निर्माण सम्पन्न भएर उद्घाटन गरिएको एक वर्ष हुन लाग्दा पनि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनको कार्यविधि बन्न सकेको छैन।
सम्मेलन केन्द्र कुन मोडालिटी (ढाँचा) मा सञ्चालन गर्ने भन्ने स्पष्ट सञ्चालन हुन नसकेको हो।
बुटवल उपमहानगरपालिका–१०, रामनगरस्थित बुटवल मण्डपमा निर्मित सम्मेलन केन्द्र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौ ११ गते उद्घाटन गरेका थिए।
सम्मेलन केन्द्र निर्माण आयोजनाले कार्यविधि तयार गरी उद्घाटन पूर्व नै २०७९ साल जेठमा ‘सहरी विकास तथा भवन निर्माण विभाग’ मार्फत् संघीय ‘सहरी विकास मन्त्रालय’ मा स्वीकृतिका लागि बुझाएको थियो।
उक्त कार्यविधिबारे संघीय मन्त्रिपरिषद्ले हालसम्म पनि निर्णय नगर्दा सम्मेलन केन्द्र बन्द छ।
सम्मेलन केन्द्र निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीका अनुसार सहरी विकास तथा भवन निर्माण विभागले बुटवलसँगै देशका विभिन्न स्थानमा निर्माण गरेका सम्मेलन केन्द्र र सभाहलहरू सञ्चालनबारे एकमुस्ट रूपमा निर्देशिका तयार गरी सहरी विकास मन्त्रालयमा बुझाएको थियो।
निर्देशिकामा नगरपालिका वा गाउँपालिकाले पाँच सय सिट क्षमताको, उपमहानगरपालिकाले सात सय सिट क्षमताको र महानगरपालिकाले सात सयभन्दा माथि एक हजार सिट क्षमतासम्मको सम्मलेन केन्द्र तथा सभाहल सञ्चालन गर्न सक्ने प्रावधान छ।
बुटवलको सम्मेलन केन्द्र एक हजारभन्दा बढी सिट क्षमताको छ तर बुटवल उपमहानगरमात्र हो। पन्थीका अनुसार यो सम्मेलन केन्द्र सञ्चालनका लागि विकल्प पनि दिइएको छ।
पहिलो विकल्प, स्थानीय सरकारलाई नै हस्तान्तरण गर्ने; दोस्रो, काठमाडौंको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मातहत सञ्चालन गर्ने र तस्रो, छुट्टै विकास समिति गठन गरेर सञ्चालन गर्ने।
तेस्रो विकल्पमा विकास समिति गठन पनि मन्त्रालय मातहत नै रहने गरी कार्यविधि बनाइएको छ।
उक्त कार्यविधिबारे हालसम्म मन्त्रिपरिषदबाट कुनै निर्णय भएको छैन। यसै कारणले बुटवलको सम्मेलन केन्द्र उद्घाटन भएर पनि करिब एक वर्षदेखि बन्द छ।
सम्मेलन केन्द्र निर्माणमा एक अर्ब ११ करोड रुपैयाँ खर्च भएको छ। यति ठूलो लगानीमा बनाइएको आधुनिक संरचना सञ्चालन गर्न नसक्नु सरकारको लाचारी हो भन्दै आलोचना हुने गरेको छ।
‘उद्घाटन भएको वर्षदिन हुन लाग्दा पनि सम्मेलन केन्द्र सञ्चालन गर्न नसक्नु सरकारको लाचारी हो,’ रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल भन्छन्, ‘बुटवलको गौरवका रूपमा निर्माण गरिएको सम्मेलनकेन्द्र सञ्चालन गर्न सरकारले तुरून्तै कार्यविधि स्वीकृत गर्नुपर्छ।’
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुका अनुसार सम्मेलन केन्द्रमा हुने कार्यक्रमलाई लक्षित गरेर बनेका बुटवल होटलहरूमा पनि असर परेको छ।
उनी भन्छन्, ‘सम्मेलन केन्द्र सञ्चालन हुन्छ भनेर रामनगरमै स्टार होटल बन्दैछ। सरकारले आयोजना निर्माण गर्ने तर सञ्चालन नगर्ने हो भने निजी क्षेत्रको लगानी समेत डुब्छ।’
उनी सम्मेलन केन्द्र सञ्चालन गर्न निजी क्षेत्र पनि तयार रहेको बताउँछन्।
भन्छन्, ‘निजी क्षेत्रले थोरै भए पनि नाफा खोज्छ। सरकारले मोडालिटी बनाएर देओस्, निजी क्षेत्रले जिम्मेवारी लिन्छ।’
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेका अनुसार सरकारले कार्यविधि बनाएर दिए सम्मेलन केन्द्र सञ्चालन गर्न उपमहानगर तयार छ। उनले उद्घाटकै अवसरमा सम्मेलन केन्द्र सञ्चालनको जिम्मेवारी उपमहानगरलाई दिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए।
एक हजार सिट क्षमताको ठूलो हल कहिलेकाहीँ संघसंस्था तथा व्यक्तिका कार्यक्रमका लागि भाडामा दिने गरिएको छ। साना सभाकक्षहरू सधैं बन्द छन्।
सम्मेलन केन्द्रको नियमित रेखदेख, सुरक्षा र सफाइका लागि हाल दैनिक ज्यालादारीमा १३ जना कर्मचारी छन्।
आयोजना प्रमुख पन्थीका अनुसार कर्मचारीहरूको पारिश्रमिक, विद्युत्, खानेपानीको महशुल लगायतमा मासिक कम्तीमा पाँच लाख रुपैयाँ खर्च छ।
हालसम्म मुख्य हल आठ पटक भाडामा लागेको छ।
पन्थी भन्छन्, ‘फाटफुट भाडामा दिन पनि समस्या छ। भाडामा दिएको बखत केही टुटफुट, नोक्सानी भए कसले मर्मतसम्भार गर्ने भन्ने विषयमा अन्योल छ। कार्यविधिमा सबै कुरा समेटिएकोले स्वीकृत भएर आए सजिलो हुने थियो।’
अलमलकै बीच पनि हाल मुख्य सभाहल चार घण्टाका लागि ९६ हजार, आठ घण्टाका लागि एक लाख २७ हजार र १२ घण्टाका लागि एक लाख ७६ हजार रुपैयाँमा भाडामा दिने गरिएको पन्थीले बताए।
शैक्षिक संस्था, धार्मिक कार्यक्रम, सामाजिक संघसंस्था, व्यावसायिक संस्था लगायतले कार्यक्रमका लागि हल लिन चाहने भए पनि भाडा महँगो भयो भन्ने गरेको पनि उनले बताए।
उनका अनुसार मुख्य हलबाहेक अन्यमा सबै प्राविधक प्रबन्ध भइसकेको छैन। आवश्यक सबै प्रबन्ध गरेर सबै सभा हल र बैठक कक्ष सञ्चालनयोग्य बनाउन थप १९ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान छ।
बुटवल मण्डपमा रहेको साढे १६ बिघा जमिनमध्ये साढे नौ बिघा सम्मेलन केन्द्रले ओगटेको छ। एउटै छानोमुनि सानाठूला गरी १४ वटा सभाहल र बैठक कक्ष रहेका छन्।
सबै सभाहल र बैठककक्ष गरेर एक पटकमा करिब दुई हजार जना अट्ने क्षमताको यो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र काठमाडौंबाहिरको सबैभन्दा ठूलो र आधुनिक हो।
तीनवटा ब्लकमा निर्मित सम्मेलन केन्द्र आकाशबाट हेर्दा तीनवटै भवन एकआपसमा जोडिएर राष्ट्रिय झण्डाको आकारमा देखिन्छ। यसमा एक हजार जना अट्ने मुख्य सभा हल, एक–एक सय जना अट्ने दुई वटा र ५०–५० जना अट्ने दुई वटा सभा हल छन्। दुईवटा लेक्चर हल, छ वटा बैठक कक्षसहित भिआइपी कक्ष, भिडियोअडियो कक्ष, ट्रान्सलेटर कक्ष लगायत छन्।
सम्मलेन केन्द्रमा दुइटा प्रवेशद्वार, एउटा निकासद्वार, भिआइपीद्वार सर्भिसद्वार गरी पाँच वटा द्वार छन्। परिसरमा चार सय गाडी र चारसय मोटरसाइकल अट्ने पार्किङ छ।
पानीको फोहोरासहितको पोखरी, हरियालीयुक्त बाटो, फुटपाथ र बगैंचाले सम्मेलन परिसर निकै आकर्षक छ।
लुम्बिनीको सभाहल पनि उस्तै
बुद्धजन्मस्थल लुम्बिनीमा पौने एक अर्ब रुपैयाँमा निर्मित अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रको पनि सञ्चालन कार्यविधि पनि टुंगो लागेको छैन। लुम्बिनी विकास कोषले कार्यविधिको मस्यौदा तयार गरेको छ तर अनुमोदन हुन बाँकी छ।
पाँच हजार जना अटाउने उक्त सभाहल २०७९ साल जेठ २ गते २५६६औं बुद्धजयन्तीका अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। उद्घाटनको १४ महिना पूरा हुँदा पनि कार्यविधि टुंगो लागेको छैन।
लुम्बिनी विकास कोषका सूचना अधिकारी ज्ञानिन राईका अनुसार सभाहल सञ्चालन कार्यविधि मस्यौदा तयार छ तर विकास कोष परिषद्ले स्वीकृत गरेपछि मात्रै कार्यान्वयन हुन्छ।
‘अहिले पब्लिक प्राइभेट पार्टनरसिप (पिपिपी) मोडल र आन्तरिक रूपमा विकास कोष आफैँले पनि सञ्चालन गर्न सक्ने गरी कार्यविधि प्रस्ताव गरिएको छ तर त्यहाँ गर्न सकिने कार्यक्रमहरूबारे टुंगो भएको छैन,’ राइले भने, ‘यो टुंगो लागेपछि कार्यविधिको मस्यौदा विकास कोष परिषदमा पेश हुन्छ र अनुमोदन भएपछि कार्यान्वयन हुन्छ।’
लुम्बिनीको महत्व र मूल्यमान्यता अनुसारका कार्यक्रमका लागि मात्रै सभाहल भाडामा दिन सक्ने गरी छलफल भइरहेको उनले बताए।
बौद्ध सम्मेलन, धार्मिक प्रवचन, ध्यान, योग, बुद्धकला प्रदर्शनी जस्ता कार्यक्रमका लागि हल भाडामा दिन सकिने विषयमा छलफल चलेको छ।
कोषले हाल यस्तै प्रकृतिका कार्यक्रमका लागि सभाहल भाडामा दिने गरेको छ। समय हेरेर एक दिनको एक लाखदेखि साढे एक लाख रुपैयाँसम्म भाडा लिने गरेको छ।
गत माघमा नौ दिन रामकथा प्रवचन भएको थियो। भारतीय सन्त मोरारी बापुले कथा प्रवचन गरेका थिए। त्यसअघि एक गैरसरकारी संस्थाले किसानको राष्ट्रिय भेला आयोजना गरेको थियो।
लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार कार्यविधि तयार छ, विकास कोष परिषदबाट अनुमोदन हुनमात्र बाँकी छ।
२०७३ सालमा २५६०औं बुद्धजयन्ती समारोहका लागि खडा गरिएको टेन्ट हावाहुरीले उडाएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमस्थलबाटै लुम्बिनीमा पाँच हजार जना अटाउने सभाहल निर्माण गर्ने घोषणा गरेका थिए।
२०७५ साल वैशाख १७ गते २५६२औं बुद्धजयन्तीका दिन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सभाहलको शिलान्यास गरेकी थिइन्। दुई वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको भए पनि चार वर्षमा पूरा भएको थियो।
सभाहलले करिब साढे एक बिघा जमिन ओगटेको छ। एउटै सभाहललाई आवश्यकता अनुसार ससाना हलमा विभाजन गर्न मिल्न प्रविधि जडान गरिएको छ।
गुम्बज शैलीको गोलाकार सभाहलको छानामा बुद्धका आँखा अंकित चिह्न राखिएको छ। छानो र भित्री सजावटमा चिनियाँ र कोरियाली प्रविधिका सामग्री प्रयोग गरिएको छ। सभाहलमा सेन्सर जडित तीन वटा मुख्य द्वार छन्। साधारण द्वार ४९ वटा छन्।
लुम्बिनी विकास कोषका अनुसार हलभित्रको तापक्रम बाहिरीको भन्दा साढे एकदेखि दुई डिग्री सेल्सियसम्म कम हुन्छ।