साउन २ गतेदेखि चलेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबार सकिँदैछ।
६ दिन चलेको बैठकमा सभापति शेरबहादुर देउवाबाहेक सबैले आफ्ना धारणा राखिसकेका छन्।
बुधबारको बैठकमा सभापति देउवाले आफ्ना धारणा राख्नेछन् र नीति अधिवेशनको मितिलगायत निर्णय गरेर बैठक सकिनेछ। बैठकका निर्णयका लागि सभापति देउवाले पदाधिकारीहरूसँग छलफल पनि गरेका छन्।
कांग्रेसको यो बैठक दुई कारणले महत्वपूर्ण छ।
पहिलो, कांग्रेसको यो बैठक एक वर्षपछि बसेको थियो। प्रदेश र संघीय संसदका उम्मेदवार चयनदेखि परिणामका विषयमा समीक्षा गर्न पनि बैठक बसेको थिएन।
दोस्रो, कांग्रेसको इतिहासमा यसपालि पहिलो पटक केन्द्रीय समिति बैठक लाइभ भयो। बैठक लाइभ भएकाले केन्द्रीय समितिमा क-कसले के भने भन्ने कुरा सार्वजनिक पहुँचमा पुग्यो।
बैठकको सुरूमा महामन्त्री विश्वप्रकाश शर्माले १० वटा एजेन्डा र अर्का महामन्त्री गगन थापाले वार्षिक कार्ययोजना राखेका थिए।
नेता गोपालमान श्रेष्ठले निर्वाचन समितिको प्रतिवेदन, आनन्द ढुंगानाले अनुशासन समितिको र उपसभापति पूर्णबहादुर खड्काले सरकारका कामकारबाहीबारे बैठकको सुरूमै जानकारी गराएका थिए।
यी प्रतिवेदन र १० एजेन्डामा केन्द्रित रहेर बैठकमा बोल्न केन्द्रीय सदस्यलाई ७ मिनेट समय दिइएको थियो।
सभापति देउवाले नै बैठक चलाएका थिए। निर्धारित समय कटेपछि देउवाले समय सकिएको जनाउ दिन्थे, माइक काटिन्थ्यो।
सभामुखले संसद बैठक चलाएजस्तै गरी देउवाले केन्द्रीय समिति बैठक चलाए, केन्द्रीय सदस्यका कुरा धैर्यपूर्वक सुने।
केन्द्रीय सदस्यलाई समय थप गर्न देउवाले मानेका थिएनन्, पदाधिकारीलाई भने करिब एक घन्टासम्म पनि समय दिए। समय थप गरिदिनू भन्नेलाई देउवाले भन्थे- सबैलाई उत्तिकै समय दिएको हो, धन्यवाद, बस्नुस्।
निर्धारित समयभित्र कुरा नसकेपछि उपसभापति खड्कालाई पनि देउवाले समय ख्याल गर्न ध्यानाकर्षण गराउनुपर्यो। खड्कालाई बोल्न समय दिँदा नै सभापति देउवाले 'मेरा कुरा पनि राखिदिनू है' भनेका थिए।
खड्काले टिकट वितरण, पार्टीको आन्तरिक गतिविधि, सरकारका काम-कारबाहीजस्ता विषयमा लामो समय बोले।
‘एक घन्टा बोलिसक्नुभयो। बोल्नुस्-बोल्नुस्,’ देउवाले उनलाई व्यङ्ग्य कसे।
खड्काले तुरून्तै भने- एक घन्टा भयो र? सरी सभापतिज्यू! अलि बढी समय लिएँ क्षमा चाहन्छु।
६ दिनसम्म चलेको बैठकमा केही केन्द्रीय सदस्यहरूले आफ्ना कुरा रोचक ढंगले प्रस्तुत गरे।
नबोली सभापतिले पासा पल्टाइदिनुभयो: कृष्णचन्द्र नेपाली पोखरेल
केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली पोखरेलले सभापति देउवालाई धन्यवाद दिए।
‘कांग्रेस ठूलो पार्टी भए पनि केही क्षण हामी निरास भयौं, गठबन्धन एकाएक भत्कियो, एमालेको समर्थनमा प्रचण्डजी प्रधानमन्त्री हुनुभयो,’ उनले भने, ‘तर दुई महिना पुग्दानपुग्दा उहाँ (देउवा) ले कहीँ पनि केही नबोली पासा पल्टाइदिनुभयो।’
विधान मिच्दा टुलुटुलु हेरेर बस्ने, ननसेन्स: केशवकुमार बुढाथोकी
केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पार्टी विधानविपरीत झापा कांग्रेसले जिल्ला समिति र सल्लाहकार गठन गरे पनि नेतृत्व टुलुटुलु हेरेर बसेको बताए।
‘झापा जिल्ला सभापतिले १०० जनाको जिल्ला समिति बनाएको छ। ५३ जना सल्लाहकार बनाएको छ। तपाईं महामन्त्री विश्वप्रकाश शर्मा हाम्रो जिल्लाको नेता, टुलुटुलु के हेरेर बसेको? विधानले दिन्छ? चुप लागेर बस्ने? तरिका हो संगठन बनाउने?,’ उनले भने।
बुढाथोकीले चर्को स्वर गरे पनि महामन्त्री शर्मा हाँसिरहेका थिए।
‘विधानले दिने भए शेरबहादुर देउवाले केन्द्रीय समिति ४०० सदस्यीय बनाए भइगो, विधान मिचेर समिति बनाउँदा तपाईंहरू नबोल्ने, हु आर यु? के गर्दै हुनुहुन्छ, ननसेन्स!,’ उनले भने।
उनले नेताका सन्तान र पिएसमेत राखेर तरूण दल विस्तार गरेकोमा कटाक्ष गरे।
‘यो भ्रातृ संस्थामा सबैले आफ्ना छोराछोरी राखेका रहेछन्, मेरो छोरा पनि राखिदिनुपर्यो,’ व्यङ्ग्य गर्दै उनले भने, ‘महिला संगठन बनाउनुहुन्छ भने मेरो श्रीमती राखिदिनुपर्यो, यही त रहेछ हाम्रो संगठन गर्ने पारा।’
उनका कुरा सुनेर केन्द्रीय सदस्यहरू गलल हाँसे। बुढाथोकीका अनुसार ७ जना केन्द्रीय सदस्यका सन्तान र स्वकीय सचिवलगायत तरूण दल सदस्य छन्।
म सी क्लासको केन्द्रीय सदस्य: सुशीला थिङ
केन्द्रीय सदस्य सुशीला थिङले महत्वपूर्ण निर्णय कार्यसम्पादन समिति र पदाधिकारी बैठकमै जुट्ने गरेको भन्दै आफूलाई सी क्लासको केन्द्रीय सदस्य हो कि जस्तो लागेको बताइन्।
‘म सी क्लासको केन्द्रीय सदस्य हो कि जस्तो लाग्छ। किनकी महत्वपूर्ण निर्णय कार्यसम्पादन र पदाधिकारीले गर्छ,’ उनले भनिन्, ‘ती बैठकका निर्णय हामीलाई थाहै हुन्न। त्यसैले मलाई सी क्लासको केन्द्रीय सदस्य अनुभूति भयो।’
उनले पदाधिकारी र कार्यसम्पादन समिति बैठक पनि लाइभ हुन्छ कि हुन्न भन्दै व्यङ्ग्य गरेकी थिइन्।
नेताहरूको फोन उठेन भनेर नगर सचिवले पार्टी छाडे: नारायणी रायमाझी
केन्द्रीय समितिमा धारणा राख्दै केन्द्रीय सदस्य नारायणी रायमाझीले सामान्य कार्यकर्ताको पनि अस्तित्व स्वीकार गर्नुपर्ने र सम्मान हुनुपर्ने बताइन्।
‘मेरो क्षेत्रको नगर सचिवले पार्टी पदाधिकारी कसैले पनि फोन उठाएनन्, मेरो समस्या सुनाउन पाइनँ भनेर पार्टी नै छोडे,’ उनले भनिन्।
यो कुरा सुनेपछि देउवा चनाखो भए। बोलिरहेकी रायमाझीलाई रोके। ‘उहाँको नाम के हो? यहाँ टिपाइदिनू है।’ रायमाझीले नगर सचिवको नाम सुशील धौडारी हो भनिन्।
उनले पार्टी नेताहरूलाई कार्यकर्ताको फोन उठाइदिन आग्रह गरिन्। ‘नेताको फोन उठेन भनेर नगर सचिवले पार्टी छाडे, हेर्दाहेर्दै विपक्षी पार्टीमा गए,’ उनले भनिन्, ‘पार्टीले समस्या सुन्दैन भने साथीहरू टाढा हुनु स्वभाविक नै हो कि जस्तो लाग्छ मलाई।’
विचरा! महामन्त्रीहरू, चरी जेलैमा: प्रकाश रसाइली
केन्द्रीय सदस्य प्रकाश रसाइलीले महामन्त्रीहरूलाई विधानले कार्यकारी अधिकार नदिएको बताए।
‘म विचरा महामन्त्रीहरूलाई देखिरहेको छु। विधानमा खोज्यो केही अधिकार नै पाइन्न रहेछ। चरी जेलैमा,’ उनले भने, ‘कामजति सबै सभापतिले गर्ने विधानले भनेको रहेछ। तर सभापतिले समयबद्ध काम नगर्ने, दोष आउने।’
उनले एक वर्षसम्म बैठक कुरेर टुलुटुलु हेरेर बसेको बताए। ‘सभापतिज्यू, समयमै बैठक गर्नुस्, छलफल गर्नुस्। हामीलाई काम दिनुस्, नयाँ आएका पार्टीलाई ठेगान लगाउँछौं,’ उनले भने।
गगनजी वेट, जन्ती नपाउनुहोला: चन्द्रबहादुर केसी
केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले महामन्त्री गगन थापालाई हतार नगर्न आग्रह गरेका छन्।
थापाले संसदीय दल नेता बदल्न खोजेको प्रसंगमा उनले भने, ‘गगनजी प्लिज वेट। अधिवेशनको समय नआउँदै सभापतिको राजीनामा माग्ने?,’ उनले प्रश्न गरे, ‘संसदीय दल नेता र सभापति चाहियो भन्दैमा समय र परिस्थितिलाई ख्याल नै नगरी बेमौसमी बाजा बजाउँदै हिँड्दा जन्ती पाइन्न कि, त्यतातिर ध्यान जाओस्।’
नेता भगवान हो?, राजा हो? हुकुम मान्नुपर्ने: सञ्जयकुमार गौतम
केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले सभापतिलाई सम्बोधन गर्दा सम्माननीय सभामुख महोदय भनेपछि बैठकमा हाँसो गुन्जियो।
‘आदरणीय सभापतिज्यू, म झुक्किएँ,’ उनले भने। विधि र विधानअनुसार चल्छौं भनेर संकल्प प्रस्ताव पारित गरेमा पार्टीका आधा समस्या हल हुने उनले बताए।
संसदीय समिति गठन गरिएकोमा असन्तुष्टि पोखेका गौतमले थपे, ‘नेता भगवान हो? राजा हो? हामीले यहाँहरूको हुकुम मान्नुपर्ने हो? कि विधिले निर्देशित गर्ने हो? संसदीय दल छैन टिकट दिइयो। मन्त्री कसले छान्ने? यहाँहरूले जे पनि गर्न हुने हामीले बोल्न नहुने?’
चितवनका कार्यालयका हाकिम सबै माओवादी छन्: टेकप्रसाद गुरूङ
केन्द्रीय सदस्य टेकप्रसाद गुरूङले गृहजिल्ला चितवनका कुरा राखे।
उनले गठबन्धन सरकार भए पनि चितवनका कार्यालय प्रमुखहरू सबै माओवादीनिकट रहेकोले काम गर्न गाह्रो भइरहेको बताए।
‘चितवनका कार्यालय प्रमुख सबै माओवादी छ। मेयर माओवादी, सिडिओ, एसपी, भूमि आयोग, क्यान्सर अस्पताल अध्यक्ष, सरकारी अस्पताल अध्यक्ष माओवादी छ,’ उनले भने, ‘त्यतिमात्र नभएर गरिबसँग विश्वेश्वर कार्यक्रमको अध्यक्ष पनि माओवादी छ। अब भन्नुस् चितवनमा हामीले के गर्न सकिन्छ?’
कांग्रेसमा अझै तानाशाही जीवित छ: कर्णबहादुर बुढा
केन्द्रीय सदस्य कर्णबहादुर बुढाले राणाशासन र पञ्चायती व्यवस्था फालेको कांग्रेस आफू भने अझै तानाशाही रहेको बताए।
‘केही साथीहरूले तानाशाही राणाशासन र पञ्चायती व्यवस्था कांग्रेसले फाल्यो। फाल्न अगुवाई गर्यो भन्छन्,’ उनले भने, ‘अहिलेसम्म तानाशाही जीवित छ कांग्रेसभित्र। मनोपोली भइरहेको छ।’
जनताले दिने भोट मेरो र तेरो भाग भनेर गठबन्धन गरिएकोमा उनले असन्तुष्टि जनाए।
‘एक/दुई जना व्यक्तिले पार्टी सिण्डिकेट बनाएको छ। आफ्नै गौरबमा उभिनेले सिण्डिकेट मान्नेवाला छैन सभापतिज्यू,’ उनले भने।
महामन्त्रीको बर्थ डे पार्टीले नयाँ जाँगर दिने भो: ध्यानगोविन्द रञ्जित
केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले महामन्त्रीको बर्थ डे पार्टीले नयाँ जोश र जाँगर दिएको बताए।
‘बडा खुसी लाग्यो- बर्थ डे पार्टी। केक पार्टीबाट सबै पूर्णता भयो,’ व्यङ्ग्य शैलीमा उनले भने, ‘बर्थ डे पनि लाइभ भो, धेरै ठाउँमा प्रचार भयो। अर्को महामन्त्रीको पनि बर्थ डे आउने हो कि! यसले पनि नौलो जोश र जाँगर दिने भयो।’
केन्द्रीय समिति बैठकका बेला महामन्त्री गगन थापाको जन्मदिन मनाइएको थियो, जहाँ देउवाले थापालाई केक खुवाएका थिए।
रञ्जितले फरक प्रसंगमा जनतासँग भिजेका कार्यकर्तालाई माथि तान्नुपर्ने बताए।
‘हामी त सधैं तलको तलै। जनता र कार्यकर्तासँग बसेर काम गरिरहेका छौं,' उनले भने।
बैठक चलिरहेका बेला अनलाइन पढ्नु परेन: अम्बिका बस्नेत
केन्द्रीय सदस्य अम्बिका बस्नेतले यसअघि केन्द्रीय समिति बैठक हुँदा कसले के बोल्यो र मिडियामा के आयो भनेर मोबाइल हेर्ने गरे पनि यसपालि त्यो दु:ख गर्न नपरेको बताइन्।
‘बैठक लाइभ गर्दा खुसी लागेको छ। कसरी छलफल गरेको र के-के एजेन्डामा भन्ने स्वदेश र विदेशबाट हेर्न मिलेको छ,’ उनले भनिन्, ‘कसले के बोल्यो भनेर पहिले पत्रकारहरूले बाहिर निस्कनेबित्तिकै सोध्ने गर्थे। लोकतन्त्रिक पार्टीका सदस्य, बैठक चलिरहँदा पनि कसले के बोल्यो भनेर अनलाइनमा समाचार हेरिन्थ्यो। बैठक चल्दाचल्दै यो कुरा कसले दियो मिडियामा भनेर खोजी पनि गरिन्थ्यो। तर अहिले बैठक लाइभ छ यो कुरा खोजी पनि भएन।’
पुस्ताको कुरा गर्छन्, राजीनामा दिऊँ त सभापतिज्यू: नारायण खड्का
केन्द्रीय सदस्य नारायण खड्काले महामन्त्रीहरूले पुस्तान्तरणको कुरा गर्ने गरेको विषय केन्द्रीय समितिमा राखे।
उनले पुस्ता भन्ने कुरा लोकतन्त्रमा नहुने दाबी गर्दै योगदान र भूमिका हेरिनुपर्ने बताए।
‘पुस्ताका कुरा आएका छन्। अहिलेको पुस्ताबाट प्रधानमन्त्री हुनुपर्छ भन्ने कुरा आएको छ। म आजकल प्रेसमा बोल्न छाडेँ। तर पनि कहिलेकाहीँ पत्रकारहरूले सोध्छन्- तपाईंहरूले छोड्नुपर्यो भन्ने खालका कुरा आउँछ,’ उनले भने, ‘सभापतिज्यू, अमेरिकी राष्ट्रपति जो बाइडेन ८० भन्दा बढी उमेरका भइसके, डोनाल्ड ट्रम्प पनि ८० भए। लोकतन्त्रमा पुस्ता भन्ने हुन्न।’
खड्काले यति भन्न नपाउँदै सभापति देउवाले हस्तक्षेप गर्दै भने- उहाँहरूले सुन्नुभयो, अघि बढ्नुस् अब।
खड्काले उल्टै सभापति देउवालाई प्रश्न गरे- पुस्ताका कुरा गर्दा मलाई पनि पर्यो सभापतिज्यू। अब मैले छाड्ने त? राजीनामा गरूँ त? यहाँ पुस्ता प्रधान भयो। तपाईंहरूले कहिलेसम्म ओगट्ने भन्ने व्याख्या गर्न थालियो।
गंगामा बग्दै गरेको मेरो अस्तुले पनि नेपाल र कांग्रेसको जय भनोस्: चित्रलेखा यादव
केन्द्रीय सदस्य चित्रलेखा यादवले पार्टीमा इमोसनल एचेजमेन्ट हराउँदै गएको बताइन्।
‘ब्याक्टेरिया र इन्फेक्सनले पार्टीलाई बरबाद पार्छ।
इमोसनल एचेजमेन्ट हुनुपर्छ। त्यो आज कहाँ हरायो। जसको जगमा कांग्रेस पार्टी बनेको थियो,’ उनले भनिन्।
उनले गंगामा बग्ने आफ्नो अस्तुले पनि नेपाल र कांग्रेसको जय भनोस् भन्ने आफ्नो इच्छा रहेको बताइन्।
‘मेरो इच्छा एउटै छ- म जन्मिए कांग्रेसकै लागि। बाँच्छु कांग्रेसकै लागि। म मर्छु कांग्रेसकै लागि। जब म मर्छु- गंगामा बग्दै गरेको अस्तुले पनि नेपालको जय होस्, नेपाली कांग्रेसको जय होस् भनोस्,' उनले भनिन्।
माओवादी, घन्टी र हलो कांग्रेस भन्छन्, के हो: मोहनबहादुर बस्नेत
केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले केही व्यक्तिबाट कांग्रेस कमजोर बनाउने काम भइरहेको बताए।
‘कांग्रेसभित्र माओवादी कांग्रेस को हो? घन्टी कांग्रेस को हो? हलो कांग्रेस को हो? नेपाली कांग्रेस को हो?,’ यस्ता हल्लाखल्ला बाहिर सुनिने गरेको बताउँदै उनले भने, ‘पार्टी फुटाएर एउटा समूह हिँड्छ भन्ने समाचार आउँछ। महत्वकांक्षा राखेर हिँड्नेले यस्ता कुरा गरिरहेका छन्।’
बस्नेतले यी विषय राख्दा सभापति देउवाले बैठक लाइभ छ भनेर ध्यानाकर्षण गराएका थिए। तर बस्नेतले 'म बोल्ने नै मानिस हुँ' भनेका थिए।
कांग्रेसको दुर्भाग्य गुट हो, मेरो पनि छ: शशांक कोइराला
केन्द्रीय सदस्य शशांक कोइरालाले गुटले कांग्रेसलाई कमजोर बनाएको बताए।
आफ्नो पनि गुट रहेको उनको स्वीकारोक्ति थियो।
‘महाधिवेशनमा गुट हुन सक्छ। प्रतिस्पर्धा हुन्छ। तर हाम्रो दुर्भाग्य- महाधिवेशनपछि पनि गुट लागिरहेको हुन्छ,’ उनले भने, ‘गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, तत्कालीन अवस्थामा रामचन्द्र पौडेल र शेखरसहित शशांकको पनि गुट छ,’ उनले भने।
शशांकले आफ्नै गुटबारे बोलेपछि बैठकमा हाँसो गुन्जिएको थियो।
यसअघि उनले आफू लगातार चार पटक आमचुनाव जितेर आएको र त्यो सभापति देउवाबाहेक अरूले नसकेको दाबी गरेका थिए।
शशांकले बोलेर सकेपछि देउवाले जवाफ दिए- म ७ पटक चुनाव जितेको हुँ शशांकजी।
बीचमै देउवाले रोकेपछि गच्छदारले भने- म बोल्दिनँ
केन्द्रीय सदस्य विजयकुमार गच्छदारले बोलिरहेका बेला सभापति देउवाले समय सकियो भनेका थिए। जबकी गच्छदार बोलेको ३ मिनेटमात्र भएको थियो ४ मिनेट बाँकी नै थियो।
‘समय सकिएको छैन। घडी हेर्नुस्। म समयमा एकदम सतर्क छु, सभापतिजी,’ गच्छदारले भने।
उनी यतिमा रोकिएनन्। आफू बोलेका बेला सभापति देउवाले रोक्ने गरेको गुनासो गरे।
‘डिस्टर्ब गरिराख्नुस् आधा घन्टा गइहाल्छ,’ गच्छदारले भने, ‘म बोल्दा सभापतिजीले रोक्नुहुन्छ त्यसले मलाई मद्दत नै पुगेको छ।’
यसपछि देउवाले गच्छदारलाई अघि बढ्न भनेका थिए।
बुँदागत कुरा राख्दा पनि १५ मिनेटमा नसकिने उनको भनाइ थियो। ‘तपाईंले समय थप्नुहोला वा माइक काट्नुहोला त्यो अधिकार तपाईंको हो,’ उनले भने, ‘म धेरै बोले तपाईंलाई असहज होला। म बोल्दिनँ।’
उनले नीति अधिवेशन मंसिरअघि नै हुनुपर्नेमा जोड दिए भने कांग्रेसको सिद्धान्तबारे पदाधिकारीसँग बहस गर्न आफू तयार रहेको बताए।
यति भन्दा उनको समय सकिइसकेको थियो। फेरि देउवाले समय सकियो भन्ने जनाउ दिए। ‘एक मिनेट थपिदिनुस्,’ गच्छदारले आग्रह गरे।
तर सभापति देउवाले सबैलाई ७ मिनेट दिइएको र अब एक मिनेटमा कुरा सिध्याउन भनेका थिए।
गच्छदारले कुरा नसकेपछि माइक काटियो। गच्छदार बोलिरहे, देउवा हातमा बाँधेको घडी हेरिरहे। केही बेर रोकिएर देउवाले भने- धन्यवाद, धन्यवाद।
देउवा र गच्छदारबीच अघिल्लो दिन पनि सुनसरीमा एकै कार्यक्रममा थिए। गच्छदारले जहिले पनि लामो कुरा राख्ने गरेको भन्दै देउवाले रोष जनाउने गर्छन्।
देउवाले ५ वर्षपछि फेरि भने- ओ, प्रकाश महत
सभापति देउवाले मन्त्रालयको कामकारबाहीबारे बिफ्रिङ गर्न केन्द्रीय समितिमा अर्थमन्त्रीसमेत रहेका प्रकाशशरण महतलाई समय दिएका थिए।
सहमहामन्त्री किशोरसिंह राठौर बोल्दाबोल्दै देउवाले महतलाई बोल्न समय दिएका हुन्।
‘ओ प्रकाश महतजी, ओ प्रकाश महत। ल तपाईं बोल्नु,’ देउवाले भने।
यति भनेर देउवाले सहमहामन्त्री राठौरलाई तपाईंले धेरै बोलिसक्नुभयो, बस्नुस् भनेका थिए।
देउवाले २०७५ मा काठमाडौंमा भएको महासमिति बैठकमा पनि मञ्चमा रहेका महतलाई 'ओ प्रकाश महत' भनेपछि आलोचना भएको थियो। त्यसबेला अनलाइन र टिभीहरूमा बैठक लाइभ थियो। बोल्न देउवा पोडिएममा उभिएका थिए। लाइभ गरिएको कार्यक्रममा दोस्रो पटक देउवाले 'ओ प्रकाश महत' भनेका हुन्।
सानेपामा देउवासहित फ्राइडे मिट: विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यालयमा सभापतिसहित पदाधिकारीहरू भेटिने प्रतिबद्धता जनाए।
आफू काठमाडौं उपत्यका हुँदा केन्द्रीय कार्यालयमै उपस्थित हुने र कार्यकर्ता भेट्ने गरेको उनको भनाइ छ।
‘महामन्त्री र सभापतिले घरबाटै पार्टी चलाइदिने भनेर बलबहादुर केसीले भन्नुभएको छ,’ उनले भने, ‘सभापतिजी पनि सहमत हुनुहुन्छ। सानेपामा फ्राइडे मिट गर्न।’
उमेरलगायत केही कारणले सभापति देउवा नियमित रूपमा कार्यालय आउन नसकेको उनको भनाइ थियो।
‘बैठक भएका बेला मात्र होइन अरू बेला पनि सभापति अब केन्द्रीय कार्यालय आउनुहुन्छ,’ शर्माले भने।
महामन्त्री शर्माको कुरा सुनेर देउवा हाँसेका थिए।
यसपछि शर्माले ७० वर्ष नाघेकाले पार्टीबाट बिदा हुनुपर्छ भन्ने लहर चलेको बताए। उनले एमालेतर्फ लक्षित गर्दै यस्तो बताएका थिए।
तर देउवाले 'यो कुरा मैले त भन्ने गरेको छैन' भनेपछि हाँसो गुन्जिएको थियो।
देउवालाई हाकाहाकी गगनले भने- छैटौं पटक उहाँले प्रधानमन्त्रीमा दाबी गर्नुहुन्न
महामन्त्री गगन थापाले छैटौं पटक सभापति देउवाले प्रधानमन्त्रीमा दाबी नगर्ने आफूलाई विश्वास लागेको केन्द्रीय समितिमै बताए।
‘सभापतिले एक/दुई महिनापछि ल यार पाँच पटक प्रधानमन्त्री भइसकेँ, छैटौं पटक हुन्न को हुने हो आऊ भन्नुभयो भने राम्रै हुन्छ,’ उनले भने, ‘म हुनुपर्छ पर्दैन जो भए पनि हुन्छ।’ गगनले यति कुरा भन्दा केन्द्रीय सदस्यहरू हाँसेका थिए।
उनले आफूले दल नेता परिवर्तन गर्न लागेको र यसमा चिन्ता नगर्न देउवानिकट नेताहरूलाई आग्रहसमेत गरेका थिए।
मैले थर्काएको छैन: देउवा
महामन्त्री गगन थापाले धारणा राख्दा कतिपय केन्द्रीय सदस्यले बोलेको हो कि थर्काएको हो पत्तो नपाएको विषय राखेका थिए।
‘केही-केही साथीहरूले बोल्दै गर्दा बोलेको हो कि थर्काएको हो? राजाले थर्काउँदा केही भएन, रजौटाले थर्काउँदा केही हुँदैन,’ थापाले भने।
थापाले यसो भनिरहँदा देउवा बोले।
‘शेरबहादुर देउवाले कसैलाई थर्काएको छैन,’ देउवाले भने। तर थापाले 'मैले मेरो कुरा गरेको सभापतिज्यू' भनेका थिए।