मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रो पटक प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।
प्रदेश सभाका सबै दलले विश्वासको मत दिएपछि उनी पहिलेभन्दा थप शक्तिशाली मुख्यमन्त्री बनेका छन्।
कुल १०७ सदस्यीय मधेश प्रदेश सभामा आज १०३ जना सांसद उपस्थित भएका थिए। ती मध्ये सबै सांसदले पक्षमा मतदान गरेको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे।
नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल, संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले सरोजकुमार यादवलाई विश्वासको मत दिएको हो।
यीमध्ये जसपा, कांग्रेस, लोसपा, जनमत, नेकपा एस र माओवादी सरकारमा सहभागी छन् भने बाँकी दलहरूले बाहिरबाटै सरकारलाई समर्थन गरेको हो।
प्रदेश सभामा एमालेका २४, कांग्रेस २२, जसपा १८, जनमत १३, लोसपा र माओवादीका ९-९, एकीकृत समाजवादीका सात सांसद छन्। नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक-एक जना सांसद छन्।
यस्तै दुई जना स्वतन्त्र सांसद छन्।
यसअघि पुरानो सत्ता समीकरणमा आवद्ध दल नेकपा एमालेले सरकारबाट बाहिरिएर दिएको समर्थन समेत फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन्।
नेकपा एमालेले केन्द्रको सरकार परिवर्तन भएसँगै सरकारबाट बाहिरिएको थियो।
सरकारबाट बाहिरिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
त्यसो नगरे सर्वोच्च अदालतमा रिट परी कानुनी अड्चन आउने भन्दै मुख्यमन्त्री यादवले आकस्मिक बैठक बोलाएर विश्वासको मत लिएका हुन्।
यादव गत पुस २७ गते नेकपा एमाले, जसपा र जनमत पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए।
विश्वासको मत माग्दै मुख्यमन्त्री यादवले ‘सबका साथ सबका विकास’ भन्ने नाराका साथ प्रदेशमा विकासका काम अघि बढाउने प्रतिबद्धता जनाए। उनले आउने दिनमा कुनै किसिमको भेदभाव नगरी जनतामुखी बजेट ल्याउने समेत बताए।
‘बजेट आइसकेपछि विनियोजन विधेयकमाथि व्यापक छलफल गरि बजेट जनतामा जाओस, विचौलीयामा नजाओस भन्ने हिसाबले प्रतिबद्धता व्यक्त गर्दछु। कुनै पार्टीसँग भेदभाव नगरी हामी काम गर्छौ,’ उनले भने।