सिंहदरबारमा नयाँ संसद भवन निर्माणको काम धमाधम भइरहेको छ।
यसैक्रममा सभामुख देवराज घिमिरेले आज निर्माणाधीन भवनको निरीक्षण गरेका छन्।
उनले संसद भवनको काम निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन समेत दिएका छन्।
उनले अहिले ठेक्का प्राप्त समयको हिसाबले काम कम भएको बताए।
उनले अबका दिनमा कामले गति लिने विश्वास व्यक्त गरे। उनले विगतका प्रतिकूलतालाई अनुकूलतामा बदलेर तोकिएको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘समयको हिसाबले काम कम छ, तर अब यसले गति लिन्छ, सबै लाग्नुपर्छ, बन्नुपर्छ समयमा नै। यो राष्ट्रको आवश्यकता हो। हिजोका प्रतिकूलतालाई अब अनुकूलतामा बदलेर समयमा नै काम सक्नुपर्छ। अब अनुकूलता सबै ठाउँमा छ। यसले अब समयमा नै काम सकिन्छ।’
सभामुख घिमिरेले वर्तमान अवस्थामा देशको अर्थतन्त्र सन्तोषजनक नरहे पनि संसद भवन निर्माण कार्यका लागि सरकारले भुक्तानी गर्न आनाकानी नगरेको बताए।
उनले सबै भुक्तानी समयमा नै दिइरहेकाले निर्माण पक्षले पनि सरकारको आवश्यकतालाई बुझेर निर्माण कार्य समयमा नै सम्पन्न गर्नुपर्ने बताए।
उनले मन्त्रालय र ठेकेदार कम्पनीले एकले अर्कोलाई दोष लगाउनु भन्दा आफ्नो काम सम्पन्न गर्नेकुरामा बढी जोड हुुनुपर्ने बताए।