बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषदलाई आज पूर्णता दिने भएका छन्।
दोस्रोपटक विश्वासको मत प्राप्त गरेको झन्डै दुई महिनापछि जम्कट्टेलले मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन्।
यसअघि मन्त्रालय भागबन्डामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच सहमति हुन सकेको थिएन।
तर बालुवाटारमा केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल गरी मन्त्रालय भागबन्डा मिलेको थियो।
स्रोतका अनुसार एकीकृत समाजवादीले पाउने २ मन्त्रालयमा राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्साललाई मन्त्री बनाउने भएको छ।
श्रेष्ठले कृषि तथा पशुपंक्षी विकास र लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालय सम्हाल्नेछन्।
कांग्रेसबाट रामकृष्ण चित्रकार, पुकार महर्जन, उत्तम जोशी र मसिना खड्का मन्त्री बन्ने भएका छन्। चित्रकार बिना विभागीय, जोशी स्वास्थ्य, महर्जन पर्यटन र खड्का वन मन्त्री हुने बताइएको छ।
कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री र तीर्थबहादुर लामा खानेपानी मन्त्रीसहित यसअघि नै सरकारमा छन्।
मन्त्रालय भागबन्डामा सहमति जुट्न नसकेपछि मुख्यमन्त्री जम्कट्टेलले वन, उद्योग पर्यटन र स्वास्थ्य मन्त्रालयको कार्यभार कांग्रेस संसदीय दलका नेता लामालाई तोकेका थिए।
सोही मन्त्रालय सम्हाल्ने गरी कांग्रेसले आज मन्त्री पठाउन लागेको हो।
बागमतीमा एक मन्त्रालय थप गर्ने तयारी छ।
थप गरिने मन्त्रालयबारे भने दलहरूबीच छलफल गरेर टुंगो लगाउन कार्यदल गठन गरिएको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ।
नवनियुक्त मन्त्रीहरूको शपथ आज अपराह्न ३ बजे गर्ने तयारी छ।