नेपाल भारतबीचको आयात निर्यातलाई सहज बनाउन नेपाल भारत सीमानाका बेलहियामा निर्माण गर्ने भनिएको एकीकृत भन्सार जाँचचौकी (आइसिपी) को शिलान्यास गरिएको छ।
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार संयुक्त रूपमा स्वीच थिचेर आइसिपीको शिलान्यास गरेका हुन्।
आइसिपी निर्माणका लागि सन् २००५ मा नेपाल र भारतका बीचमा सहमति भएको थियो।
दुई मुलुकबीच हुने आयात निर्यात सहजीकरण गर्न भन्दै भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा आइसिपी निर्माणको लागि सहमति भए पनि १८ वर्षसम्म जग्गा समेत हस्तान्तरण हुन सकेको थिएन।
नेपालका मुख्य भन्सार नाकाहरू वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र विराटनगरमा एकीकृत जाँच चौकी (आइसिपी) निर्माणको लागि सम्झौता गरिएको थियो। वीरगञ्ज र विराटनगरमा भारतीय लगानीमा निर्माण गरी सञ्चालनमा आइसकेका छन् भने नेपालगञ्जमा पनि निर्माणको अन्तिम चरणमा छ।
भैरहवामा भने गत माघमा भारतीय निर्माण कम्पनीलाई जमिन हस्तान्तरण गरिएको थियो।
दुई देशबीच भएको सम्झौता बमोजिम नेपालको तर्फबाट गरिनु पर्ने जग्गा अधिग्रहणको काम डेढ दशक अघि नै सकिए पनि भारतीय पक्षले ढिलाइ गर्दै आएको थियो।
माघमा नेपाल सरकारले भारतीय कम्पनी के.एस.एम. वसिर मोहम्मद एण्ड सन्स, लखनउ र कन्सल्टेन्ट राइट्स कम्पनीलाई आइसिपी निर्माणका लागि नेपालतर्फको जमिन हस्तान्तरण गरेपछि उसले गोदाम घर, कार्यालय र कर्मचारी आवास गृह गरी चार वटा भवन निर्माण गरिरहेको छ।
आइसिपी निर्माणका लागि १५ वर्ष पहिले नै नेपालतर्फको ५२ विघा जमिन अधिग्रहण गरिएको थियो। भारततर्फ बस्ती बाक्लो भएका कारण स्थानीयले जग्गा छोड्न नमानेपछि पहिले तोकिएको स्थानभन्दा केही पश्चिमतर्फ आइसिपी निर्माण सुरू गरिएको छ।
भारतले पहिला तोकिएको ठाउँभन्दा पश्चिमतर्फ ५२ हेक्टर जमिन अधिग्रहण गरि पर्खाल लगाउने काम सुरु गरेको जनाएको छ।
सन् २००५ मा नेपाल–भारत सरकारबीच आयोजनाका लागि नेपालतर्फ आवश्यक पर्ने जमिन बाहेक प्राविधिकसहितको सम्पूर्ण निर्माण कार्य भारत सरकारको लगानीमा गर्ने सम्झौता भएको थियो।
सम्झौता अनुसार भारतीय निर्माण कम्पनीले अबको २० महिनामा आइसिपी निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गर्नुपर्ने हुन्छ।
संघीय आयोजना कार्यान्वयन इकाई भैरहवाका अनुसार १ अर्ब ६१ करोड ७६ लाख भारतीय रुपैयाँमा आइसिपी निर्माण हुनेछ।
भारतबाट नेपाल प्रवेश गर्न मालबाहक सवारीलाई एक हप्ता बढी लाग्ने र नेपाल प्रवेश गरेपछि पनि भन्सार विन्दुमा दुई/तीन दिन लाग्ने समस्या छ। यही समस्या नहोस् भनी दुबै देशका अधिकारीहरूले आइसिपी निर्माणको लागि सहमति गरेका थिए।
नियमानुसार भारतमा सामान लोड भएको एक हप्ताभित्र मालबाहक गाडी नेपाल प्रवेश गरिसक्नु पर्ने हुन्छ।
सीमा पार नगरे दैनिक भारतिय एकहजार रुपैयाँ बढि डिटेन्सन चार्ज र नेपाल आएर एक दिनमा भन्सार पास नभए सवारी लोडका आधारमा ३ सयदेखि एक हजार ६ सय रुपैयाँसम्म डेमरेज चार्ज तिर्नुपर्छ।
आईसीपी एकद्वार प्रणाली भएको र यसको निर्माणपछि भन्सारसम्बन्धी सम्पूर्ण सुविधा एकैठाउँमा उपलब्ध हुने भएकोले आयातकर्ताहरुलाई विभिन्न कार्यालय धाउनुपर्ने बाध्यता हट्ने छ। त्यस्तै मालवाहक गाडीलाई घण्टौंसम्म लाइन लागेर राख्नुपर्ने बाध्यता हट्दा अहिलेको पार्किङको समस्या समेत अन्त्य हुने छ।
हाल डेढ सय सवारी पार्किङ गर्ने क्षमता रहेको बेलहिया भन्सार कार्यालयमा आईसीपी बनेपछि एक हजार गाडी पार्किङ गर्न सकिने छ।