नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको गत बिहीबार र शुक्रबार काठमाडौंमा बसेको बैठकमा 'कांग्रेस रूपान्तरण अभियान' को विषयमा पनि प्रसंग उठ्यो।
पार्टीलाई जानकारी नदिई रूपान्तरण भेला सातै प्रदेशमा भएकोमा विभिन्न जिल्ला सभापतिहरू असन्तुष्ट देखिएका थिए।
‘पार्टी रूपान्तरण गर्ने हो भने केन्द्रीय समितिले निर्णय गरेर अभियान नै सञ्चालन गर्नुपर्यो नि!, केही मानिसहरू रूपान्तरण भन्दै जिल्ला-जिल्ला पुगेका छन्,’ रामेछाप कांग्रेस सभापति कान्छाराम तामाङले भनेका थिए, ‘नत्र के को रूपान्तरण?’
१५ औं महाधिवेशन लक्षित गरेर अहिलेदेखि नै पार्टी रूपान्तरणका नाममा भेला भइसकेकोमा जिल्ला सभापतिहरूले आक्रोश पोखेका थिए। यस्ता भेलाहरूमा नेतृत्वका आलोचना हुने गरेको र त्यसले झन् गुट, उपगुटलाई प्रश्रय दिइराखेको आरोप उनीहरूको थियो।
जिल्ला सभापतिहरू बैठक सकेर पार्टीलाई एकताबद्ध बनाउने १४ बुँदे सङ्कल्प गर्दै घर फर्केका छन्। रूपान्तरणका यस्ता भेला भइरहेकाबारे जिल्ला सभापतिहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ध्यानाकर्षणसमेत गराएका थिए भने बरू देशव्यापी संगठन सुदृढीकरण अभियान अब बस्ने केन्द्रीय समितिबाट घोषणा गर्न सुझाव दिएका थिए।
यही असार २७ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ।
जिल्ला सभापतिहरूले रूपान्तरण अभियानको विरोध गरे पनि रूपान्तरण पक्षधरले भेलालाई जारी राखेका छन्। केही दिनदेखि विभिन्न पक्षसँग रूपान्तरण पक्षधरले संवाद बाक्लो बनाएका हुन्।
केन्द्रीय सदस्य मधु आचार्य, नेताहरू गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, जगदीश्वरनरसिंह केसी लगायतले रूपान्तरण अभियानलाई जारी नै राखेका छन्। उनीहरूले आफ्ना कुरा राख्ने र नेता/कार्यकर्ताका कुरा सुन्ने गरेका छन्। पार्टीको कार्यशैलीमा सुधार आउनुपर्ने र पार्टीलाई जनमुखी बनाउनुपर्ने माग उनीहरूको छ।
‘सातै प्रदेशमा हामीले रूपान्तरण भेला गरियो। नेता, कार्यकर्ताको उत्साहपूर्ण सहभागिता थियो। नेतृत्वका कार्यशैलीलाई लिएर उनीहरूमा आक्रोश देखिन्छ। कार्यशैली सुधार गर्नुपर्छ भन्ने सुझाव छ। भेलाका सुझाव सभापति शेरबहादुर देउवालाई बुझाउने कार्यक्रम छ, भेट्न समय मागिसकेका छौं,’ नेता भूपेन्द्रजंग शाहीले सेतोपाटीसँग भने।
गत जेठमा सातै प्रदेशमा कांग्रेस रूपान्तरण पक्षधरले भेला गरेका थिए। भेलामा पार्टी पदाधिकारी बोलाइएको थिएन। नेता/कार्यकर्ता र जनताका कुरा सुन्ने काम गरिएको नेता शाही बताउँछन्।
‘अहिले हामीले रूपान्तरण संवाद गरिरहेका छौं। प्राध्यापकहरू, महिला, युवा, वुद्धिजीवि, मजदुर, नेविसंघ, सांसद, पूर्वसांसद, केन्द्रीय सदस्य, नेताहरूसँग पनि संवाद गर्ने कार्यक्रम छ,’ उनले भने, ‘साउन महिनाभित्र रूपान्तरण संवाद सक्छौं।’
त्यसपछि रूपान्तरण अभियानलाई जिल्ला केन्द्रित गरिने उनले बताए।
‘भदौमा ७७ जिल्ला र गाउँमा पुगेर रूपान्तरण कार्यक्रम गर्छौं, नेता कार्यकर्ता र जनतासँग कुराकानी गर्छौं,’ शाहीले भने, ‘त्यसपछि पनि पार्टीको कार्यशैलीमा सुधार आएन भने हामीले विशेष महाधिवेशन माग्न बाध्य हुन्छौं।’
विधानअनुसार विशेष महाधिवेशन केन्द्रीय समितिले आवश्यक ठानेमा बोलाउन मिल्छ।
साथै केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले विशेष महाधिवेशन माग गरेमा बोलाउनुपर्ने व्यवस्था छ।
निवेदन परेको ३ महिनाभित्र यस्तो महाधिवेशन सभापतिले बोलाउनुपर्ने विधानको व्यवस्था छ। कांग्रेसमा बेलाबेला विशेष महाधिवेशनका कुरा उठ्ने गरेको भए पनि अहिलेसम्म एक पटक मात्रै (वि.सं.२०१४) मा विशेष महाधिवेशन भएको इतिहास छ। जसबाट बिपी कोइराला सभापति चुनिएका थिए।
गत मंसिरको चुनावमा पार्टीलाई समानुपातिक मत घटेको, ५ दल मिलेर चुनाव लडे पनि प्रत्यक्षतर्फ अपेक्षाअनुसार जित्न नसकेको र वैशाखको उपनिर्वाचनमा पनि पराजय भोग्नुपरेको भन्दै पार्टीका कार्यशैली र नीति सुधारका लागि दबाब दिन रूपान्तरण अभियान सुरू भएको थियो।
रूपान्तरणको विषयले जिल्ला सभापति बैठकमा प्रवेश पाउनुले नै रूपान्तरण अभियान सफल भइसकेको संकेत गर्ने शाहीले तर्क गरे।
‘देशभरका जनता र पार्टीका मानिसका कुरा सुन्दै हिँड्दा कसलाई टाउको दुख्यो? हाम्रा केही कमजोरी छन् भने औंल्याउनुपर्यो, सुधार गरौंला,’ शाहीले भने, ‘पार्टीले रूपान्तरण अभियान चलाएको र समानान्तर ढंगले हामीले पनि अभियान चलाएको भए पो आलोचना गर्ने त। पार्टीले केही गतिविधि नगरेका बेला हामीले जनता र पार्टी नेता, कार्यकर्ताका गुनासा सुनेका हौं।’
उनले १५ औं महाधिवेशन तयारीभन्दा पनि बलियो कांग्रेस बनाउने र जनमुखी एजेन्डासहित पार्टी अघि बढाउन आफूले अभियान सञ्चालन गरेको बताए।
‘केहीलाई लाग्दो हो यिनीहरू किन हिँडिरहेका छन् भनेर। नेताका चाकडी गर्ने, भजन गाउनेहरूलाई त्यस्तो लाग्दछ,’ उनले भने, ‘हाम्रो पार्टीमा आलोचना गर्न पाइन्छ। नेताका दास बन्ने मानसिकता हुनेहरूले विरोध गरेर केही हुँदैन।’
नेता गुरूराज घिमिरेले पार्टी विधिसम्मत नचलेकोले रूपान्तरण अभियान चलाउनुपरेको बताए।
‘पार्टी विधिसम्मत चलाउनुस् भनेर रूपान्तरण अभियान चलाउनुपर्यो। पार्टीमा न्याय पद्धति मर्यो, पुनर्स्थापना गर, दु:ख गर्ने, संघर्ष गर्ने र दु:ख पर्दा काँध थाप्ने कार्यकर्तामाथि न्याय भएन,’ उनले भने, ‘कार्यकर्तालाई न्याय गर्नुपर्यो, रूपान्तरण गर्नुपर्यो।मूल्यांकन पद्धति मनोगत र नेताप्रधान भयो।’
रूपान्तरण अभियानलाई भने पार्टीले सकारात्मक ढंगले नलिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए।
‘केहीले १५ औं महाधिवेशन तयारीस्वरूप यस्ता अभियान चलाइरहेका छन्। महाधिवेशन तयारीमा हिँडे है भन्यो भने बेमौसमी कार्यक्रम भन्छन् भनेर उहाँहरूले रूपान्तरण अभियान भन्नुभएको हो,’ उनले भने, ‘नेतृत्वलाई गाली गर्दै उहाँहरू हिँड्नुभएको छ। यसले त पार्टीलाई राम्रो गर्दैन।’
कुनै गुटमा नलागेका तर आलोचना गर्न रूचाउनेहरूले यस्तो अभियान सञ्चालन गरेको उनले बताए।
‘उहाँहरूको अभियानमा पार्टीका कुनै पनि संरचना र समितिहरू परिचालन भएका छैनन्,’ उनले भने, ‘पार्टी संरचनाबाहिर उहाँहरूले कार्यक्रम गरिराख्नुभएको छ। यसलाई पार्टीले सकारात्मक रूपमा लिएको छैन।’
पार्टीले यस्तो अभियान आवश्यक ठानेमा केन्द्रीय समितिबाट निर्णय गरेर देशव्यापी रूपमा सञ्चालन गर्ने पनि उनले बताए।
यो पनि:
'बदलिएको बलियो कांग्रेस' बनाउने सङ्कल्प गर्दै फर्किए कांग्रेस जिल्ला सभापतिहरू
सानेपामा देउवाको खोजी
जिल्ला सभापतिलाई पढाउँदै कांग्रेस
कांग्रेस जिल्ला सभापति बैठक, कसले के भने?