तेस्रो पटक प्रधानमन्त्री भएपछि दोस्रो विदेश भ्रमणका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिखेर इटालीमा छन्। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको कार्यक्रममा भाग लिन शनिबार गएका प्रधानमन्त्री प्रचण्ड १२ गते स्वदेश फर्किने छन्।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विदेशमै रहेका बेला माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको पाँच सदस्यीय टोली भारत भ्रमण गर्न आइतबार दिल्ली पुग्दैछ। भारतीय जनता पार्टीको निम्तोमा भुसालसहित चन्द्रप्रकाश खनाल, सत्या पहाडी, रामेश्वर राय यादव र सुरेशकुमार राई दिल्ली जान लागेका हुन्।
भारतीय जनता पार्टी (भाजपा) को ‘नो टु बिजेपी’ कार्यक्रमअन्तर्गत दुई पार्टीबीचको सम्बन्ध विस्तार र स्थापित गर्ने उद्देश्यसहित आफूहरू भारत भ्रमणमा जान लागेको भुसालले सेतोपाटीलाई बताइन्।
उनी नेतृत्वको टोली आइतबार साँझ ५ बजे काठमाडौंबाट दिल्ली जानेछ र १२ गते स्वदेश फर्किनेछ।
भुसालको भारत भ्रमण यस्तो बेलामा भएको छ, जुनबेला प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको चर्चा चलिरहेको छ।
प्रधानमन्त्रीको निजी सचिवालय अनुसार प्रचण्ड दशैंअघि नै चीन भ्रमणमा जानेछन्।
आफ्नो चीन भ्रमणको चाँजोपाजो मिलिरहेका बेला उपाध्यक्ष भुसाल नेतृत्वको टोलीलाई भारत पठाएका प्रचण्डले गत जेठमा भारत भ्रमणमा जानुअघिचाहिँ उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वको २० सदस्यीय टोलीलाई चीन पठाएका थिए।
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को अन्तर्राष्ट्रिय विभागको निम्तोमा २० सदस्यीय टोलीको नेतृत्व गरेर सापकोटा जेठ ६ गते चीन गएका थिए।
यो टोलीले जेठ १८ गतेसम्म राजधानी बेइजिङ,तिब्बतको ल्हासा, सिहाङ भ्रमण गरेको गरेको थियो। माओवादीका वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ पश्चिम चीनको अन्तर्राष्ट्रिय मेलालाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्न असार १३ गते चीनको छेन्दु पुगेका थिए। त्यो भ्रमण भने पार्टीगत थिएन।
माओवादी केन्द्रका विदेश विभाग प्रमुख राम कार्कीले छिमेकी देशका दलहरूसँग आपसी सम्बन्ध स्थापित गर्नका लागि पार्टीका उपाध्यक्षहरू ती देशमा गएको बताए।
‘पहिले चीनले मात्रै गर्थ्यो, अहिले भारतले पनि विचार नमिल्ने पार्टीका नेताहरूसँग पनि छलफल चलाइरहेको छ,’ कार्कीले भने,‘प्रधानमन्त्रीज्यू चीन जानुअघि उपाध्यक्ष भारत जानु र प्रधानमन्त्रीज्यू भारतजानुअघि उपाध्यक्ष चीन जानुचाहिँ संयोगमात्रै हो।’
प्रचण्ड पहिलो पटक २०६५ सालमा प्रधानमन्त्री बनेका थिए। त्यतिबेला मुलुकको सबैभन्दा ठूलो पार्टी हुँदा पनि उनको सरकार टिक्न सकेन।
तत्कालीन प्रधानसेनापति रूक्माङ्गत कटवाललाई हटाउन माओवादी सरकारले गरेको निर्णय विवादमा आएपछि उनले सत्ता छोड्न परेको थियो। सत्ता छोडेर सडकमा आएको माओवादीका अध्यक्ष प्रचण्डलाई भारतीय शक्तिहरूका कारण आफूले सरकार छोड्नुपरेको लागिरहेको थियो।
उनीलगत्तै प्रधानमन्त्री भएका माधवकुमार नेपालले आन्दोलन छोडेर वार्तामा बोलाउँदा उनले भारतलाई लक्षित गर्दै ‘सिधै मालिकसँग संवाद गरिन्छ’ भनेर बानेश्वर चोकमा गरेको भाषणको चर्चा त्यतिबेला व्यापक थियो। त्यसयता भारतीय संस्थापनसँग प्रचण्डको सम्बन्ध खास हार्दिक हुन सकेन। बरू चीनले भूमिगत राजनीतिबाट सार्वजनिक भएपछि नै प्रचण्डलाई महत्व दिइरहेको थियो।
पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्डको विदेश भ्रमण चीनबाटै सुरू भएको थियो। तर खुला राजनीतिमा भिज्दै जाँदा प्रचण्ड एउटामात्रै ध्रुवमा केन्द्रीत हुन छोडे। यसको संकेत उनले २०७३ सालमा दोस्रो पटक मुलुकको प्रधानमन्त्री हुँदा नै दिइसकेका थिए।
२०७३ सालमा केपी शर्मा ओलीको सरकार ढलेपछि कांग्रेस र मधेसकेन्द्रीत दलहरूको समर्थनमा प्रचण्ड नेतृत्वको गठबन्धन सरकार बनेको थियो। मन्त्रालय भागबन्डा नमिलेपछि मधेशकेन्द्रीत दलहरू सरकारमा जान आनाकानी गरिरहेका थिए। त्यही संकटका बीचबाट प्रचण्डले आफ्ना दुई उपप्रधानमन्त्रीहरूलाई चीन र भारतको मनस्थिति बुझ्न पठाएका थिए। ०७३ साउन ३१ गते तत्कालीन उपप्रधानमन्त्री कृष्णबहादुर महरा बेइजिङमा उच्चस्तरीय भेटघाटका लागि गएका थिए भने अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधि भदौ २ गते नयाँदिल्ली पुगेका थिए।
उनीहरूलाई सरकारको दूतकै रूपमा पठाउने निर्णय प्रचण्डले साउन २७ गते औपचारिक र आधिकारिक रूपमै गरेका थिए। त्यतिखेर पनि प्रचण्डले बाह्य शक्तिहरूलाई हस्तक्षेपको निम्तो दिएको भन्दै उनको खुब आलोचना भएको थियो।
विदेश मामिलाका जानकार डाक्टर दिनेश भट्टराई पछिल्लो समय भारतीय जनता पार्टीसँग माओवादीको सम्बन्ध विस्तार हुँदै गइरहेकाले आउजाउ बढेको हुन सक्ने बताउँछन्
‘पहिले चिनियाँ कम्युनिष्ट पार्टीसँग माओवादीको सम्बन्ध राम्रो थियो, अहिले भारतीय जनता पार्टीसँग पनि विस्तार भइरहेको छ,’ भट्टराईले भने, ‘आफ्नो भ्रमणअघि या पछि टोली पठाउने चलन पनि हुन्छ, प्रधानमन्त्रीज्यूले त्यसै गर्नुभएको होला।’
माओवादीमा भुसाल र सापकोटा प्रचण्डनिकट मानिन्छन्। यी दुबै नेतालाई गत माघमा प्रचण्डले पार्टी उपाध्यक्ष बनाएका थिए। अहिले यिनै उपाध्यक्षहरूलाई उनले सिपिसी र बिजेपीको धारणा बुझ्नका लागि पठाएका हुन्।