पोखरा महानगरले व्यस्त बजार महेन्द्रपुलमा अवस्थित सार्वजनिक पुस्तकालय मासेर संसारभरका झण्डा फहराउने भएको छ। जहाँ संयुक्त राष्ट्र संघमा आबद्ध १९५ देशका झण्डा रहनेछन्।
सँगसँगै पोखरा महानगर र झण्डा पार्क बनाइदिए वापत लायन्स क्लब इन्टरनेशनलको झण्डा पनि त्यहाँ फहराउनेछ। झण्डामुनि सम्बन्धित देश वा संस्थाको नाम लेखिनेछ।
पोखरा महानगरका मेयर धनराज आचार्यको महत्त्वाकांक्षामा उक्त झण्डा पार्क बन्न लागेको हो।
महेन्द्रपुलको पुलनिर बन्न लागेको झण्डा पार्क भएको ठाउँमा यसअघि पोखरा सार्वजनिक पुस्तकालय सञ्चालनमा थियो। पुस्तकालयमा डोजर चलाएर उक्त ठाउँमा झण्डा पार्क बनाउने अवधारणा मेयर आचार्यले नै अघि सारेका हुन्।
लायन्स क्लब इन्टरनेशनलका पूर्व राष्ट्रिय अध्यक्षसमेत रहेका मेयर आचार्यको उक्त अवधारणा पुरा गर्न सोही क्लबले बजेट खर्चेको छ। क्लबले ७० लाख रूपैयाँ लागतमा झण्डा पार्क बनाउन लागेको हो।
पोखराको मुख्य व्यापारिक केन्द्र मानिने महेन्द्रपुल पर्यटकीय बजार भन्दा पनि दैनिक उपभोग्य सामाग्री खरिद बिक्री केन्द्रका रूपमा चर्चित छ। पर्यटक भन्दा दैनिक उपभोग्य सामाग्री खरिद बिक्री गर्न आउने मानिसको भीड लाग्ने ठाउँमा पुस्तकालय हटाएर झण्डा पार्क बनाउनुलाई मेयर आचार्यले पर्यटकीय ‘प्रडक्ट’ भन्दै आफ्नो महत्वपूर्ण ‘भिजन’का रूपमा प्रस्तुत गरेका छन्।
झण्डा पार्क बन्दै गरेको ठाउँमा मासिएको पुस्तकालय शहरको बीचमा रहेको एकमात्र पुस्तकालय थियो। जहाँ साहित्यिक रचना वाचनदेखि पुस्तक र सार्वजनिक सरोकारका विषयमा नियमित छलफल हुन्थे।
काठमाडौंस्थित अमेरिकी दुतावासले समेत पुस्तक, टेबल, कुर्ची लगायत सहयोग गरेको थियो भने नियमित छलफलका लागि पनि सहायता प्रदान गरेको थियो। महानगरले पनि पुस्तकालयलाई सहायता गर्नुको सट्टा डोजर चलाएको भनेर पोखराका वुद्धिजीवीहरू चिन्तित छन्।
पुस्तकालयमा संगृहित पुस्तक अहिले नयाँ बजारस्थित क्षेत्री समाजको कार्यालयमा लगेर राखिएको छ। क्षेत्री समाजमा पुस्तकालय सरेपछि पाठकले अपायक पर्ने भन्दै अलमलिने गरेको पुस्तकालय व्यवस्थापन समितिले जनाएको छ ।
पञ्चायतकालमा उक्त पुस्तकालय बन्नुअघि त्यहाँ वाचनालय चलेको थियो। नियमित पत्रपत्रिका र पुस्तक पढ्ने जमातले वाचन गरेर अरूलाई समाचार र कथाहरू सुनाउँथे। पञ्चायतकालको बन्द समाजमा ज्ञानगुनका कुरा गर्थे।
वाचानालयमा नियमित जाने साहित्यकार, शिक्षासेवी, पत्रकार लगायत मिलेर पुस्तकालय खोल्ने निर्णय गरेका थिए। उनीहरूले २०४९ सालमा पुस्तकालय सञ्चालनमा ल्याए। पुस्तकालय बनाउन तत्कालीन पोखरा नगरपालिकाले उनीहरूलाई सहयोग गरेको थियो। नगरपालिकाकै मातहत रहेको भवनको माथिल्ल्लो तलामा पुस्तकालय चलेको थियो भने भुइँतलामा सटर राखेर भाडामा दिएको थियो।
भाडाका सटरमा पोखराका चर्चित ‘गोरखापत्र बाजे’को पुस्तक तथा पत्रिका पसल थियो। भवनमै डोजर चलेपछि गोरखापत्र बाजेको पत्रिका पसल र तरकारी तथा फलफूलका सटरहरू पनि जमिनमा मिसिए।
पुस्तकालयमा डोजर चलाउँदा मेयर आचार्यले पृथ्वीचोकमा पुस्तकालय खोलिदिने वचन दिएका थिए। उनले दिएको वचन अहिलेसम्म कार्यान्वयनमा आएको छैन। झण्डा पार्कको काम भने धमाधम भइरहेको छ।
अर्को विकल्प तयार नभइकन पुस्तकालय भत्काउनु गलत भएको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष विश्व श्रेष्ठ बताउँछन्।
'संसारमा पुस्तकालय प्रतिष्ठाको विषय छ, पोखरामा चाहिने हो कि होइन, के बुझेका होलान्,' उनले भने, 'हामी त विदेश जाँदा पुस्तकालय हेर्न जान्छौं। हाम्रा मेयर धेरै देश घुम्नुभएको छ, पुस्तकालय जानुभएन कि!'
पुस्तकालय भत्काउनुअघि दैनिक कम्तिमा सय जना पाठक विभिन्न पुस्तक अध्यनका लागि पुस्तकालय पुग्ने गरेका थिए। पुस्तकालय १२ हजार पुस्तकसहित विभिन्न विषयका अन्तर्राष्ट्रिय स्तरका जर्नल थिए।
महेन्द्रपुल साँघुरो भएकाले फराकिलो बनाउन भत्काएका मेयरले झण्डा पार्क बनाएर झनै साँघुरो बनाउन खोजेको विश्लेषकहरू बताउँछन्।
पोखराका सामाजिक अभियन्ता विश्व सिग्देलले पुस्तकालयमा डोजर चलाउनुले मेयर अचार्यको बौद्धिकताको स्तर झल्किएको बताए।
‘पुस्तकालयले शहर साँघुरो भएको होइन, सार्वजनिक जमिन जोगाउन नसकेर हो,’ उनले भने, ‘पुस्तकालयले जहिल्यै खुला समाजको पक्षपोषण गर्छ, मेयरले बन्द गराउन खोजे। उहाँको बौद्धिकताको स्तर देखियो।’
पोखरा महानगरका मेयर आचार्यले झण्डा पार्कले विश्वभरबाट घुम्न आउने पर्यटकलाई आकर्षण गर्ने दाबी गरे।
‘विश्वभरबाट पोखरामा पर्यटक आउँछन्, आ–आफ्ना झण्डामुनि बसेर फोटो खिच्छन्,’ उनले भने, ‘झण्डा पार्कले पोखराको पर्यटनलाई प्रवर्द्धन गर्छ।’
विश्लेषक सिग्देल विश्वभरका पर्यटकलाई झण्डा देखाएर आकर्षण गर्ने राष्ट्रवादी योजनामा पर्यटक भुल्न नसक्ने बताए।
‘पर्यटकलाई आकर्षित गर्ने नै हो भने अन्तर्राष्ट्रिय स्तरको पुस्तकालय बनाउन सक्थे, जहाँ संसारभरका पुस्तक पाइयोस्,’ उनले भने, ‘झण्डा पार्कको ठाउँमा नेपाली पाराको चौतारी बनाउन सकिन्थ्यो, मेयरको मौलिक सोचाई नै भएन।’