नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर अदालतमा मुद्दा लैजाने समय नजिकिँदैछ।
चैत १२ गते केशव दुलाल, सानु भण्डारी र टंककुमार गुरूङ पक्राउ परेपछि सुरू भएको अनुसन्धानको अब जिल्ला अदालत काठमाडौंमा मुद्दा लैजान ५ दिन मात्रै बाँकी छ।
प्रहरीले यस प्रकरणको अनुसन्धान संगठित अपराध कसुरमा गरिरहेको छ। जसमा अनुसन्धान गरेर अदालतमा मुद्दा दर्ता गर्न ६० दिनको समय पाउँछ।
मुद्दा लैजाने दिन नजिकिए पनि आरोपीहरू सबै पक्राउ परिसकेका छैनन्। प्रहरीले पछिल्लो समय पनि आरोपीलाई पक्राउ गरिरहेको छ।
बिहीबार मात्रै प्रहरीले यस प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको थियो। गृह मन्त्रालयअन्तर्गतको हज समितिका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल बिहीबार पक्राउ परेका हुन्।
उनीहरू पक्राउ परेसँगै यस प्रकरणमा प्रहरी हिरासतमा हुनेको संख्या १६ पुगेको छ। मियाँ र रिजालबाहेक अन्य सबैको बयान सकिसकेको छ।
उनीहरूको बयान शुक्रबार हुनसक्ने सम्भावना पनि छ। दुबैको बयान आजै हुन्छ वा कुनै एक जनाको मात्रै हुने भन्ने पनि टुंगो भएको देखिँदैन।
अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रहरीले उनीहरूसँग सोधपुछ गरिरहेको प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।
‘भ्याएसम्म आज दुबै जनाको होला। अहिले सोधपुछको काम चलिरहेको छ,’ उनले भने।
प्रहरीले गत सोमबार मात्रै पनि अर्का एक आरोपीलाई पक्राउ गरेको थियो। नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।
आइतबार मात्रै नेकपा (एमाले) सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेको हो।
यही हप्ता प्रहरीले चार जना आरोपीलाई समाइसकेको छ। तर आरोपितहरू सबै पक्राउ परेका छैनन्।
पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक र बादलका सुरक्षाविज्ञ इन्द्रजित राईका छोरा निरजसहित केही आरोपितहरू फरार छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले पनि केही संख्यामा आरोपीहरू फरार रहेको बताए।
अनुसन्धान प्रतिवेदन कहिलेसम्म बुझाउने भन्ने अझै टुंगो नभएको पनि उनले बताए।
‘समयभित्रै तयारी पूरा भएपछि हामी प्रतिवेदन बुझाउँछौं,’ उनले भने, ‘बुझाउने बेला भएपछि थाहा भइहाल्छ।’
प्रहरीले यस प्रकरणमा कुन-कुन शीर्षकमा मुद्दा चलाउन राय दिन्छ भन्ने पनि चासोको विषय बनेको छ। अहिले प्रहरीले ठगी तथा संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको भए पनि अन्य कसुर पनि आकर्षित हुने देखिन्छ।
कसुरबारे रायहरू प्रतिवेदनमा समावेश गरेर सरकारी वकिलको कार्यालयमा बुझाउने एसएसपी कार्कीले बताए।
‘कुन-कुन शीर्षकमा मुद्दा चलाउन सकिन्छ भनेर अनुसन्धान अधिकारीले मिसिलमा समावेश गरेर हामी सरकारी वकिललाई बुझाउछौं। अहिले भन्ने विषय होइन,’ उनले भने।
समयसीमा सकिनै लागेकाले सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदन सकेसम्म छिटो ल्याउन भनिरहेको छ। यसअघि सरकारी वकिल कार्यालयले मंगलबार वा बुधबारसम्म प्रतिवेदन बुझाउन प्रहरीलाई निर्देशन नै दिएको थियो। तर त्यसपछि पनि आरोपीहरू पक्राउहरू पक्राउ परिरहँदा उनीहरूमाथि सोधपुछ, बयान र अनुसन्धानका विषयले लम्बिएको देखिन्छ।
प्रहरीले आफूहरूकहाँ कहिले प्रतिवेदन ल्याउँछ भन्ने जानकारी नभएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले बताए।
‘पछिल्लो समय पक्राउ परेकाहरूको बयानको लागि आज ल्याउलान्। तर जानकारी गराएका छैनन्,’ उनले भने, ‘हुन त अस्ति नै प्रतिवेदन बुझाउन भनेका थियौं। तर अब जब ल्याउँछन् तब अध्ययन गरी मुद्दा लग्छौं।’
कुन-कुन मुद्दा आकर्षित हुने भन्ने विषय पनि मिसिल अध्ययन गरेपछि मात्रै थाहा हुने पनि उनले बताए।
समय कम भएकाले सरकारी वकिल कार्यालयमा शनिबार पनि काम हुने उनले बताए। अध्ययन गर्नको लागि पनि सरकारी वकिल कार्यालयले आठ जनाको टोली बनाएको छ। सहन्यायाधिवक्ता न्यौपानेको नेतृत्वमा टोली बनाएर यस प्रकरणमा काम भइरहेको छ।
‘यहाँ ३०-३२ जना सरकारी वकिल हुनुहुन्छ। यसको लागि हामीले आठ जनाको टोली बनाएका छौं,’ उनले भने।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ, सागर राई, सन्देश शर्मा, टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, इन्द्रजित राई, टेकनारायण पाण्डे, बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, आङटावा शेर्पा, रामशरण केसी, गोविन्द चौधरी, शमशेर मियाँ र टेकनाथ रिजाललाई पक्राउ गरेको छ।
यस घटनाको उजुरी भने २०७९ जेठ १८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो। उजुरी अगाडि नै परे पनि यसको अनुसन्धान हुन सकेको थिएन। उजुरी पर्दा हालका आइजिपी बसन्तबहादुर कुँवर त्यस कार्यालयमा एसएसपीको रूपमा प्रमुख थिए।
केही समयमै उनको डिआइजीमा बढुवा भएपछि जनक भट्टराई आएका थिए। उनको कार्यकालमा अनुसन्धान नै भएको थिएन।
पछिल्लो समय आएका एसएसपी मनोजकुमार केसीले अनुसन्धान अघि बढाएका हुन्। अहिले यसको अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंले गरिरहेको छ।