नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता तोक्न दबाब आएको छ।
विधानअनुसार कांग्रेसमा वरिष्ठ नेता पद नै छैन।
१४ जना पदाधिकारीसहित १६८ सदस्यीय केन्द्रीय समिति रहने विधानको व्यवस्था छ।
विधानमै नभएको वरिष्ठ नेता बनाउन देउवामाथि जारी केन्द्रीय समिति बैठकमा दबाब केन्द्रीय सदस्यहरूबाट दिइएको छ।
केन्द्रीय समितिमा १० एजेन्डा केन्द्रित रहेर ७ मिनेटभित्र धारणा राख्न पाइन्छ। धारणा राख्ने क्रममा केही केन्द्रीय सदस्यले सभापति देउवामाथि वरिष्ठ नेता तोक्न दबाब दिएका छन्, जुन विधानसम्मत छैन।
वरिष्ठ नेतामा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र शेखर कोइरालालाई मनोनीत गर्न दबाब आएको हो।
संस्थापन पक्षले श्रेष्ठ र संस्थापनइतर पक्षले कोइरालालाई वरिष्ठ नेता बनाउन भनेका छन्। कांग्रेसको वरीयतामा श्रेष्ठ १५ औं र कोइराला २५ औं स्थानमा छन्।
कांग्रेसले यसअघि पनि परम्परा देखाउँदै केही महाधिवेशनमा सभापति हारेकालाई वरिष्ठ नेता बनाउने गरेको थियो। विधानले नचिन्ने त्यही परम्परा कायमै राख्नुपर्नेमा अहिले केही केन्द्रीय सदस्य लागिपरेका छन्।
विधि, विधानअनुसार पार्टी सञ्चालन नगरेको आरोप देउवामाथि लाग्ने गरेको छ। विधानअनुसार मात्रै पार्टी चलाउन भन्ने केन्द्रीय सदस्यहरू विधान मिचेर वरिष्ठ नेता तोक्न देउवामाथि दबाब दिइरहेका छन्।
केन्द्रीय सदस्य सीतादेवी देवकोटाले पार्टीमा दु:ख गरेको नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाउन केन्द्रीय समितिमै प्रस्ताव गरेकी छन्।
‘सभापतिजीसँग अत्यन्त दु:ख गरेको हुनाले मिल्छ भने गोपालमान दाइलाई वरिष्ठ नेता बनाउन म अनुरोध गर्दछु,’ उनले भनिन्।
देउवाले कांग्रेस प्रजातान्त्रिक गठन गर्दा श्रेष्ठ उपसभापति थिए भने तत्कालीन राजाले देउवालाई जेलमा राख्दा श्रेष्ठ कार्यवाहक सभापति थिए। कांग्रेस प्रजातान्त्रिकमा श्रेष्ठ दुई वर्षसम्म कार्यवाहक सभापति भएर देउवालाई साथ दिएका थिए।
श्रेष्ठले पनि सभापति देउवासँगको भेटमा 'भारी आफ्नो काँधमा बिसाउन' आग्रह गर्दै आएका थिए।
केन्द्रीय समितिमा धारणा राख्दै देवकोटाले कोषाध्यक्ष पदमा महिलालाई अवसर दिन पनि सभापति देउवाको ध्यानाकर्षण गराएकी छन्।
१४ औं महाधिवेशन भएको ३ महिनाभित्र कोषाध्यक्ष मनोनीत गर्नुपर्ने भए पनि १८ महिनासम्म देउवाले कोषाध्यक्ष मनोनीत गरेका छैनन्। केन्द्रीय सदस्य मध्ये एक जनालाई सभापतिले कोषाध्यक्ष मनोनीत गर्न सक्ने विधानको व्यवस्था छ।
अर्का केन्द्रीय सदस्य चन्द्रमोहन यादवले वरिष्ठ नेता तोक्नुपर्ने बताए।
‘पार्टीमा वरिष्ठ नेताको स्थान राखिएको छ, परम्परा छ। हामीले परम्परालाई निरन्तरता दिइरहेका छौं,’ उनले भने, ‘हाम्रा श्रद्धय नेता रामचन्द्र पौडेल वरिष्ठ नेता हुनुहुन्थ्यो। उहाँ राष्ट्रपति हुनुभएपछि त्यो स्थान रिक्त छ। जुन परम्परा हामीले अनुशरण गर्दै आएका छौं, त्यसअनुसार शेखर कोइरालालाई वरिष्ठ नेता बनाउँदा पार्टीलाई अझै बल पुग्छ।’
पौडेलले गत फागुन २५ गते राष्ट्रपति निर्वाचित भएपछि कांग्रेससँगको सबै आबद्धता त्याग गरेका थिए। १४ औं महाधिवेशनमा मौन बसेका पौडेललाई देउवाले केन्द्रीय सदस्य, कार्यसम्पादन समिति सदस्य र टिकट बाँड्ने संसदीय समिति सदस्य मनोनीत गरेका थिए। पौडेललाई केन्द्रीय समितिको माइन्युटमा वरिष्ठ नेता भनेर राखिएको थियो। २०७२ को १३ औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएदेखि पौडेल वरिष्ठ नेता थिए।
केन्द्रीय सदस्य यादवले परम्परा भन्दै महाधिवेशनमा सभापतिमा पराजितलाई वरिष्ठ नेता बनाउने गरिएको उल्लेख गरेका हुन्। २०७८ मंसिरको १४ औं महाधिवेशनमा सभापति पदमा देउवासँग कोइराला पराजित भएका थिए।
‘वरिष्ठ नेता तोकेर जाँदा पार्टीमा सहमति र सहकार्यको अवस्था हुन्छ कि जस्तो मलाई लाग्छ,’ उनले भने।
उनले पार्टी सभापतिदेखि पदाधिकारीहरू सकेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपाकै कार्यकक्षमा भेटिनुपर्ने बताए। ‘मैले सभापति र महामन्त्रीहरूसँग बसेर कुनै विषयमा छलफल गर्न समय पाएको छैन, कार्यालयमा नियमित बस्नुपर्यो,’ उनले भने।
सभापतिमा पराजित भएका शेखरलाई केन्द्रीय कार्यालयमा बस्न बेग्लै कोठासमेत दिइएको छ।
केन्द्रीय सदस्यहरूले मात्र होइन, पदाधिकारी तथा पूर्वपदाधिकारीहरू पनि वरिष्ठ नेता तोकेर जान देउवालाई सुझाव दिने गर्छन्। धुम्बाराहीमा साउन १ मा भएको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा पनि वरिष्ठ नेता तोकेर जाँदा सजिलो हुने सुझाव आएका थिए।
यो बैठकमा नेता श्रेष्ठले आफू सभापति देउवापछि पार्टीमा वरिष्ठतम नेता भएकोले स्वभाविक रूपमा वरिष्ठ नेतामा दाबी रहने बताएका थिए।
नेता कोइरालाले भने आफूले वरिष्ठ नेता पद कसैसँग माग नगरेको सार्वजनिक रूपमा बताइरहेका छन्। १४ औं महाधिवेशनपछि २०७८ पुस २१ मा बसेरा होटलमा भएको कोइराल पक्षको गुट भेलामा भने शेखरलाई वरिष्ठ नेता भनेर सम्बोधन गरिएको थियो।
वरिष्ठ नेतालाई लिएर कांग्रेसभित्र ३ खालका धारणा छन्- विधानले नचिन्ने भएकोले उक्त पदमा कसैलाई मनोनीत गर्न नहुने, २ जनालाई वरिष्ठ नेता बनाउन सकिने र परम्पराअनुसार महाधिवेशनमा सभापतिमा पराजितलाई वरिष्ठ नेता बनाउन सकिने।
तर कांग्रेस विधानले महाधिवेशनमा सभापति पदमा पराजितलाई वरिष्ठ नेता बनाउन भन्दैन। बरू स्वत: केन्द्रीय सदस्य रहने सुनिश्चितता गरिदिएको छ।
विधानको धारा ६५ मा, ‘पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापति पछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ’ भन्ने व्यवस्था छ।
सभापति देउवाले भने वरिष्ठ नेता बनाउने/नबनाउने विषयमा अहिलेसम्म मुख खोलेका छैनन्।
देउवा पनि सुशील कोइरालासँग सभापति पराजित हुँदा वरिष्ठ नेता बनेको परम्परा छ भन्दै नेताहरूले वरिष्ठ नेता तोकेर जान दबाब दिइरहेका छन्।
देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिक गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेससँग २०६४ सालमा एकीकरण हुँदादेखि वरिष्ठ नेता परम्परा सुरू भएको थियो। पार्टी मिलेपछि कांग्रेस सभापति कोइराला र वरिष्ठ नेता देउवा भएका थिए।
पोखरामा भएको ११ औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग सभापति हारेका देउवा वरिष्ठ नेता थिएनन्। यसकारण चुनाव हारेकालाई वरिष्ठ नेता दिने परम्परा थियो भन्न मिल्दैन।