नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबारदेखि सुरू भएको छ।
केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बैठक कांग्रेसले आफ्नो फेसबुक पेजमा लाइभ गरेको थियो। कांग्रेस केन्द्रीय समिति बैठक लाइभ भएको यो पहिलो पटक हो।
सभापति शेरबहादुर देउवाले बैठक सुरू गर्दै महामन्त्री विश्वप्रकाश शर्मालाई एजेन्डा प्रस्तुत गर्न समय दिए। शर्माले १० एजेन्डा छलफलका लागि पेश गरे।
समसामयिक विषय, नीति महाधिवेशनको मिति, सांगठनिक कार्ययोजना र कार्यतालिका, यसअघि कार्यसम्पादन समितिको निर्णय प्रस्ताव अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदनमाथि केन्द्रीय समितिमा छलफलको एजेन्डा छ।
महामन्त्री शर्मापछि अर्का महामन्त्री गगन थापा बोलेका थिए। विधान कार्यान्वयन र पार्टी सुदृढीकरणबारे थापाले सांगठानिक कार्यतालिका पेश गरेका छन्।
एक वर्षपछि बसेको केन्द्रीय समितिमा नयाँ कार्यक्रम पनि प्रस्ताव भएका छन्। बैठक एक साता चल्नेछ, एजेन्डामा केन्द्रित रहेर केन्द्रीय सदस्यले बुधबारदेखि धारणा राख्नेछन्।
कांग्रेसमा विधानले तोकेअनुसार समयबद्ध काम हुन सकेको छैन। समयमै काम गर्नका लागि भन्दै वार्षिक क्यालेन्डर र कार्यक्रम महामन्त्री थापाले केन्द्रीय समितिमा पेश गरेका छन्।
प्रत्येक २ महिनाको अन्तरालमा केन्द्रीय समिति बैठक बस्नुपर्ने विधानको व्यवस्था छ। तर बैठक बस्दैन। महामन्त्री थापाको प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन गरे केन्द्रीय समिति बैठक साउन, असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बस्नेछ।
‘कम्तीमा २ केन्द्रीय समिति बैठक काठमाडौंबाहिर गर्छौं,’ थापाले भने।
कांग्रेसले विभाग संख्यासमेत थप्ने प्रस्ताव गरेको छ। अहिले ४८ विभाग छन्।
महामन्त्री थापाका अनुसार अब २२ विभाग थप गर्न लागिएको हो। भदौ १५ गतेसम्म सबै विभाग गठन बनाइसक्ने थापाले बताए। महाधिवेशन भएको ६ महिनाभित्र सभापति देउवाले विभागलाई पूर्णता दिनुपर्ने भए पनि प्रचारबाहेक ४७ विभाग अझै गठन भएको छैन।
‘विभागले प्रगति विवरण हरेक ६/६ महिनामा महामन्त्रीमार्फत् केन्द्रीय समितिमा बुझाउनुपर्नेछ,’ उनले भने।
अवधि सकिएका भ्रातृ संस्थाका तदर्थ समिति भदौ १५ गतेसम्म गठन गरिसक्ने थापाले बताए। यी भ्रातृ संस्थालाई ६ महिनाभित्र महाधिवेशन गर्न जिम्मेवारी दिने तयारी छ।
नीति महाधिवेशन मिति र स्थान तय गर्ने एजेन्डा पनि छ। एजेन्डा र नीति तथा कार्यक्रम मस्यौदा तयार गर्न ३ सदस्यीय समिति गठन गर्ने प्रस्ताव छ।
क्रियाशील सदस्यता नवीकरणका लागि भदौ, असोज र कात्तिकमा अभियान सञ्चालन हुनेछ। क्रियाशील सदस्यता वितरण भने वर्षभर नै चल्नेछ। अनलाइन सदस्यता वितरणलाई थप व्यवस्थित बनाउँदै लैजाने कांग्रेसको तयारी छ।
‘नयाँ व्यक्तिलाई पार्टीमा आबद्ध र आकर्षण गर्न सदस्यता वितरणमा नै समाजको विविधता झल्कने गरी अभ्यास गर्न साउनदेखि २०८१ असार ३१ गतेसम्म घरघर जाऔं, पार्टी सदस्य बनाऔं' अभियान सञ्चालन हुने थापाले बताए।
‘एक वर्षमा कम्तीमा ५ देखि ७ लाख पार्टी सदस्य बनाउने लक्ष्य छ,’ उनले भने।
कांग्रेसले संगठन सुदृढीकरण तथा शुद्धीकरण अभियान विभिन्न चरणमा गर्ने भएको छ।
साउन २० देखि भदौ १ सम्म पहिलो चरणमा संगठन सुदृढीकरण केन्द्रित अभियान चल्नेछ। यसका लागि ७७ जिल्ला र ७५३ स्थानीय तहमा प्रतिनिधि खटिनेछन्। सदस्यता वितरण, तहगत समिति क्रियाशीलता, यथार्थ विश्लेषण र संगठन सुदृढीकरण तथा सबलीकरणको काम हुनेछ।
भदौ १० देखि २४ गतेसम्म समुदायसँग संवाद गर्ने र मंसिर १५ गतेदेखि माघ १५ सम्म घर-घरमा कांग्रेस अभियान चल्ने कार्यतालिका प्रस्ताव छ।
कांग्रेसले केन्द्रीय कार्यालय व्यवस्थित गर्ने भएको छ। अभिलेख तथा अनुसन्धान, सूचना सञ्चार तथा प्रेस, प्रशासन, कार्यक्रम व्यवस्थापन, कानून र अन्तर्राष्ट्रिय, समन्वय र अनुगमन शाखासमेत केन्द्रीय कार्यालयमा रहनेछ।
असोजभित्र पार्टी कार्यालयमै पुस्तकालय सञ्चालनमा ल्याउने महामन्त्री थापाले बताए।
यस्ता छन् नयाँ कार्यक्रम:
कांग्रेसले साउन २७ मा युवा र जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम गर्ने प्रस्ताव गरेको छ। केन्द्रीय कार्यालय र सबै स्थानीय तहमा यो कार्यक्रम चल्नेछ।
भदौ ५ मा प्रदीप गिरिको स्मरणमा मधेश प्रदेश केन्द्रित रहेर 'प्रदीप गिरि संवाद' कार्यक्रम गर्ने प्रस्ताव छ।
भदौ २४ मा बिपी कोइरालाको जन्मजयन्तीको अवसरमा 'बिपी साहित्य महोत्सव' सञ्चालन गर्ने तयारी छ।
केन्द्रीय कार्यालयले २ दिन साहित्य महोत्सव गर्ने महामन्त्री थापा बताउँछन्। बिपीका पुस्तक, रचना, विचारबारे मन्थन हुनेछ। जिल्लाहरूमा पनि महोत्सव चल्नेछ।
भदौ २४ मै आत्महत्या रोकथाम दिवसका अवसरमा लोकतन्त्रवादी चिकित्सक संघ, स्वास्थ्यकर्मी संघ, स्वास्थ्य विभागलगायतको समन्वयमा 'मानसिक स्वास्थ्य' सम्बन्धी सचेतना कार्यक्रम हुनेछ।
कांग्रेसले भदौ २९ मा विपन्न छात्रवृत्ति बाँड्नेछ। कांग्रेसको वडा समितिले सामुदायिक विद्यालय पढ्ने कम्तीमा २ विपन्न विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम प्रस्ताव गरिएको हो।
संविधान दिवसमा असोज ३ गते देशैभर दीप प्रज्ज्वलन गर्ने र संविधान कन्सर्ट पनि आयोजना गर्न प्रस्ताव गरेको छ।
कात्तिक २४ गते सुवर्ण शमशेर स्मृतिमा पार्टीको अर्थनीतिसम्बन्धी २ दिने कन्क्लेभ सञ्चालन गर्न महामन्त्री थापाको प्रस्ताव छ। अर्थविदहरूले यो कार्यक्रममा आर्थिक नीतिबारे कार्यपत्र प्रस्तुत गर्नेछन्।
महिलामाथि हुने हिंसाविरूद्ध मंसिर २४ मा मंगलादेवी सिंह एक महिने अभियान सञ्चालन हुनेछ।
भीमबहादुर तामाङ स्मृतिका अवसरमा मंसिर १६ मा पहिचान र विविधताबारे नीति संवाद हुनेछ।
मंसिर १७ मा लोकतान्त्रिक अपांग महासंघको संयोजनमा विचार गोष्ठी गर्ने महामन्त्री थापाको प्रस्ताव छ।
मंसिर २५ मा राधाकृष्ण थारू स्मृतिमा किसानसँग भूमि र किसानका मुद्दाबारे कार्यक्रम हुनेछ। यो कार्यक्रम सप्ताहव्यापी रूपमा देशैभर गरिनेछ।
पुस १६ गते राष्ट्रिय एकता र मेलमिलाप दिवसमा राजनीतिक दलहरूलाई बोलाएर नेपालको साझा विदेश नीति र परराष्ट्र सम्बन्धसँग सम्बन्धित कार्यक्रम केन्द्रीय कार्यालयबाट गर्ने महामन्त्री थापाको प्रस्ताव छ।
पुस तेस्रो साता संघीय सांसदहरूसँग संसदको प्रक्रिया, क्रियाशीलता र प्रभावकारिता र बजेट लगायतबारे केन्द्रीय कार्यालयमा छलफल हुनेछ। लगत्तै प्रदेश सांसदहरूसँग पनि छलफल हुनेछ।
पार्टी स्थापना दिवसका अवसरमा माघ १२ मा रक्तदान, सरसफाइजस्ता कार्यक्रम हुनेछ।
नेताहरू आफू क्रियाशील रहेको वडामा त्यस दिन अनिवार्य पुग्नुपर्ने प्रस्ताव छ। ६ हजार ७ सय ४३ वडामा त्यस दिन सामाजिक कार्यक्रम हुने महामन्त्री थापा बताउँछन्।
माघ १९ मा सहिद र द्वन्द्वपीडित परिवारको विवरण पुस्तक सार्वजनिक गर्ने, सम्मान र सहयोग कोष स्थापना गर्ने तयारी छ।
फागुन २० मा कृष्णप्रसाद भट्टराई स्मृति दिवस सत्याग्रहको महत्व र प्रयोगबारे सचेतना कार्यक्रम हुनेछ। सत्याग्रहको अभ्यासको रूपमा आत्मशुद्धीकरणका लागि उपवास बस्न सकिनेछ।
चैत ७ मा गिरिजाप्रसाद कोइराला स्मृतिमा देशैभरि शान्ति पदयात्रा हुनेछ। नेपाल ट्रेड युनियन कांग्रेसको संयोजनमा श्रम सम्मेलन हुनेछ।
चैत २३ मा डिबी परियार स्मृतिमा कला सम्मेलन गर्ने प्रस्ताव छ। चैतमा स्थानीय तहका प्रमुख र उपप्रमुखसँग बैठक गर्दै नीति तथा कार्यक्रम र बजेटबारे छलफल हुनेछ।
लोकतन्त्रसँग सम्बन्धित वृत्तचित्र बनाएर वैशाख ११ मा प्रदर्शन गर्ने, वैशाख २० मा महेन्द्रनारायण निधि स्मृतिमा अहिंसा र राजनीति विषयक प्रवचन गर्ने कार्यक्रम पनि थापाले प्रस्ताव गरेका छन्।
वैशाखमै जिल्ला सभापति र सातै प्रदेश सभापतिहरूसँग बैठक हुनेछ। जेठ १५ मा गणतन्त्र फोटो प्रदर्शनी, जेठ २२ मा नदी, तालतलैया सरफाइलगायत कार्यक्रम हुनेछ। जेठमै किसानसँग कांग्रेस कार्यक्रम गरेर किसानका समस्या हल गर्न सहजीकरण गर्ने तयारी छ।
केन्द्रीय कार्यालयले हरेक महिना कुनै एक विषयमा विज्ञसँग छलफल गर्नेछ।
पार्टीका उत्कृष्ट गतिविधि गर्ने प्रत्येक तहको एक समितिलाई सम्मानसमेत गर्ने कार्यक्रम समावेश गरिएको थापाले बताए।
बैठकमा मंगलबार नेता गोपालमान श्रेष्ठले निर्वाचन परिचालन समितिका तर्फबाट प्रतिवेदन पनि पेश गरेका छन्। मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनेको थियो।
असन्तुष्टिका बीच गठबन्धन भएर निर्वाचनमा जाँदा पनि पार्टी पहिलो भएको उनले उल्लेख गरेका छन्।
यसपछि केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले बैठकलाई अनुशासन उजुरीबारे जानकारी गराए।
‘अनुशासन समिति पूर्ण छैन, त्यसैले प्रतिवेदन ल्याइएन,’ उनले भने, ‘अनुशासन बारेमा आएका टिपोट मात्रै जानकारी गराउँछु।’ अनुशासन समितिमा ४ जना सदस्य मनोनीत हुन बाँकी नै छ।
उनकाअनुसार मंसिरको प्रदेश र प्रतिनिधि सभा चुनावमा ४६ जिल्लामा अनुशासन उल्लङ्घनका घटना भएको भन्दै उजुरी आएको छ।
‘२ हजार १ सय उजुरी परेका छन्,’ ढुंगानाले भने, ‘अनुशासन समिति पूर्ण नभएकोले उजुरीबारे छानबिन गर्न बाँकी नै छ।’
सभापति देउवाले यसपछि संसदका कामकारबाहीबारे जानकारी गराउन प्रमुख सचेतक रमेश लेखकलाई समय दिएका थिए।
‘प्रमुख प्रतिपक्ष आक्रमक छ। अरू प्रतिपक्ष अधैर्य र अपरिपक्क छन्,’ लेखकले भने, ‘सत्तापक्षसँग मात्र होइन, सबै प्रतिपक्षसँग समन्वयकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी पनि कांग्रेसकै छ।’
संसदभित्रका समितिका सभापति चयन गर्नुपर्ने, विधेयकहरू तत्काल पारित गर्नुपर्ने आवश्यकता रहेको लेखकले बताए।
‘हाम्रो संसदीय दलको कार्यसमिति पनि बन्न सकेको छैन,’ उनले भने, ‘हाम्रो संसदीय दल विधानले विषयगत समिति रहने भनेको छ, बनाउनुपर्छ।’
उनले कांग्रेसका सांसदहरू पनि संसदमा दिनभर नबस्ने गरेको बताए।
‘कहिलेकाहीँ ह्विप जारी हुँदा पनि संख्या कम हुन्छ। सांसद सदनमा उपस्थित हुनुपर्यो। सदन चल्दासम्म बसिदिनुपर्यो,’ उनले भने।
यसपछि उपसभापतिसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारका गतिविधिबारे केन्द्रीय समितिलाई जानकारी गराएका थिए।
‘प्रचण्ड नेतृत्वको संघीय सरकारमा हामी सहभागी भएको ३ महिना २३ दिन पुगेको छ। केही प्रदेशमा सरकारको नेतृत्व गरिएको छ,’ उनले भने, ‘कर्णाली, बागमती र मधेश गठबन्धनका साथीहरू नेतृत्वमा र सरकारमा हामी पनि सहभागी छौं।’
खड्काले राजनीतिको मियो नेपाली कांग्रेस भएकोसमेत बताए।
यसपछि सभापति देउवाले बुधबारसम्मका लागि बैठक स्थगित गरेका थिए। ‘साथीहरू भोलि बिहान ११ बजे सबै आउनुहोला, आजलाई बैठक स्थगित भयो,’ देउवाले भने।