नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरूको बयानका क्रममा पोलेका थप व्यक्तिमाथि पनि अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले प्रहरीलाई बाटो खुला गरिदिएको छ।
बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा ३० जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।
यसक्रममा सरकारी वकिलले बयानको क्रममा अभियुक्तहरूले पोलमा पारी खुलाएका व्यक्तिहरूको हकमा पनि अनुसन्धान गर्न भनेर जिल्ला प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको हो।
‘हामीले कुनै पनि व्यक्तिको नाम लिएर अनुसन्धान गर्नु भनेका छैनौं। तर बयानको क्रममा आएका जति सबै व्यक्तिहरूमाथि थप अनुसन्धान गर्नू भनेका छौं,’ प्रमुख सरकारी वकिल एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भने।
प्रहरीको अनुसन्धानबाट अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राई, पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी श्रीमती नैनकला थापा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वप्रदेश सांसद अजयक्रान्ति शाक्य, विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापित लगायतको नाम बयानको क्रममा आएका छन्।
सरकारी वकिलले यस प्रकरणमा ३० जनाविरूद्ध मुद्दा चलाउनुपर्ने उल्लेख गरेको छ। १६ जना पक्राउ परेका छन् भने बाँकीलाई फरार करार गरेको छ।
सरकारी वकिलले यस प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ललितपुरमा थप अनुसन्धानका लागि लेखेर पठाउनुपर्ने पनि उल्लेख गरेको छ।
‘अख्तियार र सम्पत्ति शुद्धीकरणलाई हामी पत्र लेख्छौं। अन्यको हकमा अनुसन्धान गर्न प्रहरीलाई भनेका छौं,’ न्यौपानेले भने।
यस्तै, प्रतिवादीहरूको सम्पत्ति र राहदानी पनि रोक्का गरिराख्न भनेको छ।