नेकपा (माओवादी केन्द्र) अहिले सरकारको नेतृत्व गर्दै सत्तामा छ। अध्यक्ष नै सरकारमा हुँदा पार्टीको काम ठप्प भएको भन्दै नेता कार्यकर्ताको उकुसमुकुस सतहमा आउन थालेको छ। पार्टी नेतृत्व जनतातिर फर्किन नसकेको गुनासो आइरहेका बेला माओवादी केन्द्रले यही साउन १७ गतेदेखि पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
बैठकका एजेन्डा, नेताहरूबीचको सम्बन्धका उतारचढाव र सरकारको काम-कारबाहीबारे माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग सेतोपाटीका लागि बिनु सुवेदीले गरेको कुराकानीको सम्पादित अंश:
माओवादी केन्द्रका अर्का उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्मा देशभर घुमेर आउनुभयो, उहाँका अनुसार कार्यकर्ताले पार्टी बिगारेको भनेर अध्यक्ष प्रचण्ड र उपमहासचिहरू वर्षमान पुन र जनार्दन शर्मालाई सबैभन्दा धेरै गाली गरेका छन्। यता अध्यक्ष प्रचण्डले पनि रैथानेहरूले केही गरेनन् भनेर यहाँहरूलाई नै गाली गर्नुभएको छ। यहाँहरू त दोहोरो चेपुवामा पो पर्नुभयो है?
उपचारका लागि म चार महिनासम्म चीनमै रहें। फर्केको एक महिना भयो। यसरी हेर्दा घटनाक्रममा कमै अपडेट छु। यसबीचमा जति अपडेट भए, यसरी हेर्दाचाहिँ सरकारले राम्रो काम गरेको छ। समर्थन गर्नुपर्ने पंक्ति परिचालित भएन अर्थात् सिस्टमले काम गरेन भन्ने गुनासो छ, जुन सही कुरा हो। त्यसलाइ गाली गरेकोभन्दा पनि सचेत गराएको रूपमा हामीले लिएका छौं। अध्यक्षले फरक प्रसंगमा रैथानेहरू भन्नुभयो। रैथाने त उहाँ पनि रैथाने नै हो। त्यसैले रैथाने भनेको हामी केही जना नै भन्ने त हैन। त्यस अर्थमा हाम्रो प्रयत्न पुगेन। संगठित रूपले पार्टीले नै गर्नुपर्ने जति प्रयत्न हुनुपर्थ्यो, त्यो पुगेन भनेको सही नै हो।
पार्टीको प्रणालीमा यहाँहरू बीचमा हुनुहुन्छ। काम गर्ने जिम्मेवारीमा, नेता कार्यकर्ताले विश्वास गरेको ठाउँमा पनि हुनुहुन्छ। माथिबाट पनि एउटा गुनासो छ, तलबाट पनि अर्को गुनासो छ। त्यसलाई यहाँहरूले कसरी सन्तुलन गर्नुहुन्छ?
यसलाई ब्यालेन्स गर्नेभन्दा पनि अध्यक्षकै नेतृत्वमा पार्टीलाई निश्चित विचार र राजनीतिमा सञ्चालन गर्दै आएका हौं। अहिले पनि आठौं महाधिवेशनले राजनीतिक कार्यदिशा टुंगो गरेको छ। यद्यपि त्यसलाई विस्तृतीकरण गरेर कार्यक्रमको रूप दिनु छ। शिक्षा, स्वास्थ्य, सुशासन, पूर्वाधार, जलवायु परिवर्तन अर्थात् पर्यावरण क्षेत्रमा सामाजिक समूहलाई मूल प्रवाहीकरण गर्नुपर्ने कार्यक्रम छ। त्यसलाई आजको परिस्थितिअनुसार परिष्कार गर्नुपर्ने हो। त्यसभन्दा बढी व्यवस्थित रूपले पार्टी सञ्चालन गर्ने कुरा हो। किनभने महाधिवेशन गर्यौं, विशेष महाधिवेशन घोषणा गर्यौं। यो नयाँ विषय पनि हो। त्यसैले हामी छिट्टै विशेष महाधिवेशन गरेर केन्द्रदेखि स्थानीय तहसम्म कार्यकर्तालाई विधिसम्मत परिचालन गर्ने, सबै तहका कार्यकर्ताको आलोचना र सुझाव लिएर पार्टी बनाउने कुरा छ। जनताका समस्या बोक्न सक्ने पार्टी बनाउने आजको मुख्य चुनौती हो। नेतृत्व पंक्तिलाई एकै दिशामा हिँडाउने हामीले पर्यत्न गरिरहेका छौं। त्यो हामीले गर्छौं।
त्यसो गर्नका लागि पार्टीका बैठकहरू हुनुपर्छ होला, कार्यकर्ताहरू परिचालन गर्नुपर्छ होला, उनीहरूलाई निश्चित जिम्मेवारी दिनुपर्छ होला। तर पार्टी महाधिवेशन भएको साढे १ वर्षसम्म केन्द्रीय कमिटी बैठक बस्न कठिन छ। यस्तोमा यहाँहरूले पार्टीलाई कसरी जीवन्त बनाउन सक्नुहुन्छ र?
आउने साता हामीले बैठक आह्वान गरेका छौं। त्यसमा खासगरी विशेष महाधिवेशनलाई लक्ष्य बनाएर पार्टी सदस्यता नवीकरण गर्ने, पार्टी सदस्य विस्तार गर्ने, सबै तहका पार्टी समितिको सम्मेलन गर्ने सोच बनाएका छौं।
सबै तहमा सक्नेलाई जिम्मेवारी दिने, वैचारिक र राजनीतिक रूपले क्रियाशील हुन सक्नेलाई जिम्मेवारी दिने र अरू सबै साथीहरूलाई सम्मान गर्ने र सक्ने काम दिने सोच बनाइरहेका छौं। यसरी हामीले देशैभरि पार्टीलाई फेरि जनतामा पुर्याउने, नयाँ रक्तसचार गर्ने, नयाँ साथीहरू ल्याउने, भएकालाई क्रियाशील गराउने सोचिरहेका छौं। अर्कातिर सरकारले गरिरहेका राम्रा कामलाई जनतामा पुर्याउने, जनमत निर्माण गर्ने, भ्रष्टाचारविरूद्ध चलिरहेको अभियान अझ व्यापक बनाउने भन्ने छ। कतिपय कमी-कमजोरी सरकारले गर्यो भने सम्भावना भएका ठाउँमा खबरदारी गर्ने, सतर्क बनाउने ठाउँमा पार्टीलाई पुर्याउँछौं। पार्टी भनेको सामूहिक प्रयत्न हो, कार्यकर्ताको प्रयत्न हो। यसमा जनताको विश्वास पनि थपिन्छ। यी सबै कुरा मिलाएर पार्टीलाई गतिशील बनाउँछौं, जीवन्त बनाउँछौं।
पार्टी सामूहिक हो भन्ने कुरा गर्नुहुन्छ तर पार्टी त अध्यक्षको गोजीमा छ। उहाँले भन्दा जे पनि हुन्छ नत्र केही पनि हुन्न भन्ने पनि छ नि?
त्यतिमात्रै होइन, हाम्रो विधानले पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिवहरूको पनि जिम्मेवारी परिभाषित गरेको छ। विभिन्न तहका कमिटीको परिभाषित जिम्मेवारी छ। त्यसमा काम गर्न कसैले रोक्दैन। काम नगर्ने बहाना बनाउन त पर्याप्त ठाउँहरू हुन सक्छन्। तर यो कुरा सही हो कि अध्यक्षले क्रियाशीलता देखाउँदा, दिशा निर्देश गर्दा, तदारूकता देखाउँदा कुनै विषयलाई आत्मसात् गरेर यसमा जाउँ भन्दा जति सजिलो हुन्छ तल्ला कमिटीले प्रयत्न गर्दा त्यो आंशिक हुन्छ। त्यसैले समग्र पार्टीलाई एउटै दिशामा निर्देशित गर्नका लागि निश्चित अभियानमा हेल्नका लागि अध्यक्ष नै तयार हुनुपर्ने सही नै कुरा हो। तर फेरि यो सबै कुरा अध्यक्ष नै हो, मूल नेतृत्व र वरिपरिका सहायक नेतृत्व मात्रै हो भनियो भने हामी सबै आफ्नो जिम्मेवारी बिर्सिरहेका हुन्छौं। स्वायत्त अधिकार प्रयोग गर्न हामीले कसैलाई रोकेका छैनौं। कार्यक्रम बनाउन, जनपरिचालन गर्न कसैले रोक्दैन। कतिपय ठाउँमा संघीय सरकारभन्दा पनि राम्रा काम स्थानीय सरकारले गरेका छन्। राम्रा काम गर्नलाई कसैको निर्देशन पर्खिन पर्दैन।
त्यसो किन हुन सकेन? पार्टी कहाँ छ भनेर तपाईंहरूलाई कार्यकर्ताले सोध्न थालिसके?
यसपटक केन्द्रीय समितिबाट सबैलाई काम दिने तयारी गरिरहेका छौं। कसैलाई काम बढी हुने, कोही कामविहीन हुने अवस्था नआओस् भनेर हामीले सोचिरहेका छौं। त्यसैगरी अध्यक्ष प्रधानमन्त्री भएपछि पार्टीको काम नहुने अवस्था नआओस्। सरकार र संसदमा रहेका साथीहरूको पनि जिम्मेवारी निर्धारण गर्छौं। सरकार, संसद र पार्टीलाई सँगसँगै लैजान पर्छ।
यहाँले सक्नेलाई काम दिने भन्नुभयो, अहिले पार्टीको पदाधिकारीमा रहेका कतिपयहरू चाहिँ काम गर्न सक्ने छैनन् भन्ने हो?
कतिपय कमरेडहरू बौद्धिक काममा, रिसर्चको काममा, स्कुलिङको काममा, उत्पादनको काममा या अरू कूटनीतिक काममा बढी कामकाजी हुने भए पनि सांगठनिक जिम्मेवारी लिएर बस्नुभएको छ।
कतिपय साथीहरूको यस्तो छ कि संगठनको क्रियाशीलता छ तर हामी विभागीय अर्कै काम दिएर बसेका छौं। त्यसो हुँदा आठौं महाधिवेशनले दिशानिर्देश गरेअनुसार नयाँ कार्ययोजना बनाएर काम गर्ने भनेका छौं। पार्टीलाई विचार, राजनीति र जनतासँग जोड्ने काम पनि गर्छौं। सरकारका राम्रा कामलाई जनतामा प्रचार गर्ने, बदलिएको परिस्थितिमा जनतासँग जोडिने, नयाँ प्रविधिहरू पनि हामी आत्मसात् गर्छौं। साथै जो साथी जहाँ फिट हुन्छ त्यहाँ जिम्मा दिनेगरी हामी कार्ययोजना बनाउँदैछौं।
माओ त्से तुङले बारम्बार के भन्नुहुन्थ्यो भने एकमा तीन अर्थात् त्यहाँ एक जेष्ठ कमरेड हुन्छ, एक प्रौढ कमरेड हुन्छ, एक युवा कमरेड हुन्छ। समाज त्यसरी नै बनेको छ, त्यसको प्रतिबिम्ब पार्टीमा हुन्छ। त्यसो हुँदा पार्टी जीवन्त हुन्छ। जेष्ठहरूको अनुभव, प्रौढहरूको सन्तुलन र युवाहरूको जोस जाँगरलाई मिलायो भने पार्टी गतिशील, जोशिलो र सन्तुलित हुन्छ। त्यसले कतिपय संस्थागत अनुभव पनि सँगै हुन्छ। हामीले त्यो ढंगको पार्टी बनाउने हो। त्यसो हुँदा अलि यु्वा कमरेडलाई संगठनको जिम्मा, अलि प्रौढ कमरेडहरूलाई समग्र परिचालन र जेष्ठ कमरेडहरूलाई अभिभावकीय भूमिका अर्थात् मानसिक र बौद्धिक कामको सन्तुलन मिलाउनुपर्छ।
यसलाई हामी विशेष महाधिवेशनसम्म व्यवस्थित गर्छौं। अर्कोतिर हाम्रो एकता गर्ने, ध्रुवीकरण गर्ने हुँदा कमिटी सानो बनाउने भन्दाभन्दै पनि बढ्दै गएको छ। अहिले पनि केन्द्रीय कमिटी झन्डै पौने ६ सय हाराहारी पुगिसकेको रहेछ। कमिटीमा यो एक किसिमको मजाकजस्तो छ। कहिले घटेका छन्, कहिले थपिएका छन्। थाहै नपाउने भयो नि। अब एउटा सम्मेलनदेखि अर्को सम्मेलनसम्म फिक्स संख्या हुनुपर्यो। कोही कारबाहीमा पर्लान्, कोही राजीनामा देलान्, कुनै तरिकाले खाली हुन आउला, त्यस्ता ठाउँमा पूर्ति गर्ने एउटा कुरा हो। तर बाटोबाटै हिँड्दा-हिँड्दै कहाँबाट आएको पनि थाहा छैन, एउटा केन्द्रीय कमिटी सदस्यले अर्को सदस्यलाई नचिन्ने अवस्था अन्त्य हुनुपर्छ। अहिले महासचिवलाई केन्द्रीय कमिटीको संख्या थाहा छैन, संगठन विभागलाई पनि थाहा छैन। कतिपय सन्दर्भमा अध्यक्षलाई पनि थाहा छैन होला।
तपाईंहरूको पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि त्यसको रेकर्ड छैन नि?
नहुन सक्छ। मलाई शंकाचाहिँ निर्वाचन आयोगमा यसको रेकर्ड पुगेको छ कि छैन भन्ने छ। त्यसैले यस्तो परिस्थितिको अन्त्य गरिनुपर्छ। ठूलै एकता गरियो भने नयाँ परिस्थिति सिर्जना हुन सक्छ, त्यो अर्कै कुरा हो। तर एउटा महाधिवेशनबाट अर्को महाधिवेशनसम्म जाँदा त निश्चित विधि हुनुपर्छ। जस्तै गएको महाधिवेशनमा केन्द्रीय कमिटीमा केही साथीहरू चयन हुनुभयो। तर पछि बुझ्दाखेरी प्रदेशमा पराजितहरू हलबाटै चुनिनु भएछ। पछि थाहा भएपछि स्वेच्छाले राजीनामा दिनुस् भनियो। उहाँहरूले पार्टीको निर्देशन मान्नुभयो। तर पछि फेरि यति धेरै मान्छे आए, तल्लो कमिटीमा चुनिएका, तल्लो कमिटीमा हारेका। यसले पार्टीमा दोहोरो मापदण्डजस्तो भयो। पार्टीमा नैतिक आधार पनि रहेन यस्तो हुँदा। तल्लो कमिटीमा हारेको माथि छ, तल जितेको माथि छैन यस्तो खालको भद्रगोल छ। यसले संगठनात्मक अराजकताजस्तो छ। यसलाई सच्याउनुपर्छ भनेर हामीलाई तल्लो कमिटीबाट आलोचना भएको छ।
यसलाई अलिकति सकारात्मक तरिकाले हेर्ने हो भने माओवादीमा पनि नेतृत्वलाई प्रश्न गर्न सक्ने क्षमता बढाएछन् नि कार्यकर्ताले?
सबैभन्दा बढी लोकतान्त्रिक तरिकाले चलेको पार्टी माओवादी हो। किनभने युद्धकालमा योजना बनाउन सबैभन्दा पहिले छलफल हुन्थ्यो। एक्सनमा प्रश्न गर्न पाइँदैनथ्यो। पछि काफी समीक्षा हुन्थ्यो। आवश्यक पर्दा नेतृत्वको तुरून्तै हेरफेर हुन्थ्यो। त्यसबेला असाध्यै जनवादी ढंगले कारबाही हुन्थ्यो। अहिले हामी त्यस्तो युद्धमा पनि छैनौं। सबैभन्दा बढी छलफल हुनुपर्ने हो तर छैन। हामी बाहिर-बाहिर अराजक ढंगले हिँड्नु बेठीक कुरा हो। पार्टी कमिटीभित्र छलफल गर्ने, बहस गर्ने, धारणा राख्ने गर्नुपर्छ भन्ने हो। विगतमा त्यसै गर्थ्यौं र युद्ध जित्यौं। अहिले त्यसो गर्न पाएका छैनौं। जहाँ पायो त्यहीँ बोल्ने, सन्दर्भ/असन्दर्भ। महाधिवेशनमा बोल्ने कुरा बैठकमा बोलिराख्या छ, बैठकमा बोल्ने कुरा बाहिर बोलिराख्या छ। कयौं कुरा मिडियामार्फत् थाहा पाउनुपर्ने! यो राम्रो भएन।
त्यसो गर्ने त तपाईंहरू नै हैन र?
ठ्याक्कै धेरै बोलेकोजस्तो मलाई लाग्दैन। बोलेकै रहेछु भने पनि केन्द्रीय कमिटी आउँदै छ, छलफल होला, समीक्षा होला। कमजोरी भए आत्मसात् पनि गर्नुपर्छ। तर पार्टीको कार्यदिशाभन्दा बाहिर गएर बोलेकोजस्तो लाग्दैन।
अघि यहाँले सशस्त्र संघर्षको बेलाको कुरा सम्झिनुभयो: एउटा अनुशासन थियो, विधि-पद्धति थियो। तर शान्ति प्रक्रिया आएपछि जति-जति पछि हुँदै गयो त्यति-त्यति भद्रगोल हुँदै गयो भन्नुभयो। संघीयताको जननी हाम्रो पार्टी हो भन्नुहुन्छ तर तपाईंहरूकै पार्टी खुमलटार र बालुवाटार वरिपरि घुमिरहेको छ। यस्तोचाहिँ के कुराले निर्धारण गर्दो रहेछ?
यसमा के हुन्छ भने तल्ला कमिटीमा पनि योग्यतम् साथीहरू हुन जरूरी छ। प्रदेश कमिटीतिर जहाँ सक्षम साथीहरू छन्, धेरैजसो विषय प्रदेश कमिटीमा टुंगो लगाउँछन्। समस्या छन् भने नेतृत्वलाई थाहा दिन्छन्। समाधान गर्न कोशिश गर्छन्। धेरै प्रदेशमा त्यसो छ, केही प्रदेशमा चाहिँ सबै कुरा अध्यक्षकहाँ आउने, पेरिसडाँडामा आउने, नेताहरू जनताको घरमा के छ थाहा नहुने। सीमित कार्यकर्ताको रिपोर्टिङका आधारमा निर्णय गर्दा मनोगत हुने खतरा हुँदो रहेछ। त्यसैले पार्टी पंक्तिका सबै साथीहरूले विधानले दिएको अधिकार प्रयोग गरेर निर्णय गर्नुस्। एक-दुई वटा गल्ती हुन सक्छ तर काम गर्दै जाँदा जोखिम लिने क्षमता बढ्न सक्छ। नेतृत्वले त केही चुनौती पनि लिने हो। त्यसो हुँदा गल्ती हुन पनि सक्छ, गल्ती सच्याउने हो। आम पार्टी पंक्तिले अधिकार प्रयोग गर्नुस् र माथिल्ला कमिटीसँग समन्वय गर्नुस्। त्यसो हुँदा गुनासो गर्नु पर्दैन भनिरहेका छौं।अध्यक्षले वा हामीले चासो लिएर अनावश्यक हस्तक्षेप गरेका छैनौं।
पार्टीको आकार घट्दै जाने तर पार्टी कमिटीमा सदस्यहरू बढ्दै जाने यो विरोधाभाष किन र कसरी हुँदो रहेछ?
आन्दोलन पुरानो हुँदै जाँदा स्वाभाविक रूपमा कामकाजी साथीहरू नयाँ हुने हुँदा रहेछन्। नयाँहरूलाई पनि ल्याउनै पर्छ। आन्दोलनमा रहेका पुराना साथीहरूलाई पनि सम्मान गर्दै लानुपर्ने हुनाले पार्टीका कमिटीहरू ठूला हुँदा रहेछन्। अर्को अलिकति समावेशी बनाउनुपर्दा केही योग्य साथीहरूलाई जिम्मा दिनुपर्ने, समावेशी ढंगले नेतृत्व पनि विकास गर्नुपर्ने हुँदो रहेछ। विधिसम्मत ढंगले नहुँदा अलिअलि पकेटबाट निस्किने कुरा पनि भए। त्यसो गर्दा निश्चित विधि हुनुपर्छ। पहिले फाइनल केन्द्रीय समिति यति जनाको हुन्छ, प्रदेश समिति यति जनाको हुन्छ भन्ने हुनुपर्यो। मान्छे हेरेरभन्दा पनि पहिले विधि बनाउने, संख्या बनाउने र सहमति गर्ने, त्यो भएन भने जतिमा सहमति हुन्छ सहमति गर्ने नभएकोमा लोकतान्त्रिक अभ्यासबाट गर्ने हुनुपर्छ। प्रतिनिधिहरूले नेतृत्व चयन गर्छन्, अरूले किन तनाव लिने। यो पनि भएन भने पुरै लोकतान्त्रिक अभ्यासबाट गर्ने। त्यसो गर्दा पार्टी बलियो हुन्छ, जिम्मेवार पनि हुन्छ। एकाध गुटबन्दी पनि देखिएला। समकालीन अरू पार्टीहरूका अनुभव हेर्दा एक पटक प्यानल बनाएर मतदान गर्ने अर्को पटक छुट्टिनेजस्तो देखिएको छ। हाम्रो समाजको चेतना स्तर र हाम्रो संस्कारको स्तर र समकालीन दलहरूमा भएको अभ्यास हेर्दै हाम्रो पार्टीको सापेक्षतामा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्छ, त्यसमा हामी सचेत छौं। त्यो कोशिश पनि गरेका छौं।
यहाँहरूले त्यो अभ्यास गएको महाधिवेशनबाटै गर्न खोज्नुभएको थियो तर सक्नुभएन। लोकतान्त्रिक अभ्यासले पनि पार्टी बलियै हुन्छ भन्ने त यहाँहरूको पार्टीभित्रै पनि त देखिएको छ नि हैन र? कोशी प्रदेशमा यहाँहरूले चुनाव गर्नुभएको हो, बागमतीमा चुनावै भएको हो, सुदुरपश्चिममा चुनावै भएको हो। केही बिग्रेको छैन। तर मूल नेतृत्वमा केको डरले काम गरेको हो?
हाम्रो पार्टीको अन्तरजनवाद कुन स्तरमा प्रयोग भएको छ, कति पचाउन सक्छ? भन्ने कुरालाई हामीले प्रयोग गर्दै पनि गएका छौं। त्यसैले आगामी दिनमा सबै कुरा प्रतिष्पर्धाबाटै ल्याउँदा पनि फरक पर्दैन किनभने युद्धबाट आएको राजनीति नै पेशा बनाएको पुस्ता बिस्तारै राजनीतिबाट बाहिर जाँदै पनि छ। त्यसले स्वाभाविक रूपले तल्ला कमिटीमा रहेकाले निर्वाचित भएपछि फुलटाइम काम गर्ने र निर्वाचित भएन भने पार्टीको सदस्य रहने र आफ्नो व्यवसाय या समाजिक आन्दोलनमा रहने हुँदा सहज पनि हुन्छ। अब विस्तारै नयाँ पुस्तामा जाँदा, खुला प्रतिस्पर्धामा जाँदा केही समय आफ्नो काममा दिन्छु, केही समय राजनीतिमा दिन्छु भन्छ भने पुरानो पुस्ताका नेताहरू अभिभावकीय ढंगले बस्ने सम्भावना बढ्दै गएको छ। यसलाई लोकतान्त्रिक अभ्यासको रूपमा हामी प्रयोग गर्छौं।
तपाईं त्यसो भन्नुहुन्छ तर तपाईंको पार्टीका अध्यक्ष अहिलेसम्म उत्तराधिकारी पाउन सकेको छैन भन्नुहुन्छ। अर्को १२–१५ वर्षसम्म ढुक्कै मैले पार्टी चलाउँछु भन्नुहुन्छ। कसरी पुस्तान्तरण हुन्छ?
पुस्तान्तरण भन्ने कुरा व्यक्तिको कुरा होइन। एउटा पुस्ता तयार पार्ने कुरा हो। पार्टीलाई योगदान गर्ने र पार्टीबाट बिस्तारै बाहिर जाने विधि बनाउनुपर्छ। हामीले पनि आठौं महाधिवेशनमा ४० वर्ष मुनिका २० प्रतिशतलाई प्रवेश गराएका छौं। यसले अलिकति असन्तुष्टि पनि ल्यायो। ३५ प्रतिशत महिला ल्यायौं। यो आफैंमा पनि एउटा पुस्ताको प्रवेश हो। हरेक महाधिवेशनमा २० प्रतिशत युवा आएपछि त उसले नेतृत्व लिँदै पुरानो पुस्तालाई सम्मानित ठाउँमा पठाउँदै गर्छ।
तपाईंहरूले माओबाट सिक्ने एउटा कुरा छ तर चीनमा सी चिनफिङले तेस्रो पटक सत्ता चलाउन संविधान नै परिवर्तन गरे। भारतमा मोदी तेस्रो पटक प्रधानमन्त्रीको तयारी गर्दैछन् भनिन्छ। विश्व राजनीति नै युवा पुस्ता भन्दा त बुढापाकाले चलाएको जस्तो देखिन्छ। त्यसमा यहाँहरूको बहस कहाँनिर फिट हुन्छ?
विश्व राजनीतिमा कहिले युवा पुस्ता, कहिले प्रौढ पुस्ताको बहस छ। बाराक ओबामा ४० वर्ष हाराहारीमा राष्ट्रपति हुने पनि त्यही अमेरिका अहिले ८० हाराहारीका बुढाहरू राष्ट्रपति हुने पनि त्यही अमेरिकामा। भारतमा कुनै बेला क्याबिनेटमा युवा आएका पनि छन्। त्यसो हुँदा मुख्य कुरा उमेर हैन। विचार हो, प्रवृत्ति हो। साथसाथै आफैंमा उमेर पनि महत्वपूर्ण फ्याक्टर हो। राजनीति भनेको त चलायमान र नयाँ पुस्तासँग घुलमिल हुने पनि हो। त्यसैले विचार र उमेर समूहलाई मिलाएर जानुपर्छ। यद्यपि पुस्ता भनेको विशुद्ध उमेरमात्रै होइन।
स्थगित भएन भने यहाँहरूको केन्द्रीय कमिटी बैठक आउने १७ गते बस्दैछ। यसले विशेष महाधिवेशनबारे छलफल गर्छ भन्नुभएको छ। अहिले त्यसबारे छलफल गर्नुभएको छ?
अहिले पदाधिकारीका बीचमा छलफल सुरू भएको छ। केन्द्रीय समितिबाट विशेष महाधिवेशनसम्म जाने कार्यतालिका बनाउने भन्ने छ। त्यसो हुँदा हामी केही समय अभियानात्मक रूपमा जनताका माझमा जान्छौं। सदस्यता रिन्यू गर्छौं, विस्तार गर्छौं। तल्ला कमिटीहरूलाई सम्मेलनमार्फत् नेतृत्व चयन गर्छौं। त्यही सन्दर्भमा सरकारका काम-कारबाहीलाई जनस्तरमा पुर्याउँछौ र जनमत पनि तयार गर्छौं। यसो हुँदा सरकारलाई कसरी प्रभावकारी बनाउने भनेर जनताबाट नयाँ म्यान्डेट पनि लिएर सरकारलाई गतिशील बनाउने कोशिश गर्छौं। यसो भनिराख्दा हामीले आठौं महाधिवेशनको १ वर्षभित्र गर्छौं भनेको हो तर १ वर्ष त कटिसक्यो। अब हामी ढिलो गर्दैनौं, विधान सम्मेलन र महाधिवेशन अलग-अलग पनि गर्न सक्छौं। केन्द्रीय कमिटीसम्म हामी विशेष महाधिवेशनको मोटामोटी तालिका बनाएर जान्छौं।
विशेष महाधिवेशन यही वर्ष हुन्छ?
हामीले एक वर्षभित्रै गर्ने भनेका थियौं। समय घर्किसक्यो। त्यसैले छिटोभन्दा छिटो गर्छौं।
विशेष महाधिवेशन भनेको नेतृत्व पनि चयन गर्ने हो कि खाली अभियानमात्रै हो?
नेपालमा अहिले सबै पार्टीहरूले मोटामोटी समाजवाद भनेका छन्। नेपालमा पुँजीवादी, जनवादी क्रान्ति भयो र हाम्रो विशेषतामा अब समाजवादमा जानुपर्छ भन्ने हाम्रो पहिलो पार्टी हो। हेटौंडाको सातौं महाधिवेशनमा हामीले त्यो भन्यौं, पछि एमालेले भन्यो। अरू पार्टीले पनि समाजवादी कार्यदिशा अपनाए। यद्यपि संविधानमा समाजवादउन्मुख भन्यौं। त्यो एउटा पक्ष भयो। तर हामी कम्युनिष्ट पार्टीका रूपमा आफ्नो कार्यदिशा बनाउने पहिलो पार्टी हो। नेपालको सन्दर्भमा हामी सोभियत संघको समाजवादको कुरा गर्दै छैनौं। चीनको समाजवादको पनि कुरा गर्दै छैनौं। आजको सूचना प्रविधिको युगमा अझ एआईको युगमा समाजवादी आन्दोलन कसरी जान सक्छ? मान्छे-मान्छे बीचको सम्बन्ध के हुन सक्छ? उत्पादन प्रणाली के हुन्छ? र त्यसमा केही क्रान्तिका स्वरूप के हुन्छन्? साथै हामीले यो बदलिएको विश्व परिस्थितिमा समाजवादी क्रान्ति कसरी अगाडि बढाउन सक्छौं भनेर कार्यक्रमको रूप दिनुपर्नेछ। यसबारे हामी बहस गर्न चाहन्छौं। स्वास्थ्य, शिक्षा, पर्यटन, औद्योगिक नीति के होला? आप्रवासी, जलवायु, पर्यावरणीय नीति के होला? समाजवादको जग बनाउने के हो? माओ त्से तुङले १९४९ मा चीनमा क्रान्ति गर्दै गर्दा गरिबी निवारण गर्ने कुरा गर्नुभयो। झन्डै ७० वर्षपछि चीनमा गरिबी निवारण भयो। जसलाई संयुक्त राष्ट्रसंघले पनि चिनियाँ मोडल भन्छ। एउटै पार्टी ७० वर्षसम्म सरकारमा हुँदा पनि समय लाग्दो रहेछ नि। हाम्रो त जनताले मत परिवर्तन गरिरहेका छन्। चीनको भन्दा छिटो गरौंला सानो देश छ, तर पनि हामीलाई कार्यक्रम त चाहियो नि। त्यसमा अहिले ठूलै छलफल जरूरी छ। त्यसैले अलि व्यापक छलफल गरेर हामी राजनीतिक दस्तावेज पारित गर्न चाहन्छौं। त्यसले सबै कम्युनिष्ट पार्टी एक ठाउँमा आउने वातावरण बनोस्। साथसाथै हामीले त्यसलाई बोक्न सक्ने नेतृत्व पनि चयन गर्छौं।
विशेष महाधिवशेनबाट?
हो। यसले स्वाभाविक रूपमा मत मिल्नेसँग पार्टी एकता हुने भने। अलि टाढाकोसँग मोर्चाबन्दी हुने भयो। त्यसो हुँदा अहिले राजनीतिक परिस्थितिले एउटा गठबन्धनमा छौं। तर दीर्घकालीन रूपमा विचार मिल्नेहरू एक ठाउँमा बस्दा त्यो नराम्रो हैन, त्यसतिर पनि हामीले बहस गर्छौं। सैद्धान्तिक बहस, नीतिगत बहस गर्नलाई के अप्ठ्यारो मान्नपर्यो र?
विशेष महाधिवेशन भनेको नेतृत्वको पनि, नीतिलाई कार्यक्रममा ढाल्ने र सैद्धान्तिक पनि हुने भयो?
विचार, संगठन र कार्यक्रमको बहस हुन्छ।
यहाँहरूको आठौं महाधिवेशनकै कार्यादेश हो, विचार मिल्नेसँग पार्टी एकता गर्ने। अहिले यहाँहरूको पार्टीमा त्यसको चर्चा पनि छ र अलि बेसीचाहिँ नेत्रविक्रम चन्द विप्लव फर्किने कुरा छ। पार्टीले कमिटी बनाएर वार्ता पनि भइरहेको छ। उहाँ कहिले आउनुहुन्छ?
कमरेड कृष्णबहादुर महराको नेतृत्वमा सबै कम्युनिष्ट पार्टीहरूसँग एकताको छलफल गर्ने भनेर एकताको लागि या सहकार्यको लागि छलफल गर्ने भनेर एउटा समिति बनाएर छलफल भइरहेको छ। केन्द्रीय समिति या कुनै कमिटीमा औपचारिक रूपमा प्रस्ताव आएको छैन। तर मिडियाा अलि धेरै चर्चा छ। एकताको या ध्रुवीकरणको प्रस्तावले को डराए रे, को आत्तिए रे भन्ने चर्चा छ। यो सही होइन। हामी सबै नै एकताको पक्षपाती हौं। विप्लवजी मात्रै होइन, बाबुरामजी, माधवजी, उपेन्द्रजी, एमाले पनि होला। किनभने हामीले एमालेसँग पनि एकता गरेर ठूलो पार्टी बनाएर एकै ठाउँमा बसेको हो नि। त्यसको समीक्षाको पाटो अलग छन् तर यो आवश्यकता थियो, छ। एकता अब पनि जरूरी छ। त्यसो गर्दा यही आवश्यकतामा पनि छलफल भइरहेको छ। जहाँसम्म विप्लवजीको कुरा भइरहेको छ, हामी एजेन्डा बनाएर छलफल गरिरहेका छैनौं, हामी आवश्यक पर्यो भने एजेन्डा बनाएर भए पनि छलफल गर्छौं। उहाँलगायत समाजवादी मोर्चाका अरू साथीहरू पनि एकै ठाउँमा आउनुहुन्छ भन्ने हाम्रो विश्वास हो। अहिले हतारमा कुनै दलसँग मिलेर अरू सबैलाई बाहिर राख्नेमा माओवादी केन्द्रीत छैन।
विप्लवकै कुरा गर्दा कृष्णबहादुर महरा यहाँको पनि गुरू हो, विप्लवको पनि गुरु हो। उहाँको अहिले अतिरिक्त माया यहाँलाई भन्दा विप्लवलाई छ। उहाँलाई महासचिव नै बनाएर पार्टीमा ल्याउँछु भनिरहनुभएको छ भन्छन् नि?
शंका मात्रै हो। यसरी आरोप लगाउँदा उहाँलाई अन्याय पनि हुन्छ। काफी छलफल गर्छौं। एउटै जिल्लावासी पनि भयौं। हामीचाहिँ एउटै कमिटीमा पनि छौं। सबै हिसाबले हामीहरू छलफल गरिरहेका छौं। विप्लवजीको बारेमा अरू साथीहरूको बारेमा एकताको पहल कहाँ पुग्यो भनेर पनि छलफल गर्छौं। अहिले महरा कमरेडले अतिरिक्त कसैलाई तर्साउन, कसैलाई साइजमा राख्न विप्लवजीलाई ल्याउन खोजेको होइन। पार्टीले दिएकै काम हो। विप्लवजी स्वयं पनि कसैलाई आएर कसैलाई मैले ठीक गर्छु या कसैको जिम्मा खोस्छु भनेर हिजो पनि सोच्नुहुन्थेन। आज पनि सोच्नुहुन्छ जस्तो लाग्दैन। बोली पनि रहनुभएको छ। बाहिरका मान्छेले त्यति धेरै आरोप लगाएर चरित्र हत्या गर्नु पनि हुँदैन। उहाँ त लाइन नै फरक हो नि हिजो त। कमरेड किरण, कमरेड प्रचण्डहरूको लाइन नै अलग हो। किनभने हामी अहिलेको शान्तिपूर्ण राजनीतिलाई छोड्नु हुँदैन, यो अवस्थामा हामीले ल्याएको हो, यसलाई संविधान निर्माण गरेर संस्थागत गरेर अगाडि जाऔं भन्नेहरू हौं। उहाँहरूचाहिँ यसमा रहनु भनेको भासिनु हो, सिद्धिनु हो भनेर अलिकति आत्तिनुभयो। आज परिस्थिति हेर्दाचाहिँ हिजो अलिकति हतार गरेर निष्कर्ष बेठीक निकालियो कि भनेर रियलाइजेसन गरेको पाउँछौं। यद्यपी हिजो हाम्रो गल्ती भयो, माओवादी केन्द्र नफुटेको भए योभन्दा राम्रो संविधान बन्थ्यो त्यो सही कुरा हो। पहिलो संविधान सभामै संविधान बनाउने भन्नेमा हामी थियौं, किरणजी, देव गुरूङजी विप्लवजी लगायत साथीहरू नबनाउने, संविधान बनायौं भने आन्दोलनमा सम्झौता हुन्छ, हाम्रो उद्देश्यमा ब्रेक लाग्छ भन्ने हो नि त। खासगरी माओवादीकै अन्तरसंघर्षले संविधान बन्न नसकेको हो। अहिले माओवादी कमजोर भएका बेला कयौं विषयमा फरक मत राखेर संविधान आएको छ। त्यसलाई स्वीकार गरेर आउँछौं भन्नु नराम्रो त होइन। त्यसैले उहाँहरूलाई निरूत्साहित गर्ने खालको कुनै पनि प्रवृत्ति ठीक होइन। त्यसैले उहाँहरूले हामीहरू प्रतिष्पर्धामा आउँछौं, शान्तिपूर्ण राजनीतिमा आउँछौं भन्नुहुन्छ भने त्यसलाई स्वागत गर्नुपर्छ। जहाँसम्म नेतृत्वसँग को डराएको, के गरेको भन्ने कुरामाचाहिँ हामी जनवादी, लोकतान्त्रिक अभ्यास गर्छौं। त्यसमा कार्यकर्ताको मन जसले जित्छ त्यो नेतृत्वमा जान्छ। यसमा त के समस्या भयो र! हामी यही बसेकाहरू प्रतिष्पर्धामा छौं भने अरू आउँछौं भनेका साथीहरूसँग डराउने कुरा भएन नि। त्यसैले अलि विशाल छाती बनाएर धेरैभन्दा धेरै साथीहरूलाई आवद्ध गर्ने र सबैले काम गर्ने साझा ठाउँ बनायौं भने कम्युनिष्ट आन्दोलन बलियो भएर जान्छ। होइन मै अध्यक्ष हुनपर्छ, अध्यक्षबाहेक अरू मै महासचिव हुनपर्छ, महासचिवबाहेक अरू भनेर त मिल्दैन नि। हिजो हामीले दुई वटा अध्यक्ष राखेर पनि त एकता गर्यौं। त्यसैले प्राविधिक कुरामा एकतालाई अल्झाउन हुँदैन।
२५ वर्षदेखि यहाँहरू प्रचण्डको कोर टिममा बसेर काम गर्नुभएको छ। तर प्रचण्डलाई त्यही बीचमा आक्षेप लगाएर जानुभएको मान्छेलाई ल्याउने हुटहुटी देखिन्छ, त्यो देख्दा यहाँहरूको मन दुख्नु त स्वभाविक होला नि हैन र? कि मनै छैन भन्नुपर्यो?
मनभन्दा पनि विचारको कुरा मुख्य हो। हुन त विचार र मन त एउटै हो खासमा। विचारले नै भावनाको प्रतिनिधित्व गर्छ। भावनाहरूको विकसित रूप नै विचार हो। मुख्य कुरा के हो भने कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन समाजवादी मोर्चाबाट सुरू गर्ने हो। कसले के गर्यो भन्ने कुरा गर्ने हो भने त के-के गरियो गरियो नि त। जनयुद्धकालमा माओवादी र एमालेका बीचमा त एकदमै शत्रुतापूर्ण अवस्था थियो। पछि हामीले अलग-अलग चुल्हो बनाएर बस्दा त समग्र आन्दोलन र देशलाई घाटा हुने भयो भनेर इगोहरूलाई थाती राखेर एकता गरेको हो। तीन वर्ष चल्यो। फेरि पनि त्यो ठाउँमा पुगिन्छ, कुनै बेला पुर्याउनुपर्छ। त्यसैगरी माओवादी विशाल पार्टी थियो, हामी संविधान बनाउने ठाउँमा पुग्यौं। किरणजी, विप्लवजीहरूले आजको जस्तै परिपक्व तरिकाले सोचेको भए संविधान असाध्यै राम्रो हुन्थ्यो। त्यसरी नै हामी अध्यक्षसँग बसेकाहरूको कोणबाट हेर्दा पनि उहाँहरूको भावना, साना-तिना कुराहरू संगठनमा प्रतिनिधित्व हुँदैन कि, भावनाको प्रतिनिधित्व हुँदैन कि भन्ने कुराहरूलाई त्यतिबेला मिलाउन पाएको भए, खुला छलफल गरेर धारणा बनाउन पाएको भए पार्टी फुट्दैनथ्यो होला नि त हाम्रो कोणबाट हेर्दा।
यसरी हेर्दा पार्टी एक गरौं भन्ने कुरा त प्रचण्डको आत्मआलोचना पनि हो। विप्लवजी आउनुहोला, त्यो मुल पाटो हो। हामीले घर त छोडेका छैनौं। तर यही घरमा भएकाहरूको पनि अलिकति अर्गेल्याइँ, अलिकति बढप्पन केही भयो कि त्यो त हेर्नुपर्यो नि। यति कुरा कमरेड प्रचण्ड र उहाँसँग बसेकाहरूले पनि महशुस गर्नुपर्छ होला। त्यसैले यति कुराहरू कमी-कमजोरी भए। विप्लवजीहरूले बष्हिकार गर्दा अध्यक्षलाई, मलाई, जनार्दन शर्मालाई मार्ने नै भनेर गरेको माइनुट नै छ त त्यो त हामीलाई थाहा छ त। त्यतिबेला नेपाल पुलिसले पक्रिँदा डायरीहरू नै आएका थिए। खड्कबहादुर विश्वकर्माजीका डायरीका पछि अध्यक्ष प्रचण्ड, केपी ओलीलाई सिध्याउने भनेर लेखिएको थियो।
मलाई सिध्याउने भनेर मेरो गाडीमै बम पड्काउनुभएको हो। मेरो गाडी क्षति भयो, संयोगले बाँचे। अध्यक्ष पनि अलिकति संयोगले जोगिनुभयो। प्रभाकरजीलाई अलिकति पहिले सूचना आएर पछि हट्नुभयो, अलिकति पहिले विष्फोट भयो। यी घटना हुन्। यस्ता घटना सम्झेर बस्यो भने त आन्दोलन त पुरा हुँदैन। देशले के मागेको छ भन्दा एकता मागेको छ। तर हिजो खुब बहादुरी गरियो भनेर कि कमी भयो है गल्ती भयो है भने रियलाइज गरेर?
कमजोरी भयो, आपसमा लड्नु हुँदैन। बम हान्ने त कल्पनासम्म पनि गर्न सकिदैनथ्यो। युद्धको घोषणा गरेर लडे भने फरक पाटो हो। कमरेड, कमरेड भनेर एक-अर्कालाई हान्ने, अझ हामीलाई हान्ने त राम्रो होइन। त्यो उहाँहरूले पक्कै पनि रियलाइज गर्नुभयो होला। कतिपय साथीहरूले गल्ती भयो भनेर फर्किनुभयो, संगै छौं। गल्ती त समीक्षाको पाटो भयो। अब कसरी गल्ती नगर्ने भन्ने हो।
२०६९ तिरको जस्तो माओवादी पार्टी आज फर्काउन सक्दैनौं। तर त्यो गल्ती नदोहोर्याउने सर्तमा एकता गरेर अगाडि बढ्ने कुरा हुन्छ। त्यसैले भावनात्मक कुरालाई पनि समीक्षा गरेर हामी अघि बढ्छौं। त्योभन्दा धेरै राजनीतिक कुरा हुन्छ। के हाम्रो शान्ति प्रक्रिया र संविधानलाई मानेर अगाडि जानेमा कुरा मिलेकै हो? अहिले पनि सुन्दै छु, संसदीय व्यवस्था यो भास, यो फोहोर यो डंगुरमा गएका नेताहरू गल्ती महसुस गरेर निस्किन खोज्दैछन्, हामीले सहयोग गर्दैछौं भनेका छन्। त्यो त होइन। मान्छेका कमजोरी होलान्, पार्टीका कमजोरी होलान् यो संविधानमा परिमार्जन गर्नुपर्ने कुरा थुप्रै छन् तर १० औं हजारको बलिदानबाट स्थापित भएको संविधान हो यो। संविधानअनुसार डेलिभरीका कुरा, सुशासनका कुरा, विकासका कुरा समेट्ने विषय हो। यी कुरा धेरै पार्टी र नेतृत्वमा भर पर्छ। तर संविधान नै बेठीक, परिमार्जन गरेको व्यवस्था नै सिध्याउनुपर्छ भन्ने होइन। यसैलाई परिमार्जन गर्ने ठाउँहरू छन्।
जे-जे परिवर्तन भयो र हामीले जे-जे बनाएका छौं, त्यसलाई स्वीकार्नुपर्छ भन्ने यहाँको कुरा हो?
निश्चय पनि अहिलेका जति उपलब्धी छन् त्यसमा हिजो माओवादी आन्दोलनले उठाएका धेरै एजेन्डा छन्। ती सबै राजनीतिक दलले स्वीकार गरेर बनेको मूलधार हो। आजको मूलधार संघीय लोकतान्त्रिक जनतान्त्रिक गणतन्त्र हो, आजको मूलधार समावेशी लोकतन्त्र हो, आजको मूलधार समाजवाद उन्मुख व्यवस्था हो। यसमा आउँदा हामी सहजै मिलेर जान्छौं। यसलाई परिर्माजन गर्दै जान त कसैले रोक्दैन।
यो त विप्लवसँग सम्बन्धित कुरा भयो, अर्को कुराचाहिँ अध्यक्ष प्रचण्डले तपाई र जनार्दन शर्मालाई दायाँबायाँ राखेर अगाडि बढिरहनुभएको थियो। तपाईं र शर्माका बीचमा प्रतिष्पर्धा थियो, गुट पनि तल्ला कमिटीसम्म विस्तार भइरहेका थिए। अहिले फेरि प्रचण्डले पेल्न थालेपछि दुई जना मिल्न थाले भन्ने छ नि?
यो सही छैन। हामी मिल्यौंभन्दा पनि नहुने, मिलेनौंभन्दा त झन् हुँदै नहुने। यसो हुँदा मूल कुरा के हो भने देशको अहिलको आवश्यकताले पार्टी अघि बढ्ने हो। जनताले गरेको अपेक्षा पूरा गर्न सकियो भने पार्टी हुने हो, नेतृत्व हुने हो। जनताको एउटा अपेक्षा छ, देशको आवश्यकता एउटा छ। अर्कोथरी गरेर काम हुँदैन। अहिले देशले जनताले हाम्रा कार्यकर्ताले हामीहरू मिलेर अध्यक्षलाई सहयोग गरेको हेर्न चाहेका छन्, झगडा गरेर होइन। विगतमा पनि सानातिना कुरामा मतभेद भयो होला, मूल विषयमा कहिल्यै पनि मतभेद भएको छैन। संविधान बनाउने कुरामा मतभेद भएन, पछि कतिपय समीकरण बनाउने कुरामा मतभेद छैन।
सांगठनिक प्रतिष्पर्धा त यहाँहरूको भयो?
संगठनमा एउटा समयमा सामान्य प्रतिष्पर्धा त हुने नै भयो नि। नत्र त पार्टी नै हुँदैन। ठूलो गुटबन्दी गरेर नेतृत्वलाई विस्थापित गर्ने भन्ने कुरा सोचेकै होइन हामीले। अध्यक्ष कमरेड प्रचण्डलाई नै नेता मानेर सहयोग गरेको हो। अझै पनि सहयोग गर्न तयार छौं। उहाँको नेतृत्व आवश्यकता छ। फेरि हामीले एकले अर्कालाई उछिनपाछिन गर्ने कोसिस गरेको पनि होइन। कुनै जिम्मेवारीका लागि आकंक्षाहरू राख्यौं। तर अहिले हामी जो-जसरी अघि बढे पनि पार्टी बन्नुपर्यो, आन्दोलन अघि बढ्नुपर्यो र सुदृढ पार्टी बनाउनुपर्यो। अहिलेको युवा पिढीको आकांक्षा छ त्यसलाई सम्बोधन गर्ने बाटोमा लाग्नुपर्यो। हामी नेताहरू ठूला होउँला, पार्टी ठूलो होला, हाम्रा आकांक्षाहरू ठूला होलान् के अर्थ हुन्छ र? अहिलेको युवाहरूको आवाज सम्बोधन गर्न सकेन भने आज पनि सडकमा रहेका घरबारविहीनको घर छैन, जमिन छैन, रोजगारी छैन, आङ ढाक्ने लुगा छैन, पेट भर्ने खाना छैन। ती जनताको भावना प्रतिनिधित्व गरेर आएको हो नि हामी। फेरि ती कुराभन्दा बाहिर आफूलाई राख्यो भने त कुनै राजनीतिक अर्थ हुँदैन। त्यसैले आधारभूत नेपालीको आकांक्षा छ, पार्टी बनाउने। त्योअनुसार आफूलाई तयार गर्नुपर्यो। त्यसमा अलिअलि जोड नपुग्न सक्छ। मूल रूपमा मिलेरै आएका छौं हामी हिजो पनि, आज पनि। बाहिर चर्चा चलेजस्तो अध्यक्षले पेलेपछि मिलेका होइन, विप्लवजी आउन लागेकाले छेक्नलाई पनि मिलेको भन्ने नै होइन। अध्यक्षलाई सहयोग गर्दै आएको हो, गर्छौं तर फेरि पार्टीलाई योभन्दा राम्रो बनाउनुपर्छ। विधिसम्मत बनाउनुपर्छ। यसमा हामी स्पष्ट छौं। धेरैभन्दा धेरै साथीलाई पार्टी एकतामा ल्याउनुपर्छ त्यसमा हामी स्पष्ट छौं तर निश्चित विचारको समझदारी बिना हुँदैन। पहिले एकता अनि विचार भन्ने कुराले टुटफुटको श्रृंखलामात्रै ल्याउँछ, त्यो विगतले देखाएकै छ।
विशेष महाधिवेशनमै यहाँहरूले प्रतिष्पर्धा गर्नुपर्ने स्थिति आयो, महासचिवकै लागि लड्नुपर्ने स्थिति आयो भने लड्नुहुन्छ त?
आठौं महाधिवेशनमा प्रभाकरजीले पनि अपेक्षा राख्नुभएको थियो। पम्फाजीले पनि भन्नुभएको थियो। अरू साथीहरूले पनि एकाध आकांक्षा राख्नुभएको थियो। मैले पनि त्यतिबेला स्वाभाविक आकांक्षा राखेको थिएँ। म ५५ सालमा केन्द्रीय कमिटीमा आएदेखि हरेक जिम्मेवारीमा अरू साथीहरूभन्दा अगाडि छु। त्यसअघि पार्टी आन्दोलनका हिसाबले उहाँहरू मभन्दा अगाडि आउनुभएको छ। त्यसैगरी अरू समकालीन साथीहरू खासगरी महराजी र देव गुरूङजी बाहेक २०५९ सालमा म पोलिटब्युरो सदस्य भएको हो। २१ वर्षदेखि म सबै साथीहरूभन्दा अगाडि हरेक जिम्मेवारीमा छु। मैले गरेर आएको संगठन नै हो, मैले गरेर आएको सैन्य संगठन, पार्टी संगठन नै हो। म कुनै ठूलो वैचारिक बहसबाट आएकोभन्दा पनि एकदमै तल्लो कमिटीबाट आएको हुँ। कुनै पनि फड्को मारेको छैन। काम गर्दै स्वतः स्वीकार्यताका साथ ग्राजुअल्ली अघि बढेर नै आएको छु। त्यसैले मैले महासचिवमा आकंक्षा राखेको थिए। सकेसम्म सहमति गरौं भएन भने जनवादी तरिकाबाट हल गरौं न त भन्ने पनि हो। त्यतिखेर परिस्थिति बनेन। अब विशेष महाधिवेशनसम्म त्यो परिस्थिति बन्न पनि सक्ला। तर एउटा परिस्थितिमा म महासचिव पाए म गर्छु, अध्यक्षलाई पनि सहयोग गर्छु पार्टी संगठन पनि नयाँ ढंगले बनाउँछु भन्ने भनेको थिएँ। तर विशेष महाधिवेशनसम्म परिस्थिति कस्तो बन्छ, कैयौं चाहना त्यही नरहन पनि सक्छन्। त्यही रूची नरहन पनि सक्छ। हिजो महासचिव पाएपछि गर्छु भन्ने लाग्थ्यो नि, अहिले स्वाभाविक रूपले कम हुँदो रहेछ। बरू अहिले त्योभन्दा बढी उपाध्यक्ष पाए गर्छु भन्ने पनि हुन्छ। योभन्दा बरू अर्काे पोजिसनमा गएर बस्छु भन्ने लाग्छ नि मान्छेलाई।
तपाईंलाई चाहिँ कस्तो लागेको छ? महासचिव हुने हो विशेष महाधिवेशनमा भन्ने लागेको छ कि ठीकै छ अब नबन्ने भन्ने लागेको छ?
होइन, विशेष महाधिवेशन आउँदै गर्दा छलफल गर्दै गर्दा कस्तो परिस्थिति बन्छ। त्यहीअनुसार गर्ने हो। पार्टीको एउटा महत्वपूर्ण जिम्मेवारीमा अहिले पनि छु। हिजो पनि थिएँ, फेरि पनि केही महत्वपूर्ण जिम्मेवारी अगाडि आए पक्कै आन्दोलनलाई अगाडि बढाउने मेरो आकंक्षा छ, मैले त्यो जिम्मेवारी महसुस गरेको छु। त्योभन्दा अनावश्यक महत्वाकांक्षा राख्दिनँ। लामो समय आन्दोलन हेर्दै आएको हो, भोग्दै आएको हो। फेरि पनि यो आन्दोलनलाई जीवन्त र गतिशील ढंगले अगाडि लैजान सकिन्छ। तर कुनै हतार गरेर कसैलाई उछिन पाछिन गर्नुपर्छ भन्ने मलाई लागेको छैन।
अब पर्खिने समय पनि त छैन होला नि? तपाईं भर्खरै निको भएर आउनुभएको छ, अर्का उपमहासचिव जनार्दन शर्मा उमेरले नै ६० आसपास भइसक्नुभयो?
हामी समकालीन साथीहरू सल्लाह गर्छौं। कोही वरिष्ठ उपाध्यक्ष बस्छौं होला, कोही उपाध्यक्ष बस्छौं होला। कोही महासचिव बस्छौं, कोही उपमहासचिव बस्छौं। महाधिवेशन आउँदै गर्दा समझदारीमै कार्यविभाजन गर्न सक्छौं। र, सिंगो पार्टीमा एउटा आशा जगाउने कार्यक्रम गर्न सकिन्छ भन्ने विश्वास छ।
यहाँले सुरूमा सरकारका राम्रा काम जनतासम्म राम्रोसँग पुगेन, जनतातिर फर्किएनौं र अब केन्द्रीय कमिटी बैठकपछि हामीले त्यसलाई व्यवस्थित गर्छौं भन्नुभएको थियो। तर सरकारको कामलाई प्रचारप्रसार गर्न दुई वटै उपमहासचिव चुपचाप बसे भन्ने त छ। त्यस्तो किन भयो?
राम्रो काम भएको छ। खासगरी नक्कली भुटानी शरणार्थी काण्ड हुँदै अहिलेको ठूलो सुन पक्राउ हुनु भनेको आफैंमा सुशासनका लागि एउटा महत्वपूर्ण कदम हो। यसले बेठीक ढंगले काम गर्न खोज्ने मान्छेहरू कुनै पनि बेला कठघरामा पुग्छन्, २० औं वर्षपछि पनि उम्किन सकिन्न भनेर पाठ सिकाएको छ। अहिले म जुन कुर्सीमा छु, जुन जिम्मेवारीमा छु, गम्भीर भएर देश र जनताको हितमा कानुनसम्मत तरिकाले काम गरिनँ भने जवाफ दिनुपर्छ। मेरो भावी पुस्ताले पनि जवाफ दिनुपर्छ भन्ने कुरामा सबैलाई सचेत गराएको छ। यो असाध्यै राम्रो कुरा हो। भ्रष्टाचार निवारणका लागि यो ठूलो झड्का हो।
सुशासनका लागि विगतका फाइल हुन् वा वर्तमानमा हुनसक्ने सम्भावित गडबडी, त्यसलाई निर्ममताका साथ हेरिनुपर्छ। सरकारले असाध्यै राम्रो काम गरेको छ। यसमा पार्टीको पूरै समर्थन छ, हामीभन्दा पनि आम जनताकै समर्थन छ। यसमा दुई वटा कोण छन्। एउटा, राम्रो काम गरेपछि पार्टीविशेष मात्र होइन, आमजनताले स्वीकार्छन् धेरै चिन्ता गर्नु हुँदैन। राम्रो काम गरेको जनताले, कार्यकर्ताले त्यसै पनि बुझ्छन्। किनभने हाम्रो शिक्षाको स्तर बढेको छ, राजनीतिक सचेतना र सामाजिक जागरणको स्तर धेरै माथि छ। आखिर यहाँ त माओवादीको लोकप्रिय मत मुस्किलले १० प्रतिशत हो। पहिले सबै जनताले माओवादीलाई जसरी गाली गर्थे, अहिले गर्न छोडेका छन्। प्रचण्डलाई केही लेख्नेबित्तिकै ८/१० वटा कमेन्ट रेडिमेट आउँथ्यो त्यो आउन छोड्यो। त्यो ठूलो कुरा हो नि। राम्रो कुरा गरेपछि जसले पनि प्रशंसा गर्छ। त्यसैले मेरै मान्छेले भनोस्, मेरै मान्छेले बोकेर हिँडोस् भन्ने गौण कुरा।
मैले अध्यक्षलाई भन्दै छैन, हामी कुनै पनि नेताले त्यो कुरा सोच्नुहुन्न। कुनै बेला अरू पार्टीका नेताले पनि अरिंगाल लाग्नुपर्यो, बारूला लाग्नुपर्यो भन्थे। त्यसरी हुँदैन। राम्रो कुरा गर्यो भने साइबर सेना नै चाहिन्न। जनता नै सेना भएर उभिन्छ नि त।
दोस्रो कुरा, हाम्रो लोकप्रिय मत जम्माजम्मी १०/१२ प्रतिशत छ। ८८ प्रतिशत ९० प्रतिशत अरू छन् त दलीय सिस्टममा राम्रो गरे पनि अरूले कहाँबाट राम्रो गर्यौ भन्छन् त। एउटा पार्टीको कार्यकर्ताले अर्को पार्टीको नेतालाई हाई हाई त यसै पनि त गर्दैन नि। अलिअलि आलोचना त गर्छ।
तेस्रो कुरा, हाम्रो के कमी भयो त्यो हेर्नै पर्छ। कमजोरी भएका छन्। सरकार र पार्टी नजोडिएपछि ती समस्या देखिएका छन्। संसदीय व्यवस्था भएको ठाउँमा चुनावका बेला दल देखिन्छ। चुनाव सकिएपछि संसदीय दल मुख्य हुन्छ। अमेरिकाजस्तो ठाउँमा चुनावको बेला पार्टी देखिन्छ, उम्मेदवारले जितेपछि त्यहाँ पार्टीको केही चर्चा हुन्न। नेपालमा पार्टीहरू बलिया छन्। प्रधानमन्त्री या सरकार बलिया छैनन, त्यसैले यो विशेषतालाई हेरेर पार्टीहरू संगठित, व्यवस्थित हुनुपर्छ। माओवादी हामी संगठित भएनौं व्यवस्थित भएनौं भन्नेछ। मान्छे छौं व्यवस्थित पार्टीका रूपमा छैनौं। बारम्बार आत्मआलोचना गर्छौं भने कहीँ न कहीँ कमी भयो। हामीले आफ्नो आफ्नो ठाउँबाट यसलाई जिम्मा लिनुपर्छ। अध्यक्षदेखि पार्टी सदस्यसम्म कहाँ व्यवस्थित गर्ने हो। भद्रगोल भएको सिस्टमलाई पहिले सुधार्नुपर्यो। हामी केन्द्रीय समितिमार्फत् यसलाई सुल्ट्याउँछौं। केन्द्रबाट स्विच अन गर्नेबित्तिकै सबैतिर बल्ने खालको सिस्टम बनाउँछौं। अहिले कहाँ-कहाँ लाइन डिस्कनेक्ट भएको छ थाहै छैन। केन्द्रबाट लगातार स्विच थिचेर लाइट बलोस् भनेर कहाँबाट बल्छ त। त्यसैले पार्टी बलियो बनाउन पर्यो, व्यवस्थित गर्नुपर्यो।