सहकारी पीडितहरूले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्।
माइतीघर मण्डलमा जेठ २० गतेदेखि धर्ना बस्दै आएका पीडितहरू आइतबार बानेश्वर पुगेका हुन्।
५० भन्दा धेरै सहकारी संस्थाबाट ठगिएको भन्दै ४० दिनदेखि पीडितहरू न्याय माग्दै माइतीघरमा बसिरहेका छन्।
आफूहरूले बचत गरेको लाखौं रकम सहकारीका सञ्चालकले हिनामिना गरेको र फिर्ता माग्दा नदिएको पीडितहरूको आरोप छ।
उनीहरूले विभिन्न माग लेखिएको प्लाकार्ड बोकेर प्रदर्शन गरेका छन्।
'इच्छाराजको पाराले दु:ख पायो साराले', 'हाम्रो रगत पसिना चुस्ने ठगहरू होसियार', 'ए सरकार कि त मारिदेऊ कि त खोला तारिदेऊ' लगायतका नारा लगाएर उनीहरूले प्रदर्शन गरेका छन्।
त्यस्तै, ‘विद्यमान परिस्थितलाई मध्यनजर गर्दै सहकारी पीडित सदस्य बचतकर्ताको हितमा हुने गरी सहकारी ऐन संशोधन गर', 'संचालनमा रहेका बचत तथा ऋण सहकारी सञ्चालक समिति कर्मचारी उनका परिवार आफन्त नातागोता र निजका तीन पुस्ते सम्पति छनाबिन र अनुगमन गर' लगायतका मागहरू उल्लेखित छन्।
बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि १९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।
तस्बिरहरू: