नक्कली भुटानी शरणार्थी प्रकरण
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा सरकारी वकिलले अभियुक्त बनाएका इन्द्रजित राईका वकिलले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आधार नभएको भन्दै बहस गरेका छन्।
जिल्ला अदालत काठमाडौंमा चलिरहेको थुनछेक बहसमा आज उनका तर्फबाट बालकृष्ण ढकाल, प्रेमबहादुर खत्री, दिलकुमारी राईलगायतका वकिलले बहस गरेका थिए।
पूर्वगृहमन्त्री रामबहादुर थापा 'बादल'का सुरक्षा सल्लाहकार थिए इन्द्रजित राई।
उनले भुटानी शरणार्थी समस्या समाधान गर्ने समिति बनाउनका लागि भूमिका खेलेको, उक्त समिति बनाइसकेपछि सानु भण्डारी र केशव दुलालसँग पैसा लिएको, उनीहरूसँग मिलेर काम गरेको लगायतका आरोप सरकारी वकिलले लगाएको छ।
अधिवक्ता ढकालले जाहेरवालाले किटान नगरेको, उनले पैसा लिएको कुनै प्रमाण अभियोजनमा देखाउन नसकेकाले राईलाई पक्राउ गर्नुपर्ने थुनामा राख्नुपर्ने आधार नै नभएको तर्क गरे।
‘केशव दुलाल र सानु भण्डारीले बयानमा विभिन्न स्थानमा भेटेर पैसा दिएको भन्दै पोलेपछि राईलाई पक्राउ गरिएको छ। प्रहरीसँगको बयानमा पोल गरे पनि अदालतसमक्ष बयान गर्दा केशव र सानुले मेरो पक्षलाई पैसा दिएको भनेका छैनन्,’ उनले भने, ‘पोलेकै आधारमा गोस्वारा तरिकाले मेरो पक्षलाई अभियोग लगाइएको छ। मैले कसरी नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काम गरेँ भनेर अभियोगपत्रले भन्न सकेको छैन प्रमाण नै नपुगेको अवस्थामा मेरो पक्षलाई थुनामा राख्नुपर्ने आधार छैनन्।’
पूर्वगृहमन्त्रीको सुरक्षा सल्लाहकार भएकोले आरोप लगाइएका जस्ता काम गर्ने अधिकार राईलाई नभएको पनि अधिवक्ता ढकालको तर्क छ।
‘मेरो पक्षले सुरक्षा नीतिबारे गृहमन्त्रीलाई सल्लाह दिने काम गर्थे। शरणार्थीबारे कुनै यस्तो सल्लाह मन्त्रीलाई राईले दिनुभयो? त्यति त भन्नुपर्यो नि अभियोग लगाउनेले,’ उनले इजलास समक्ष भने, ‘सल्लाहकारको कुर्सीमा बसेकै कारणले दोषी हुन्छ अभियुक्त होइन्छ त श्रीमान?’
अभियोगपत्रमा विभिन्न समयमा जग्गा किनेको, बैंकमा तीन करोड भएको लगायतका उल्लेख भए पनि तिनको तथ्य अर्कै भएको उनले जिकिर गरे।
ललितपुरको ठेंचोमा सुबिना कार्कीबाट २०७८ साल वैशाख ६ गते इन्द्रजित राईको श्रीमती भुवन राईले किनेको जग्गाको मूल्य ७३ लाख छ। त्यो पैसा पनि बैंकबाट कर्जा लिइएको छ। तर प्रहरीले भने त्यो स्रोत अवैधानिक हो भनेर देखाउन नसकेको उनको भनाइ छ।
राईको खातामा ३ करोड पैसा भएको भन्ने दाबी लिए पनि त्यसको स्रोत आफूहरूले देखाउन सक्ने उनले बताए।
इन्द्रजित राईको खातामा सेनाको जागिरबाट निवृत्ति हुँदा १ करोडभन्दा बढी रकम आएको र २०७८ साल भदौ २१ देखि असोज ६ गतेसम्म जग्गा बेचेको पैसा आएको उनले बताए।
‘मेरो पक्षको सम्पत्तिको स्रोत यति पारदर्शी छ तर अभियोजनमा भने त्यसको यी स्रोतहरू खुलाइएको छैन। बिनाप्रमाण ठगेर कमाएको भनिएको छ,’ उनले भने, ‘मेरो पक्षलाई पाँच अभियोग लगाइएको छ तर प्रत्येक कसुरका अलगअलग प्रमाण हुनुपर्नेमा गोस्वारा तरिकाले अभियोग लगाइएको छ।’
त्यसैले उनले आफ्नो पक्षलाई साधारण तारेखमा छोड्न आग्रह गरे।
बरिष्ठ अधिवक्ता प्रकाशबहादुर खत्रीले आफ्नो पक्षलाई सरकारी वकिलले लगाएका आरोप गनेर बहस सुरू गरे।
‘श्रीमान मेरो पक्षलाई अभियोजनका मुख्य कुरा यस्ता छन्, शरणार्थी समस्याको सही समाधान गर्ने कुरा सुरू भएदेखि सक्रिय, सानु भण्डारी र केशव दुलालसँग पूर्वचिनजान भएको, उनीहरू र नेता लगायतलाई टेकनाथ रिजालसँग भेटघाटको मेसो मिलाएको, बालकृष्ण पन्थी समितिमा योग्यता नपुगेका गणेश केसीलाई नियुक्ति गरेको र पैसा लिएको,’ उनले भने, ‘यी अभियोगको पुष्टि हुने एउटै प्रमाण अभियोग पत्रमा छैनन्।’
उनले पनि हचुवाको भरमा राईलाई अभियोग लगाइएको बताए।
‘एउटा बेपत्ते डायरीमा मेरो नाममा तीन करोड पठाको हिसाब लेख्यो भन्दैमा अभियोग लगाउने?’ उनले प्रश्न गरे।
उनले फेरि सानु भण्डारी र केशव दुलाल लगायतका आफ्नो पक्षविरूद्ध प्रहरीमा पोल खोल्ने अदालतमा नपोल्ने कसरी भयो भनेर सोधे।
‘प्रहरीसँग कुन जादुको छडी छ र उसले छुनेबित्तिकै फररर सबको पोल खोल्छन् श्रीमान?’ उनले सोधे, ‘अदालतमा आएर त झन् सजिलो हुनुपर्ने। यहाँ भने त्यही मान्छेले प्रहरीमा बोलेको सबै कुरा अस्वीकार गर्छन्। त्यसैले हिरासतमा राज्यको शक्तिसामु लिइएको बयानलाई अदालतले स्वतन्त्र प्रमाण नमान्ने हो।’
‘प्रहरीले माया गरीगरी मिठो खुवाइखुवाइ बयान गरेको हो भने अदालतमा के भयो र इन्कार गरे? आफूले गरेका काममा प्रहरीका अघि पछुतो हुने अदालतमा आउँदा हुँदैन?,’ उनले थप प्रश्न गरे।
उनले प्रमाण नपुग्ने मात्र होइन आफ्नो पक्ष वृद्ध र रोगी भएकाले पनि अदालतले थुनामा पठाउन नहुने जिकिर गरे।
इन्द्रजित राईकी वकिल दिलकुमारी राईले भने उनका पेन्सन, बैंक ब्यालेन्स र त्यसको स्रोत, जग्गा खरिदका कागजात इजलासमा पेश गरिन्।
आफ्नो पक्षको मासिक र अन्य आम्दानी नै साढे ९ लाख हुने फेहरिस्त पनि उनले इजलासलाई बुझाइन्।
‘अभियोग पत्रमा लगाइएको आरोपभन्दा मेरो पक्षको कैयौं गुणा बढी वैध आम्दानी छ। मान्छे ठग्नुपर्ने अवस्था छैन,’ उनले भनिन्, ‘ठगी गर्ने मान्छे भएको भए उहाँलाई जिन्दगीमा योभन्दा अरू धेरै अवसर थिए। उहाँ इमानदारपूर्वक देशको सेवा गर्ने मान्छे हो। यसरी बिनाप्रमाण उहाँविरूद्ध लगाइएको अभियोग मिलेको छैन।’
आफ्नो पक्ष गृहमन्त्रीको सल्लाहकार भएको, आधिकारिक निर्णय गर्ने ठाउँमा नभएको, अभियोगकर्ताले उनको दोष रहेको पर्याप्त प्रमाण देखाउन नसकेको भन्दै उनले राईलाई थुनामुक्त गर्न माग गरिन्।
‘मेरो पक्षले प्रहरीदेखि अदालतसम्म यी सबै कसुरमा इन्कारी बयान गर्नुभएको छ। अरूले गरेको अप्रमाणित पोलका आधारमा अभियोग लगाउन पाइन्न,’ उनले भनिन्, ‘प्रहरीमा गरिएको कागज प्रमाणलाई स्वतन्त्र प्रमाण मान्न नसिकने भन्दै सर्वोच्चले पनि नजिर प्रतिपादन गरेको छ। यसै पनि थुनामा राख्नुपर्ने विकल्प अन्तिम विकल्प भएको सिद्धान्त छ। इजलासले न्यायिक मनले हेरोस्। मेरो पक्षलाई साधारण तारेख नभए कमभन्दा कम धरौटीमा छोड्नुपर्छ।’