झापाको भद्रपुर नगरपालिकाकोे १२ औं बजेट अधिवेशनमा नगर सभाको गणपूरक संख्या नपुगेर स्थगित भएको छ।
पालिकाले शुक्रबार नगर सभा आव्हान गरेको थियो । नगर सभामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि अनुपस्थित रहे। जसकारण कार्यपालिकाको बहुमतले पारित गरेको नीति तथा कार्यक्रम गणपूरक संख्या अभावमा स्थगित भएको हो ।
५४ नगर सभाषद रहेको भद्रपुर नगरपालिकाले बोलाएको नगरसभामा गणपूरक संख्या पुग्न कम्तिमा २८ जना उपस्थित हुनुपर्ने कानुनी प्रावधान छ । तर, सभामा २२ जना मात्र नगर सभा सदस्य उपस्थित भएपछि शुक्रबारको नगरसभा स्थगित गरेर शनिबार (आज)लाई बोलाईएको भद्रपुर नगरपालिकाको सूचना शाखाले जनाएको छ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट, नीति तथा कार्यक्रम र प्रस्तावहरू छलफल गरी स्वीकृत गर्नका लागि अधिवेशन आव्हान गरिएको थियो । १२ औं अधिवेशनको यो बैठकमा नेकपा.एमालेका सबै र राप्रपाका दुई जना बोर्ड सदस्य अनुपस्थित रहेका थिए।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी र राप्रपाका सभाषदसहित २२ जनाको उपस्थिति रहेको नगरपालिकाको प्रशासन शाखाले जनाएको छ।
नगर प्रमुख गणेश पोख्रेलले पालिकामा गठित विभिन्न विधागत समितिका संयोजकले ल्याएको प्रस्ताव लत्याउँदै मनमर्जी गर्न थालेपछि नगरसभामा अनुपस्थित भएको नगर सदस्य सीता गुरागाईँले बताईन् ।
नगर प्रमुखले विधायन समिति र शिक्षा समितिले ल्याएको प्रस्तावलाई कार्यपालिका बैठकमा टेवल गर्न नदिएको गुरागाईँको आरोप छ। नगर शिक्षा समितिको समस्याकै कारण नगरको हिउँदे अर्थात ११ औ नगरसभा पनि हुन नसकेको नगर प्रमुखका प्रत्यासी समेत रहेका एमाले नेता असारु राजबंशीले बताए । उनले भने,‘ मेयरको हठका कारण नगर सभा स्थगित भएको हो ।’
नगर सदस्य समेत रहेका पालिकाका विधागत समितिका प्रमुखले ल्याएको प्रस्तावलाई टेबल नै गर्न नदिनु भद्रपुर नगरको विकासका लागि नगर प्रमुखको अनुचित कदम हो ।’ उनले सरोकारवाला निकाय र राजनीतिक दलका प्रतिनिधि संग संम्वाद र सहमति गरेर अघि बढे पालिकाको भलो हुने बताएका छन् ।
नगर प्रमुखले आफ्नो हठ नछोडे शनिवारपनि नगरसभा हुनसक्ने छाँट नदेखिएको राजबंशीले बताए । अहिले विभिन्न सरोकार र स्थानिय दलका प्रतिनिधि संग छलफल भइरहेको माधव विद्रोहीले बताएका छन् ।
सबैको अपनत्व हुने गरि नगरसभाले बजेट, नीति तथा कार्यक्रम र योजना ल्याए नगर प्रमुखको मात्र होइन भद्रपुर नगरकै गरिमा बढ्ने छ । तर, नगर प्रमुख नगरको हित गर्ने पक्षमा हुनुहुन्न,’ विद्रोहीले भने ।