पार्टी रूपान्तरण पक्षमा उभिएका नेपाली कांग्रेसका महामन्त्री गगन थापा जनताका कुरा सुन्न देश दौडाहमा निस्कने भएका छन्।
भदौ दोस्रो सातादेखि महामन्त्री थापा लगातार ३३ दिनसम्म काठमाडौंबाहिर हुनेछन्। त्यसपछि दोस्रो चरणमा उनी दसैं-तिहारपछि गाउँ-गाउँ पुग्नेछन्।
पार्टीका तल्ला तहमा रहेर काम गरिरहेका कार्यकर्ता र आम नागरिकसँग भलाकुसारी गर्न थापाले 'जनसंवाद यात्रा' गर्न लागेका हुन्।
सेतोपाटीसँग कुराकानी गर्दै थापाले भदौमा गर्न लागेको जनसंवाद यात्रामा जनताका कुरा सुन्न चाहेको बताए।
‘अहिले काठमाडौंबाहिर जाँदा हामीले आफ्ना कुरा राख्ने गरेका छौं, जनतासँग कुराकानी नै हुन पाउँदैन,’ थापाले भने, ‘काठमाडौंबाट गएका हामीहरूलाई सबै कुरा थाहा छ भनेजस्तो गरी मञ्चबाट भाषण गर्छौं, फर्किन्छौं। जनतासँग कुराकानी नभएपछि उनीहरूका समस्या हामीलाई जानकारी नै हुन्न, यो प्रवृत्तिले धेरै कुरा छुटिरहेको छ जस्तो लाग्छ।’
मुख्य २ प्रश्नको जवाफ खोज्न आफू काठमाडौंबाहिरका जिल्ला र गाउँ जान लागेको उनले बताए।
पहिलो, पार्टी भित्रकै नेताहरू नै अलिकति अत्तालिएको, छटपटाएको र निराश भएको देखिन्छ।
दोस्रो, आम नागरिकमा पनि ठ्याक्कै त्यस्तै आक्रोश र नैराश्यता झल्किएको छ।
‘स्थानीय, प्रदेश र केन्द्रको चुनावबाट कांग्रेस ठूलो पार्टी बन्यो, जितको उत्सव र माहौल हुनुपर्ने तर त्यस्तो छैन,’ उनले भने, ‘पार्टीभित्र र बाहिर आक्रोश छ। किन यस्तो भइरहेको छ? म मानिसहरूसँग कुराकानी गरेर ज्ञान लिन चाहन्छु। त्यसैका लागि म जनसंवाद यात्रामा निस्कन लागेको हुँ।’
थापाले पहिलो चरणमा हिमाल, पहाड र तराई/मधेशका विभिन्न ३५ जिल्लाका गाउँमा गएर जनतासँग कुराकानी गर्ने तयारी गरेका छन्।
‘म महामन्त्री छु, सांसद छु। विश्वास जितेर नै यो ठाउँमा आइपुगेको हुँ। तर जनतासँग मिहीन ढंगले कुराकानी नहुँदा मैले धेरै कुरा 'मिस' गरिराखेको छु भन्ने लागेको छ,’ उनले भने, ‘जनयुद्ध, राजाको शासन, भूकम्प, कोरोनाका बेला मानिसहरूमा भोलि राम्रो हुन्छ भन्ने आशा थियो, अहिले किन आशा गुम्दै गएको छ? यस्ता कुराको जवाफ खोज्दैछु।’
थापाले जनसंवाद यात्रामा भाषण गर्ने छैनन्। पार्टीका कुनै पनि तहका समितिले औपचारिक कार्यक्रम राख्ने छैन।
‘हामीले अहिलेसम्म पार्टीका कुनै न कुनै तह, समितिमा रहेका मानिस भेटिरह्यौं। भ्रातृ वा शुभेच्छुकले गरेका कार्यक्रममा गयौं तर यसपालि म पार्टीका यी संरचना नाघेर अहिलेसम्म नभेटेका गाउँका मानिसहरूसँग भेट्छु,’ उनले भने, ‘गाउँमा बस्ने मानिसहरूले हामीलाई कसरी हेरिराखेका छन् बुझ्न चाहन्छु।’
कांग्रेस कहाँ चुक्यो? जनता किन रिसाए, किन आशा गुम्दै गयो? यस्ता प्रश्नको जवाफ खोजेर मात्रै आफू काठमाडौं फर्कने थापाले अठोट लिएका छन्।
‘म सबै उमेर समूहका नागरिकसँग कुराकानी गर्न चाहन्छु,’ उनले भने, ‘अहिलेसम्म मलाई आफ्नो निर्वाचन क्षेत्रका मानिसको मात्रै सुख, दु:खका कथा थाहा छ, मलाई देशैभरका मानिसका कथा थाहा पाउनु छ।’
थापाले यो जनसंवाद यात्राबाट जनताका कुरा सुन्ने र केही कुरा सिक्न खोजेको बताए।
‘जनतासँग कुराकानी गरेर फर्किएपछि मसँग बहसका लागि केही न केही आधार हुन्छ। त्यसबारे पार्टीभित्र छलफल गर्छु,’ उनले भने, ‘साथीहरूसँग पनि कुराकानी गरेर जनसंवाद यात्रामा होमिने हो।’
यात्रालाई उपलब्धिमूलक बनाउन जनतासँग र भुइँ तहमा बसेर वर्षौंदेखि संगठनमा काम गर्दै आएकाहरूसँग लामो कुराकानी गर्ने उनको चाहना छ।
‘कुराकानीका लागि के प्रश्न सोध्ने तयारी गर्दैछु,’ उनले भने, ‘जनताका समस्या र सुझाव पार्टीका साथीहरूमाझ म ल्याउँछु। समस्या समाधान गर्न पहल गर्छु। मञ्चमा बस्नेहरूलाई भन्दा तल बस्नेहरूलाई पार्टी किन यो स्थितिमा गुज्रिरहेको छ भन्ने धेरै ज्ञान छ भन्ने लागेर म जनसंवाद यात्रामा निस्कन लागेको हुँ।’
यी पनि:
गगनको प्रस्ताव: प्राध्यापक, शिक्षक र विद्यार्थी कांग्रेस सदस्य हुन नपाउने (भिडिओ)
२० रुपैयाँ तिरेर अनलाइनबाटै कांग्रेसको सदस्यता लिन सकिने
कांग्रेसको नीति महाधिवेशन भदौमा!
गगन थापाले देखाए कांग्रेस चुक्नुका ५ कारण