कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन बुधबारबाट सुरू भएको छ। शुक्रबार दोस्रो अधिवेशनको तेस्रो बैठक बस्यो। बुधबार भएको पहिलो बैठकमा सामान्य छलफल भएको थियो।
दोस्रो बैठकमा कर्णाली प्रदेश विनियोजन विधेयक, २०८० का बजेटका सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू प्रस्तुत गरिएको थियो। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले प्रस्तुत गरेको उक्त विधेयकमाथि शुक्रबारदेखि विस्तृत छलफल सुरू भएको छ। छलफलको सुरूमा प्रमुख प्रतिपक्षी दलका नेता यामलाल कँडेलले आफ्नो भनाइ राखे।
कँडेलले करिब ४० मिनेट आफ्नो भनाइ राखेपछि सभामुखले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सन्तोषी शाहीलाई बोल्ने समय दिइन्। कर्णाली प्रदेश सभामा राप्रपाका एक जना मात्र सांसद छन्।
राप्रपा सांसद शाहीले सुरूमै पूर्वराजा ज्ञानेन्द्र शाहलाई 'बडामहाराजधिराज' र 'वीरविक्रम' भनेर सम्बोधन गरिन्। उनले गरेको यही सम्बोधनले शुक्रबारको प्रदेश सभा बैठक विवादित बन्यो। उक्त अभिव्यक्तिमा स्वतन्त्र सांसद र नेकपा (एकीकृत समाजवादी) का सांसदबाहेक अरू दलले नियमापत्ति जनाए।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई शनिबार सुर्खेतको वीरेन्द्रनगरमा अभिनन्दन गर्ने कार्यक्रम छ। यसका लागि शनिबार उनी सुर्खेत आउँदैछन्। राप्रपा सांसद शाहीले शाहको आगमन र कार्यक्रमलाई लक्षित गर्दै सुरूमा सम्बोधन गरेकी थिइन्।
उक्त भनाइमाथि दलहरूले 'संविधानले नचिनेका शब्द प्रदेश सभा सदस्यले प्रयोग गरेको' भन्दै नियमापत्ति जनाए। उनीहरूले ती शब्दहरू सचिवालयको रेकर्डबाट हटाउन पनि माग गरे।
'हाम्रो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मिति २०८० जेठ १३ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सवारी हुन लाग्नुभएका बडा महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव, बडामहारानी कोमल राज्य लक्ष्मीदेवी शाह, युवराज्ञी हिमानी शाह लगायत मौसुफको भ्रमण टोलीलगायत सबै पाहुनाहरूलाई म कर्णालीवासीको तर्फबाट हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु,' सांसद शाहीले रोष्टममा पुगेर सुरूमै भनेकी थिइन्।
उनले आफ्नो सम्बोधन अघि नबढाउँदै नेकपा माओवादी केन्द्रका सांसद विन्दमान विष्ट उठेर आपत्ति जनाए।
'हामी प्रदेश सभामा नेपालको संविधानअन्तर्गत रहेर छलफल र बहस अघि बढाइरहेका छौं। नेपालको संविधानले श्री ५, बडामहाराजधिराज वा बडामहारानी भनेर चिन्दैन। संविधानले नचिनेका कुराहरू आज हाम्रो प्रदेश सभामा सम्बोधन हुने र बेलाबेलामा जो भइराखेको छ, यसमा म सभामा माननीय सभामुखमार्फत आपत्ति व्यक्त गर्न चाहन्छु। यस्ता प्रकारका शब्दावलीहरू यो रेकर्डबाट हटाइयोस् भन्ने अनुरोध गर्न चाहन्छु,' विष्टले भने।
सांसद शाहीले 'श्री ५' शब्द भने उच्चारण गरेकी थिइनन्।
सांसद विष्ट रोकिएपछि शाहीले फेरि आफ्नो अभिव्यक्तिलाई निरन्तरता दिइन्। त्यस क्रमा उनले आफ्नो र आफ्नो दलको आस्थालाई मात्र मतदातासमक्ष राख्न खोजेको बताइन्।
'यो हाम्रो पार्टी र मेरो आस्थाको विषयवस्तु भएकाले मैले यो विषय प्रस्तुत गरेकी छु। जनताबाट चुनिएर यो सदनमा उभिइरहँदा मैले मेरो आस्थालाई बोल्न नदिने हुन्छ र? म यहाँबाट प्रश्न गर्न चाहन्छु,' उनले आफ्नो असन्तुष्टि पोखिन्।
शाहीले अरू दलहरूलाई इंगित गर्दै भनिन, 'सबैले आफ्नो पार्टीका सिद्धान्तहरूलाई बुलन्द आवाजमार्फत सदनमा दर्शाउन हुने, मैले मेरो मूलधार आस्थालाई बोल्नै नपाउने? यो कुन तन्त्रमा लेखिएको छ? म यसको भर्त्सना गर्न चाहन्छु।'
उनी केही समय रोकिएर फेरि बोलिन्, 'यस्तो गरिमामय सदनमार्फत मौसुफको प्रदेश राजधानी वीरेन्द्रनगरमा स्वागत गर्न पाउँदा म अत्यन्तै हर्षित भएकी छु। विदेशी हस्तक्षेप, भ्रष्टाचार, बेथितिले आक्रान्त कर्णालीवासी बडामहाराजधिराज सरकारको भ्रमणले हर्षित भएको ...।'
उनले वाक्य पूरा नगर्दै सभामुखले रोक्न आग्रह गरिन्, 'रोक्नुस्, माननीय सदस्य ज्यू, रोक्नुस्! रोक्नुस् माननीय सदस्य ज्यू।'
त्यस क्रममा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही उठेर बोले। उनले सचिवालयले संसदीय मर्यादाको पालना गराउन नसकेको र राप्रपाका सांसद शाहीले सभामा आस्था प्रकट गरेकोप्रति आपत्ति जनाए।
'यो सभालाई कतातिर डोर्याइँदैछ? सभामुखज्यू नयाँ हुनुहन्छ, सचिवज्यू पूरानो हुनुहुन्छ, बोल्ने तरिका के हो भन्ने कुरा पनि यो सभाले निर्धारण नगर्ने हो भने यो सभाको मर्यादा कहाँ जान्छ,' उनले भने, 'सभामा बोल्दा मुख्यमन्त्रीले बोल्न चाहनुभयो भने उहाँले बोल्न पाउनुपर्छ। यदि मुख्यमन्त्रीले बोल्नुभएन भने प्रमुख प्रतिपक्षी दलको नेताले बोल्न पाउनुपर्छ। यदि उहाँले नबोल्ने हो भने सबैभन्दा ठूलो दलको नेतालाई बोल्न दिनुपर्छ तपाईंहरूले। यो परम्परा तपाईंहरूले बिगारिसकेपछि...। होला, कसैको आस्था राख्न पाइन्छ। तर यो सदनभित्र राख्ने आस्थामा त्यो ढंगले राख्नुपर्यो। बाहिर कुरा गर्न पाइन्छ। यहाँ एकले अर्कालाई गाली गर्ने भएको छ। त्यो गर्न पाइँदैन।'
उनले दल र दलका सांसदले संसदभन्दा बाहिर आफ्नो आस्था राख्न पाइने बताए। प्रदेश सभाको रोष्टम राजतन्त्रबिनाको भएको पनि उनले बताए। यसरी संसद चले आफ्नो दलको उपस्थिति नहुने र संसद नचल्ने चेतावनी समेत उनले दिए।
'जुन दिन राजतन्त्र फर्केर आउला, उहाँहरू बोल्नुहोला, भन्नुहोला। तर त्यो अहिले कहाँको लोकतन्त्र हो भनेर रोष्टमबाट अहंकार गर्नु शोभनीय हुँदैन,' राप्रपा सांसद शाहीलाई लक्षित गर्दै उनले भने, 'हाम्रो पनि होला आस्था, बाहिर गएर प्रस्तुत गर्न सकिन्छ। यसरी प्रणाली बिगार्ने हो भने हामीले किन संसदमा भाग लिने? यो ठूलो दलको मर्यादामा आघात पुगेको हो कि होइन? नियमावलीमा प्रणाली उल्लेख छ, सभामुख र सचिवले जे पनि मनपरी गर्ने हो भने भोलिबाटै संसद नचल्न सक्छ।'
उनले थप भने, 'हामीले यस्ता कुराहरूमा ख्याल गर्नुपर्छ भनेर सम्झाएका छौं। यो रोष्टम पिपलचौतारी होइन। यदि यी कुराहरू सबै रेकर्डबाट मेटिँदैन भने हाम्रो उपस्थिति रहँदैन। हामी यहाँबाट बाहिर जान बाध्य हुनेछौं।'
यसबीचमा फेरि राप्रपा सांसद शाही सभामुखतर्फ फर्किएर बोलिन्– अब सुरू गर्दा हुन्छ हजुर?
सभामुखले मुन्टो हल्लाएपछि उनले थप बोलिन्, 'मैले यो आस्थालाई दर्शाउन मात्र खोजेको हुँ। मैले राजतन्त्रलाई पुनर्स्थापना गर्न खोजेकी थिइनँ। मैले भोलिको कार्यक्रमका लागि जनतालाई आह्वान गर्न मात्र खोजेकी थिएँ।'
यसलगत्तै नेकपा एमालेका सांसद विनोदकुमार शाह उठेर संसद नियमावलीमाथि प्रष्ट पार्न खोजे। उनले प्रदेश सभा सदस्यहरूले नियमापत्ति गरेपछि सदस्यले बोल्न रोक्नुपर्ने बताए।
'तपाईंहरूले आफ्नो निर्णय दिएर अगाडि बढाउन पाइँदैन। तपाईंहरूले सदस्यहरुले नियमापत्तिमार्फत उठाएका माग पूरा गर्नुहोस्,' उनले भने।
'मैले पनि पिपलचौतारी नबनाइयोस् भन्ने चाहन्छु। मैले अलिकति मात्र दर्शाउन खोजेकी थिएँ, यो विषयवस्तु नै छ मसँग,’ विनियोजन विधेयकमाथि नै आफू बोल्ने आशय व्यक्त गर्दै राप्रपा सांसद शाही फेरि बोलिन्, 'ल अब अनुमति चाहन्छु, अब अनुमति लिएरै बोलनुपर्ने होला सायद। यतिका विखण्डना सुनिसकेपछि पुनः म विषयवस्तुतिर आफ्नो भनाइहरू राख्न चाहन्छु।'
उनले विनियोजन विधेयकका सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरूको सन्दर्भमा आफ्ना भनाइ राख्ने क्रममा सभामुख बोलिन्, 'माननीय सदस्यले उठाउनुभएको नियमापत्तिबारे सभाको ध्यानाकर्षण भएको छ। छलफलमा सहभागी सबै माननीय सदस्यहरूलाई नेपालको संविधान र प्रदेश सभा नियमावलीको मर्यादाबमोजिम धारणा राख्न सबैलाई आग्रह गर्छु। सभालाई असान्दर्भिक लागेका कुरा नियमावली बमोजिम हुने कुरा रूलिङ गर्छ।'
सभामुखले भनेका यिनै विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता यामलाल कँडेल उठेर बोले।
'मैले सचिवालय अलमलिएको देख्दा केही सुझाव दिएर सहयोग गर्छु। यसमा नियमावलीको हवला दिनै पर्दैन,' उनले भने, 'नियमापत्ति गर्दा जे माग गरेको छ, त्यही कुरा कोड गरेर रेकर्डबाट हटाउने कुरा सभामुखलाई उपयुक्त लाग्छ भने त्यही कुरा त्यो चेयरबाट भनिने कुरा हो। एउटा सदस्यको बारेमा कुरा उठ्दा त्यसैमा गोलमोटल गरेर अरू सदस्यलाई जोख्ने कुरा उपयुक्त हुँदैन।'
उनले जति बेला संसदमा नियमापत्ति हुन्छ, त्यति बेला रोकेर नियमापत्तिको कुरा सुनाएर संसदको कामकारबाही अगाडि बढाउनुपर्ने बताए।
'यसअघि पनि गल्ती भएको छ, आज पनि भयो,' कँडेलले भने, 'अब नगरौं। अब यसलाई सुधार गरौं। नियमावली अनुसार होइन, विषयअनुसार हुने शब्द चयन गर्दा राम्रो होला।'