सभामुखकोसमेत हस्ताक्षर प्रयोग गरी कोशी प्रदेश सरकार गठन गरेको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।
कोशी सरकारलाई गत असार २७ गते सर्वोच्चले दीर्घकालीन असर पुग्ने काम नगर्न आदेशसमेत दिएको थियो।
नेपाली कांग्रेस कोशी सभापतिसमेत रहेका संसदीय दल नेता उद्धव थापा गठबन्धन दलको सहयोगमा असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
सभामुखको हस्ताक्षरसमेत प्रयोग गरेर सरकार बनाएपछि वैधानिकतामाथि प्रश्न उठाउँदै नेकपा एमाले संसदीय दल नेता हिक्मत कार्कीले सर्वोच्चमा मुद्दा दिएका थिए।
संविधानअनुसार कुनै प्रस्तावमा मत बराबर भएमा मात्र सभामुखले निर्णायक मत दिन पाउने व्यवस्था छ। तर कोशीमा सरकार बनाउन नै सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरिएको थियो।
कांग्रेसकै नेतृत्वमा बनेको कोशी सरकारबारे कांग्रेस केन्द्रीय समितिमा नै प्रश्न उठेको छ।
केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले सरकार गठन गर्दा सभामुखले मत हाल्न नपाउने बताए।
‘सभामुख उत्रिएर गोल हान्न पाउँछ? सभामुखले सही गरेर सरकार बनाउन बहुमत पुर्याउन मिल्छ?,’ उनले प्रश्न गरे, ‘यो तमासा कांग्रेसले टुलुटुलु हेर्ने? महामन्त्रीहरू र सभापतिले खोइ यस विषयमा छलफलका लागि एजेन्डा ल्याउनुभएको?’
उनले कोशीको मुख्यमन्त्री उद्धव थापालाई मान्ने हो कि होइन भन्ने प्रश्नसमेत केन्द्रीय समितिमा उठाएका छन्।
‘मुख्यमन्त्री मान्नुपर्ने हो कि संविधानअनुसार गलत छ भन्ने हो?,’ उनले प्रश्न गरे, ‘हामीले महामन्त्री र सभापतिबाट यसबारेमा बोलेको सुनिएन। सहमहामन्त्री भिष्मराज आङ्दम्बे हाम्रै प्रदेशको हुनुहुन्छ, यसबारे खोइ बोल्नुभएको?’
बुढाथोकीले यो प्रश्न गरेको एक दिनपछि केन्द्रीय समितिमा बोल्दै मुख्यमन्त्री थापाले कांग्रेस नेतृत्वमा सरकार बने पनि पार्टीबाट सहयोग नपाइएको गुनासो गरेका छन्। सरकारलाई दीर्घकालीन असर पुग्ने काम नगर्न सर्वोच्चले भनेको पनि उनले सुनाए।
‘बल्लबल्ल निर्माण भएको कोशी सरकारबारे केशवकुमार बुढाथोकीले केन्द्रीय समितिमा प्रश्न उठाउनुभयो। नेताहरू सरकारलाई स्थायित्व दिन लागेको विश्वास थियो तर कांग्रेस नेतृत्वमा सरकार नबनोस् भनेकोजस्तो लाग्यो,’ मुख्यमन्त्री थापाले भने।
कोशीमा सरकार बन्दा कांग्रेसमा ऊर्जा आएको दाबी उनको थियो।
‘कांग्रेस नेतृत्वमा बनेको सरकारलाई मान्ने कि नमान्ने भन्दा त यसले नेता/कार्यकर्ताको मनोबल घटायो। पार्टीको शक्ति खुम्च्याउने काम हुँदा कोशीका नेता/कार्यकर्ताको मन रोएको छ,’ मुख्यमन्त्री थापाले बिहीबार केन्द्रीय समितिमा भने।
गत मंसिरको चुनावमा बुढाथोकीले गठबन्धन उम्मेदवार र कांग्रेस जिल्ला सभापति देउकुमार थेवेलाई भोट नदिन कार्यकर्तालाई उक्साएकोसमेत मुख्यमन्त्री थापाको आरोप छ।
‘चुनावका बेला कार्यकर्ता सुत्न पाएनन्। गठबन्धन उम्मेदवार भोट नदेऊ भनेर उहाँले भनेका रेकर्ड छन्,’ उनले भने, ‘चुनावका बेला उहाँ भागेर अष्ट्रेलिया पनि जानुभएको थियो।’
उनले कोशीका सभामुखलाई विवादमा पार्ने काम बुढाथोकीको अभिव्यक्तिबाट भएको दाबी गरेका छन्।
‘सभामुख प्रदेश सभा सदस्य पनि हो। सदस्यको भूमिका र सभामुखको भूमिका फरक-फरक हुन्छ। अध्यक्षता गरेको बेला मतदान गरेको भए गल्ती हुन सक्थ्यो। सभामुखले अध्यक्षता गरेको अवस्था थिएन। बहुमतका लागि ४७ जना चाहिन्थ्यो। सभामुखले हस्ताक्षर गरेर डेडलक फुकाउनुभएको हो,’ उनले भने।
मुख्यमन्त्री मान्ने कि नमान्ने भन्दै प्रश्न गरेका बुढाथोकीलाई मुख्यमन्त्री थापाले नमान्न सक्ने पनि जवाफ दिए।
‘मुख्यमन्त्री माने कि नमाने भनेर तपाईंले सोध्नुभएको रहेछ, एमालेको हिक्मत कार्कीलाई मुख्यमन्त्री माने हुन्छ, उद्धव थापालाई नमाने हुन्छ,’ उनले भने।
यसअघि कांग्रेसकै नेता शेखर कोइरालाले पनि कोशी सरकार गठन संवैधानिक रूपमा नभएको भन्दै टिप्पणी गरेका थिए।
भिडिओ: