करिब ७ वर्ष भूमिगत भएका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ अहिले राष्ट्रिय राजनीतिमा चर्चामा आएका छन्।
माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीसहित बनेको समाजवादी मोर्चाको एउटा सदस्य दलको रूपमा विप्लव महासचिव भएको नेकपा पनि आवद्ध छ। मोर्चाले विप्लवलाई पनि महत्वपूर्ण सदस्यका रूपमा स्वागत गरेको छ।
शान्तिपूर्ण संसदीय राजनीतिबाट परिवर्तन सम्भव छैन भन्ने विप्लव अहिले एकाएक शान्तिपूर्ण र प्रतिष्पर्धात्मक राजनीतिको वकालत गर्न थालेका छन्।
विप्लवले मूलधारको राजनीतिमा फर्किने माध्यम समाजवादी मोर्चालाई बनाएका छन्। उनको अर्काे पनि एजेन्डा छ, पूर्वमाओवादीहरूको एकता।
विप्लवलाई प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको महासचिव बनाएर भित्र्याउने चर्चा पनि अहिले चलिरहेको छ। समाजवादी मोर्चा, माओवादी केन्द्र प्रवेश र उनको पार्टीका गतिविधिबारे सेतोपाटीकी बिनु सुवेदीले नेकपाका महासचिव विप्लवसँग गरेको कुराकानी गरेकी छन्।
तपाईंको पार्टीले अहिले नेतादेखि कार्यकर्तासम्मलाई खेतिपातीका लागि बिदा दिएको छ। तपाईं खेतिपातीको काम छोडेर समाजवादी मोर्चाको बैठकमा सहभागी हुन काठमाडौं आउनुभयो। खास के भइरहेको छ?
हाम्रो पार्टीमा असार १० गतेदेखि बिदा थियो। मचाँहि एक हप्ता जति उत्पादनमा सहभागी बनेर मोर्चाको बैठकमा भाग लिन काठमाडौं आएँ। असार २३ गते मोर्चाको पहिलो बैठक बस्यो, बैठक राम्रो भयो। हामीले एउटा समीक्षा पनि गर्यौं, मोर्चाको गठनले कस्तो प्रभाव पारेको छ भनेर छलफल भयो। अब यसलाई जिल्लासम्म विस्तार गर्ने, सातवटै प्रदेशमा सन्देश सभा गर्ने र जनसरोकारका विषयमा मिलेर काम गर्ने मोटामोटी निर्णय भएको छ।
जनसरोकारका विषय भनेका के हुन्?
भ्रष्टाचार, मानव तस्करी, मिटरब्याजजस्ता समस्या जनताले भोगिरहेका छन्। त्यसमा सरकार, सदन, सडक, जनता सबैको बीचबाट मिलेर काम गर्ने भन्ने हो।
यहाँहरू पहिले छुट्टाछुट्टै बोलेर बल पुगेन भनेर एकै ठाउँमा आउनुभएको हो कि, अरू केही उद्देश्य पनि छ?
तपाईंले भनेको जस्तो पनि हो। तर यो मोर्चा गठनपछाडि केही न केही रूपमा भूमण्डलीकृत विश्व र त्यसमा भइरहेका प्रभाव पनि छन्। नेपालको राजनीतिमा चलिरहेको संसदीय व्यवस्था थियो, त्यसले ल्याएको संकट र असफलताहरू पनि छन्। जनताले चाहिरहेको निकास र परिवर्तन यी विषयसँग जोडिएर आउनुपर्छ भन्ने छ।
तपाईंहरूकै शब्दमा भन्दा अरू त सत्ता र संसदको स्वाद चाखिसकेकाहरू छन्। तपाईं त्यहाँभन्दा बाहिर हुनुहुन्छ, तपाईंको इन्ट्री कसरी भयो यो मोर्चामा?
यो एउटा रमाइलो प्रश्न नै हो। सबैतिर यो प्रश्न छ। कसैलाई यसले अलि गम्भीर पनि बनाएको छ। कसैका आफ्ना विश्लेषण पनि छन्। तर अहिले समाजवादी व्यवस्था आजको नेपालको आवश्यकता हो। अहिले जुन खालको संकटको अनुभूति जनताले गरिहेका छन्, त्यसको निकास समाजवाद हुन सक्छ भन्नेमा हाम्रो सहमति भएपछि यो मोर्चा बनेको हो। हाम्रो सहमति नेपाललाई समाजवादतिर डोहोर्याउने सम्ममात्रै छ।
तपाईंले भन्दै आएको वैज्ञानिक समाजवाद र यो समाजवाद एउटै हो?
होइन, अलिकति फरक छ। योचाहिँ समाजवाद भयो। समाजवादका विभिन्न मोडल छन्। त्यसमा संघीय समाजवादको बहस यहाँले सुनिरहनुभएको छ। लोकतान्त्रिक समाजवाद, प्रजातान्त्रिक समाजवाद, राष्ट्रिय समाजवाद पनि छ। तर यसको केन्द्रमा चाहिँ समाजवाद छ। समाजवादमात्रै पनि प्रगतिशील र अग्रगामी हुन्छ। यसले सुनिश्चित गर्ने केही राष्ट्रका मामिला जनताको अधिकारको कुरा छन्। त्यसकारण त्यहाँसम्म पुग्दा पनि कम्तीमा आजको बेचैनीबाट मुक्ति पाउन सकिन्छ। वैज्ञानिक समाजवादको कुरा फेरि होला, तर आज हामीले समाजवादसम्म सहमति गरेका छौं।
त्यसो भने तपाईंकै भाषामा तपाईं एक कदम अघि बढेर दुई कदम पछि हट्नुभयो हैन त?
अब त्यस्तो धेरै त नभनौं हैन। तर एउटा सहमति त हामीले खोज्नैपर्छ किनकी वैज्ञानिक समाजवादका लागि अहिले नै सम्पूर्ण परिस्थिति बनिसकेको छैन। तर जनताले अहिले अग्रगामी निकास पनि चाहिरहेका छन्। त्यसका बीचको एउटा संक्रमणकालीन नयाँ खालको राज्य प्रणाली हुन सक्छ। हाम्रो त्यसमा सहमति भयो। त्यसमा प्रचण्ड कमरेड, माधव कमरेड पनि तयार रहनुभयो। उपेन्द्रजीहरू पनि सहमत हुनुभयो।
राजनीतिमा खास केही राम्रो भइरहेको छैन भनेर तपाईं पहिले छुट्टिएर जानुभयो। आज यहीँनिर आउनुपर्ने भयो। के कुराले फिर्ता हुनुपर्ने परिस्थिति आइलाग्यो?
यो फिर्ता आएको होइन र अलिकति फिर्ता आएको पनि हो। खासगरी २०६४ देखि २०६९ सालसम्म हामीले बहस गर्यौं। अहिले चलिरहेको संसदीय व्यवस्थाले हामीले ल्याएको परिवर्तन थेग्न सक्दैन भन्ने हामीलाई लागिरहेको थियो। तपाईं आफैं सम्झिनुस् न त जनताको अपेक्षा, आशा चाहना थुप्रै थिए नि। एकपटक ठूलो क्रान्तिबाट आएको देशलाई सुस्पष्ट मार्गचित्र चाहिन्थ्यो। तर छोडेकोजस्तै भयो। सबै एउटा एउटा नदीमा पसेको जस्तो भयो। त्यतिबेलै हामीले यो प्रणालीले थेग्न सक्दैन भनेका थियौं । तर त्यतिबेला उग्रवादीको आरोप आउन थाल्यो, अतिवादी भन्न थालियो, प्रतिबन्धै लगाइयो। ती तमाम विषय छन्। यसको निकास खोजिरहेको सन्दर्भमा हामीले त वैज्ञानिक समाजवाद भनेकै कुरा भयो तर यही पनि आजको आवश्यकता हो भन्ने भएपछि हामी मानेका हौं। मैले अघि पनि भनें आजको विश्व परिस्थितिको पनि प्रभाव छ। नेपाल रूपान्तरणको चाहनाको पनि यसमा प्रभाव छ र हामीभित्रै पहिले भएको एकता भावको पनि प्रभाव छ। सबै एक्लाएक्लै भन्दा पनि मिलेर निकास दिनुपर्छ भन्ने भावले पनि काम गरेको छ।
त्यसो भए तपाई सम्झौतावादी हुनुभएको हो?
सम्झौतावादी त म होइन। तर खास–खास बिन्दुहरूमा सम्झौता त हामीले गर्नैपर्छ। हामी कम्युनिष्ट हौं। वैज्ञानिक समाजवाद चाहन्छौं, हामी साम्यवाद चाहन्छौं। यद्यपी साम्यवादकै विषयमा पनि बहस छ अहिले। अलि आर्दशवादी काल्पनिक मात्रै भयो कि भन्ने भनाइ पनि छ। तर हाम्रो भनाइमा त्यो सम्भव छ। हाम्रो मान्यता आफ्नो त छँदैछ। अरूको पनि होला। तर सबै पार्टीहरू छलफलमा सहमत भएकोचाहिँ आजको भन्दा अग्रगामी निकास चाहियो भन्नेमा हो। मेरो विचारमा कांग्रेसमा पनि र अरू पार्टीहरूमा पनि यो बहस छ।
साम्यवादको कुरा निकालिहाल्नुभयो, यहाँहरूले त साम्यवादको सुरूआत पनि गर्नुभएको थियो। सबैको नामको पछाडि सी पनि जोड्नुभएको थियो।,उता पार्टीमा सी लेख्न थालेर तपाईं आफू तपाईंहरूले नै भनेको भासमा कसरी आइपुग्नुभयो?
सी त हामीले लेखेका छौं। यो हाम्रो सांस्कृतिक र सामाजिक आन्दोलन हो। नेपाली समाजले यसलाई स्वीकार गरिरहेको छ। किनकी जातिपाती, तलमाथि भेदभाव वर्गीकरण सबै मान्छेले बनाएको हो र भर्खरैसम्म बनाउँदै थिए। मान्छेले सिर्जना गरेका विभेदहरूलाई मेट्न सकिन्छ भनेर हामीले सचेत तरिकाले सुरू गरेको त्यो अभियान ठीक छ। तर अहिले म जहाँ आएको छु त्यो पनि भास होइन। किनभने संसदमै हामी फर्केर यही व्यवस्था ठीक भनेर आएका होइनौ। बरू संसद र सरकारमा रहेका पार्टीहरू पनि योबाट हुँदैन समाजवादमा जानुपर्छ भन्ने अग्रगामी सोचमा आउनुभएको छ। त्यसमा हामी खुसी छौं। सबैलाई सहमत गराएर जानुपर्छ।
जब यहाँ प्रचण्डसँग छुट्टिनुभयो त्यतिखेर यहाँले संश्लेषण/विश्लेषण गर्नुभयो, प्रचण्डको महापतन नै लेख्नुभयो, आज जहाँ प्रचण्ड हुनुहन्छ त्यही आइपुग्नुभयो। अब तपाईंको महापतनको श्रृंखला सुरू भएको हो?
मैले अस्ति पनि भनेको छु, जतिबेला मैले महापतन लेखें त्यतिबेला त्यो किताबमा छलफल गर्न रूची राखेनन। त्यतिखेर मेरो किताब नै लुकाइदिए भन्छु मचाँहि। किनकी यो व्यवस्थामाथि मेरो आफ्नो विश्लेष थियो। प्रचण्ड कमरेडमाथि पनि त्यही हो। त्यसो गर्नु गल्ती थियो, अहिले त्यसको धेरै व्याख्या गर्दिनँ। कुराचाहिँ यो साँचो हो कि आज व्यवहारतः सबैले सहमत हुनुपर्ने बेला आयो। संसदीय व्यस्थामा कम्युनिष्टहरू फर्किए भने विसर्जनको खतरा हुन्छ। त्यो त्यतिबेलाको कुरा हो। तर अहिले त कम्युनिष्ट एकताको आवश्यकता पर्यो। यो मलाई लाग्छ, सबैलाई थाहा छ कि आजको मोर्चा भनेको संसदवादी मोर्चा होइन, संसदीय व्यवस्थाको मोर्चा होइन पनि नाम नै काफी छ, समाजवादी मोर्चा नेपाल।
संसदभित्रका दल त छन् नि मोर्चामा?
संसद त एउटा मञ्च न हो।
तर तपाईंसँग मोर्चामा जो छन्, एकचोटी हारेर फेरि जित्न उपचुनाव लडेका छन्, एकचोटी हारेर फेरि समानुपातिकमा परेका, राष्ट्रिय सभामा गएका छन्। संसदमा नगए उनीहरूको सास नै चल्दैन। अब संसदवादीहरूको मोर्चा होइन भनेर के गर्नुहुन्छ?
अब हेर्नुस्, तपाईहरूले बुझी पनि सक्नुभएको छ। अनिश्चय र सम्भावना एउटा दर्शनमा बनेको छ। द्वन्द्वात्मक भौतिकवादमा अनिश्चय र सम्भावना जोड्न कम्युनिष्ट पार्टीहरूले बुझाउन सक्नुपर्छ। एउटा मान्छे संसदवादी पनि हो र कम्युनिष्ट पनि हुन सक्छ। पुँजीवादी पनि समाजवादी हुन सक्छ। कम्युनिष्ट पुँजीवादीमा फर्किन पनि सक्छ। आज समाजवादतिर गइयो त राम्रो कुरा भयो नि। को कहाँ छ छोडदिनु न। समाजवादमा जाने भनेको अग्रगामी सोच हो नि अहिले त। यसलाई त सबैले स्वागत गर्नुपर्यो नि।
तपाईंलाई भरोसा लाग्छ, यो समाजवादी मोर्चा बनेर समाजवादमा साँच्चिकै अगाडि जान्छ भनेर?
जान्छ। यो समाजवादमा जान्छ। मलाई विश्वास छ।
कसरी जान्छ?
समाजवादमा राजनीतिक पार्टीहरूले, नेताहरूले निष्कर्ष निकालेपछि त्यसले जनतालाई गोलबद्ध गर्छ। सबै मित्र शक्तिलाई आवद्ध गर्छ। जनताको इस्युलाई प्रतिनिधित्व गर्दै जाँदा हामी समाजवादमा त पुगिनै हाल्छौं।
समाजवादी मोर्चा बनाउनुको कारण बाह्य तथा आन्तरिक प्रभाव पनि हो भन्नुभयो। आन्तरिक कारण त बुझियो, बाह्य कारणचाहिँ के हो नि?
आज नेपालै के हुन्छ भन्नेजस्तो स्थिति छ। अन्तर्राष्ट्रिय शक्तिहरूको ध्यान नेपालको भूराजनीतिमा केन्द्रीत छ। सबैको आ-आफ्नो ध्यान छ। नेपालमा हस्तक्षेप बढाउने खालको छ। त्यो हामीलाई स्वीकार्य हुँदैन। अमेरिका, भारत, चीनले राख्ने चासो हाम्रो देशका लागि गम्भीर विषय छन्, सबै नेपालीको ध्यान पुग्नुपर्छ। पैसाको लागि हामी बिक्री हुन सक्दैनौं। कुनै पनि शक्ति केन्द्रको अखडा हामी बन्न सक्दैनौं। नेपालको भविष्यको चिन्ता सबैभन्दा बढी हामीलाई नै छ नि।
समाजवादी मोर्चाको कुरा पछि अर्को एउटा चर्चा छ, माओवादीसँगको यहाँको सम्बन्ध। अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि विप्लवले बरू बचाउ गर्नुहुन्छ, रैथाने माओवादी के गर्छन् भन्ने कुरा गर्नुहुन्छ। यो तपाईं माओवादी केन्द्रको महासचिव बन्ने पूर्वतयारी हो कि अरू केही छ?
माओवादीहरू एकताबद्ध हुनैपर्छ। हामी हुन्छौं, पहिलो कुरा यही हो। किनकी समाजवादतिर जाने बेला आएको छ। अर्को कुरा के छ भने के हामीचाहिँ महासचिवका लागि बहसमा छौं त? त्यो सत्य होइन। स्वच्छताका साथ माओवादी आन्दोलनलाई एकतावद्ध गर्न लागिरहेका बेला बंग्याइदिनका लागि ल्याइएको झ्यासमिसे विषय हो के यो। अर्को अतिरिक्त विषय मिसाएर कार्यकर्ता र जनतालाई स्वच्छ ढंगले सोच्ने वातावरण नदिने। महासचिवको कुरै होइन नि, पार्टीको प्रमुख त म छँदै छु नि। यहाँ त जिम्मेवारीको कुरा छ के। नेपाली जनताको चाहनाअनुसार देशलाई कसरी रूपान्तरण गर्ने भन्ने कुरामा केन्द्रीत छ नि यो त। एकता त हुन्छ। एकता किन हुन्छ भने अग्रगमनका लागि हुन्छ।
प्रचण्डसँग आउनुअघि केपी ओलीसँग यहाँको राम्रो सम्बन्ध थियो। एकाएक कसरी सिफ्ट हुन सम्भव भयो?
यो पनि मैले भनेको छु, संयोग भन्ने कि अवसर। केपी ओली कमरेडसँग पनि हाम्रो सौहार्द्ध सम्बन्ध छ। मजाको छलफल हुन्छ। सायद हामी अलिकति बाहिर भएर पनि होला कुनै पनि पार्टीसँग हाम्रो नराम्रो छैन।
प्रतिबन्धित हुनुहुन्थ्यो, फेरि त्यही सरकारको नेतृत्वकर्तासँग तपाईंको सम्बन्ध राम्रो छ। त्यो कसरी हुन्छ?
यही त राजनीतिको सुन्दर चिज हो। युक्रेनमा भीषण युद्ध पनि छ, त्यहाँ संवाद पनि छ। तेस्रो विश्वयुद्धको चर्चा चलिरहेको छ, त्यहाँ त त्यस्तो छ भने हामी त हाम्रो देश बनाउन चाहनेहरूको बीचमा किन कुरा नहुनु र? भित्री चाहना सबैको मुलुक बनाउने हो भने भित्री चाहनालाई व्यवहारमा अभिव्यक्त गरौं न त भन्ने अर्थमा सम्बन्ध अघि बढाएका हौं। अर्को हरेक मान्छे दैनिक एउटा बहसमा रहन्छ र निष्कर्ष पनि निकाल्छ। उहाँहरूले निकाल्नुभयो प्रतिबन्ध सफल भएन पनि। हामी पनि जनतामा खुला रूपमा आउन चाहन्थ्यौं। प्रतिबन्धित भएर लड्न जाने त हाम्रो रहर पनि थिएन।
तपाईंले शीर्ष नेताहरू भित्रभित्र खुसुर-खुसुर गर्नुभयो। केही कार्यकर्ता मरे, कति अझै जेलमा छन्। कति घरबारविहीन भए, कति घाइते अंगभंग छन्। यो त सत्य हो नि फेरि?
लडाइँ त अहिले पनि जारी छ नि। त्यो घेराबन्दीमा मेरो दाइ आफैं सहिद हुनुभयो। हामी तयारी अवस्थामै छौं। हामी लड्न त आज पनि तयार छौं। आज पनि जेल गइरहनुभएको छ साथीहरू। मिटरब्याजीसित लडाइँ परिरहेको छ हाम्रो। धरौटीबाट निकाल्न गाह्रो भइरहेको छ। हामीले यसलाई जनताप्रतिको जिम्मेवारीका रूपमा लिएका छौं। हामी त आराम गरेका छैनौं नि। हामी समाजलाई समाजवादमा पुर्याउने महानयात्रामा छौं। बाँच्दासम्म खतरा मोलिरहनुपर्छ।
समाजवादी मोर्चा, माओवादी केन्द्रसँगको एकता हुँदै यहाँहरूको यात्रा कहाँसम्मको हो?
मेरो स्पष्ट प्रस्ताव छ, माओवादी एकतावद्ध हुनैपर्छ। समाजवादका लागि सबै कम्युनिष्टहरू एक हुनुपर्छ। आज कसैले माने पनि नमाने पनि यो कुरा सबैले बुझेका छन्। माओवादीलाई २०६४ सालमा अभूतपूर्व अवसर प्राप्त भएको थियो, त्यसलाई हामीले सदुपयोग गर्न सकेनौ। अहिले फेरि एउटा समय छ। यसलाई हामीले सदुपयोग गर्नुपर्छ।
तर बाबुराम भट्टराई, मोहन वैद्यहरू कहाँ हुनुहन्छ त?
उहाँहरू सबैसँग कुरा भइरहेको छ। बाबुरामजी त मोर्चा बन्नुपर्छ भन्ने प्रस्तावक हो, उहाँ छुट्नुभएको छ। किरणजीहरूसँग यसबारेमा त्यति राम्रोसँग छलफल भएको छैन। तर मैले भनेको छु समग्र रूपले समाजवादी मोर्चा अघि बढ्छ।
तपाईंले यही मोर्चामार्फत् संसद छिर्नका लागि गोरेटो कोर्नुभएको हो कि?
चुनाव त हामी समाजवाद आए पनि लड्ने हो नि। किन चुनावलाई मान्छेले कम्युनिष्टको विरोधीजस्तो ठान्छन्। हामीले जनयुद्ध लड्दा पनि चुनाव नै गरेका थियौं।
तपाईंहरू शान्ति प्रक्रियामा आएपछि चुनाव नै चार पटक भयो। तर तपाईं बहिष्कार भनेरमात्रै दौडिनुभयो, आज किन आवश्यक पर्यो त?
चुनाव त हेर्नुस उपयोग गर्ने पनि हो। आवश्यक परे खारेज गर्ने पनि हो। हामीले मात्रै होइन नि कांग्रेसले पनि त पूर्वराजाले घोषणा गरेको चुनाव बहिष्कार गरेको हैन र!
पूर्व राजाजस्तो त होइनन् होला नि अहिलेका दलहरू, यहाँहरूले नै लडेर ल्याएको गणतन्त्र हो?
हो लड्यौं, ल्यायौं तर यो व्यवस्था जनताले चाहेकोजस्तो गरी अघि बढेन। तर यो व्यवस्था खत्तम हो बरू हिजोकै ठीक थियो त? त्यो पनि होइन। हामीले चाहेको समाजवाद हो।
पार्टी बनाउनुभयो, पार्टी विस्तार गर्नुभयो। यहाँहरूका सेना पनि थिए, ती कहाँ छन् अहिले?
ओहो, यो आर्मीको कुरा नगर्नु न। आर्मी त आफैं मान्छे हो। म आफैं एउटा आर्मी पनि त हो। तपाईं पनि हो परिआएपछि। मैले युक्रेनमा देखिरहेको छु, पत्रकारहरू बन्दुक बोकेर पत्रकारिता गरिरहेका छन्। त्यसैले विषयवस्तु जटिल बनाउन हुँदैन के। परिआएपछि मान्छे लड्छ नि। हामी समाजवादी हौं। भविष्यमा आर्मी नै राख्न हुँदैन भन्ने मतका मान्छे हौं हामी। हिजो राज्यले नै प्रतिबन्ध लगायो त नलडेर के गर्ने?
अर्को पनि तपाईले नसोध्नु न भन्ने प्रश्न सोध्छु म, तपाईहरूका हतियार कहाँ छन्?
हतियार त सरकारसँग पो हुन्छ त, जनतासँग कहाँ हुन्छ त? हामीसँग कहाँबाट हुन्छ? तर परिआउँदा मान्छेको दिमाग नै हतियार हो।
गत असोजमा बैठक बसिसकेपछि पार्टी पंक्तिलाई उत्पादनमा केन्द्रीत गर्ने भनेर लाग्नुभयो। तर उत्पादन गर्न जहाँ-जहाँ खेतिपाती गर्नुभयो नि त्यो जग्गा कसको हो?
यो रमाइलो कुरा छ। पहिले त २ वर्षको प्रतिबन्ध हामीले झेल्यौं। त्यो बेला मैले मसिनो कुराको अध्ययन गर्ने जिम्मेवारी पाएँ। मैले त्यसबेला आर्थिक दृष्टिकोण भन्ने किताब पनि लेखेको छु। कहाँ कहाँ बिग्रेछ त, सोभियत संघ किन ढल्यो, पूर्वी युरोप किन ढल्यो, चीनले बाटो किन बदल्यो, हामी माओवादीहरू किन यस्ता भयौं? हाम्रो आदर्श सपना कस्तो थियो यो सबै हेरेपछि हामीले एकीकृत स्वामित्व प्रणालीका अभियान अघि सारेका छौं। दुइटा स्वामित्व प्रणाली थियो अहिलेसम्म। पुँजीवादमा निजी स्वामित्व अहिलेसम्म सफल भएन। मान्छेले मात्रै जति मन लाग्यो, त्यति कुम्ल्याउने खालको ठीक छैन। अर्को अमुर्त सामूहिकताले पनि आत्मीयता दिन सकेन। त्यसैले हामीले एकीकृत सामूहिकता प्रणाली, मान्छे खुसी पनि होस् तर त्यसले सबै जनतालाई समानतातिर पनि लिएर जाओस भनेर आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी कार्यकर्ता भनेर सुरू गरेका छौं। त्यो जमिन हाम्रै छ। सायद सबैभन्दा धेरै जमिन हुने पार्टी हाम्रो नै होला। पार्टीसँग अहिले ३ सय रोपनीभन्दा धेरै जमिन छ। हामीले सस्तोमा जनतासँग मिलेर लिएका छौं। लिजमा लिएको ८० बिघाभन्दा बढी छ।
त्यसो भए तपाईंको पार्टीलाई जमिनदारको पार्टी भन्दा हुन्छ?
जमिनदार भनेको जमिनको स्वामित्व भएको भनेको त हो। हामीलाई जमिनदारको पार्टी भन्दा हुन्छ। जमिनको नेतृत्व गर्ने उत्पादन गर्ने कुरामा हामीलाई स्वीकार्य छ। सामान्तवादी जमिनदार भन्नुभयो भने त त्यो त हामीले पहिले नै उखेलेर फालिसक्यौं।
जग्गाजमिन आफ्नो नाममा हुने, सम्पत्ति कमाउने भनेको त पुजीवादी हुने हो नि त यहाँहरूकै शब्दमा?
त्यो त पार्टीको स्वामित्व हो नि। पार्टीको हुने कुरा त समाजवादी हो नि। आफूले एक्लै हत्याउने कुरा पो पुँजीवादी हो त। खुलमखुल्ला हामीले भनेका छौं नि त हामीसँग यति जमिन छ भनेर।
जमिन ३०० सय रोपनी छ, तपाईंहरूका संगठित नेता-कार्यकर्ता कति छन्?
त्यो त असंख्य छन्!
३०० रोपनीमा रोपेको धान सबै संगठित कार्यकर्ताले खान पाउँछन् कि यहाँहरूले मात्रै हो?
होइन नेताले पनि खानुपर्छ, कार्यकर्ताले पनि पाउँछन् र गरीब दु:खी जनताले पनि पाउँछन्। पैसा पनि कमाउने हो। अब काठमाडौंमा एउटा मार्ट खोल्ने विचार छ, प्रतिष्पर्धा गर्ने हो बिचौलियासँग। हामी २० देखि ३० बिघामा तोरी, २० देखि ३० बिघामा सूर्यमुखी उत्पादन गर्छौं। काठमाडौंमा आफ्नै बजार बनाउने योजना छ हाम्रो। सबै कार्यकर्ता उत्साहका साथ काममा छन्। थुनिएको नदीलाई अलिकति खोलिदिएको जस्तो छ, उत्सव छ। जनता पनि सहभागी छन्। हामीले जनतालाई पनि मिलेर गरौं न भनेका छौं। हामीले सामूहिक ढंगले गर्नुपर्छ भनेर कामको सुरूवात हामीले गरेका हौं।
सात वर्ष भूमिगतजस्तै भएर बस्नुभयो। त्यसरी बस्दा ३ सय रोपनी जग्गा किन्न सक्ने पैसा कहाँबाट कमाउनुभयो?
हामीले चन्दा पनि उठायौं, कर पनि उठायौं। सहयोग पनि माग्यौं। हामीलाई युरोप, अरबबाट साथीहरूले चन्दा पठाइरहनुभएको छ। हामीले हस्पिटल बनाइरहेका छौं। कलेज बनाइरहेका छौं। सरकारले दियो भने सिटिइभिटी खोलौं भनेको दिँदै दिँदैनन्।
पैसाको किन चिन्ता गर्नु के। हाम्रो बाउबाजे मजाले बाँचेको देश हो यो। नेपालबाट सामान निर्यात हुन्थ्यो। आर्थिक जीवनबाट हेर्नुभयो भने म आफैंलाई थाहा छ, हामी रोल्पाबाट दाङ व्यापार गर्न झर्थ्यौं। आज किन गर्न सक्दैनौं। मैले उद्योगी व्यवसायीलाई भनेको छु- नेकपाले ठूला ठूला उद्योग खोलेर प्रतिष्पर्धा गर्यो भने तपाईंहरू आश्चर्य नमान्नुस्। ३ सय रोपनीको मात्रै के कुरा गर्नुहुन्छ, हामीले स्याउ रोपेका छौ, चियापत्ती रोपेका छौं। १-२ वर्षपछि बजारमा आउँछन्। पैसाको चिन्तै नगर्नुस् न, हेर्नुस पैसा भनेको २ छाक आनन्दले खाने एक आङ लगाउने हो। संयोगले हामी कोही बिरामी भएका छैनौं, अरू त बैंकक, सिंगापुर गएको देख्छु दैनिक। हाम्रो त कोही बिरामी भएको सुन्नुभएको छ? कोही मरेको पनि त छैन। स्वास्थ्य पनि आत्मसन्तोष हो। अभियानमा लागेपछि रमाउनुपर्छ। हाम्रा माओवादी साथीहरू त्यही पैसा लुकाउँदा लुकाउँदा बिरामी भए होलान् जस्तो लाग्छ। पैसामा हामीले अनावश्यक रूची राख्न पनि हुँदैन बेप्रवाह हुन पनि हुँदैन। तर पैसा नभई मरिहालिन्छ त्यो पनि होइन। मान्छे हो नि मुख्य त।
अन्तिममा तपाईंले आफूलाई राजनीतिको कुन मुकाममा पुग्ने सपना देख्नुभएको छ?
एउटा सपना छ। नेपाली जनताले मौका दिन्छन् भन्ने विश्वास छ। नेपाललाई एक पटक नेतृत्व गर्ने चाहना छ। प्रधानमन्त्री हुन सक्छ, राष्ट्रपति हुन सक्छ, सामान्य सेवक हुन सक्छ।