सोमबार संघीय सरकारको बजेट ल्याएको छ।
अर्थमन्त्री प्रकाशसरण महतले प्रस्तुत गरेको बजेटमा कर्णालीका पनि विभिन्न मुद्दा समावेश भएका छन्।
कृषि, विद्युत, नदी नियन्त्रण, सिंचाई, शहरी योजना, भौतिक पूर्वाधार, खानेपानी, मेडिकल पुर्वाधार, नागरिक उड्ड्यन, पर्यटन, खाद्य सुरक्षा, खानी लगायतका कर्णालीका योजना बजेटमा समावेश गरिएको छ।
कृषितर्फ कर्णालीका विभिन्न जिल्लामा उत्पादन हुने मार्सी धान, जौं, फापर, कागुनो, सिमी खाद्या व्यापार कम्पनीमार्फत खरिद गर्ने, सुर्खेतमा कृषि उपज, थोक बजारका लागि विषादी परीक्षण सेवा सुरू गर्ने संघीय बजेटमा उल्लेख गरिएको छ।
खानीतर्फ दैलेखको पेट्रोलियम पदार्थ अन्वेशन तथा उत्खनन् कार्य अघि बढाउने, खाद्य सुरक्षातर्फ कर्णाली प्रदेशका दुर्गम क्षेत्रहरूमा खाद्यान्न आपूर्ति सहजताका लागि आधुनिक गोदाम घर निर्माण गर्ने बजेट भाषणमा उल्लेख छ।
पर्यटनतर्फ रुकुम र डोल्पाका सांस्कृतिक सम्पदालाई पर्यटनमा जोडिने गरी पर्यटनमार्ग बनाउने, सल्यानको छत्रेश्वरी, जुम्लको चन्दनाथ, दैलेखको पञ्चकोशी क्षेत्रको संरक्षण तथा पुर्वाधार विकास गरी सौन्दर्यीकरण गर्ने उल्लेख गरिएको छ।
रूकुमको चौरजहारी विमानस्थल र जुम्लाको विमानस्थल स्तरोन्नति गरिने बजेटमा उल्लेख छ।
यस्तै मेडिकल पूर्वाधारतर्फ सुर्खेतमा मेडिकल कलेज स्थापना प्रक्रिया अगाडि बढाउन बजेट विनियोजन गरिएको छ भने सुर्खेतमा निर्माणाधीन प्रादेशिक सरुवा रोग अस्पताल निर्माण गरी आगामी बर्षदेखि सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहनेगरि दैलेखको आठविस नगरपालिकास्थित राकममा १०० शैय्याको स्याटलाइट अस्पताल निर्माण गर्ने पनि बजेटमा उल्लेख छ।
सुर्खेतको पञ्चपुरी र दैलेखको महाबुमा खानेपानी आयोजना निर्माणका लागि बजेट विनियोजन गरिएको छ। प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकामा खानेपानी सहज उपलब्धताका लागि भेरी पम्पिङ आयोजनालाई तिव्र रूपमा अघि बढाउने उल्लेख छ।
भौतिक पूर्वाधारतर्फ मध्यपहाडी राजमार्गअन्तर्गत जाजरकोट खण्ड स्तरोन्नति तथा निर्माण गर्ने, मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत खण्डको स्तरोन्नति गर्ने, यही वर्षभित्र हुम्लाको सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न तिव्र गतिमा कार्य गर्ने संघीय बजेटमा उल्लेख छ।
यस्तै कर्णाली करिडोरअन्तर्गत खुलालु, सल्लीसल्ला र हिल्सा खण्ड निर्माण तथा स्तरोन्नतिको लागि ९७ करोड रुपैयाँ विनियोजन गरिएको छ। भेरी करिडोरअन्तर्गत जारकोटदेखि डोल्पा सदरमुकामसम्मको सडक स्तरोन्नति गर्न ५० करोड रुपैयाँ विनियोजन गरिएको छ।
राप्ती राजमार्गको दाङ–सल्यान–रुकुम सडक स्तरोन्नतिका लागि ९० करोड विनियोजन गरिएको छ भने कोहलपुर–सुर्खेत सडक विस्तारका लागि पनि बजेट विनियोजन गरिएको बजेट भाषणमा उल्लेख छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत नयाँ शहरभित्र पर्ने रुकुम पश्चिमको चौरजहारीमा शहरी पूर्वाधारका लागि बजेट विनियोजन गरिएको छ। यस्तै सुर्खेतको पूर्वी भेगमा परिकल्पना गरिएको भेरीगंगा उपत्यका नमुना आधुनिक शहरको विकासका लागि गुरुयोजना पूरा गरी कार्य अघि बढाइने संघीय बजेटमा उल्लेख छ।
सिंचाईतर्फ भेरीबबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका हेडवर्क्स तिव्र गतिमा निर्माण गर्न १ अर्ब ७४ करोड बजेट विनियोजन गरिएको छ। कर्णालीका १० जिल्लाका खेतीयोग्य जमिनमा सिंचाई सुविधा उपलब्धताका लागि लिफ्टमार्फत सिचाई उपलब्ध गराउन ‘एकीकृत कर्णाली सिँचाई विकास आयोजना’ सञ्चालन गर्ने उल्लेख छ। उक्त आयोजनाबाट कर्णालीका रैथाने बाली उत्पादन र प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको अर्थमन्त्री महतले बताए।
कर्णाली नदीमा कर्णाली नदीमा जोखिम नियन्त्रणका लागि बजेट विनियोजन गरिएको उनले बताए।
विद्युतका ठूला पूर्वाधारमा पनि यो वर्षको बजेटमा कर्णालीलाई सम्बोधन गरिएको छ।
१०६ मेगावाट क्षमताको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको निर्माण सुरु गर्ने, ४०० केभी क्षमताको कर्णाली कोरिडोर विद्युत प्रशारण लाइन निर्माणको काम अघि बढाउने र भेरी करिडोर प्रसारण लाइनको वित्तीय सुनिश्चितता गर्ने बजेटमा उल्लेख गरिएको छ।
अपांगता भएकाहरुको पुनःस्थापनाका लागि सुर्खेतमा पुन:स्थापना केन्द्र स्थापना गर्न बजेट व्यवस्थापन गरिएको अर्थमन्त्री महतले बताए।
सुर्खेतको रातानाङलामा रहेको मौसमी राडारलाई पूर्ण रुपमा सञ्चालन गर्ने पनि संघीय बजेटमा उल्लेख गरिएको छ।