नेपाली कांग्रेसले जिल्ला सभापतिहरूलाई प्राविधिक जानकारी दिएको छ।
अनलाइनबाटै सदस्यता वितरण गर्न आह्वान गरेसँगै सभापतिहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर कांग्रेसले प्राविधिक विषयबारे जानकारी दिएको हो।
सूचना तथा प्रविधि विज्ञ दिपेश विष्टले जिल्ला सभापतिहरू र प्रतिनिधिलाई अनलाइन सदस्यता वितरण र नवीकरणबारे प्राविधिक जानकारी गराएका थिए।
बैठकमा ४२ जिल्ला सभापति र १८ जिल्लाबाट प्रतिनिधि तथा अन्य सभापतिहरू जुममार्फत जोडिएका थिए।
‘अनलाइनबाट सदस्यता फारम भर्न मिल्ने व्यवस्था, पुराना क्रियाशीलको कार्ड जिल्लाबाटै प्रिन्ट गर्न सकिनेजस्ता विषयमा जिल्ला सभापतिहरूलाई आइटी विज्ञको सहयोगमा प्राविधिक जानकारी दिइएको छ,’ प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने।
कांग्रेसले २०७८ मंसिरको १४ औं महाधिवेशनदेखि कांग्रेस सदस्यता मात्रै राखेको छ। यसअघि साधारण र क्रियाशील सदस्यताको व्यवस्था थियो।
प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार अब अनलाइनबाट सदस्यता लिएपछि निश्चित समय (एक वर्ष) पछि क्रियाशीलमा रुपान्तरण हुन चाहेमा स्वत: हुने व्यवस्था मिलाइएको छ।
यो पनि: कांग्रेस जिल्ला सभापति बैठक, कसले के भने?
‘सहज ढंगबाट कांग्रेस सदस्यता दिन खोजिएको छ,’ उनले भने, ‘वडादेखि केन्द्रसम्म अब कांग्रेस डिजिटल हुनेछ। सभापतिहरूको हस्ताक्षर पनि डिजिटल चल्छ, एपसमेत बनाएका छौं।’
विधानअनुसार कांग्रेस सदस्यता वर्षेनी नवीकरण गर्नुपर्छ। तर यसअघि महाधिवेशनका बेला मात्रै सदस्यता नवीकरण गर्ने अभ्यास हुँदा विवादित बन्ने गरेको थियो।
१४ औं महाधिवेशनमा पनि क्रियाशील सदस्यता विवाद भएपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरू मीनेन्द्र रिजाल र रमेश लेखक रहेको समिति बनाएर छानबिन गरि विवाद टुंगो लगाइएको थियो।
‘क्रियाशील सदस्यतामा अब पहिलेकोजस्तो विवाद हुँदैन। अनलाइनबाटै नवीकरण गर्ने व्यवस्था मिलाउँदैछौं, वर्षेनी नवीकरण गरिन्छ,’ विश्वकर्माले भने।
अनलाइनबाट सदस्यता फारम भर्न मिल्ने व्यवस्था सुरू गरे पनि त्यो निर्णय केन्द्रीय समितिबाट पारित हुन बाँकी रहेकोले केहीले सदस्यताको वैधानिकताका विषय पनि उठाएका छन्।
‘अनलाइन फारम हामीले वडामै पठाउँछौं, सदस्यता वडाले नै टुंगो लगाउँछ। क्रियाशील नवीकरण भने जिल्लाबाट टुंगो लाग्छ, जिल्ला सभापतिले नै कार्ड दिने व्यवस्था छ,’ उनले भने, ‘सभापतिहरूको हस्ताक्षर नै डिजिटल प्रयोग गर्ने भएपछि वैधानिकताको प्रश्न उठ्दैन।’
विधानअनुसार केन्द्रीय कार्यालय र सदस्यता व्यवस्थापन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हेर्ने हो। त्यसैले बिहीबार र शुक्रबार महामन्त्रीद्वयको अगुवाइमा केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापति बैठक गरिएको हो।
बैठकमा महामन्त्री गगन थापाले केन्द्रले पटक-पटक सर्कुलर गरे पनि समयवद्ध काम नभएको गुनासो गरेका छन्। विधानअनुसार पार्टीका विभिन्न तहले वर्षमा एक पटक गर्नुपर्ने सम्मेलन समयमै नगरेको थापाको भनाइ थियो।
‘केही जिल्ला सभापतिहरूले सम्मेलन गरिएको जानकारी गराउनुभयो। बाँकीले भदौसम्म सम्मेलन सक्ने प्रतिवद्धता जनाउनुभएको छ,’ थापाले भने।
महामन्त्री थापाले समयवद्ध रूपमा काम गर्न पार्टीले क्यालेन्डर बनाउन लागेकोसमेत जिल्ला सभापतिहरूलाई जानकारी गराएका छन्।
‘नीति महाधिवेशन भदौमा गर्ने तयारी छ। असार २७ देखि हुने केन्द्रीय समिति बैठकमा यसबारे छलफल गरेर मिति तय हुन्छ,’ उनको भनाइ छ।
कांग्रेसले जिल्ला सभापतिहरूलाई सामाजिक काममा जोडिनसमेत निर्देशन दिएको छ।
‘हामीसँग ८ लाख बढी क्रियाशील सदस्य छन्। उनीहरूलाई पार्टी कामसँगै सामाजिक काममा पनि जोड्नुपर्छ,’ थापाले भने, ‘जनताका समस्या समाधान गर्न पार्टीले पनि ध्यान दिनुपर्यो।’
जिल्ला सभापतिहरूले पार्टी सरकारमा भएको अनुभूति नागरिकलाई नभएको बताएका थिए। पार्टी र सरकारबीच समन्वय नभएको पनि उनीहरूको गुनासो थियो।
भिडिओ: