२०६३ सालमा जन्मसिद्ध आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई रूपन्देहीमा वंशजको आधारमा नागरिकता दिन सुरू गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भई नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ कार्यान्वयन गर्ने बाटो खुलेसँगै आइतबारदेखि रूपन्देहीमा पनि नागरिकता वितरण सुरू गरिएको हो।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जन्मको आधारमा नागरिकता लिएकाहरूका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण सुरू गरिएको बताए।
प्रमुख जिल्ला अधिकारी पाण्डेले रूपन्देहीमा यसरी नागरिकता लिनेहरूको संख्या धेरै हुन सक्ने भएकाले कार्यालयमा भिडभाड हुन नदिन र काम व्यवस्थित गर्न पालिकाअनुसार आलोपालो प्रणाली लागू गरिएको बताए।
प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानले कार्यालयमा रितपूर्वक निवेदन दिनुपर्ने छ। निवेदन दिएपछि टोकन प्रणालीको आधारमा नागरिकता वितरण गरिने उनले बताए।
'सीमित जनशक्ति र साधनस्रोतले धेरै नागरिकलाई एकैपटक सेवा दिन असहज हुने भएकाले टोकन प्रणाली लागू गर्न लागिएको हो,' उनले भने।
जिल्ला प्रशासन कार्यालय भैरहवाबाट दुई सय, इलाका प्रशासन कार्यालय बुटवल र मझगावाबाट १/१ सय गरी दैनिक चार सय जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिने र यो कार्यलाई निरन्तरता दिँदै जाने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।
आइतबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादवले नागरिकता प्रमाणपत्रका लागि आइतबार १७ जनालाई सिफारिस गरिएको जानकारी दिए।
'सेवाग्राहीको सहजताका लागि शनिबार पनि वडा कार्यालय खोलेर सेवा दिन सुरू गरिएको छ,' यादवले भने।
आइतबार नागरिकता प्राप्त गरेपछि रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का गनेश धोवी खुसी थिए। २०६३ पुस १० मा जन्मिएका उनले नागरिकता नहुँदा मोबाइलको सिमकार्ड र सवारीसाधनको लाइसेन्स निकाल्न नपाएको बताए।
२०६० पुस ४ गते जन्मिएका सिद्धार्थनगर ४ कै साबिर अली तेलीले बीस वर्षमा नागरिकता पाएकामा खुसी व्यक्त गरे। उनीसँगै सिद्धार्थनगर ४ कै दीपक धवलले पनि आइतबार नयाँ कानुनअनुसार नागरिकता लिएका हुन्।