नेपाली कांग्रेसले नीति अधिवेशन नगर्ने भएको छ।
२०७८ मंसिरमा १४ औं महाधिवेशनका बेला नेतृत्व मात्रै चयन गरेर नीति अधिवेशन ६ महिनाभित्र गर्ने निर्णय कांग्रेसले गरेको थियो।
तर नीति अधिवेशनको सट्टा कांग्रेसले महासमिति बैठक बोलाएको छ।
महामन्त्री विश्वप्रकाश शर्माले २०८० मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बोलाउने केन्द्रीय समितिको साउन १० मा सकिएको बैठकले निर्णय गरेको जानकारी दिए।
‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा १७ (५) बमोजिम १४ औं महाधिवेशनले ‘नीति अधिवेशन’ गर्ने तय गरेकोमा सोही दफामा यस्तो अधिवेशनसम्बन्धी आवश्यक निर्णय केन्द्रीय कार्यसमितिले गर्नेछ भन्ने व्यवस्था भए अनुरुप, नीति अधिवेशनमार्फत गर्ने निर्दिष्ट गरेका कार्य गर्ने गरी २०८० मंसिर *१३ गतेदेखि ५ गतेसम्म महासमितिको बैठक बोलाउने निर्णय गर्दछ,’ बैठकका निर्णय जानकारी दिँदै उनले भने।
महासमिति बैठक काठमाडौंमा हुनेछ।
यसअघि कांग्रेसले २०७५ मंसिरमा काठमाडौंमा महासमिति बैठक गरेको थियो। कांग्रेस विधानअनुसार महाधिवेशन भएको वर्षबाहेक अरू बेला वर्षमा कम्तीमा एक पटक महासमिति बैठक बस्ने व्यवस्था गरेको छ।
महासमिति बैठकले नीति, नियम बनाउने काम गर्छ।
* सच्याइएको