एक-अर्का समूहले कुटपिट गरेको भन्दै प्रहरी कार्यालयमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी रूपन्देहीको विवादमा इलाका प्रहरी कार्यालय बुटवलले मेलमिलाप गराएको छ।
रास्वपा लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरे, जिल्ला संयोजक प्रकाश ज्ञवाली र क्षेत्र नं. २ का क्षेत्रीय सदस्य विक्रम तिवारीले आफूहरूमाथि रास्वपा सैनामैनाका र्यापिड एक्सन टिमका संयोजकसमेत रहेका दामोदर खत्रीले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए।
घिमिरे नेतृत्वको टिमले आफूविरूद्ध प्रहरीमा उजुरी दिएपछि खत्रीले गत शनिबार पत्रकार सम्मेलन गरी उक्त समूहले आफूमाथि कुटपिट गरी उल्टै आफूविरूद्ध नै उजुरी दिएको दाबी गरेका थिए।
कार्यालयमा उजुरी परेपछि आइतबार छलफलका लागि बोलाएको इलाका प्रहरी कार्यालय बुटवलले दुबै पक्षलाई मेलमिलाप गरी पठाएको जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले आइतबार भएको छलफलपछि मेलमिलाप गराएर पठाइएको बताए।
‘कार्यालयमा उजुरी गरेजस्तो र मिडियामा भनिएजस्तै दुबै पक्षका व्यक्तिहरूलाई कुटपिट गरिएको कुनै चोट पटक वा डामसमेत देखिएको थिएन, छलफलमा पनि दुबै पक्षले घटनालाई सामान्य रूपमा लिई मिलेर जाने भनेपछि मेलमिलाप गराएर पठाइएको हो,’ थापाले सेतोपाटीसँग भने।
रास्वपा रूपन्देहीका जिल्ला संयोजक प्रकाश ज्ञवालीले भने खत्रीले घिमिरे र तिवारीलाई कुटपिट गरेको स्वीकार गर्दै आगामी दिनमा उक्त कार्य नदोहोर्याउने भनेपछि सहिती जुटेको बताए।
खत्रीले मोबाइल स्विच अफ गरेकोले उनीसँग सम्पर्क हुन सकेन।