नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षमा १० वकिलले बहस गरेका छन्।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा १० जनाले बहस गरेका हुन्।
बिहान ११ बजेदेखि सुरू भएको बहस साँझसम्म चले पनि थप वकिलहरूको बहस बाँकी रहेको हो।
अधिवक्ता पंकज कर्ण, अजय शंकर झा, नुरसिंह कार्की, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, प्रेमबहादुर खड्का, महादेव यादव, हरिहर दाहाल, मणिराम उपाध्याय, एकराज पोखरेल र रश्मी थापाले खाणको पक्षमा बहस गरेका थिए। आज अन्य कुनै प्रतिवादीका वकिलहरूले बहस गर्न भने पाएनन्।
खाणको पक्षमा आज अन्तिममा अधिवक्ता मणिराम उपाध्यायले बहस गरेका थिए।
उनले बहस सकाएलगत्तै न्यायाधीश न्यौपानेले सोधे- खाणको बयान सकियो होइन?
त्यसलगत्तै त्यहाँ उपस्थित वकिलहरूले एकै स्वरमा भने- छैन।
त्यसपछि न्यायाधीश न्यौपानेले दिनभरि बहस गरेर पनि नसकाएको भन्दै गुनासो गरेका थिए।
‘बिहान ११ बजेदेखि दिनभरि बहस गर्नुभयो अझैसम्म सक्नुहुन्न,’ उनले भने।
त्यसको जवाफमा खाणको पक्षमा बहस गर्न पुगेका पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायाधीशसँग भोलिसम्मको लागि समय मागेका थिए।
बारबाट उठेर खातीले भने, ‘हाम्रो त पालै आएको छैन।’
न्यायाधीश न्यौपानेले खाणलाई समय दिन्नँ समेत भनिसकेका थिए। समय नदिई अरू पर्खेर बसेका प्रतिवादीहरूलाई दिने बताएका थिए। तर खातीले सात जना वकिलहरू कुरेर बसेको बताए।
‘सात जना पालो कुरेर बसेका छौं। टिफिन अगाडिको समय माग गर्छु श्रीमान,’ खातीले समय मागे, ‘हामीले राम्रोसँग बहस गर्न त पाउनुपर्यो नि श्रीमान।’
त्यसो भनेपछि न्यायाधीश न्यौपानेले उनीहरूलाई १२ बजेसम्मको समय दिने बताएका थिए। तर खातीले खाजाभन्दा अघिसम्मको समय माग गरिरहेका थिए।
जवाफमा न्यायाधीश न्यौपानेले भने, ‘१२ बजेसम्मको लागि दिएँ। तपाईंहरूसँग अदालतले नसक्ने रहेछ। तपाईंहरूसँग अदालत निरीह भयो। तपाईंहरूले कुराहरू दोहोर्याउन नपर्ने गरी सकाउनुस्। अरू प्रतिवादीहरू तयार भइरहनुस्। ६ बजेसम्म बसेर भए पनि भोलि नै क्लियर गर्ने हो।’
अहिलेसम्म यस प्रकरणमा १२ जना प्रतिवादीको बयान सकिएको छ। जेठ ३१ गतेसम्ममा पुर्पक्षबारे निर्णय गर्ने बताए पनि अझै प्रतिवादी पक्षका वकिलहरूको बहस गर्न बाँकी नै छ।
अब खाणबाहेक शरणार्थी नेता टेकनाथ रिजाल, पूर्व सांसद आङटावा शेर्पा, शमसेर मियाँ, लक्ष्मी महर्जन र हरिभक्त महर्जनको बहस गर्न बाँकी छ।
यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।
थुनछेक बहस सकिएपछि उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने कि धरौटी वा साधारण तारेखमा छोड्ने भन्नेबारे इजलासले निर्णय गर्ने छ।
सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको थियो। १२ जना अझै फरार छन्।
फरार हुनेमा काठमाडौंका ३० वर्षका केशव तुलाधर, इटहरीका अशोक पोखरेल, मोरङका ३९ वर्षीय धिरेन राई र ललितपुर बस्ने दीपा हुमागाईं, इन्द्रजीत राईका छोरा निरज राई, ३० वर्षीय राजेश अर्याल, पाँचथरका ६० वर्षीय मोहनराज राई, काठमाडौंका २४ वर्षीय आशिष बुढाथोकी, मोरङकी ४० वर्षीया बिनिता सावदेन लिम्बू, रौतहटका ४२ वर्षीय निरन्जनकुमार खरेल, झापाका ३१ वर्षीय सुनिल बुढाथोकी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक छन्।
प्रहरीले पठाएको प्रतिवेदनका आधारमा सरकारी वकिलले जेठ १० गते उनीहरूविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गर्ने भएको हो।