाचनपूर्वको गठबन्धन गलत छ भन्ने कुरा हाम्रै अनुभवले पुष्टि गरिसकेको छ। चुनावअघि गठबन्धन गर्ने संस्कृतिले हाम्रो पार्टी संगठन थप कमजोर र अलोकप्रिय भएको छ,’ थापाको ठम्याइँ छ।
४. नेतृत्व विकास र चयन प्राइमरी इलेक्सनबाट
केन्द्रीय सभापतिदेखि टोलमा काम गरिररहेका सदस्यहरू पारदर्शी प्रक्रियाबाट नेतृत्वमा पुग्ने व्यवस्था कांग्रेसले गर्नुपर्ने थापा बताउँछन्।
‘सभापतिदेखि तल्लो तहमा काम गरिरहेका सदस्यहरू लोकतान्त्रिक, वैधानिक, सहभागितामुलक, पारदर्शी र स्वस्थ प्रक्रियाबाट नेतृत्वमा पुग्ने प्रक्रिया प्रारम्भ गर्नु आवश्यक छ,’ उनले भने, ‘ग्रासरूटबाटै नेतृत्व विकास विकास गर्नु अबको प्राथमिकता हो।’
क्रियाशील सदस्यहरूबाट सिधै नेतृत्व चयन गर्ने प्रक्रिया सुरू गरेका खण्डमा त्यसले पार्टीलाई नयाँ जीवन दिने थापा बताउँछन्।
‘तलदेखि नेतृत्व छनोट र निर्वाचित हुने प्रक्रियाले पार्टीलाई लोकतान्त्रीकरण गर्छ,’ उनले भने, ‘यसले पार्टीलाई जनता र कार्यकर्तामुखी निकायको रूपमा रूपान्तरित गर्छ भने भुइँ तहका जनतासमक्ष पार्टीलाई जोड्छ। पार्टीका पनि नीति जनतामुखी हुन्छन् र पार्टीलाई सशक्त र लोकप्रिय बनाउँछ।’
उम्मेदवार छनौट तरिका पनि बदल्नुपर्ने थापा बताउँछन्।
‘परम्परागत टिकट प्रणाली लोकतान्त्रिक, सहभागितामुलक र पारदर्शी छैन। न्यासम्मत र विवेकसम्मत पनि छैन,’ उनले भने, ‘हामीले संसदीय समितिबाट टिकट वितरण गर्दै आएका छौं। तर अब सम्बन्धित तहका क्रियाशील सदस्यका बीचमा नै आन्तरिक निर्वाचनबाट उम्मेदवार तय गर्ने प्रक्रिया अपनाउँदा बदलिँदो समय र जनचाहना अनुकूल हुनेछ।’
प्राइमरी इलेक्सनलाई कति मतभार दिने विषयमा बरू छलफल गरी निष्कर्षमा पुग्न सकिने उनले बताए। ‘टिकट वितरणको समस्या समाधान गर्न प्राइमरी इलेक्सनभन्दा अर्को लोकतान्त्रिक, सहभागितामुलक र पारदर्शी प्रक्रिया छैन,’ महामन्त्री थापाले भने।
५. पार्टीलाई मतअनुपातका आधारमा राज्यबाटै कोषको व्यवस्था
नेपालका पार्टीका साझा समस्या आर्थिक व्यवस्थापन भएकोले यो विषयलाई समाधान गर्नुपर्ने थापा बताउँछन्।
‘अतिरिक्त साधन-स्रोतको प्रभावले राजनीतिक पार्टीहरू विवादित र बदनाम हुँदै आएको देखिन्छ, पार्टीमा स्रोत साधनको अस्वस्थ प्रभाव बढ्दै गइरहेको छ,’ उनले भने, ‘पार्टीहरूले निर्वाचनमा पाएको मत परिणाम अनुपातका आधारमा राज्यले नै कोष उपलब्ध गराउनु राम्रो विकल्प हो।’
यसले पार्टीका कोष व्यवस्थापन र पारदर्शितासमेत हुने उनले बताए।
‘यस्तो प्रणाली विकसित गरियो भने पार्टी कोष व्यवस्थित र पारदर्शी पनि हुनेछ,’ उनले भने, ‘कोष व्यवस्थापनले लोकतान्त्रिक प्रणाली, पार्टी, निर्वाचन प्रणाली र उम्मेदवारलाई बदनाम र विवादित हुने श्रृंखलाको अन्त्य गर्नेछ।’
विस्तृतमा हेर्नुहोस् थापाको अवधारणा: