राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले 'नवीन राप्रपा' बनाउन २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्ययोजना सार्वजनिक गरेका हुन्।
गत जेठ १ देखि ३ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले 'राप्रपा: अब नवीन राप्रपा कार्ययोजना २०८०' राजनीतिक कार्यपत्र पारित गरेको थियो।
जसअनुसार राप्रपाले अब पार्टीका सबै तहमा ३३ प्रतिशत महिला सुनिश्चित गर्ने भएको छ। अध्यक्ष लिङ्देनका अनुसार ६ महिना भित्र यो काम सम्पन्न गरिनेछ।
पार्टीमा युवा आकर्षण ल्याउन जिम्मेवारी दिने तयारीमा राप्रपा छ। पार्टीका सबै तहमा ४० वर्षसम्मका युवाहरूको अनिवार्य सहभागिताको व्यवस्था मिलाउन लागिएको हो।
‘केन्द्रीय समितिमा ४० जना र कार्यसम्पादन समितिमा कम्तीमा ७ जना विभिन्न प्रक्रियाबाट अनिवार्यरूपमा ४० वर्षसम्मका युवाको प्रतिनिधित्व गराइनेछ,’ उनले भने।
राप्रपाले विभिन्न तहमा उम्मेदवार बनाउँदा अबदेखि ५० प्रतिशत प्राइमरी छनौट प्रक्रिया अपनाउने भएको छ।
साथै राप्रपाले संगठन सुदृढीकरण पनि प्राथमिकतामा राखिएको बताएको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्र, प्रदेश, जिल्लास्तरीय नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिसमेत गरी करिब ९ सय जना नेता/कार्यकर्तालाई एकैसाथ संगठन विस्तारका लागि भूगोल केन्द्रित जिम्मेवारी दिइएको छ।
‘देशभरका ७ सय ५३ वटै स्थानीय तह, ६ हजार सात सय ४३ वटै वडा र प्रवासमा समेत यो जिम्मेवारी तोकिइसकिएको छ,’ उनले भने, ‘नेताहरूलाई ६ महिनासम्म तोकिएअनुसार भूगोलमा संगठन विस्तार र सुदृढीकरणको काम गर्न जिम्मेवारी दिइएको हो।’
भूगोल तोकिएका नेताहरूले राजसंस्था, हिन्दुराष्ट्र, संघीयतासम्बन्धी अवधारणालाई जनतासमक्ष पुर्याउनुपर्नेछ। भ्रष्टाचारविरूद्ध पार्टीको अवधारणालाई प्राथमिकतामा राख्नसमेत भनिएको छ।
‘पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप्रपामा जोड्न विशेष अभियान सञ्चालन गर्न भनेका छौं,’ उनले भने, ‘पार्टीका नेता तथा कार्यकर्तालाई सामाजिक क्रियाकलापमा परिचालनसमेत गरिनेछ।’
राप्रपाले अध्यक्ष लिङ्देनलाई धरान उपमहानगरपालिकामा खटाएको छ। तोकिएको भूगोलमा नजाने नेतालाई स्वत: पदीय जिम्मेवारीबाट मुक्त गरिनेसमेत प्रवक्ता श्रेष्ठ बताउँछन्।
‘भूगोल केन्द्रित जिम्मेवारीमा रहेका नेताले दैनिक क्रियाकलाप विद्युतीय माध्यमबाट सचिवालयमा पेश गर्नुपर्छ,’ उनले भने, ‘राप्रपामा अब काम नगरी नेता हुन नपाइने व्यवस्था मिलाइएको छ।’
भूगोल केन्द्रित जिम्मेवारीमा रहेका नेताहरूले गरेका कामकारबाही अनुगमन र समन्वयका लागि सातै प्रदेशमा संयोजक र सहसंयोजकसमेत खटाइएको छ। ६ महिनापछि भूगोल केन्द्रित नेताको जिम्मेवारी फेरिनेछ।
राप्रपाले अनलाइनबाटै साधारण सदस्य र सक्रिय सदस्य आवेदन फारम भर्न मिल्ने व्यवस्थासमेत मिलाएको छ। ‘आर्थिक सहयोगसमेत अनलाइनबाटै गर्न मिल्ने व्यवस्था मिलाएका छौं,’ उनले भने।
राप्रपाले एक वर्षभित्र सक्रिय सदस्य संख्या दुई लाख पुर्याउने लक्ष्यसमेत राखेको छ।
अध्यक्ष लिङ्देनका अनुसार ६ महिनाभित्रमा देशभरका एक सय ६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रस्तरीय प्रशिक्षण कार्यक्रम पनि गरिनेछ।
राप्रपाले विद्यार्थी संगठनलाई राजनीतिक गतिविधिमा कम र शैक्षिक गतिविधिमा बढी सक्रिय गराउने भएको छ। ‘विश्वविद्यालयमा हाम्रा विद्यार्थीहरू गैरराजनीतिक संगठनका रूपमा क्रियाशील हुनेछन्,’ लिङ्देनले भने।
संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेको राप्रपाले जिम्मेवारीमा रहेका सबैका लागि एकबाट ३ जना सदस्यता अभियान सञ्चालन गर्ने भएको छ।
राप्रपाले ६ महिनासम्म यी कार्ययोजनामा काम गरेपछि जनजीविकाका सवाल र मान्यता स्थापनाका लागि जनदबाबका कार्यक्रम अगाडि बढाउने सङ्कल्प लिएको छ।