काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै संगठित ठगी गरेको मुद्दामाथि थुनछेक बहस चलिरहेको छ।
यो मुद्दामा चलिरहेको बहस सुन्न काठमाडौंका विभिन्न हिरासतमा राखिएका अभियुक्तहरूलाई इजलासमा ल्याइन्छ।
पूर्व-उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थी टेकनाथ रिजाल, प्रकरणका मुख्य योजनाकार सानु भण्डारी र केशव दुलाललगायत १८ जना अभियुक्तले दिनभरी बहस सुन्छन्।
इजलासमा उनीहरू घरिघरि कानेखुसी गर्छन्। घरि एकअर्कालाई भेट्न बसिरहेको कुर्ची फेर्छन्। घरि उठेर इजलास बाहिरसम्म पुगेर आउँछन्।
मंगलबारको अन्तिम बहस चलिरहेकाबेला त्यसरी नै आफू बसेको कुर्चीबाट उठेर अभियुक्त सन्देश शर्मा बाहिर जान लागेका थिए।
इजलासको पछाडि पट्टीको ढोकामा उभिएका प्रहरीले उनलाई सोधे- कहाँबाट (कुन हिरासतबाट) आएको ?
‘राजा बस्ने ठाउँबाट...’ शर्माले जवाफ दिए।
प्रहरीले बुझे दरबारमार्गको हिरासतमा राखिएको रहेछ। त्यही हिरासतका प्रहरीलाई ढोकामा आउन इसारा गरे।
यसो किन गरेको भने प्रत्येक अभियुक्त कम्तिमा एक जना प्रहरीको जिम्मामा हुन्छन्। इजलासबाहिर शौचालय जाँदा पनि प्रहरीले नै लिएर जानुपर्छ।
नक्कली शरणार्थी बनाउने प्रकरणका अभियुक्तहरूलाई काठमाडौंका विभिन्न हिरासतमा राखिएको छ। बहस सुन्न आउँदा उनीहरूको भेट इजलासमा हुन्छ।
इजलासमा बस्दा पनि प्रायजसो नछुटिइ बस्छन्- सानु भण्डारी र केशव दुलाल।
इजलासको पछिल्लो सिटमा बसेर बहस सुन्दासुन्दै बेला बेला सानो स्वरमा कुरा गर्छन्। उनीहरू धेरैजसो सन्दिप रायमाझी, सन्देश शर्मा, टंक गुरूङ, टेकनाथ रिजालसँग गफ गरिरहेको देखिन्छ। भुटानी शरणार्थी नेता टेकनाथ रिजाल शान्त मुद्रामा बसेको देखिन्थ्यो।
आफू बसेको सिटबाट धेरै यताउता हिँडिरहने सन्दीप रायमाझी र सन्देश शर्मा हुन्। उनीहरूले ध्यानपूर्वक बहस सुनेको देखिन्न।
बहस सुनिरहे पनि बेला बेला टाउको घुमाएर यताउता हेर्छन् टोपबहादुर रायमाझी। उनको हातमा सानो कागजको चिर्कटो हुन्छ। बेलाबेला केही लेख्छन्।
सोमबार धेरैजसो बहस सुनेरै बिताएका पूर्वगृहसचिव टेकनारायण पाण्डेले मंगलबार भने कापीमा केही लेखिरहेका थिए।
इजलासमा सबभन्दा धेरै चुपचाप लागेर बहस सुन्छन्– पूर्वगृहमन्त्री बालकृष्ण खाण र इन्द्रजित राई। खाण सबैभन्दा धेरै विचलित देखिन्छन्। उनी बस्दा समेत सहज देखिन्नन्। कि इजलासतिर फर्केर बहस सुन्छन्। कि उठेर शौचालय जान्छन्। उनी यताउता कम हेर्छन्।
मंगलबार जाहेरवालाका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले खाण आफ्ना सहपाठी भएको कुरा इजलासमा सुनाए।
तर आफू भने राज्यविरूद्धको यस्तो अपराध भएको देख्न नसकेर जाहेरवालाको तर्फबाट बहस गर्न आएको पनि उल्लेख गरे।
आफ्ना सहपाठी खाणबारे बोल्दै उनले भने- जीवनमा मान्छेलाई मौकाले नै चुलीमा पुर्याउँछ र भुँईमा पछार्न बेर लगाउँदैन।
त्यसैले मौकालाई चिन्नुपर्छ श्रीमान्। बालकृष्णजीलाई कति ठूलो मौका थियो। युएनएचसिआरले नै भुटानी शरणार्थीलाई पुनर्वासमा पठाउन बन्द गरिसकेको थियो। आफू गृहमन्त्री भएपछि शरणार्थीहरूलाई विदेश पठाउन चलेको यो केस उहाँले रोक्न सक्नुहुन्थ्यो।
उनले अघि भने- ओहो यस्तो अपराध गर्नेहरूलाई त अनुसन्धान गर्नुपर्छ भनेर उहाँले नै यसमा निर्देशन दिएको भए आज उहाँ सबै नेपालीको नेता बन्नुहुन्थ्यो। त्यो अवसर गुमाएर यस्तो काममा आफैं लाग्नुभयो।
उनले यसो भन्दा खाणको अनुहार नराम्ररी खुम्चियो।
वरिष्ठ अधिवक्ता श्रेष्ठले नागरिकलाई विदेशी त्यसमाथि विदेशी शरणार्थी बनाएर विदेश पठाउन राज्य संयन्त्र चलाउने व्यक्तिहरू नै लागेकाले यो गम्भीर अपराध भएको बताए। त्यसैले यो मुद्दामा मुछिएका कसैलाई पनि मानवीय पक्ष समेत हेर्न जरूरी नभएको उनको भनाइ थियो।
‘हामीले प्रजातन्त्र ल्यायौं, लोकतन्त्र आयो अझ गणतन्त्र ल्यायौं श्रीमान्। एकपछि अर्को राम्रा व्यवस्था आए तर हुनुपर्ने जति परिवर्तन मुलुकमा भएको छैन। किनभने राज्य संयन्त्रलाई कसरी ध्वस्त पारिएको रहेछ भन्ने कुरा यो प्रकरणले देखाउँछ। गृहमन्त्रालयकै संयन्त्रमा भएको यो अपराधमा निकै गम्भीर हो। यी प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्छ,’ उनले भने। बाटोबाटो चोकचोकले यो मुद्दालाई कसरी अघि बढाइन्छ भन्ने कुरामा आँखा फारेर बसेको उनले बताए।
‘इजलासलाई कुनै यान्त्रिक छिद्र देखाउँलान्। कसैले बिरामी भएँ भन्लान्। मानवीय संवेदनाको पक्ष हेर्दा पनि धरौटी वा तारेखमा छोड्नुपर्छ कि भन्ने लाग्ला तर समाजमा यसको असर के हुन्छ भन्नेमा पनि इजलासले सोच्नुपर्छ,’ उनले भने।
अभियुक्तमध्ये टेकनाथ रिजालले त अदालतमा आएर सरकार चलाउने उच्चपदस्त नेतालाई भेटेर कुरा गरेको भन्दै दिएको बयान हेर्न उनले इजलासलाई आग्रह गरे।
‘शरणार्थी नेता रिजालले आफू सरकारमा बसेका उच्चपदस्थ नेताको कुरा सुनेर काम गरेको बताउनुभएको छ। उहाँले बयानमा भन्नुभएको छ- शरणार्थीको समस्या समाधान गरिदिन भन्न टोपबहादुरसँग एमाले अध्यक्ष केपी ओलीको घरमा गएको छु भन्नुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवासमा गएर पनि कुरा गरेको बयानमा छ। मैले जे गर्नुपर्ने हो त्यो टोपबहादुरजीले गर्नुहुन्छ भन्ने कुराकानी भएको भन्ने प्रचण्डको भनाइलाई उहाँले बयानमा सम्झिनुभएको छ,’ उनले भने, ‘उच्च पदस्त व्यक्तिले भनेअनुसार मैले कागजातमा सहि गरिदिएको हुँ भन्नुभएको छ।’
राज्य संयन्त्र चलाउनेहरूको संलग्नता भएकाले यो ‘ह्वाइटकलर क्राइम’ भएको उनको तर्क थियो।
आजको बहसमा जाहेरवालाका वकिल स्वागत नेपाललाई न्यायाधीश न्यौपानेले सोधे- जाहेरी दिनेहरू पनि त नक्कली शरणार्थी बन्न तयार थिए। उनीहरूको पनि त दोष देखिन्न र?
अधिवक्ता नेपालले जवाफमा भने- जाहेरवालालाई त अमेरिका लैजाने प्रलोभन देखाइएको थियो। कतिलाई त नक्कली भुटानी शरणार्थी बनेर जाने भन्ने थाहा पनि थिएन श्रीमान्।
भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने लोभ मात्र देखाएर पैसा असुलिएको उनको जिकिर छ।
‘अमेरिका पठाउन पो उनीहरूले नसकेका हुन्। पैसा त लिइसकेका छन्। ठगी कस्तो अपराध हो भने, ठग्ने मान्छेलाई सुरूदेखि सबै थाहा हुन्छ। ठगिनेले भने पछि थाहा पाउँछ, ’ उनले भने, ‘यसमा पनि जाहेरवालाहरू ठगिएको पछिमात्र थाहा पाएका छन्।’
उनले पनि यो ह्वाइट कलर क्राइम भएकाले निकै संवेदनशील हुनुपर्ने तर्क गरे।
‘पूर्वगृहसचिव र योजनाकारहरू बीचमा भएका संवादहरू छन्, गृहमन्त्रीका सल्लाहकार नरेन्द्र केसीको मोबाइल हेर्दा ४९ पटक फोन कलहरू भएको देखिन्छ पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने प्राप्त प्रमाण यीनै हुन्।’
टोपबहादुर रायमाझीले आफ्नो खातामा पैसा आएको तर कसले पठाएको स्रोत थाहा नभएको बयान गरेको तथा उनको र सन्दीपको नाममा काटिए भनेको चेक भेटिएको तथ्य प्रस्तुत गर्दै भने- यीनै हुन् प्रतिवादीहरूलाई थुनामा पठाउनुपर्ने तत्काल प्राप्त प्रमाण।
उनले अनुसन्धानका क्रममा भेटिएका मेसेज फोन कल, भिडिओ, कागजातहरू नै सबै प्रतिवादीलाई थुनामा पठाउनुका लागि आधार बन्ने तत्काल प्राप्त प्रमाण भएको जिकिर गरे।
‘शरणार्थी प्रकरणको निर्णय गर्ने मन्त्रिपरिषदलाई भएको अधिकार उसलाई थाहै नदिइ मन्त्रीस्तरबाट गरिएको छ। शरणार्थीहरूको समस्या समाधान गर्ने भनिएको पुरानो सरकारको प्रस्ताव नयाँ मन्त्री आएपछि व्युँताइएको छ। मन्त्रिपरिषदलाई ढाँटेर सर्वसाधारणलाई ठगेर गरिएको यो अपराध गम्भीर छ श्रीमान्,’ उनले भने, ‘त्यसैले सबैलाई थुनामा राखेर मुद्दा अघि बढाउन अनुरोध छ।’
बहसका क्रममा अधिवक्ता हरिप्रसाद खरेलले यस प्रकरणमा बयानमा पोलिएका व्यक्तिहरूमाथि अनुसन्धान गर्न अदालतले आदेश दिनुपर्ने माग गरे।
उनले माग गर्नुअघि भूमिका बाँध्दै जिल्ला अदालतमै विचाराधीन एउटा ठगी मुद्दालाई उदारणको रूपमा पेश गरे।
‘ठगीसम्बन्धी त्यो मुद्दामा दुई जनालाई अभियुक्त बनाएर लगियो। त्यसपछि बयानका क्रममा अभियुक्तले अर्का एक जनाको पनि नाम पोलेका थिए। वकिलले पनि बहस गरेको सुनेर इजलासले ती व्यक्तिमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो,’ उनले बहस गर्ने क्रममा भने।
त्यसैगरी यो मुद्दामा प्रतिवादीहरूले बयानका क्रममा पोलेका थप व्यक्तिहरूमाथि अनुसन्धान गर्न अदालतले आदेश दिनुपर्ने उनको जिकिर थियो।
‘यस प्रकरणमा पनि प्रतिवादीहरू सानु भण्डारी, केशव दुलाल र टेकनाथ रिजाल लगायतले पैसा बुझाएको भनेका व्यक्तिहरूको नाम पोलेका छन्। अजयक्रान्ति शाक्य, आरणु राणा, मञ्जु खाण, बेचेन झा, प्रधानमन्त्री प्रचण्ड, केपी शर्मा ओली, प्रेमकुमार राई लगायत सबैलाई पोलेका छन्,’ उनले भने, ‘आफूहरूले कुन कुन नेतालाई भेटेँ भनेर टेकनाथ रिजालले बयानमा खुलाएको देखिन्छ। पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा र प्रचण्डलाई निवासमै गएर टोपबहादुर रायमाझीले भेटाएको भन्ने छ। उनीहरूमाथि पनि अनुसन्धान गर्न अदालतले आदेश दिनुपर्छ।’
उनले थपे, ‘उनीहरूले बारम्बार ती व्यक्तिहरूलाई पोलेका छन्। यो मुद्दा राष्ट्रिय गरिमामा क्षति पुर्याउने खालको हो। अदालत कन्भिन्स भए उनीहरूमाथि अनुसन्धान गर्न आदेश दिन सक्छ।’
यस्तै बहसको क्रममा प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुनेसक्ने तथा जाहेरीकर्ताको सुरक्षामा समेत खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल सरकारी वकिलले प्रस्तुत गरेका थिए।
आइतबारदेखि यस प्रकरणको थुनछेक बहस सुरू भएको हो।
मंगलबारसम्म सरकारी वकिल र जाहेरवाला पक्षका वकिलहरूले बहस गरेका हुन्।
बुधवार प्रतिवादी तर्फका वकिलहरूले बहस गर्ने छन्।
त्यस्तै, उनिहरूको बहसपछि सरकारी वकिलको जवाफि बहस हुनेछ। त्यसपछि न्यायाधीशले अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा अघि बढाउने कि धरौटी वा सामान्य तारेखमा छाड्ने भन्ने आदेश गर्नेछन्।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरूद्धको आरोप गरी चार वटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौंमा यही जेठ १० गते मुद्दा दायर गरेको थियो।