पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले लगेको ५५ लाख रुपैयाँ जरिवानासहित फिर्ता गरेका छन्। अधिकारीले मंगलबार महानगरपालिका गएर आफ्नो व्यक्तिगत खातामा लगेको रकम फिर्ता गरेका हुन्।
पेश्की भन्दै महानगरबाट लिएको ५५ लाख रुपैयाँको जरिवाना स्वरूप २ लाख ४० हजार पनि उनले तिरेका छन्।
‘पेश्की लगेको रकम ३५ दिनभित्र फिर्ता नगरे जरिवाना लाग्छ,’ वडाध्यक्ष अधिकारीले भने,‘जसोतसो साथीभाइसँग सहयोग मागेर फिर्ता गरें।’
पोखरा महानगरले बनाउने भनेको प्रशोधन केन्द्रको जग्गा खरिद गर्न बैना दिने भन्दै महानगरले वडाध्यक्ष अधिकारीको खातामा उक्त रकम पठाएको थियो।
महानगरको गत पुस २५ गते बसेको कार्यपालिका बैठकको १३ नम्बर निर्णयले वडाध्यक्ष अधिकारीको खातामा उक्त रकम पठाउने निर्णय गरेको थियो।
राष्ट्रिय वाणिज्य बैंकमा रहेको महानगरको खाताबाट वडाध्यक्ष अधिकारीको एनआइसी एसिया बैंकको खातामा गत पुस २९ गते रकम पठाएको थियो।
रकम पठाएको झण्डै ५ महिना बितिसक्दासमेत जग्गा खरिद प्रक्रिया नै सुरू भएको थिएन।
सेतोपाटीले उक्त समाचार प्रकाशित गरेपछि महानगरका मेयर धनराज आचार्य र वडाध्यक्ष अधिकारीको तीव्र आलोचना भएको थियो।
समाचार प्रकाशित भएपछि वडाध्यक्ष अधिकारीले महानगरका मेयर आचार्यकै विशेष अनुरोधमा उक्त रकम लगेको भन्दै विज्ञप्ति जारी गरेका थिए।
वडाध्यक्ष अधिकारीले जग्गा धनीलाई बैना दिन भन्दै लगेको रकम अर्को व्यक्तिमार्फत् जग्गाधनीलाई वितरण गरेको पाइएको छ।
पोखरा–३३ का कृषि संजालका संयोजक चेतबहादुर महतमार्फत् पुँडिटारका जग्गाधनीलाई रकम वितरण गरेको पाइएको छ।
वडाध्यक्षले जग्गाधनीलाई दिनू भनेर रकम दिएकाले लगेर वितरण गरेको महतले बताए।
उनका अनुसार केही रकम नगद र केही बैंकमार्फत् वडाध्यक्ष अधिकारीले रकम दिएका थिए।
गाउँलेलाई पैसा दिए पनि कानुनी रूपमा गलत प्रक्रिया भएकाले रकम फिर्ता गर्नुपरेको वडाध्यक्ष अधिकारीले सेतोपाटीलाई बताए।
महानगरले पुँडिटारका १७ जनासँग ९६ रोपनी जग्गा प्रशोधन केन्द्रका लागि अधिग्रहण गर्ने तयारी गरेको छ। यसका लागि प्रमुख जिल्ला अधिकारी संयोजक रहने समितिको बैठक बसेर प्रक्रिया सुरू गरेको महानगरले जनाएको छ।
प्रक्रिया पूरा भएर जग्गाधनीले मुआब्जा पाएपछि अहिले वितरण गरेको पैसा फिर्ता लिने वडाध्यक्ष अधिकारीले बताए।
आफ्नो व्यक्तिगत पैसा गएकाले रकम फिर्ता लिने उनको भनाइ छ।
यो पनि:
पोखरा महानगरको ५५ लाख रुपैयाँ वडाध्यक्षको व्यक्तिगत खातामा