नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार सरकारी वकिल र जाहेरवालाका वकिलले बहस सकाएका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा तीन जना सरकारी वकिलले बहस गरे। आजै जाहेरवालाका तर्फबाट छुट्टै वकिलहरूले पनि बहस गरेका छन्।
जाहेरवाला पक्षबाट ६ जना वकिलले बहस गरेका हुन्।
अधिवक्ताहरू सुशिल शर्मा सापकोटा, दीपकराज रेग्मी, स्वागत नेपाल, हरिप्रसाद खरेल, राधिका चौलागाईं र वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले बहस गरे।
बहसका क्रममा अधिवक्ता हरिप्रसाद खरेलले यस प्रकरणमा बयानमा पोलिएका व्यक्तिहरूमाथि अनुसन्धान गर्न अदालतले आदेश दिनुपर्ने माग गरेका छन्।
उनले माग गर्नुअघि भूमिका बाँध्दै जिल्ला अदालतमै विचाराधीन एउटा ठगी मुद्दालाई उदारणको रूपमा पेश गरे।
‘ठगीसम्बन्धी त्यो मुद्दामा दुई जनालाई अभियुक्त बनाएर लगियो। त्यसपछि बयानका क्रममा अभियुक्तले अर्का एक जनाको पनि नाम पोलेका थिए। वकिलले पनि बहस गरेको सुनेर इजलासले ती व्यक्तिमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो,’ उनले बहस गर्ने क्रममा भने।
त्यसैगरी यो मुद्दामा प्रतिवादीहरूले बयानका क्रममा पोलेका थप व्यक्तिहरूमाथि अनुसन्धान गर्न अदालतले आदेश दिनुपर्ने उनको जिकिर थियो।
‘यस प्रकरणमा पनि प्रतिवादीहरू सानु भण्डारी, केशव दुलाल र टेकनाथ रिजाल लगायतले पैसा बुझाएको भनेका व्यक्तिहरूको नाम पोलेका छन्। अजयक्रान्ति शाक्य, आरणु राणा, मञ्जु खाण, बेचेन झा, प्रधानमन्त्री प्रचण्ड, केपी शर्मा ओली, प्रेमकुमार राई लगायत सबैलाई पोलेका छन्,’ उनले भने, ‘आफूहरूले कुन कुन नेतालाई भेटेँ भनेर टेकनाथ रिजालले बयानमा खुलाएको देखिन्छ। पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा र प्रचण्डलाई निवासमै गएर टोपबहादुर रायमाझीले भेटाएको भन्ने छ। उनीहरूमाथि पनि अनुसन्धान गर्न अदालतले आदेश दिनुपर्छ।’
‘उनीहरूले बारम्बार ती व्यक्तिहरूलाई पोलेका छन्। यो मुद्दा राष्ट्रिय गरिमामा क्षति पुर्याउने खालको हो। अदालत कन्भिन्स भए उनीहरूमाथि अनुसन्धान गर्न आदेश दिन सक्छ,’ उनले भने।
यस्तै बहसको क्रममा प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुनेसक्ने तथा जाहेरीकर्ताको सुरक्षामा समेत खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल सरकारी वकिलले प्रस्तुत गरेका थिए।
आइतबारदेखि यस प्रकरणको थुनछेक बहस सुरू भएको हो।
मंगलबारसम्म सरकारी वकिल र जाहेरवाला पक्षका वकिलहरूले बहस गरेका हुन्।
अब प्रतिवादी तर्फका वकिलहरूले बहस गर्ने तयारी छ।
उनीहरूले अर्को मंगलबारसम्म बहस गर्ने समझदारी समेत भएको थियो। त्यस्तै, बुधबार सरकारी वकिलहरूले जवाफी बहस गरेपछि न्यायाधीशले प्रतिवादीहरूलाई पुर्पक्ष गर्ने कि धरौटीमा छाड्ने भन्ने आदेश गर्नेछन्।
मंगलबार पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरूद्धको आरोप गरी चार वटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौंमा यही जेठ १० गते मुद्दा दायर गरिएको थियो।