रूपन्देहीको तिलोत्तमा नगरपालिकाले तिनाउ नदीमा लगाएको ठेक्कामा अनियन्त्रित उत्खनन् भइरहेको छ।
चार दिन अघिदेखि तिनाउ नदीमा दिनहुँ सयौँ एक्साभेटर र टिपरले नदीजन्य पदार्थ उत्खनन् गर्ने र ओसार्ने काम गरिरहेका छन्।
तिलोत्तमा नगरपालिकाले गत फागुन २ गते तिनाउ नदीका विभिन्न सातवटा घाटक्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन्, घाटगद्दी र बिक्रीका लागि बोलपत्र आह्वान गरेको थियो।
सोहीअनुसार गत चैत २४ गते भएको नगरकार्यपालिका बैठकले आर्थिक वर्ष २०७९/८० को लागि तिनाउ नदीका विभिन्न ५ वटा घाटबाट नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का लगाउने निर्णय गरेको थियो।
कार्यपालिकाको उक्त निर्णयअनुसार वडा नं. ३ र ४ अन्तर्गत पर्ने तिनाउ नदीको डिंगरनगर घाट क्षेत्रबाट ५ लाख ४१ हजार घनफिट, वडा नं. ६ का गोरकट्टा घाटक्षेत्रबाट १३ लाख ६७ हजार र हरपुर घाटक्षेत्रबाट १६ लाख ८५ हजार, पहुनी घाटक्षेत्रबाट १ लाख ९० हजार र बाग्धुरा चम्कीपुर कौवा घाटक्षेत्रबाट १४ लाख १ हजार घनफिट नदीजन्य पदार्थ उत्खननको लागि कार्यादेश दिइएको थियो।
कुल ५१ लाख ८४ हजार घनफिट नदीजन्य पदार्थ उत्खननबाट ९ करोड ३३ लाख १२ हजार रुपैयाँ आम्दानी गर्ने नगरपालिकाको योजना थियो।
सोही योजना बमोजिम डिंगरनगर घाटबाट सिद्धबाबा निर्माण तथा डिप ट्युब वेल प्रालि, गोरकट्टा घाटबाट कोरल निर्माण प्रालि, हरपुर र पहुनीघाट क्षेत्रबाट बस्याल विन्दवासिनी निर्माण सेवा प्रालिले उत्खननको ठेक्का पाएका थिए।
ठेक्का पाएका कम्पनीहरूलाई नगरपालिकाले उत्खननका लागि गत वैशाख १७ गतेदेखि २७ गतेसम्मको कार्यादेश दिएको थियो। यीमध्ये पहुनीघाटबाट वैशाख २४ देखि २७ गतेसम्म र गोरकट्टा घाटबाट वैशाख १७ देखि २९ गतेसम्म उत्खननको कार्यादेश थियो।
कार्यादेशको अवधिअगावै निर्धारित परिमाणको उत्खनन् भइसकेको अनुमान गरेर नगरपालिकाले अन्य चारवटा घाटसँगै गोरकट्टा घाटक्षेत्रबाट पनि २७ गते नै उत्खनन् रोकेको थियो।
उत्खनन रोकिएपछि नगरपालिकाले उत्खनन् गरिएको परिमाण मापनका लागि जेठ ३ गते ‘ग्रीन टाइम कन्सल्ट प्रालि, बुटवल’ लाई जिम्मेवारी दिएको थियो।
ग्रीन टाइम कन्सल्टले डिंगरनगर, गोरकट्टा र हरपुरबाट तोकिएभन्दा ६ लाख ६० हजार २३ घनफिट कम परिमाण उत्खनन् भएको ठहर गरेर प्रतिवेदन दिएपछि यी घाट क्षेत्रमा फेरि पाँच दिनका लागि उत्खननको अनुमति दिइएको हो।
पहुनी घाटबाट भने तोकिएभन्दा ७ हजार ५११ घनफिट बढी परिमाणमा उत्खनन् भएको ठहर गरी प्रतिवेदन बुझाएको थियो। दोस्रो पटक जेठ २८ देखि मसान्तसम्म उत्खनन खुला गरिएपछि अहिले खोलामा एक्साभेटर र टिपरको लर्को लागेको छ।
ठेक्का सम्झौतामा नदीजन्य पदार्थ उत्खननका लागि एकपटकमा एउटामात्र साधन प्रयोग गर्नुपर्ने, उत्खनन् गरिएको पदार्थ घाटगद्दीसम्म ढुवानीका लागि एकपटकमा बढीमा ५ वटामात्र साधन प्रयोग गर्नुपर्ने, उत्खनन् गरिएको नदीजन्य पदार्थ सम्बन्धित घाटक्षेत्र नजिकै तोकिएको क्षेत्रमा मात्रै घाटगद्दी गर्नुपर्ने शर्त छ।
यस्तै, तोकिएको स्थानभन्दा अन्यत्र उत्खनन् गर्न नपाइने, तोकिएको क्षेत्र र परिमाण अनुसार उत्खनन् भएको छ कि छैन भन्ने रेखदेखका लागि नगरपालिका र सम्बन्धित वडाको अनुगमन समितिले नियमित अनुगमन गर्ने शर्त पनि छ।
नदीजन्य पदार्थ उत्खननको नियमित अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय लगायतको छुट्टै अनुगमन समिति रहने व्यवस्था पनि छ।
नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रहरी कार्यालयलाई पनि उत्खनन् ठेक्काको जानकारी गराएको छ।
उत्खनन् गर्ने कम्पनीले भने कुनै पनि शर्त पालना गरेका छैनन्। अनुगमन गर्नुपर्ने निकाय तथा नियामक निकाय पनि उदासीन रहेका छन्।
एकपटकमा एउटामात्र साधनले उत्खनन् गर्ने र ५ वटा साधनले मात्र ढुवानी गर्नुपर्ने शर्त रहे पनि सबैजसो घाटमा एकैपटकमा ५ वटा भन्दा बढी एक्साभेटर र २० वटाभन्दा बढी टिपरले काम गरिरहेका छन्।
गोरकट्टा क्षेत्रबाट एकै पटकमा कम्तीमा १० वटा एक्साभेटरले उत्खनन् र झन्डै सयवटा टिपरले ढुवानी गरिरहेका छन्।
ठेकेदारहरूले तोकिएको घाटगद्दीभन्दा बाहिर लगेर पनि थुपार्ने गरेका छन्। डिंगरनगर र गोरकट्टाबाट उत्खनन् गरिएको पदार्थ सम्बन्धित निर्धारित ठाउँमा थोरै थुपारेर बढी चाहिँ अन्यत्रै थुपारेका छन्। सिधै क्रसर उद्योगमा पनि पुर्याउने गरेका छन्।
पहुनी घाटक्षेत्रमा यसअघि नै तोकिएको परिमाण पूरा भइसकेकाले उत्खननको समय थपिएको छैन। ठेकेदारहरूले म्याद थपिएका घाटक्षेत्रको पदार्थ पहुनीमै लगेर थुपारेका छन्।
डिंगरनगर घाटबाट सिद्धबाबा निर्माण तथा डिप ट्युब वेल प्रालि र गोरकट्टा घाटक्षेत्रबाट कोरल निर्माण प्रालिलाई मात्र उत्खनन् र ढुवानीको अनुमति भए पनि बस्याल बिन्दवासिनी निर्माण सेवाले पनि यी दुवै घाटबाट उत्खनन गरिरहेका छन्।
ठेक्का लिएका कम्पनीहरूले अनुमति लिए बाहेकका घाटबाट पनि उत्खनन् गरिरहेका छन्।
बस्याल बिन्दवासिनी निर्माण सेवा प्रालिका सञ्चालक ढाकाराम बस्यालले नदी उत्खननमा गलत काम भएको स्वीकार गरे।
उनले भने, ‘खोलामा हामीबाट गल्ती भएकै हो। दोस्रोपटक थपिएको पाँच दिनको सदुपयोग गरिएको हो।’
तीनवटा कम्पनीले झन्डै १० करोड रुपैयाँ बुझाएर सीमित अवधिका लागि ठेक्का लिएकोले तीनवटै घाटबाट मिलेर उत्खनन् गरेको उनले बताए।
गत वैशाख २८ गतेदेखि तिनाउ नदीको किनार एक्साभेटर र टिपरले छपक्कै छोपिँदा पनि तिलोत्तमा नगरपालिका कार्यालय आँखा चिम्लिएर बसेको छ।
उत्खननका लागि दोस्रोपटक म्याद थप गर्ने निर्णय गरेर नगरपालिका प्रमुख रामकृष्ण खाण काठमाडौं गएका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल पनि म्याद थप गरेको दिनदेखि बिदामा बसेका छन्।
अर्यालले उत्खनन् अनुगमन तथा निरीक्षणको जिम्मेवारी वातावरण शाखाका प्रमुख इन्जिनियर युवराज पन्थीलाई दिएको बताए।
पन्थीले नगरपालिका र वडास्तरमा अनुगमनका लागि छुट्टाछुट्टै समिति गठन गरिएको र त्यहीँबाट अनुगमन भइरहेको बताए।
नदीजन्य पदार्थ उत्खनन अनुगमनका लागि नगरपालिकामा नगरप्रमुखको संयोजकत्वमा अनुगमन समिति रहेको हुन्छ। वडाहरूमा वडाध्यक्षको संयोजकत्वमा अनुगमन समिति हुन्छ।
घाटगद्दी गरिएको नदीजन्य पदार्थको परिमाण मापन गर्दा नगरपालिकाका प्राविधिक र सम्बन्धित वडाका जनप्रतिनिधि समेतको उपस्थिति हुनुपर्ने प्रावधान छ। सम्बन्धित वडाका जनप्रतिनिधिहरू परिमाण मापन गर्ने र उत्खननको समय थप गर्ने सबै काम नगरपालिकाबाटै भएको बताउँछन्।
वडा नं. ६ का वडाध्यक्ष गणेश पाठकले ठेक्का लगाउने, परिमाण मापन गर्ने र अनुगमन गर्ने सबै काम नगरपालिका कार्यालयले गरेको बताए।
कुनै पनि समितिले अनुगमन नगर्दा खोला उत्खननमा मनपरी भएको र जनप्रतिनिधिहरू मौन बस्दा ठेकेदारहरूको मनोबल बढेको स्थानीयवासीको आरोप छ।
वडा सदस्यहरू भने खोलामा सयौँ साधनले अनियन्त्रित उत्खनन् गरिरहे पनि वडा तहबाट रोक्न सक्ने अवस्था नभएको बताउँछन्।
‘टिपर र एक्साभेटरले तिनाउ खोला नै ढाकिएको छ, माथिबाटै मिलेमतोमा भइरहेको काममा हामी त्यहाँ गए असुरक्षित हुन्छौं,’ एक जना वडा सदस्य भन्छन्, ‘खोलाको मनपरी दोहन हेरेर बस्नेबाहेक अरू केही पनि गर्न सकिएन।’
असार १ गतेदेखि निकासी बन्द हुने भएपछि जेठको अन्त्यमा नदीमा मनपरी उत्खनन् भइरहँदा नगरपालिका कार्यालय मुकदर्शक बनेको छ।
तिलोत्तमाले वातावरणीय प्रभाव मूल्यांकन गरेर नदीजन्य पदार्थ निकासीको अनुमति दिएको बताए पनि खोलामा कहाँ कति उत्खनन् गरिएको छ र कहाँ घाटगद्दी गरिएको छ भन्ने समेत जानकारी लिएको छैन।