नेपाली कांग्रेसले एक वर्षपछि केन्द्रीय समिति बैठक बोलाएको छ। साउन २ गते दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक सुरू हुँदैछ। गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति चलेको थियो।
त्यसयता सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक नै आह्वान गरेनन्। विधानअनुसार महामन्त्रीहरूसँग बसेर एजेन्डा तय गरेपछि सभापतिले केन्द्रीय समिति बैठक बोलाउन सकिन्छ।
गत मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावबारे पनि कांग्रेसले समीक्षा गरेन। गठबन्धन गरेर चुनावमा गए पनि अपेक्षाअनुसार सिट जित्न नसकेको गुनासो कांग्रेस वृत्तमा व्यापक सुनिएको थियो। चुनावलगत्तै गठबन्धन 'पहिलो कार्यकाल प्रधानमन्त्री' हुन सभापति देउवाले 'लोभ' गर्दा गठबन्धन टुटेको आरोप लाग्यो।
प्रमुख प्रतिपक्षमा बसेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएकोलगायत विषयमा पनि नेतृत्वको आलोचना भएको थियो। फागुन २५ गते तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति चुनिएपछि र त्यसैबेला कांग्रेस सरकारमा गएपछि भने सभापति देउवाको आलोचना केही मत्थर भएको छ तर उनको समग्र कार्यशैली र विधानअनुसार काम गर्न नसकेको विषयमा आलोचना जारी छ।
मंसिरको चुनावमा समानुपातिक मत घटेको र वैशाखको उपनिर्वाचनमा यसअघि जितेको तनहुँ क्षेत्र नम्बर १ क्षेत्र जोगाउन नसकेकोमा कांग्रेसभित्र 'नेतृत्वको यही कार्यशैलीले चल्दैन, रूपान्तरण आवश्यक छ' भन्दै केही नेताहरूले बहस थालेका छन्।
'कांग्रेस रूपान्तरण अभियान' ले सातै प्रदेश भेला गरिसकेको छ, काठमाडौंमा प्राध्यापक, तरूणलगायतसँग भेला गरेको छ।
रूपान्तरण अभियानमा लागेका केन्द्रीय सदस्य मधु आचार्य, गोविन्दराज पोखरेलसहित गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, जगदीश्वरनरसिंह केसी, सुवास पोखरेललगायत नेताहरू विभिन्न प्रदेश पुगेर नेता/कार्यकर्ता र जनतासँग संवाद गरेर काठमाडौं फर्केका छन्।
'पार्टी नेतृत्वलाई गाली गर्न र १५ औं महाधिवेशन तयारी गर्न' रूपान्तरणका नाममा भेला भएको भन्दै सभापति देउवा पक्ष र केही जिल्ला सभापतिले रूपान्तरण अभियानको आलोचना गरिरहेका छन्।
कांग्रेस रूपान्तरण अभियानको आवश्यकता, प्रदेश भेलाबाट आएका सुझाव र अबको बाटो के हुन्छ भन्नेजस्ता विषयमा कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश:
तपाईं केन्द्रीय सदस्य हो, पार्टी रूपान्तरण अभियानमा लाग्नुभएको छ। किन कांग्रेसलाई रूपान्तरण गर्नुपर्यो?
हामीले रूपान्तरण अभियान सुरू गर्नुका पछाडि केही प्रेरणाका घटनाहरू रहे। जसले हामीलाई उत्प्रेरित गर्यो ती सुखद घटना भने थिएनन्। पहिलो कुरा, अघिल्लो पटक वाम गठबन्धनसँग एक्लै चुनाव लड्दा पनि नेपाली कांग्रेसको समानुपातिक मत झन्डै ३२ लाख थियो। यसपटक हामी गठबन्धनमा रह्यौं। गठबन्धनका ५ दलका बीचमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा गयौं। तर लोकप्रिय मत २६ लाख जतिमा आइपुग्यो। मत घट्नुको अर्थ जनता हामीसँग असन्तुष्ट हुँदै गएको देखियो।
प्राविधिक रूपमा हामी ठूलो दल त भयौं। तर चुनावी गठबन्धनलाई हामीले नै जोगाउन सकेनौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार बन्यो। यसको निर्माणकर्ता हामी होइनौं। नेकपा (एमाले) को अग्रसरतामा यसको निर्माण भयो। पछि परिस्थितिजन्य हिसाबले हामीसँग आइपुगेको मात्र हो। त्यसका लागि पनि हामीले असंसदीय गतिविधिहरूमा आफूले आफैंलाई होम्नुपर्यो। जुन दीर्घकालीन राजनीति, वैचारिक र सैद्धान्तिक हिसाबले हामी कारक नै हो।
अर्को, यो बीचमा उपनिर्वाचन भयो। वैशाख १० को उपनिर्वाचनमा हामीले अनपेक्षित नतिजा व्यहोर्नुपर्यो।
त्यसपछि मुलुकमा भ्रष्टाचारका फाइल खुल्दै गए। त्यसमा हामीले श्रद्धा गरेका नेतागणहरूको पनि नाम जोडिँदै गयो। त्यसका विषयमा पार्टीले तत्काल एउटा दृष्टिकोण बनाउन नसक्दा साथीहरूमा झन् नैराश्यता थपिँदै गयो। पार्टी न विधानअनुसार चलेको देखियो न विधिअनुसार चलेको देखियो। न त पार्टीले नीतिअनुसार चलाउनका लागि नीति महाधिवेशन गरेर ठोस नीति बनाएको अवस्था रह्यो। यी सबै घटनाक्रमहरूले पार्टी यथास्थितिमा चलाएर हुँदैन, हिजोको ऐतिहासिक जिम्मेवारी पूरा गरेको कांग्रेसलाई भोलिका जिम्मेवारी पनि पूरा गर्न सक्षम बनाउन रूपान्तरण नगरी हुँदैन भनेर हामी यात्रामा निस्कियौं।
सातै प्रदेशमा रूपान्तरण भेला भइसक्यो, विभिन्न पक्षहरूसँग काठमाडौंमा पनि भेला गर्नुभयो। नेता, कार्यकर्ता र जनताले के सुझाव दिएका छन्?
सुझाव र अपेक्षाका सूची लामा छन्। विषय चरित्रका हिसाबले विभाजन गर्दा साथीहरूबाट ५ प्रकृतिका सुझाव प्राप्त भएको छ। पहिलो, पार्टी सदस्यता र सदस्यको सम्मानित भूमिकाको खोजी देखिन्छ। अहिलेसम्म पार्टी सदस्य बनाउने कुरा नियन्त्रित र नियोजित रह्यो। खुला समाज र खुला राजनीतिमा अब नियोजित र नियन्त्रित गरिनु हुँदैन, खुला नै गर्नुपर्छ। कांग्रेसको सिद्धान्त र आदर्श स्वीकार गरेर सदस्य बन्न चाहने हर-कोहीलाई सदस्यता दिनुपर्छ भन्ने सबैतिरको आवाज छ। सदस्य बनाउने मात्र होइन, सदस्यलाई जिम्मेवार र सम्मानित बनाउने पनि कुरा छ। त्यो भनेको पार्टीको कुनै तहको निर्वाचन गर्दा प्रतिनिधिमूलक ढंगबाट गर्ने होइन, कांग्रेसको सदस्यता स्वीकार गरेका तलका (जग सदस्य, आधारभूत सदस्य) सबैले भोट हालेर नेतृत्व चयन गरिनुपर्छ। ती सदस्यहरूले छनौट गरेका व्यक्ति नै निर्वाचनमा आधिकारिक उम्मेदवार र नेता हुनुपर्छ। लोकतन्त्रको उन्नत व्यवस्था 'प्राइमरी इलेक्सन' अनुसार पार्टीका सबै सदस्यले निर्वाचित गर्ने व्यवस्थामा जानुपर्छ भन्ने सुझाव छ।
दोस्रो, पार्टी संरचनाको विषय छ। पार्टी संरचनाभित्र विभिन्न क्षेत्रका विज्ञहरू काम गर्न चाहनुहुन्छ भने उहाँहरूलाई पार्टीका हरेक तहमा सोझै 'इन्ट्री' दिन सकिने गरी निश्चित (१५-२० प्रतिशत) समाहित गर्ने प्रबन्ध गरिनुपर्छ।
तेस्रो, १८ देखि ३० वर्ष उमेरका युवालाई पार्टीका सबै संरचनाहरूमा (२० प्रतिशत) ले प्रवेशका लागि सुनिश्चित गरिनुपर्छ। तलदेखि र माथिसम्मका हरेक संरचना, सरकारमा पनि महिला ३३ प्रतिशत सुनिश्चित गर्नुपर्छ। बरू महिलाहरूकै उपस्थितिभित्र समावेशीतालाई समेट्नुपर्छ भन्ने संरचनामै सुधार गर्न सुझाव छ।
हामीले कुराकानी गरेका साथीहरूले स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाउनुपर्छ भन्नुभयो। एकचोटी केन्द्रीय सदस्य भएपछि अर्को पटकको महाधिवेशनमा स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ। यो खारेज गर्नुपर्छ। महाधिवेशनमा आउँदा तलबाट अनुमोदित भएर आउनुपर्छ। केन्द्रीय सदस्य पनि तलैदेखि चुनाव लडेर आउनुपर्छ, स्वत: भन्ने कुरा लोकतान्त्रिक अभ्यासका हिसाबले पनि जायज होइन भन्ने कुरा उठेको छ।
चौथो, सरकार र यसका गतिविधिका कुरा छन्। कांग्रेसले नै भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्नुपर्छ भन्ने सुझाव आएको छ। भ्रष्टाचारमा मुछिइसकेपछि व्यक्तिको अनुहार हेर्ने होइन, चरित्रको अनुहार हेर्नुपर्छ। भ्रष्टाचारका विषयमा कांग्रेस दाग लाग्ने गरी कतै पनि प्रस्तुत हुनु हुँदैन, जनताको अपेक्षाअनुसार जानुपर्छ भन्ने छ।
अर्को कुरा, सरकारले कानूनी शासनको प्रत्याभूति गरोस्, जनमुखी काम गरोस्, दण्डहिनताको अन्त्य होस्, मूल्यवृद्धि नियन्त्रण गरोस्, कालोबजारी हटाओस् भन्ने कुरामा सबैतिरका साथीहरूको चासो देखिएको छ। बिचौलियाको बर्चश्वलाई कांग्रेसले तोड्नुपर्छ भन्ने कुराहरू आएको छ।
पाँचौं, आवश्यकताअनुसार संविधान संशोधनलाई पार्टी लचक भएर जानुपर्छ भन्ने सुझाव छ। प्रदेश आवश्यक छ कि छैन भन्ने कुरा पार्टीभित्र बहस होस्। त्यसमा हुने लगानी, खर्च र उपादेयताबारे बहस होस्। समानुपातिक निर्वाचन प्रणाली आवश्यक छैन अब यसलाई खारेज नै गर्नुपर्छ, दुरूपयोग बढी भयो भन्ने पनि छ। बरू राष्ट्रिय सभालाई समावेशी बनाउने किसिमबाट संविधान परिमार्जन गर्नुपर्छ।
यो निर्वाचन प्रणालीले पैसा र बल (पाखुरा) भएकालाई मात्र संरक्षण गर्छ भन्ने गुनासा छ। 'उम्मेदवार शून्य खर्च' निर्वाचन प्रणाली लागु गर्नुपर्छ। जे-जे खर्च गर्ने निर्वाचन आयोगमार्फत् नै गर्ने, सरकारले नै गर्ने। तर उम्मेदवारले खर्च गर्न नपाउने, प्रचारप्रसार पनि आयोगमार्फत् नै गर्ने। मनी (पैसा) कि छवि भन्दा अहिलेको समाजमा 'मनी' को विजय हुने रहेछ। त्यसकारण पैसा हुनेले जित्नेलाई निरूत्साहित गरेर जनताका सेवक (छवि भएका) लाई विजय गर्न संविधानमा आवश्यक संशोधन गर्न पार्टी तयार हुनुपर्छ भन्ने सुझाव पनि छ।
यी सुझाव सभापति देउवा वा केन्द्रीय कार्यालयमा बुझाउने तयारी छ कि?
हामीले सभापति देउवासँग भेट्न समय माग गरेका छौं। खबर गर्ने कुरा भएको थियो। तर एक साता भइसक्यो, सभापतिको समय पाएका छैनौं। अझै पनि एक/दुई दिन प्रतीक्षा गर्छौं, समय पाए सभापतिकै हातमा सुझाव प्रतिवेदन बुझाउँछौं। साउन २ गते केन्द्रीय समिति बैठक बस्नुअघि कि सभापतिको हातमा कि केन्द्रीय कार्यालयमा सुझाव दर्ता गर्छौं।
तपाईंले केन्द्रीय समिति बैठकमा पनि रूपान्तरण अभियानका कुरा उठाउनुहुन्छ होला नि!
स्वाभाविक रूपमा यो कुरा उठ्छ। कांग्रेसलाई गाउँ-गाउँमा बसेर संगठन गर्ने साथीहरूले नै जोगाएको हो। तल बसेर पार्टीका कामकाज गरिरहनुभएकोहरूले अहिलेको परिस्थितिलाई कसरी हेर्नुभएको छ र समाधान गर्न के गर्नुपर्छ भनेर सुझाव दिनुभएको छ। उहाँहरूका सुझाव हामीले लिपीबद्ध गरेका छौं। केन्द्रीय सदस्य भनेको तलका कार्यकर्ताहरूको भरिया हौं, उहाँहरूका आवाज केन्द्रीय समितिसमक्ष पुर्याउन हामीले मद्दत गर्ने हो। तलका कार्यकर्ताले बोकाएर पठाएको भारी हामी केन्द्रीय समितिको बैठकमा बिसाउँछौं।
तपाईंहरूले चलाएको रूपान्तरण अभियानलाई केही जिल्ला सभापति र सभापति देउवा पक्षले रूचाएको देखिएन। यतिका सुझाव आएका छन्, पार्टीले अपनवत्व लिन्छ कि लिँदैन, के लाग्छ?
यो अभियान पार्टीलाई राम्रो गरौं, आशा र भरोसाको केन्द्र बनाऔं, आमजनताको आकर्षण केन्द्र कांग्रेस नै बनाइराखौं र यसको छवि बचाइराखौं भनेर गरिएको हो। राम्रो काम गर्न खोजिएको पर्यत्नलाई पार्टीले अपनवत्व नगर्ने भन्ने कुरा म शंका गर्न सक्दिनँ। तर केन्द्रीय समितिले नै यसलाई उपेक्षा गर्यो, नीति महाधिवेशन, महासमिति बैठक नै बोलाइँदैन र त्यहाँ यसबारे छलफल गर्न पाइँदैन भने विधानले दिएका अरू बाटाहरू पनि छन्। माथिका साथीहरूले साथ दिनुभएन भने विधानकै बाटो प्रयोग गर्दै तलका साथीहरूको साथमा हामी अघि बढ्छौं।
विधानको बाटो भन्नाले विशेष महाधिवेशनलाई संकेत गर्नुभएको?
निर्वाचन क्षेत्रबाट माथि आउने भनेका महाधिवेशन प्रतिनिधि साथीहरू नै हुन्। पार्टी सुधार गर्नुपर्छ भन्ने उहाँहरूको भावनालाई सम्मान गर्दै उहाँहरूकै साथमा हामी विशेष महाधिवेशन माग गर्न बाध्य हुन्छौं।
विशेष महाधिवेशन बोलाउन ४० प्रतिशत महाधिवेशन प्रतिनिधि चाहिन्छ, तपाईंहरूसँग त्यो संख्या पुग्छ?
अहिले हामीले हस्ताक्षर सुरू गरेका छैनौं। तलका साथीहरूको भावना र मनस्थितिलाई नजिकै बसेर बुझेर आयौं। त्यो हिसाबले भन्नुहुन्छ भने, अहिले हस्ताक्षर गर्न सुरू गर्ने हो भने ५० प्रतिशत बढी महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशन पक्षमा उभिनुहुन्छ भन्ने विश्वास छ।
कांग्रेसको इतिहासमा अहिलेसम्म एक पटक मात्रै विशेष महाधिवेशन भएको छ, फेरि त्यो सम्भव छ?
विशेष महाधिवेशन गर्ने कि अहिले नै कार्यशैली सुधार्ने भन्ने कुरा नेतृत्व र नेतृत्वसँगै रहेका साथीहरूले सोच्ने कुरा हो। विशेष महाधिवेशन वि.सं. २०१४ सालमा भइसकेको छ। यो आवश्यकताले हुने कुरा हो। हाम्रो आन्दोलनलाई कमजोर आँकियो भने त्यो धेरै ठूलो दुर्भाग्य हुन्छ। पार्टीभित्र समस्या छ, समाधान गर्नुपर्छ भन्ने कुरामा सभापति शेरबहादुर देउवा आफैं नै अघि सर्नुहुन्छ भन्ने मलाई लाग्छ।
नेतृत्व र पार्टीका कार्यशैली सुधार नहुने अवस्था र तपाईंले भनेजस्तो विशेष महाधिवेशन सम्भव भएमा कांग्रेसका तमाम समस्या समाधान भएर जालान्?
सबै समस्या छुमन्तर गरेर एकैचोटीमा सकिन्छन् भन्ने होइन। विशेष महाधिवेशन भएमा ५० प्रतिशत समस्या समाधान हुन्छ। त्यसपछि थप समस्या समाधानको बाटो खुल्छ।