नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका पिए नरेन्द्र केसीले इन्कारी बयान दिएका छन्।
प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा लिएको बयानमा खाण र केसीले इन्कारी बयान दिएका हुन्। यस्तै प्रहरीले बरामद गरेको खाणको फोन पनि कसरी फर्म्याट भयो भन्ने पनि जानकारी नभएको उनले जिकिर गरेका छन्।
‘भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाई भुटानी शरणार्थी बनाई तेस्रो देश पठाइदिन्छौं भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन, मेरो मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन। म गृहमन्त्रीको ओहोदामा हुँदा तथा मन्त्रीको ओहोदामा नहुँदासमेत नेपालको छवि उच्च राख्ने काम गरेको छु,’ खाणले बयानमा भनेका छन्।
यस्तै उनका पिए केसीले पनि इन्कारी बयान दिएका छन्। आफूले पूर्वसांसद आङटावा शेर्पासँग पटक-पटक कुराकानी गरेको भए पनि त्यसबारे सम्झना नभएको उनले बताए।
बालकृष्ण खाणको बयानको पूर्णपाठ:
प्रतिवादीहरूमध्ये टेकनारायण पाण्डे नेपाल सरकारको सचिव भएको कारण चिनेको हुँ, नरेन्द्र केसी मेरो निजी सचिव थिए, टोपबहादुर रायमाझी संविधान सभा सदस्य, प्रतिनिधि सभा सदस्य र पूर्वमन्त्री समेत भएकोले चिनजान छ।
मैले मिति २०७८ असार २९ गतेदेखि पुससम्म गृहमन्त्रीको रूपमा काम काज गरेको हुँ। म गृहमन्त्री संविधान र कानूनको अधिनमा रही देशमा शान्ति सुरक्षा अमनचयन कायम गर्नेलगायत मन्त्रीले गर्नुपर्ने काम इमान्दारीपूर्वका सम्पादन गरेको हुँ। बरामद कालो रङको डायरीमा लेखिएको अंक र अक्षर मेरो हो। सोबाहेक अन्य २ वटा कालो रङ, एउटा खैरो रङको डायरी र सम्पत्ति विवरण भरिएका पाना ३८ समेत मेरो हो।
भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन बनेको बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको प्रतिवेदन सोही कार्यदलका साथै सम्बन्धित निकाय र महाशाखालाई जानकारी होला।
गृह मन्त्रालयको च.न.८४३ मिति २०८०/१/२६ गतेको पत्रसाथ प्राप्त कागजातहरू हेर्दा मिति २०७६।०७।०१ मा समितिले प्रस्तुत गरेको उपरोक्त प्रतिवेदनमा संयोजक बालकृष्ण पन्थी, विज्ञ गणेशबहादुर केसी रहेको २ जनाले दस्तखत गरेको प्रतिवेदनमा तत्कालीन मन्त्री र सचिवको नाममा प्रतिवेदनको अध्ययन तथा कार्यान्यवन अगाडि बढाउन हुन भनी तोक लगाइएको देखिन्छ।
भुटानी शरणार्थी समस्या स्थायी समाधानका उपायहरू पहिल्याउन गठित पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वको कार्यदलले दिएको प्रतिवेदन तत्कालीन गृह मन्त्रीको पालामा लिने कार्य भएको, भुटानी शरणार्थी समस्या स्थायी सामाधानका उपायहरू पहिल्याउन गठित कार्यदलले दिएको प्रतिवेदन उपर थप छलफल भएपश्चात गरिएका निर्णयहरू कार्यान्वयनका लागि मन्त्रिपरिषद समक्ष प्रस्ताव पेश गर्न मबाट मिति २०७८/०८/१२ मा स्वीकृति दिई सो प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको हो। नेपाल सरकार कार्य सम्पादन नियामावलीअनुसार सम्बन्धित विभागले प्रस्ताव उठाउने, सचिवले प्रस्ताव प्रस्तुत गर्छन् मन्त्रीले सदर गर्ने र मन्त्रिपरिषदले प्रस्ताव पारित गर्ने गरिएको छ।
भुटानी शरणार्थीसम्बन्धी समस्या समाधानको उपायहरूको सम्बन्धमा प्रस्ताव मन्त्रिपरिषदमा पेस भयो। कागजातहरू के-के पेस भए मलाई अहिले सम्झना भएन।
नेपाल सरकार कार्य सम्पादन नियामावलीले मन्त्री, सचिव र अन्य पदाधिकारीहरूको कार्य क्षेत्र तोकेको छ। मन्त्रीले आफ्ना केही अधिकार सचिवलाई समेत प्रत्यायोजन गरिएको हुन्छ।
तसर्थ मन्त्रालयको अभिलेखहरूको सुरक्षा गर्ने जिम्मेवारीसमेत तोकिएको छ, एउटै प्रतिवेदनको एउटै विषयमा फरक व्यहोरा हुन सक्तैन। मन्त्रालयको कागज पत्र, प्रतिवेदन, सम्झौतालगायत विभिन्न अभिलेख राख्ने निकाय छुट्याइएको हुन्छ, यो मन्त्रालयको प्रशासनिक जिम्मेवारी हो।
पूर्ववर्ती सरकारले भुटानी शरणार्थी समस्या स्थायी समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन तत्कालीन गृहमन्त्रीले बुझी कार्यान्वयनका लागी अगाडि बढाएको अवस्थामा भुटानी शरणार्थीसम्बन्धी समस्या र समाधानको उपाय सम्बन्धमा मन्त्रिपरिषदमा उक्त समयमा नै प्रस्ताव प्रस्तुत गरेको हो।
उक्त प्रस्तावलाई नै निरन्तरता दिएको हो। म गृहमन्त्री भएपछि देशमा शान्ति, सुव्यवस्था र अमनचयनका लागि गृह मन्त्रालयका उच्च पदाधिकारी र जिम्मेवार अधिकृतहरूलाई निर्देशन दिँदै आएको सर्वविदितै छ।
यसै सन्दर्भमा भुटानी वा तिब्बती कुनै अवान्छनीय गतिविधि नगरून् भनी त्यसका लागि पनि निर्देशन दिँदै आएको हुँ।
शरणार्थीहरूलाई मानवीय प्रबन्ध गर्नु राज्यको दायित्व हो।
पछिल्लो पटक भुटानी शरणार्थीलाई अन्तर्राष्ट्रिय निकायले सहयोग रोकेको अवस्थामा जीवन असहज भएकोले त्यसलाई ध्यानमा राखेर शरणार्थीहरूले पनि सरकारी या सामुदायिक विद्यालयहरूमा पढ्न पाउने, आधारभूत स्वास्थ्य सेवाको अवसर प्रधान गर्नुका साथै सरकारी अस्पतालमा उपचारको सुविधा प्रदान गर्ने, प्रचलित कानूनको अधिनमा रही कानूनको पालना गर्ने गरी स्थानीय तहको स्वीकृतमा सामान्य व्यापार व्यावसाय गर्नुका साथै कृषिजन्य उत्पादन गर्न सामूहिक खेतीका लागि जग्गाको प्रबन्ध गर्ने लगायतका व्यवस्था गरी उनीहरूको जीवन जीउन सहज बनाउन मन्त्रिपरिषदले भुटानी शरणार्थीसम्बन्धी समस्या र समाधानको उपायहरूको सम्बन्धमा प्रस्ताव पास गरीएको हो।
यो प्रस्ताव भुटानी शणार्थीहरूको व्यवस्थापनका लागि असल मनसायले गरिएको हो।
शरणार्थीका नाममा अवान्छनीय गतिविधि रोक्नका साथै कसैलाई पनि भ्रममा नपर्न मन्त्रालयले विभिन्न समयमा परिपत्रसमेत गरेको थियो। यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, शरणार्थी समन्वय इकाइ बेलडाँगी झापाबाट मिति २०७८/०८/०३ गते भुटानी शरणार्थी शिविर बेलडाँगीका सम्पूर्ण शिविरबासीहरूलाई सूचना निकाली जानकारीसमेत गराइएको, यसैगरी समय-समयमा निर्देशनहरू पठाइरहेको हो।
भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाई भुटानी शरणार्थी बनाई तेस्रो देश पठाइदिन्छौं भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन, मेरो मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन।
म गृहमन्त्रीको ओहोदामा हुँदा तथा मन्त्रीको ओहोदामा नहुँदासमेत नेपालको छवि उच्च राख्ने काम गरेको छु।
कोभिड-१९ को समयमा भुटानी शरणार्थी तथा तिब्बतीयन शरणार्थी समेतलाई भ्याक्सिन लगाउन नेपाली नागरिकता हुनुपर्ने अवस्थामा समेत मैले पहल गरी निजहरूलाई भ्याक्सिन लगाउने कार्य गरेको हुँ।
जसको अन्तर्राष्ट्रिय समुदायले समेत प्रशंसा गरेका थिए। भुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठिक होइन, मैले सो कार्य सोच्न पनि सक्दिनँ।
नरेन्द्र केसीको बयान:
प्रतिवादी बालकृष्ण खाण, टेकनारायण पाण्डेलाई मैले गृह मन्त्रालयमा तत्कालीन माननीय गृहमन्त्री बालकृष्ण खाणको सचिव भई काम गर्ने क्रममा निजहरूसँग चिनजान भएको हो।
अन्य प्रतिवादीहरू सानु भण्डारी, केशवप्रसाद दुलाल, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, इन्द्रजीत राई, सन्दीप रायमाझी, गोविन्दकुमार चौधरी र रामशरण केसीलाई मैले यसभन्दा पहिला चिनेको थिइनँ।
म तत्काल गृह मन्त्रालयमा तत्कालीन गृहमन्त्रीको निजी सचिवको रूपमा मिति २०७८ भदौदेखि २०७९ माघ १० गतेसम्म कार्यरत रहेको हुँ, निज बालकृष्ण खाणसँग निजी सचिव हुनु पहिला नै चिनजान थियो भने टेकनारायण पाण्डे पनि सोही मन्त्रालयमा सचिव पदमा कार्यरत रहेको हुँदा निजलाई समेत चिनेको हो।
म मिति २०७८ साल भदौसम्म चितवनको शारदा मावि स्कुलमा कार्यरत रहेको र तत्पश्चात गृह मन्त्रालयमा तत्कालीन गृहमन्त्रीको निजी सचिवको रूपमा २०७९ माघ १० गतेसम्म कार्यरत रहेको हो।
मैले प्रयोग गर्दै आएको ९८६१६१९५११ र आङटावा शेर्पाले चलाउने गरेको ९८५१०६२०८९ सँग पटक-पटक गरी ४९ पटक कुराकानी भएको भन्ने सम्बन्धमा मलाई सम्झना भएन।
मेरो नाम उल्लेख गरी लेखिएको कागज क-कसले, कु-कुन प्रयोजनको लागि लेखेको हो, के-कसरी प्रतिवादी बालकृष्ण खाणको घरबाट बरामद भएको हो मलाई थाहा भएन।
प्रतिवादी केशवप्रसाद दुलाल र प्रतिवादी टेकनारायण पाण्डे बीचमा कुन-कुन आधारमा मलाई रकम दिने भनी मेरो नाम जोडी निजहरू बीचमा उक्त कुराकानी भएको हो, मलाई जानकारी भएन।
म बालकृष्ण खाणको निजी सचिव भएकै आधारमा मसँग कुनै सरोकारको विषय नै नभएको ठगी र संगठित अपराधमा उक्त कागज बरामद भएकै कारणबाट म दोषी भएको भनी आरोप लगाउनु गलत हो।