सत्तारूढ नेकपा माओवादी केन्द्रले आज पनि मधेस प्रदेश सभा बैठक बहिष्कार गर्ने भएको छ।
आफूहरूका सुझाव सरकारको नीति तथा कार्यक्रममा नसमेटिएकोमा माओवादी असन्तुष्ट छ।
माओवादीले बिहीबार पनि प्रदेश सभा बैठक बहिष्कार गरेको थियो।
साथै माओवादीले गठबन्धनका केन्द्रीय नेताहरूबीच भएको सहमति मुख्यमन्त्री सरोजकुमार यादवले कार्यन्वयन नगरेको आरोपसमेत लगाएको छ।
शुक्रबार दिउँसो २ बजे बस्न लागेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।
‘हाम्रा सुझाव नीति तथा कार्यक्रममा समेटिएको पाइएन। केन्द्रका नेताहरूबीच भएको सहमति पनि सरकारले कार्यन्वयन गरेन। त्यसैले हामी आज पनि प्रदेश सभा बैठक बहिस्कार गर्छौं,’ माओवादी केन्द्रका एक प्रदेश सभा सदस्यले भने।
बिहीबार नीति तथा कार्यक्रममाथि सदनमा छलफल भएको थियो । छलफलमा सत्तारुढ दलहरूसँगै प्रतिपक्षी दलका अधिकांश सांसदले नीति तथा कार्यक्रमको आलोचना गरेका थिए।
सरकारले विभिन्न योजनाका रकम आर्थिक मसान्तको अन्तमा आएर रकमान्तर गरिरहेको प्रति पनि माओवादीको असन्तुष्टि छ। कमिसन लिएर अर्थ मन्त्रालयले विकासे योजनाको रकम निश्चित व्यक्तिको स्वार्थपूर्ति हुने कार्यक्रममा रकमान्तर गरिरहेको माओवादीको आरोप छ।
केन्द्रीय नेताहरूबीच भएको सहमति अनुसार दुई मन्त्रालय नपाएपछि पछिल्लो समय माओवादी सरकारसँग असन्तुष्ट छ। गत जेठ ९ गते संसदीय दलको बैठकले आफ्ना पार्टीका मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीले निर्णय गरेको थियो। तर माओवादीका मन्त्री फिर्ता भएका भने छैनन्।
शुक्रबार अपरान्ह ५ बजे बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच मधेश प्रदेशमा मन्त्रालय भागबण्डाको विषयमा छलफल हुने तयारी छ।
मधेसमा माओवादीलाई थप मन्त्रालय नदिए शनिबार मन्त्री फिर्ता बोलाउने ती प्रदेश सभा सदस्य बताउँछन्। सरकारमा माओवादीको तर्फबाट सुनिता यादव उद्योग वाणिज्य तथा पर्यटन मन्त्री र रहबर अन्सारी सोही मन्त्रालयका राज्यमन्त्री छन्।